नेवार समुदायले मनाउने एउटा ठुलो चाड "घोडेजात्रा"को अघिल्लो दिनलाई "पाहाँचःह्रे" भनिन्छ। "पाहाँ" भन्नाले अतिथि भनेर बुझिन्छ भने "चःह्रे" भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यस दिनलाई "पिशाच चतुर्दशी" पनि भनिन्छ। आजको दिन बेलुका लुकेको महादेव (लुकुमहाद्य :)को विशेष पुजाआराधना गरी मनाइन्छ।
भुत, प्रेत या पिशाचलाई महादेवका गणहरु मानिन्छ। आज भन्दा आठ दिन अगाडी अर्थात चैत्र कृष्ण अष्टमीको दिन सानो शिवलिङ्गलाई एउटा खटमा राखी बाजा बजाएर काठमाडौँको बुद्ध बिहारको फोहोर फ्याक्ने ठाँउमा सफा गरेर राख्ने गरिन्छ। फोहोर ठाँउमा जे भेट्यो त्यहि खाएर बसेको यो महादेवको पिशाच रुप हो। आजको दिन यी महादेवलाई त्यहाँबाट निकालेर सफागरी पंहेलो रायो, लसुनको बोट,जाड र भोजका अन्य परिकारहरु चढाएर पुजा गरिन्छ। यो चाडमा यहि पिशाच रुपी महादेवको पुजा आराधना गरिने भएकाले नै यसलाई पिशाच चतुर्दशी भनिएको हो।
आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरु सबै अजिमाहरुलाई खटमा राखेर पुजा गर्नको लागि टोल टोलबाट लिएर जाने गरिन्छ। इन्द्रायणी आफ्नो अरु अजिमा दिदीबहिनी भन्दा निक्कै गरिब थिइन। एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउदा इन्द्रायणी अर्थात लुति अजिमा सम्पन्न नभएकाले उनलाई हेला गरेर खाना फ्याकेर दिन्छिन्। त्यसरी फ्याकेको खानाले लुति अजिमाको बच्चाको अनुहारमा लाग्न गइ रगत निस्किन्छ। अपमानित भएर त्यहाँबाट सरक्क निस्किएर हिडेकी इन्द्रायणीले बाटोबाट एउटा फर्सी किनेर लान्छिन्, तर त्यो फर्सी काट्दा त्यहाँबाट एउटा शर्प निस्किन्छ। इन्द्रायणीले अब त्यो फर्सी पनि खान नहुने भनेर फ्याक्न जादा एक्कासी त्यो फर्सी सुनमा परिणत हुन्छ। त्यसपछि, अर्को बर्ष फेरी दिदी अजिमाले भोज बोलाउदा, इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यसपटक उनको छुट्टै सत्कार गरिन्छ। तर, लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफु त्यहाँबाट बच्चाहरु सहित निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको भने खट निकालेर पुजा गरिदैन। इन्द्रायणीको पुजा आजभन्दा लगभग ४ महिना अघिनै बाला चतुर्दशीको दिन गर्ने गरिन्छ।
आजको दिन नेवार समुदायमा मुकुण्डो लगाएर नाच देखाउने प्रचलन पनि छ। आजको दिन नेवार समुदायमा एउटा भव्य भोज आयोजना गरि आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रहरुलाई घरमा बोलाउने चलन छ। यसैकारण पनि आजको दिनले पारिवारिक सम्बन्ध बिचको माया, प्रेम, सद्भावना र एकतालाई थप मजबुत बनाउने मान्यता छ।
सबैमा पाहाँचःह्रेको शुभ कामना।
Liked by: