एसएलसी-२०७२ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

एसएलसी-२०७२





परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले वर्ष २०७२ को प्रवेशिका अर्थात एसएलसी (SLC) परीक्षा चैत्र १८ गते बिहिबारदेखि संचालन गर्दैछ । परीक्षा तालिका अनुसार १८ गते अनिवार्य अंग्रेजी र १९ गते अनिवार्य नेपालीको परीक्षा हुँदैछ । त्यसैगरी २१ गते अनिवार्य गणित, २२ गते विज्ञान, २३ गते सामाजिक र २४ गते स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा हुँदैछ । ऐच्छिक तर्फ चैत २५ गते ऐच्छिक प्रथम र २६ गते द्धितिय विषयको परीक्षा हुनेछ । यस वर्षको एसएलसी परीक्षामा कुल ६ लाख १५ हजार ५ सय ५३ जना परीक्षार्थी सहभागी हुँदैछन् । यो संख्या गत वर्षको भन्दा ४० हजार बढि हो । नियमित तर्फ ४ लाख ५२ हजार ८ सय ८१ जना र १ लाख ५९ हजार ४ सय १७ जनाएक्जाम्टेड तर्फका विद्यार्थी छन् । नियमित तर्फ भने २ लाख २५ हजार ३ सय ४६ जनाछात्र र २ लाख २६ हजार ५ सय ३५ छात्रा रहेकाछन् । त्यसैगरी प्राविधिक एसएलसी तर्फकुल ३ हजार २ सय ५५ जनाले परीक्षा दिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । योवर्ष पनि मनाङमा एउटा मात्रै परीक्षाकेन्द्र छ र त्यहाँ ६९ जना परीक्षार्थीले परीक्षा दिंदैछन् । सवैभन्दा बढि काठमाडौं जिल्लामा ९५ परीक्षाकेन्द्र छन् । त्यहाँ ३६ हजार ८ सय ८६ जना परीक्षार्थी छन् । परिक्षाका लागि १ हजर ९ सय ४३ वटापरीक्षा केन्द्र तोकिएको छ । यो संख्या गत वर्षको तुलनामा ८१ वटाले बढी हो । परीक्षासम्पन्न गर्न प्रत्येक केन्द्रमा १५ जनाका दरले सुरक्षाकर्मी सहित कुल ७२ हजार ८ सय ९६ जना कर्मचारी परिचालन हुँदैछन् ।

२०७१ मा सम्पन्न भएको एसएलसी परीक्षामा भने ५ लाख ७२ हजार २ सय ७ जना विद्यार्थी सहभागी भएका थिए ।उक्त परिक्षा चैत्र ५ गतेदेखि भएको थियो । यस वर्षको परीक्षा सम्पन्न गर्न शिक्षा मन्त्रालयका सचिव विश्व प्रकाश पण्डितको अध्यक्षतामा रहेको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको बैठक बसी सवै तयारी पुरा भईसकेको जनाएको छ ।

एसएलसी- एक झलक


प्रवेशिका परीक्षाअर्थात अंग्रेजीमा यसलाई School Leaving Certificate Examination (SLC) भनिन्छ । यो परीक्षा नेपालको विद्यालय स्तरमा संचालन हुने अर्थात दश कक्षा उतीर्ण हुने अन्तिम परीक्षा हो । तत्कालिन अवस्थामा नेपालको शैक्षिक मोडका रुपमा वि.सं. १९९० सालदेखि एसएलसी परीक्षाको शुरुवात भएको थियो । वि.सं. १९९० को कार्तिक १६ गते नेपालमा पहिलो पटक एसएलसी परीक्षा बोर्डको गठन भएको हो । पहिलो पटक सोहि वर्ष पौष अन्तिम सातादेखि एसएलसी परीक्षा संचालन भएकोथियो तर माघ २ गतेका दिन भूकम्प गयो । परीक्षा केही दिन रोकियो । त्यतिबेला ३४ जनाले एसएलसी परीक्षामा सहभागीता जनाएका थिए । उक्त परीक्षामा कोही पनि प्रथम श्रेणीमा उत्तीर्ण भएनन् । ३४ मध्ये १० जना द्वितीय श्रेणी र ९ जना तृतीय श्रेणीमा उत्तीर्ण भए । द्वितीय श्रेणी ल्याउने मध्ये सवैभन्दा धेरै अंक पुष्पभक्त मल्लले प्राप्त गरेका थिए । बाँकी १४ जना असफल भए भने एकजना परीक्षामै अनुपस्थित थिए । आठ सयपूर्णाङ्कको उक्त परीक्षामा प्रत्येक विषयमा ३६ नम्बर ल्याउँदा उतीर्ण भएको मानिन्थ्यो । त्यतिबेलाको परीक्षा भारतको पटना विश्वविद्यालयसंगको सम्बन्धनमा त्यहिंबाट खटिएका सुपरिटेण्डेण्टले संचालन गर्दथे । यो क्रम वि.सं. २००२ सालसम्म चलिरह्यो । पछि वि.सं. २००३ सालमा आएरमात्रै नेपालमै आफ्नै परीक्षा प्रकृया अनुसार एसएलसी परीक्षा सञ्चालन हुन थालेको हो । एसएलसी परीक्षामा सवैभन्दा धेरै अंक ल्याउनेको नाम "बोर्ड फस्ट" का रुपमा वि.सं. १९९० सालदेखि नै राख्नथालिएको हो । नेपालको पहिलो महिला बोर्ड फस्ट लुना भट्ट  हुन् । उनी २०३९ सालको एसएलसीमा बोर्ड फस्ट भएकी थिइन् ।

ग्रेडिङ प्रणाली- सवै पास


विद्यार्थीहरुको फलामे ढोका भनेर एसएलसी परीक्षालाई चिनिन्थ्यो । यस परीक्षालाई भाग्य कोर्ने परीक्षा पनि भनिन्थ्यो । सवैभन्दा धेरै आफ्नै मेहनत र बाँकी भाग्य प्रतिको विश्वास लिएर एसएलसी परीक्षामा विद्यार्थीहरु सामेल हुँदैआएका थिए । तर अव यस वर्षदेखि एसएलसी परीक्षा पश्चात यस्तो नतिजा प्रणाली लागू भयो कि अव कुनै विद्यार्थी फेल हुँदैनन् । यो नतिजा प्रणालीलाई ग्रेडिङ भनिएको छ । यसलाई वैज्ञानिक प्रणाली पनि भनिएको छ । यस प्रणाली अनुसार विद्यार्थीले प्राप्त गरेको अंकको आधारमा ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डि र ई ग्रेड प्राप्त गर्दछ। जस अनुसार कुल पुर्णाङ्कको ९० देखि १०० प्रतिशत अंक ल्याउनेलाई आउटस्ट्यान्डिङ्ग अर्थात ए प्लस (A+) ग्रेड र ८० देखि ९० भन्दा कम प्रतिशत अंक ल्याउनेलाई एक्सिलेन्ट भनेर ए(A) ग्रेड दिइन्छ । त्यसैगरी ७० देखि ८० प्रतिशतभन्दा कम अंक ल्याउनेलाई लाई बी प्लस(B+) अर्थात भेरी गुड, ६० देखि ७० भन्दा कम प्रतिशत अंक ल्याउनेलाई गुड अर्थात बी (B) ग्रेड, ५० देखि ६० भन्दा कमप्रतिशत अंक ल्याउनेलाई सी प्लस (C+) अर्थात अवभ एभरेज, ४० देखि ५० प्रतिशत कमलाई सी(C) अर्थात एभरेज ग्रेड दिइन्छ । बाँकी २० देखि ४० प्रतिशतभन्दा कमलाई डि(D) अर्थात विलो एभरेज र अन्तिम १ देखि २० प्रतिशतभन्दा पनि कम अंक ल्याउनेलाई ई(E) अर्थात इनसफिसियन्ट ग्रेड दिइन्छ । यसका आधारमा पहिले जस्तोपास र फेल नभनि विद्यार्थीको शैक्षिक गुणस्तरको मापन ग्रेडको आधारमा हुनेछ । परीक्षामा सी, डि र ई ग्रेड ल्याएका विद्यार्थीले भने ग्रेड सुधार्न चाहेको खण्डमा मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । अन्य विकसित देशमा जस्तै नेपालमा पनि परीक्षाको नतीजामा पास वा फेल उल्लेख नभई परिक्षार्थीले प्राप्त गरेको अंकको आधारमा ग्रेड दिने प्रणाली लागु गरिएको हो । ग्रेडिङ प्रणाली अनुसार अव एसएलसी- फलामे ढोका रहेन ।  

यस प्रकारको नतिजा प्रणालीलाई नाफा मूलक उदेश्य राखेर खोलिएका निजी विद्यालयहरुले असहमति जनाए पनि समग्रतामा शिक्षा विद्हरुले सकारात्मक कदम भनेकाछन् । पुरानो नतिजा प्रणाली अनुसार विगतमा आधाभन्दा बढि विद्यार्थीहरु एसएलसी परीक्षामा फेल हुने गर्दथे । फेल हुँदा विद्यार्थीको बाँकी सवै शैक्षिक यात्रामा ब्रेक लाग्ने गर्दथ्यो । यसै कारण नेपालको शिक्षा पद्धतिको आलोचना हुँदै आएको थियो । पास वा फेलको साटो विद्यार्थीको विषयगत ज्ञानकोमापन ग्रेडका आधारमा गर्नु नै ग्रेडिङ हो । त्यहि भएर पनि हाम्रो जस्तो देशमा 'फलामे ढोका' भनेर कठिन परिक्षाका रुपमा चिनिएको एसएलसी लाई आमूल परिवर्तन गरिएको हो ।


भुँइचालो र तराईआन्दोलन: मुख्य चुनौति

यस वर्ष एसएलसी परीक्षामा सहभागी हुने विद्यार्थीका लागि निकै कठिन बनेको छ । शैक्षिक सत्र सुरु भएलगत्तै विनासकारी महाभूकम्प गयो । यसबाट काठमाडौं उपत्यका सहित मध्य नेपालको पहाडी क्षेत्रको जनजीवन नै तहसनहस बन्यो । भुकम्पका कारण करिब डेढ महिनासम्म विद्यालय तहको सवै क्षैक्षिक गतिविधी ठप्प भयो । ७ दशमलव ८ रेक्टर स्केलको भुइँचालोका कारण करीव ९ लाख ९९ हजार बालबालिकाको विद्यालय तहको पढाई प्रभावित बन्यो । ८ हजार ३ सय ८ वटा विद्यालयका ३२ हजार कक्षा कोठामा क्षति पुग्यो । यसबाट विशेषगरी एसएलसी परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरु नराम्ररी प्रभावित बने ।

यो वर्ष तराईका जिल्लाबाट एसएलसी परीक्षामा सहभागी हुनुपर्ने विद्यार्थीहरुले भने निकै ठुलो चुनौतिको सामना गर्दैछन् । ६ महिना लामोतराई बन्दका कारण विद्यार्थीहरुको पठनपाठन प्रभावित भयो । बन्दका कारण एसएलसी परीक्षाको तयारी राम्ररी हुन सकेन । विद्यार्थीहरुले कोर्स पूरा नभई एसएलसीपरीक्षामा सहभागी हुनुपर्दा निकै असजिलो मानेकाछन् । पश्चिम तराईका बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषादेखि पुर्वी तराईको सिरहा, सप्तरी, सुनसरी र मोरङ जिल्लाबाटपरीक्षा दिने करीव ६५ हजार विद्यार्थीले चर्को मुल्य चुकाउदैछन् विद्यार्थीहरुले विद्यालय संचालन नभएपछि निजी स्तरमै भए पनिपैसा तिरेर कोचिङ कक्षा र निजी ट्युसन कक्षामा सहभागी भए । तर त्यो पनि पर्याप्त हुनै सकेन । नेपाल सरकारले रेडियो, टेलिभिजन र मोबाइल एप्स मार्फत तयारी कक्षा चलाएको भने पनि त्यो सवैका लागि पहुँचमारहेन । नियमिततर्फ परीक्षामा सहभागी हुने विद्यार्थीको हाजिरी न्यूनतम ७० प्रतिशतअर्थात् १ सय ५४ दिन हुनु पर्दछ । तर विद्यालयमा विद्यार्थीको यस्तो हाजिरी २० प्रतिशत भन्दा कम पाइएको छ । अर्कोतिर यस वर्ष पनि चर्को लोडसेडिङ कायमै रह्यो । एक दिनमा १२ घण्टा बढि लोडसेडिङ हुँदा विद्यार्थीहरुले परीक्षाको तयारी गर्न सकेनन् । चौतर्फी समस्याले गर्दा विद्यार्थीहरुमा एसएलसी बिग्रने हो कि भन्ने कुराले मानसिक तनाव उत्पन्न गराएको पाइन्छ ।

भुँईचालोको संयोग


मानिसहरुले यस वर्षको एसएलसी परीक्षासंग भुँईचालोको प्रसंग पनि जोडेका छन् । मानसपटलमा अविस्मरणीय बनेको वि.स. १९९० सालको भुँईचालो र त्यहि वर्षदेखि एसएलसी परीक्षा सुरु हुनुलाई रोचक प्रसंगका रुपमा चर्चा गरिन्छ । यो एउटा संयोगमात्रै भएपनि वर्ष २०७२ को ग्रेडिङ प्रणाली सहितको एसएलसी र भुँईचालो चिया चौताराको बिषय बनेको छ ।


- हाम्रो पात्रोको लागिबाबुराम भण्डारीले तयार पार्नु भएको





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.