मञ्च अर्थात् प्रदर्शन या सम्बोधन गरिने ठाँउ । मञ्चमा धेरै कुराहरु मञ्चन हुन्छन् र यी धेरै कुराहरु धेरैजसो समाज अनि परिवर्तनका विषयमा हुने गर्दछन् । आज हामी रगंमञ्चको विषयमा बात मार्न जाँदैछौं किनभने हरेक वर्षको मार्च २७ तारिखमा विश्व रंगमञ्च दिवस मनाउने चलन छ । मार्च २७ को यो चलन सन् १९६१ बाट सुरु भएको हो । युनेस्कोले मार्च २७ लाई रंगमञ्च दिवस मनाउने घोषणा सन् १९४८ मा नै गरेको हो र सन् १९६१ बाट यस दिवसले साकारोक्ति पाएको हो । यस दिवसमा गाउँ देखि शहर अनि विदेश सम्म विभिन्न कार्यक्रम आयोजना गरेर समाजका विभिन्न अवयवहरुलाई मञ्चन गर्दै विश्व रंगमञ्च दिवस मनाउने गरिन्छ ।
मुख्यतया विश्वभरका कलालाई प्रवर्धन गर्न, कलाको महत्व विश्वमा थप बढाउन र नृत्य अनि अभिनय लगायतका कलाका विधालाई थप चौडा भएर विश्व भरि महत्व दिलाउन यस दिवसको आयोजना गरिन्छ । यसो गर्नाले रंगमञ्च अनि कला र कलाकर्मीको राष्ट्रिय र विश्व स्तरमा महत्व अनि कला प्रतिको मोह बढ्ने हुन्छ ।
विश्व रंगमञ्च दिवसको संस्थागत अनुगमन र आयोजना भने फ्रान्सको पेरिस स्थित इन्टरनेशनल थीएटर इन्सटीट्युटले गर्दछ । सामान्यतया यस दिवसको आयोजना फ्रान्सको पेरिस कै थीएटर हलमा गरिन्छ तर कहिलेकाँही आवश्यकता अनुरुप ठाउँ परिवर्तन पनि गरिएको इतिहास छ । यसरी कार्यक्रममा ५ वटा मुख्य सन्देशहरु भेला पारिएका हुन्छन् जुन एसिया, अरब क्षेत्र, युरोप, अफ्रिका र अमेरिकाका प्रतिनिधि लेखक या कलाकारका सन्देश हुन्छन् । यिनै सन्देशहरु साथ ५ वटा द्वीप प्रज्जवलन गरेर औपचारिक कार्यक्रम सुरुवात गरिन्छ ।
रंगमञ्च एउटा बहुतै विषयगत तथ्य हो जसको आ–आफ्नै तवरले व्याख्या गरिएको हुन्छ। कसैले जीवनलाई रंगमञ्च मान्दछन् त कतिले जिन्दगीलाई नाटक, जे जसो भएपनि अभिनय, रंग, संगित, कला, संवाद अनि साधनाले रंगमञ्चलाई मानव संग अत्यन्त निकट मानेका छन् । रामलीला मञ्चन देखि विभिन्न विदेशी र स्वदेशी नाटक सम्म, श्यामस्वेत चलचित्र देखि थ्री डी सम्म रंगमञ्चले यात्रा तय गरेको छ । अहिले त नेपालमा पनि विभिन्न थीएटर अनि कलाकर्मीहरुको जमर्काे देख्न सकिन्छ, थीएटरले प्रस्तुत गर्ने नाटक अनि अभिनयमा डुबुल्की मार्दै हामी एकै ठाउँमा बसी बसी विभिन्न अनुभव संगाल्न सक्दछौं । नेपालको सामाजिक अनि राजनैतिक परिवर्तनमा नेपाली रंगमञ्चको ठुलो भूमिका छ, प्रजातन्त्रको प्राप्तीका लागि नेपाली रंगमञ्चले विभिन्न सेन्सरशीप र पक्राउ पुर्जीहरुको सामना गरेको छ । अहिले पनि रंगमञ्चलाई नै आधार बनाएर जीवनयापन गर्दछु भन्दा सहज परिस्थिति सबैको छैन तथापी पछिल्ला दिनमा नेपाली रंगमञ्चमा व्यवसायिक परिवर्तन अनि प्रविधि भने यथेष्ट भित्रिएको छ ।
सडक नाटक देखि सीनेमाका पर्दा सम्म, प्रदर्शनी केन्द्र या राष्ट्रिय सभा अनि विभिन्न क्षेत्रीय हलहरुमा सम्म नेपाली रंगमञ्चका उत्पादनहरु देख्न पाइन्छन् । नेपाली रंगमञ्चले नेपाली जीवनमा थप रंग र जागरण फैलाउन सकोस्, नेपालीपनाको विश्व भरि नै पहिचान स्थापीत गर्न नेपाली रंगमञ्च कायम होस् । पर्दा उठोस् अनि पर्दा झरोस् , नेपथ्यमा शान्ति होस्, दर्शक दिर्घामा ताली होस्, हाँसो फुटोस्, आँसु झरोस् अनि पात्रहरु जीवनभर रहि रहुन् ।
विश्व रंगमञ्च दिवसको शुभकामना ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: