काग तिहार | विश्व गरिबी निवारण दिवस | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

काग तिहार | विश्व गरिबी निवारण दिवस




आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ ।


काग तिहार | विश्व गरिबी निवारण दिवस विशेष अडियो सामाग्री

३१ आश्विन बिसं २०७४

यस वर्षको काग तिहारको दिन ले तिहार अनि यमपञ्चक को श्री गणेश गरेको छ है । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले बडादशैं लगत्तै मनाउने अर्को ठूलो र महत्वपूर्ण चाडको हो- तिहार अर्थात यमपञ्चक । यहि तिहारको पहिलो महत्वपूर्ण दिनलाई काग तिहार भनिन्छ ।

पाँचदिन सम्म तिहार पर्व अन्तर्गत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म मनाइने तिहार पर्वको आरम्भ काग तिहारबाट हुन्छ । काग तिहार कार्तिक कृष्ण त्रयोदशीका दिन पर्दछ । काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रुपमा पूजा गरिन्छ । काग तिहारका दिन कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग अर्थात सन्देश प्रवाहक प्राणी, काग करायो भनें केही सन्देश या पाहुना आउने जनाउका रुपमा नेपाली समाजमा लिने चलन अझै छ, हैन र ?

काग तिहार (विशेष हाँस्य अडियो सामाग्री सुन्नुहोस्)

कागलाई विशेषगरी अशुभ सन्देश प्रवाह गर्ने पन्छीका रुपमा लिइन्छ । धर्मशास्त्रहरु अनुसार नरक लोकका अधिपति यमराजले पृथ्वी लोकमा भएका मानिस लगायत सम्पूर्ण जिवित प्राणीको जन्म मृत्युको विवरण राख्ने गर्दछन् । त्यस्तो विवरण ल्याउने र लैजाने काम भने कागले गर्ने गरेको मान्यता रहेको छ । आकाश मार्गबाट छिटो सन्देश ल्याउने लाने भएकाले यमराजले कागलाई आफ्नो दूत नियुक्त गरेका हुन । तर काग तिहारमा भने यी सबै नकारात्मक मान्यताहरुलाई विर्सिएर कागको पूजा गरिन्छ ।

काँ काँ गरेर चर्को र झर्कोलाग्दो स्वरमै भएपनि कागले सन्देश बोकेर ल्याउने जनश्रुती रहेको छ, काग एउटा बाठो पन्छी हो र यस्ले हाम्रो वालीनालीमा भएका दुर्गुणी किराफट्याङ्ग्राहरुलाई खाईदिएर अन्न उत्पादनमा र मांशजन्य फोहेरहरु खाईदिएर सरसफाईमा सहयोग गर्दछ । त्यसैगरी हाम्रो सामाजमा कागलाई काकगवेषण, काकन्याय तथा काकबलि आदि विविध शब्दले काग चरित्रको चर्चा गरिन्छ । हाम्रो वैदिक सनातन संस्कारमा टेक्ने माटो देखि श्वाँस फेर्ने हावा अनि वर्षीने वादलदेखि गर्जिने वाघसम्म, कुकुर देखि काग अनि बोटविरुवासम्म सबैकुरामा पवित्रता र भगवानतत्वको गुण स्वीकारिएको छ ।

आजको दिन कागलाई पूजाआजा नगरे र खान नदिए पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ । कागतिहारमा कागलाई घरआँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ । आज कागतिहारकै दिन समुन्द्र मन्थनका क्षण उत्पत्ति भएका आयुर्वेदका प्रवर्तकधन्वन्तरी ऋषिको सम्झनामा धन्वन्तरी दिवस पनि मनाइन्छ । आज यमदिप दान गर्नाले यमराजको यातनाबाट मुक्त हुने अर्को धार्मिक विश्वास छ । यमदिप दान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि रहेको छ ।

सेलरोटीको मिठास अनि दियोको प्रकाशका साथै देँउसी अनि भैलोका सङ्गीतहरु गुञ्जायमान यस पर्वको हर्षोउल्लास वास्तवमै अद्भूत छ । काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा क्रमैसंग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहारपर्व मनाइने बारेमा धेरै किंवदन्तिहरु पाईन्छन् । जस्मध्ये एकदमै प्रचलीत कथा यम र उन्की बहिनीको प्रसगं यहा प्रस्तुत गर्न जाँदैछौ ।

मृत्यूका देवता यम आफ्नी बहिनी यमुनासंग धेरै समयदेखि भेट्न पाएका थिएनन् । यमुनालाई आफ्नो दाजूसंग भेट्न धेरै इच्छा भएर विभिन्न माध्यमहरुमार्फत दाजुलाई भेट्न आँउन निम्तो पठाईन् । उन्ले यम समक्ष शुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफै गएर दाजूलाई भेटेको प्रसङ्ग छ । दाजुलाई भेटेपछी उनले दाजूलाई टीका, फूलमालाले पूजा गरि रङ्गीन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाईदिई पूजा गर्दै भाईटीका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौ दिनमा भाईटीका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।

काग तिहारमा विहानैदेखि कागको पूजा गरिन्छ, घरवाहिर विभिन्न खानेकुराहरु पात या दुना टपरीमा कागका लागी भनेँर राखिन्छ र वर्षभरि कागले घरआगनमा सुखद र प्रगतिशील खबर अनि भाग्यकाकुराहरुमात्र ल्याओस भनेर कामना गरिन्छ ।

उता सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा भने अलिक फरक ढङ्गले काग तिहार मनाईन्छ । सुदूरपश्चिमको स्थानीय भाषमा नरहरी भनिने यस चाड माघे संक्रान्ति अर्थात पुसे तिहार भनेर मनाईन्छ । सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात माघे संक्रान्तिमा कागलाई सेल रोटी र अन्य मिठापरिकारहरु खुवाउने चलन रहेको छ । हरेक वर्ष पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ ।

काग र कोईलीको अत्यन्त प्रसिद्ध कथा र चलन त हामीसबैले सुनिआएकै छौं । कोईलीले आफ्नो अण्डा गएर कागको गुँडमा पार्ने अनि कागले त्यसको अण्डा कोरलेर कोईलीको बच्चालाई आफ्नै सन्तान भनेर हुर्काउने गर्दछ । यसअर्थमा चर्कोस्वरमा नमिठोगरि कराउने कालो काग नै सुरिलोस्वर भएका हरेक कुहु कुहु गरेर बसन्तमा कराउने कोइलीको जीवनरक्षार्थक अभिभावक हो, काग र कोईलीको यो सहअस्तित्वले हामीलाई धेरै सकारात्मक कुराहरुको उदाहारण दिएको छ ।

घरघरमा केराका बोटहरु लगायत अन्य प्रकारका झिलीमिली द्वारहरु बनाएर साँझमा दीप प्रज्जवलन गरिन्छ । विभिन्न प्रकारका पटाकाहरु पड्काउने चलनका साथै तराईमा सन्ठी अर्थात जुटको भित्रपटिको हलुका लठ्ठिहरुको मुठालाई बालेर खेतमा गएर हुक्का खेल्ने चलन छ । रमाईलोको यो माहौलमा सजग र सुरक्षीत रहन पनि एकदमै जरुरी छ । अर्कोतर्फ अब गाँउघरमा उत्साहित मान्छेहरुले उल्लासपूर्वक तिहारमा देउँसी या भैलो कहाँ कहाँ खेल्ने, को को खेल्ने अनि के के गीत अथवा नृत्य प्रदर्शन गर्ने, कसले भट्याउने आदि तैयारी शुरु भइसक्यो होला, ल है सबैलाई शुभकामना, यो तिहार उल्लासपूर्ण होस् हामीसबैको आगनीमा सदासर्वदा कागले हर्ष र उत्साहको सुसमाचारहरु ल्याईरहोस, शुभकामना !
 
रामेश रायनको रचनामा जनवादी गीतको सानो अंशलाई साभार गर्यौं,

कोही त मर्दा डाक्टरको चाकरी
कोही त मर्छन अस्पताल नहेरि, हाम्रो नेपालमा
कोई को लूगा धपधपी बलेको, कोही को भनें १२ ठाँउ टालेको, हाम्रो नेपालमा

वास्तवमै यो दृश्य नेपालमात्र नभई बिश्वभरि नै बिभिन्न स्वरुप अनि संरचना मा अझै छ । धनको असमान वितरण, स्वरुप स्वरुपमा विधमान सामन्तवाद, असिमीत पूँजीवाद लगायतका थुप्रै कुराहरुले बिकासको खोल भित्र गरिबीको बिउ नमज्जाले रोपिरहेको छ ।

विश्वका कुना कन्दरामा भएका चिसा चुल्हाहरु, खाली थालहरु, नभरिएका पेटहरु, पढ्न नपाएका जीवनहरू, आशामा बसेका आँखाहरु र त्यसबाट विभिद कारणले छिचोल्दै गरेका आँशुका ढीकहरु, गरिबी बास्तवमै मानव समाजकोलागि श्राप अनि गरिबी निवारण केवल मृगतृष्णा भएको छ । आखिर किन त ? किन हो त विश्वको एउटा कुनामा मङ्गल ग्रहमा स्याटलाइट पठाउने गृहकार्य गरिरहँदा अर्को कुनामा मान्छेहरु दुई छाक पनि खान नपाई ओछ्यानमा सुत्न जाँदछन् ?

--------
गरिबी निवारण दिवस


आज विश्व समूदायले २५ सौं गरिबी निवारण दिवस भव्यता का साथ मनाउँदैछ । हरेक वर्षको अक्टोबर १७ मा यो दिवस मनाउने चलन छ ।

परमाणु शक्तिमा लाखौं अरबौं डलर खर्च गर्न सक्ने देशहरु ले नागरीकका भोका नागां समस्याहरु लाई समेत सम्बोधन गर्न सकेका छैनन् । २१ सौं शताव्दीको यो पहिलो अर्धदशक भित्र पनि संसारमा गरिबीले बिदा मागेर गाँस वाँस र कपासको आधारभूत प्रत्याभूति पनि हुन नसक्ने छेकछन्द देखिएको छ ।

हरेक सरकार अनि संसदको प्रथम प्रार्थमिकता भनेकै गरिबी उन्मुलन हुन पर्ने रहेको छ यो गरिबीको उन्मुलन शान्ति, स्थाहित्व र आर्थिक बिकासकालागि अत्यन्त महत्वपूर्ण छ ।

त्यसै कुराहरुलाई बुझेर यस बर्षको गरिबी निवारण दिवसको नारा नै 'A path toward peaceful and inclusive societies' अर्थात गरिबी निवारण्का लागि शान्तिपूर्ण र समावेशी समाजहरु तर्फ भन्ने अर्थ लाग्दछ ।

विश्व बैंकको तथ्याकं्लारई साभार गर्न चाहयौं, सन् २०११ को २५ दशमलव २ प्रतिशत गरिबी रहेको नेपालमा सन् २०१५ सम्म घटेर २१ दशमलव ६ प्रतिशत भएको देखिन्छ । बैदेशिक रोजगारीको बिप्रेषणबाट आएको रकम मार्फत बढेको आय लाई दिर्घकालीन अवश्य मान्न सकिन्न, देशमै रोजगार अनि सिपको उजागर गर्दै बजार अनि बित्त व्यबस्थापन जरुरी छ । अर्कोतर्फ कृषीकार्यमा क्रान्ती ल्याएर निर्वाहमुखी भन्दा व्यवसाहीक कृषी गरिन जरुरी छ ।
स्मरण रहोस् दश बर्षे द्धन्द र त्यसपछिका अन्योलले नेपालमा गरिबीको तह बढेको अनि मान्छेहरु मा जीवनयापन गर्ने अवसरहरुको कमी देखिएको छ ।

अर्कोतर्फ सरकारी प्रयास स्वरुप गरिबी निवारण कोष मार्फत नेपालभरिका ५९ जिल्लामा ३० हजार सामूदायीक संस्थाहरु मार्फत बिभिन्न आय आम्दानीका कार्यक्रमहरु गरिरहिएको छ, गैर सरकारी संस्थाहरु पनि यस स्वरोजगार र सामुदायिक आयआर्जनको मार्गमा लागि परेका छन् ।

गरिब र धनीको अव्यक्त खाल्डो बिश्वभरि नै मौन लडाईका रुपमा रहेको छ, यस अर्थतन्त्रमा ज्ञान अनि अवसरको आधारमा अगाडि बढ्न सबैलाई स्वतन्त्रता छ, हैन र ? गरीब र धनीको यो खाडल पुरिँदै जाओस्, समाज अनि समाजका बिपन्न समुदाय प्रति राज्य अनि हामी सबैको ध्यान हुन जरुरी छ ।

आर्थिक बिकास बिनाको र गरिबीले पिल्सिएको प्रजातन्त्र लङ्गडो हुन्छ । गरिबी उन्मुलन भएको नेपाल र विश्व हामी सबैले यहि जूनीमा देख्न पाइयोस् ।
सबैको घरमा छाना होस्
मानामा चामलका दाना होस्
कोदो होस् या पीठो होस्
जीवन सबैको मिठो होस्

जय होस् 1

------
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.