अन्तर्राष्ट्रिय बाघ दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अन्तर्राष्ट्रिय बाघ दिवस





बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष आजको दिनलाई बाघ दिवस भनेर मनाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । सो मञ्च विश्वको पहिलो बाघ सम्मेलन थियो । रुसका तत्कालिन प्रधानमन्त्री भ्लादिमिर पुटिन र विश्व बैंकका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रमको थालनी गरिएको हो । त्यस यतादेखि हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरुको बासस्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरुको संरक्षणका मुद्दाहरुको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरुको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।

आखिर बाघलाई यति धेरै महत्व किन दिइन्छ ? थाहा पाऔँ है त । कुनै समय जताततै पाइने बाघलाई अहिले लोपोन्मुख प्राणीको सूचिमा राख्ने गरिएको हामी सबैलाई थाहै होला । २० औँ शताब्दीको पूर्वाद्धमा बाघको जनसंख्या १,००,००० रहेकोमा यो संख्यामा ९०% प्रतिशत ह्रास आई अहिले ३,२०० मा झरेको तथ्यांकले देखाउँछ । यिनीहरुको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फँडानीले गर्दा बासस्थलको कमी, मौसममा परिवर्तन, गैरकानुनी शिकारको उपज हो ।

यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरु मिलेर सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने महत्वकांक्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरुको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बंगलादेश, कम्बोडिया, चीन, लाओस, म्यानमार, इण्डोनेसिया, थाइल्याण्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको आठौँ वर्ष बित्दैछ ।

बाघको महत्व
बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रुपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रुपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य श्रृंखलामा बाघ मुख्य शिकारी जनावर भएका कारणले शाकाहारी जनावरलाई नियन्त्रणमा राखी वातावरण संतुलनमा यसको उल्लेखनीय योगदान हुन्छ । वातावरणीय सन्तुलन जंगली जनावरको लागि मात्र नभएर स्थानीय देखि विश्वभरका मानिसहरुका लागि पनि उत्तिकै महत्वपूर्ण हुने गर्दछ भन्ने कुरा भनिरहन नपर्ला । विद्यार्थी जीवनमा विज्ञानको किताबमा घाँस, बाख्रा, बाघ र माटो÷मलको चक्र आकारमा रहेको चित्रलाई विज्ञान पढाउने शिक्षकशिक्षिकाले यी जीवहरुको एक आपसको सम्बन्धबारे बताएको हामीले भुलेका त पक्कै पनि छैनौँ होला ।

बाघलाई वातावरणीय सन्तुलनलाई कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरुलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रुपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरु चिन्दछन् । यसलाई अंग्रेजीमा “अम्ब्रेला स्पेसिज” भनेर पनि भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठूलै जंगल संरक्षित गरिनपर्छ । यसरी जंगलको संरक्षण गर्दा अन्य पशुपन्छीहरुले पनि बासस्थान पाउने भएकाले बाघलाई महत्वपूर्ण प्रजातिको रुपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वनजंगलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।

बाघ संरक्षणका प्रयास यसअघि नभएका पनि होइनन् । सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरु गरिएका भएपनि बाघको संख्या दिनहुँ दिन कम हुँदै गइरहेको थियो । बाघ पाइने मुलुकहरु एकै ठाउँमा भेला भइ संयुक्त प्रयास गर्दा महत्वकाँक्षी लक्ष्य पनि पूरा गर्न सकिने हुँदा यी १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ । सबै मुलुकले चाहँदा यो असम्भव पनि त भएन नि ।

सन् २०२२ सम्ममा यी १३ मुलुकले बाघको संख्या दोब्बर बनाउन सकेमा विश्वको लागि यो अनुकरणीय उदाहरण हुन जान्छ । ग्लोबल वार्मिङको चपेटामा परिरहेको विश्वलाई यसको सफलताले राहत प्रदान गर्नेछ । केही सफलताको बाटो पछ्याउन सुरु गरिसकेकाले पनि हाम्रो भविष्य उज्जवल छ भने आशावादी हुने ठाउँहरु प्रशस्तै छन् । बाघ दिवस मनाइरहँदा यसले बाघको संरक्षणको मात्र होइन, वनजंगल र अन्य पशुपन्छीका साथै मानव जीवनको कल्याणको महसुस प्रदान गर्दछ । भावी पिढी मुस्कुराउने र धर्ती माताको र्दीघायुको बाटो खुल्ला गर्दछ ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.