सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने संकल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाहरुको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनेर नभुलौँ है । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या रहेको कुरा पनि यसले उजागर गराइदिएको छ ।
वयस्कहरुभन्दा युवाहरु बेरोजगार रहने सम्भावना तीन गुणाले बढी रहेको तथ्याकंहरुले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरुले रोजगार पाइहाले पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरु बेरोजगार रहने सम्भावना झनै बढी छ । पाएको रोजगारबाट उनीहरुले धेरै नै कम तलब पाउछन् र अस्थायी काममै चित्त बुझाउने गर्दछन् । मिहिनेतको पैसा थाप्ने रहर हरेक मानिसको हुन्छ । युवायुवतीहरु छातीमा जोश र पाखुरामा बल हुँदाहुँदै पनि रोजगारका लागि आवश्यक दक्षताको अभावले युवा जोशको दम्भलाई कामको भारीले थिचेर पाएको धेरथोर पैसा चुप लागेर लिन बाध्य छन् ।
अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरु बेरोजगार रहेको र बेरोजगारी दर १३.१% रहेको देखाएको थियो । यो संख्या सन् २०१७ मा विश्वका प्राय मुलुकहरुमा बढिसक्ने आँकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अंकगणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।
युवा बेरोजगारी कुनै व्यक्तिगत समस्या मात्र होइन, यो संरचनात्मक बेरोजगारीको समस्या हो । विश्वभरिको अध्ययन अनुसन्धान र पद्धतिले पनि यही देखाउँछ । कामदारहरुको दक्षता र बजारलाई आवश्यक दक्षता नमिल्नाले नै बेरोजगारी बढ्ने हो । विश्व व्यापारीकरण र प्रविधिको विकासका कारणले विश्वभर मानिसहरुको आवश्यकता बढ्दै गइरहेको छ । यही आवश्यकता पूर्तिका लागि विभिन्न उपभोग्य वस्तु तथा सेवाहरु समेत बढ्दै गइरहेका छन् । सामाजिक जटिलता बढ्दो छ र यसकारण पनि बजार फस्टाउँदो छ । यही फस्टाउँदो बजारले उच्च दक्ष भएका कामदारहरुको माग गरिरहेको छ । निम्न स्तर भनिएका कामहरुमा पनि दक्ष कामदारले काम पाउने हो भने उसले आधारभूत आवश्यकताहरु पूरा गर्न सक्ने हैसियत राख्न सक्दछ । यसको उदाहरण विकसित भनिएका देशहरुमा हामीले निम्न स्तरका काम भनेर चिनिआएको ड्राइभिङ, क्लिनीङ, आदिजस्ता कामबाट आउने आम्दानीबाट पनि देख्न सक्छौँ । यसले विश्वभर दक्ष जनशक्तिको आवश्यकता बढ्दै गइरहेको स्पष्ट देखाउँछ ।
संरचात्मक बेरोजगारीले विश्वका सबै क्षेत्रहरुमा नकारात्मक प्रभाव पार्दछ । यसले विश्व अर्थतन्त्रमा मात्र नभई समावेशी र समान समाज निर्माण गर्ने २०३० को दिगो विकासको लक्ष्यमा समेत खलल पुर्याउँछ । युवाहरुलाई सक्षम बनाउनका लागि उनीहरुको सीप विकास गर्नु प्राथमिक माध्यम हो । सन् २०३० को दिगो विकासको लक्ष्यले पनि युवाहरुलाई सीप र रोजगारीको अवसर मुख्य रुपमा प्रदान गर्ने ध्येय राखेको छ । दिगो विकासको लक्ष्यको ४.४ मा सन् २०३० सम्म दक्ष सीप भएका युवा तथा वयष्कहरुमा उल्लेखनीय वृद्धि गर्ने भनेर लेखिएको छ ।
दिगो विकासको लक्ष्यको जिम्मा संयुक्त राष्ट्रसंघको मात्र होइन । अझ भन्नपर्दा उसले पूरा गर्ने नै होइन । यो हरेक राष्ट्र र समुदायले अपनत्व लिएर आफ्नो समाजको विकासका लागि आपैंm प्रयास गर्ने हो । नेपालको युवाको जिम्मा नेपालले नै लिने हो । देश संघीय संरचनामा गइसकेकाले अब त हरेक गाउँपालिका र नगरपालिकाका युवाहरुको दायित्व सम्बन्धित पालिकाले नै गर्नपर्छ । युवालाई कसरी हुन्छ बजारको माग अनुरुप दक्ष बनाउने कर्तव्य समुदायको हो । यसमा युवाले पनि आफ्नो काम, कर्तव्य, जोश र जाँगरको सही सदुपयोग गर्न पर्ने हुन्छ । जबसम्म युवा, समुदाय र सरकार बेरोजगारी न्यूनिकरणका लागि काम गर्दैनौँ तबसम्म लाँदिएका नीति तथा कार्यक्रमले मात्र बेरोजगारी हट्न सक्दैन ।
नेपालमा युवा तथा साना उद्यमी स्वरोजगार कोषले देशका शिक्षित, अर्धशिक्षित तथा अशिक्षित सीपयुक्त बेरोजगार युवाहरुलाई स्वरोजगार बनाउने भन्दै विभिन्न क्रियाकलाप तथा कार्यक्रमहरु सञ्चालनमा नल्याएका पनि होइनन् । स्वरोजगारीका लागि ऋण प्रदानका लागि सहजीकरण गर्नेदेखि, स्वरोजगारीका लागि विभिन्न क्षेत्रको पहिचान र सम्भाव्यता अध्ययनमा पनि यस कोषले ध्यान पुर्याउँदै आएको छ । तर, यसले आशातीत लाभ दिन भने सकिरहेको छैन । यसको मुख्य कारण भनेको युवाहरुमा यस कार्यक्रमसम्बन्धि सूचना नपुग्नु र सीपयुक्त बेरोजगार युवा भनिएको ठाउँमा सीपयुक्त युवासम्म पनि बनिनसक्नु हो ।
भर्खरै एसइइ दिएर बसेका भाइबहिनीहरुमध्ये पनि राम्रो ग्रेड आएका भाइबहिनीहरुले विज्ञान नै पढ्ने भए, ठिकै आउनेहरु म्यानेजमेण्ट र कम ग्रेडिङ आउनेहरु सजिलो भनिएको विषय आर्टस् वा एजुकेसनतिर लाग्ने भए । म के बन्ने, मैले पढेर के हासिल गर्ने, कस्तो सिप सिकेँ भने मैले मलाई, मेरो परिवारलाई, मेरो समुदायलाई र राष्ट्रलाई मैले के दिन सक्छु भनेर भाइबहिनीहरुलाई झकझकाइदिने कोही भएनन् । सीप सिकेर दक्षता हासिल गरेर पनि तिमीले समाजमा परिवर्तन ल्याउन सक्छौ है भनेर भाइबहिनीका कानमा पुर्याइदिने कोही भएनन् । विश्वले यस पटक पुनः अर्को विश्व युवा दक्षता दिवस मनाउँदैछ । विभिन्न कार्यक्रम गरेर आजको दिन त मनाइएला तर यस पटक हामी सबैले आफ्नो तर्फबाट दक्ष र सीपयुक्त युवा सिर्जना गर्न के गर्न सकिन्छ भनेर चिन्तन मनन पो गर्ने हो कि ?
सुयोग ढकाल
Liked by: