कहाँ सक्छौ पत्थरलाई, तिमीले यहाँ दलाउन
ढुङ्गा भो यो दिल अब, सक्छ कस्ले जलाउन।
भोगाइले मेरो छाती, अब चट्टान बनिसक्यो
पर्वतझें अटल आस्था, सक्छ कस्ले चलाउन।
पैठेजोरी खेल्दा खेल्दै, मन स्पात बनिसक्यो
संयमताको पर्खाल अब, सक्छ कस्ले ढलाउन।
टुट्न सक्छन् बिश्वासका, झिना त्यान्द्राहरु
भरोसाको लठेडोरी, सक्छ कस्ले गलाउन।
बन्न सक्छन् शैलश्रेणी, चुलिएर रहरहरु
तिलस्मी छ जिन्दगी, सक्छ कस्ले छलाउन।
Liked by: