नक्षत्रको पौराणिक महत्त्व:
२७ नक्षत्र र १२ राशिको नाम :
नक्षत्रको महत्त्व :
नक्षत्र र राशि बीचमा फरक के छ ?
नक्षत्र अनुसार १२ महिनाको नाम:
नक्षत्र के हो ?
आकाश मण्डलमा भएका ताराहरूको समूह नै नक्षत्र हो । वैदिक ज्योतिषमा नक्षत्रलाई धेरै महत्त्वपूर्ण अङ्ग मानिएको छ । वेद जस्तो सर्व प्राचीन ग्रन्थमा पनि नक्षत्रको बारेमा विशेष जानकारी दिइएको छ । नक्षत्रले आफ्नो प्रभावबाट कुनैपनि व्यक्तिको जीवनमा परिवर्तन ल्याउने क्षमता राख्दछ, त्यसैले हाम्रो सनातन धर्ममा नक्षत्रको अवस्था हेरी प्रतिकूललाई अनुकूल बनाउने प्रयास र तत् सम्बन्धी ग्राहको पाठ, पूजा, यज्ञ, अनुष्ठान, साधना र व्रत आदि गर्ने विधान रहेको छ ।
नक्षत्र- वैदिक ज्योतिष शास्त्र अनुसार नक्षत्र, पञ्चाङ्ग (पात्रो)को महत्त्वपूर्ण अङ्ग हो । पूर्वीय ज्योतिष शास्त्रमा नक्षत्रलाई चन्द्र महल भनिन्छ अर्थात् ताराहरूको समूह नै नक्षत्र हो । शास्त्रमा नक्षत्रको जम्मा सङ्ख्या २७ मानिएको छ र अभिजित नक्षत्र समेत जम्मा २८ नक्षत्र हुन्छ, ती २७ नक्षत्रको नाम र त्यसको विभाग निम्न प्रकार रहेको छ:
२७ नक्षत्र:
अश्विनी, भरणी, कृत्तिका, रोहिणी, मृगशिरा, आर्द्रा, पुनर्वसु , पुष्य, अश्लेषा, मघा, पूर्व फाल्गुनी, उत्तर फाल्गुनी, हस्ता, चित्रा, स्वाति, विशाखा, अनुराधा, ज्येष्ठा, मूल, पूर्वाषाडा, उत्तराषाढा, श्रवण, धनिष्ठा, शतभिषा, पूर्वभाद्रपद, उत्तरभाद्रपद र रेवती । वैदिक ज्योतिषमा यिनै २७ नक्षत्र मानिएको छ । अश्विनी, अश्लेषा, मघा, ज्येष्ठा, मूल र रेवतीलाई गण्डमूल नक्षत्र तथा भरणी, रोहिणी, मृगशिरा, अश्लेषा, ज्येष्ठा र मूललाई नागमूल नक्षत्र पनि भनिन्छ । यिनीहरूमध्ये अश्विनी, भरणी, रोहिणी, मृगशिरा, मघा र रेवतीलाई सामान्य मूलसंज्ञक र अश्लेषा, ज्येष्ठा र मूल नक्षत्रलाई विशिष्ट मूल संज्ञक नक्षत्रका रूपमा लिइन्छ । यी मूलसंज्ञक नक्षत्रलाई हानिकारक नक्षत्रका रूपमा मानिन्छ ।
१२ राशि:
शास्त्र अनुसार ऋषि मुनिहरूले आकाश मण्डलको विभाजन १२ भागमा गरिदिएका थिए, जुन १२ राशिहरू - मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मीनको नामबाट प्रचलित भयो र यसैलाई सूक्ष्म अध्ययनको लागि २७ भागमा विभाजन गरियो जसको परिणामस्वरूप कुनै एक राशि भित्र लगभग २.२५ नक्षत्र समाहित हुन्छ । एउटा नक्षत्रमा ४ वटा चरण (४ नाम) हुन्छ र एउटा राशिमा पर्ने २.२५ नक्षत्रमा ९ वटा नाम हुन आउँछ र १२ राशिको लागि ९ वटाको (१२ x ९)को हिसाबले सम्पूर्ण १२ राशिको १०८ नाम हुन गएको हो । चन्द्रमाले आफ्नो कक्षमा हिँडी रहँदा पृथ्वीको एक परिक्रमा गर्न लगभग २७.३ दिनमा पूरा गर्ने गर्दछ । वैदिक ज्योतिषको अनुसार चन्द्रमा प्रतिदिन लगभग एउटा नक्षत्रको यात्रा गर्ने गर्दछ । ज्योतिष शास्त्रमा सही र सटीक भविष्यवाणी तथा राशिफल आदिको लागि नक्षत्रको निकै ठूलो भूमिका रहने गर्दछ ।
नक्षत्रको पौराणिक महत्त्व :- पुराणमा उपरोक्त २७ नक्षत्रको वर्णन दक्ष प्रजापतिका छोरीहरूको रूपमा उपस्थित भएको पाइन्छ । यिनीहरूको विवाह सोमदेव अर्थात् चन्द्रमासँग भएको थियो । चन्द्रमाका यिनै नक्षत्ररुपी रानीहरूमा सर्वाधिक प्रिय थिइन् रोहिणी, जसको कारणले चन्द्रमालाई श्राप परेको थियो अत: वैदिक कालदेखि नै नक्षत्रहरूको आफ्नो आफ्नो विशेषता र महत्त्व रहिआएको छ ।
नक्षत्र र राशि बीचमा फरक के छ ?
यदि आप आकाश मण्डललाई १२ भागमा समान विभाजित गरिन्छ भने त्यही प्रत्येक एक भागलाई राशि भनिन्छ । यदि आकाश मण्डललाई २७ भागमा समान रूपले विभाजित गरिन्छ भने त्यही प्रत्येक एक भागलाई नक्षत्र भनिन्छ । हामी सबैलाई थाहा भएकै कुरा हो कि सम्पूर्ण आकाश मण्डलाकै आकार जस्तै ३६० डिग्रीको हुन्छ र त्यसै ३६० डिग्रीलाई १२ ले भाग गर्दा एउटा राशिको भागमा ३० डिग्री हुन आउँछ । त्यसैगरी नक्षत्रको लागि ३६० डिग्रीलाई २७ भागमा विभाजन गर्दा एउटा नक्षत्रको भागमा १३.१३ डिग्री हुन आउँछ । नक्षत्र र राशि बीचको फरक नै यही हो ।
नक्षत्र अनुसार १२ महिनाको नाम:
हाम्रो वैदिक पञ्चाङ्गमा २७ वटा नक्षत्र मध्ये १२ नक्षत्रको नामबाट नै १२ वटा महिनाको नाम रहन गएको पुष्टि हुन्छ । जुन महिनाको पूर्णिमाका दिन चन्द्रमा जुन नक्षत्रमा हुन्छ त्यसै नक्षत्रको आधारमा महिनाको नाम तय हुने गर्दछ ।
जस्तै:
चित्रा नक्षत्रबाट चैत्र महिना
विशाखा नक्षत्रबाट वैशाख महिना
ज्येष्ठा नक्षत्रबाट ज्येष्ठ महिना
पूर्वषाढा या उत्तराषाढा नक्षत्रबाट असार महिना
श्रवण नक्षत्रबाट श्रावण महिना
पूर्वभाद्रपद या उत्तरभाद्रपद नक्षत्रबाट भाद्र महिना
अश्विनी नक्षत्रबाट आश्विन महिना
कृत्तिका नक्षत्रबाट कार्तिक महिना
मृगशिरा नक्षत्रबाट मार्गशीर्ष महिना
पुष्य नक्षत्रबाट पौष महिना
मघा नक्षत्रबाट माघ महिना
पूर्व फाल्गुनी या उत्तर फाल्गुनी नक्षत्रबाट फाल्गुन महिना
अत: प्रत्यक्ष रुपमा हामीहरूलाई कुनै न कुनै नक्षत्रको प्रभाव परिरहेको हुन्छ त्यसैले त्यसको सूक्ष्म र सटीक विश्लेषण गरेमा शुभ फल लिन सकिने र अशुभ फलबाट धेरै हदसम्म बच्न सकिन्छ । अस्तु ॥
-ज्योतिषाचार्य प. नारायणप्रसाद दुलाल
Liked by: