अधिकमास भनेको के हो ?
एउटा औँसीदेखि अर्को औँसीसम्म सूर्य सङ्क्रान्ति परेको छैन भने त्यो महिनालाई अधिकमास वा मलमास भनिन्छ अर्थात् एउटा सूर्य महिना भित्र दुईवटा औँशी परेमा त्यो महिना अधिकमास वा मलमास कहलाउँछ । यो अधिकमासको अधिपत्य सूर्यले स्वीकार नगरेको र यो महिनाको अधिपत्य भगवान् पुरुषोत्तमले स्वीकार गर्नुभएकोले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।
सङ्क्रान्तिरहितो मासोऽधिमासः ।
सङ्क्रान्तिद्वययुक्तो मास: क्षयमास: ।- (धर्मसिन्धु:)
असङ्क्रान्तिमासोऽधिमासः स्फुटः स्याद् ।
द्विसङ्क्रान्तिमासः क्षयाख्यः कदाचित् ।। -(सिद्धान्त शिरोमणि)
पुरुषोत्तम महिनाको परिभाषा
वर्षभरिका १२ महिनाको नेतृत्व भानु, इन्द्र, रवि, अरुण आदिलाई सूर्य तथा कुनै न कुनै देवीदेवताले नेतृत्व तथा सुरक्षा गर्ने तर, यो अधिक महिनालाई कसैले पनि अपनाउन नमानेपछि मलमास दुखित तथा उदासीनताका साथ भगवान् विष्णुलाई आफ्नो पीडा, व्यथा एवम् एक्लो भएको कथा भगवानलाई सुनाएपछि भगवान् विष्णुले मलमासलाई सम्झाउँदै भन्नु भएको छ-
अहमेते यथा लोके प्रथितः पुरुषोत्तमः।
तथायमपि लोकेषु प्रथितः पुरुषोत्तमः।।
"म आफ्नो जुन गुणको कारणले वेदमा, लोकमा र शास्त्रमा पुरुषोत्तम नामले प्रसिद्ध छु, त्यसै प्रकार मलमासपनि ‘पुरुषोत्तम’ नामले प्रसिद्ध हुनेछ र म स्वयम् मलमासको स्वामी हुनेछु ।” भन्दै यसरी अधिक मासको अधिपत्य स्वयम् भगवान् पुरुषोत्तमले स्वीकारी नेतृत्व गर्नुभएकोले यो महिनालाई पुरुषोत्तम महिना पनि भनिन्छ ।
अधिकमास कसरी पर्छ ?
ज्योतिष विज्ञानका अनुसार सूर्यको गतिलाई आधार मानि गणना गरिने वर्षलाई सौर्यवर्ष भनिन्छ र यो सौर्यवर्षको मान ३६५ दिन १५ घडी २२ पला र ५७ विपला हुन्छ । जबकि चन्द्रमाको गतिको आधारमा गणना गरिने वर्षलाई चान्द्रवर्ष भनिन्छ । चाद्रवर्ष ३५४ दिन २२ घडी १ पला र २३ विपलाको हुन्छ । यसप्रकार सौरवर्ष र चान्द्रवर्षको वर्षमानमा प्रतिवर्ष १० दिन ५३ घडी २१ पला अर्थात् लगभग ११ दिनको फरक पर्दछ अत: सौरमासभन्दा चन्द्रमासको दिन गणनाअनुसार वर्षमा ११ दिन फरक हुने गर्दछ । यसै अन्तरलाई समानता बनाउन चान्द्रवर्ष प्रत्येक लगभग ३ वर्षमा १२ महिनाको ठाउँमा १ महिना अधिक भई १३ महिनाको हुन्छ । यसरी गणना गर्दा प्रत्येक ३२ महिना, १६ दिन, १ घण्टा र ३६ मिनेट पूरा भएपछि अर्को अधिकमासबाट अर्को अधिकमास आउँछ । यस्तो अधिकमास यसपालि यही साउन महिनामा परेकोछ । विशेष कुरा के छ भने अधिक मास चैत्र देखि आश्विन सम्म मात्रै हुन्छ । कार्तिक, मार्गशीर्ष र पौष महिनामा क्षय मास हुन्छ र माघ फाल्गुनमा अधिक या क्षय मास कहिल्यै पनि हुँदैन ।
-ज्योतिषाचार्य प. नारायणप्रसाद दुलाल
Liked by: