जन्म लग्न र फल | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

जन्म लग्न र फल





तपाईंको लग्न के हो ?
हाम्रो वैदिक ज्योतिषमा लग्नको विशेष महत्त्व हुन्छ । जब व्यक्तिको आत्मा पृथ्वीमा आफ्नो नयाँ शरीरसँग अवतरित हुन्छ त्यसै क्षणमा पूर्व क्षितिजमा जुन राशि उदित हुन्छ त्यसै कोणलाई लग्न भनिन्छ, अतः लग्नको निर्धारण भने बच्चाको जन्मको समयमा पूर्वी क्षितिजमा उदय हुने राशिको आधारमा गरिन्छ । यदि पूरै क्षितिजलाई ३६० डिग्री मानेर त्यसलाई १२ भाग लगाउँदा १ राशिको ३० डिग्री हुन्छ अर्थात् ३० डिग्री गुणा १२ = ३६० डिग्री । यिनै १२ राशिमध्ये कुनै एक राशि जन्म समयमा पूर्वमा स्थित हुन्छ र त्यही राशि जन्म समयमा लग्नको रुपमा निर्धारण गरिन्छ । हाम्रो कुण्डलीमा बाह्रवटा भाव(स्थान)हरू हुन्छन्, यी बाह्र भावहरू मध्ये पहिलो भावलाई लग्न भनिन्छ र त्यही लग्नको अङ्क हाम्रो चिना (कुण्डली)को पहिलो घरमा-
१ अङ्क छ भने मेष लग्न,
२ अङ्क छ भने वृष लग्न,
३ अङ्क छ भने मिथुन लग्न,
४ अङ्क छ भने कर्कट लग्न,
५ अङ्क छ भने सिंह लग्न,
६ अङ्क छ भने कन्या लग्न,
७ अङ्क छ भने तुला लग्न,
८ अङ्क छ भने वृश्चिक लग्न,
९ अङ्क छ भने धनु लग्न,
१० अङ्क छ भने मकर लग्न,
११ अङ्क छ भने कुम्भ लग्न र
१२ अङ्क छ भने मीन लग्न हुन्छ ।
यसरी आफ्नो जन्म कुण्डली हेरेर मेरो कुन लग्न हो भन्ने थाहा पाउन सकिन्छ ।

जन्म लग्न फल
मेषलग्ने समुत्पन्नश्चण्डो मानी धनी शुभ: ।
क्रोधी स्वजनहन्ता च विक्रमी परवत्सल: ॥

मेष लग्नमा जन्मने व्यक्तिहरू तीक्ष्णस्वभाव वाला, मानी, धनवान, सदाचारी, क्रोधित, आफन्तसँग टाडिने, पराक्रमी र अरुको प्रिय रहने हुन्छन् ।

वृषलग्नोद्भवो विप्रगुरुभक्त: प्रियंवद: ।
गुणी कृती धनी लोभी शूर: सर्वजनप्रिय: ॥

वृष लग्नमा जन्मने व्यक्ति ब्राह्मण, गुरुजन र भगवानको भक्त हुन्छन् । प्रियवक्ता, गुणी, पण्डित, विद्वान, धनी, बलियो, अलिकति लोभी स्वभाव रहनुका साथै सबैको प्रिय हुन्छन् ।

मिथुनोदयसञ्जातो मानी स्वजनवल्लभ: ।
त्यागी भोगी धनी कमी दीर्घसूत्रोsरिमर्दक: ॥

मिथुन लग्नमा उत्पन्न भएका जातक आफन्तहरूको प्रिय, त्यागी, भोगी, धनी, कमी, दीर्घसूत्री र शत्रुहरूलाई परास्त गर्नेवाला हुन्छन् ।

कर्कलग्ने समुत्पन्नो धर्मी भोगी जनप्रिय: ।
मिष्टान्नपानभोक्ता च सौभाग्यधनसंयुत: ॥

कर्कट लग्नमा जन्मने व्यक्तिहरू धर्मात्मा, भोगी, सबैजनाको प्रिय, मिठो खाना रुचाउने, सुन्दर तेजस्वी र धनवान पनि हुन्छन् ।

सिंहलग्ने समुत्पन्नो भोगी शत्रुविमर्दक: ।
स्वल्पोदरोsल्पपुत्रश्च सोत्साही रणविक्रमी ॥

सिंह लग्नमा उत्पन्न व्यक्तिहरू धर्मात्मा, भोगी, शत्रुलाई जित्न सक्ने, उत्साही, सानो पेट भएको, थोरै सन्तान वाला र रणप्रिय पराक्रमी हुन्छन् ।

कन्यालग्ने भवेज्जातो नानाशास्त्रविशारद: ।
सौभाग्यगुणसम्पन्न: सुरूप: सूरतप्रिय: ॥

कन्या लग्नमा जन्मने व्यक्तिहरू धेरै विद्वान्, धेरै शास्त्रमा निपूर्ण, सौभाग्य गुणले सम्पन्न, सुन्दर स्वरुप, ध्यानी, ज्ञानी र सुन्दर विचारका हुन्छन् ।

तुलालग्नोदये जात: सुधी: सत्कर्मजीविक: ।
विद्वान् सर्वकालाभिज्ञो धनाढ़्यो जनपूजित: ॥

तुला लग्नमा जन्मने व्यक्तिहरू बुद्धिमान्, राम्रो कर्मद्वारा जीविका पार्जन गर्ने वाला, विद्वान्, सबै प्रकारका कलाले निपूर्ण, धेरै विषयलाई जान्ने व्यक्ति र लोकमा प्रसिद्ध रहन्छन् ।

वृश्चिकोदयसञ्जात: शौर्यवान् धनवान् सुधी: ।
लोके मान्य: कुले श्रेष्ठ: पुत्रपौत्रादिसंयुत: ॥

वृश्चिक लग्नमा जन्मने व्यक्तिहरू सुरवीर, धनी, ज्ञानी, कुलमा श्रेष्ठ, विवेकशील, परिवारलाई हेरचाह गर्ने वाला रहन्छन् ।

धनुर्लग्नसमुत्पन्नो नीतिमान् धनवान् सुधी: ।
लोके मान्य: कुले श्रेष्ठ: पुत्रपौत्रादिसंयुत: ॥

धनु लग्नमा उत्पन्न व्यक्तिहरू नीतिज्ञ अर्थात शास्त्र हरूलाई जान्नेवाला, भौतिक सुखसुविधा भोग गर्नेवाला धनी, बुद्धिमान्, लोकमा पूज्य, कुलमा श्रेष्ठ र पुत्र पौत्रादिले युक्त रहन्छन् ।

मकरोदयसञ्जातो नीचकर्मा बहुप्रज: ।
लुब्धोsलसो व्यासी चैव स्वकार्ये च कृतोद्यम: ॥

मकर लग्नमा उत्पन्न जातकहरू नराम्रो कारमा रमाउने, धेरै सन्तान वाला, लोभी, आलसी, अनावश्यक धन खर्च गर्ने वाला हुन्छन् तर आफ्नो काम प्रति लगाव भने राख्दछन् ।

कुम्भलग्ने नारो जात: स्थिरचित्तोsतिसौहृद: ।
परदाररतो नित्यं मृदुकायो महासुखी ॥

कुम्भ लग्नमा जन्मने व्यक्तिहरू स्थिर बुद्धि वाला, अत्यन्त कोमल हृदय भएका, परम सुखी हुन्छन् तर विपरीत वर्गलाई दुःख दिने प्रकृतिका पनि रहन्छन् ।

मीनलग्ने समुत्पन्नो रत्नकाञ्चनपूरित: ।
अल्पकाम: कृशश्चैव भवेद् दीर्घविचिन्तक: ॥

मीन लग्नमा जन्मने जातकहरू सुवर्णले परिपूर्ण, अलङ्कार रत्नहरूको प्रिय, शौकीन, कम कामवासना भएको, पातलो शरीर र धेरै सोचविचार गरेर मात्र काम गर्नेवाला हुन्छन् ।

उपरोक्त लग्नको फल जे जस्तो भएपनि हाम्रो जन्म कुण्डलीमा बसेका ग्रहहरूको बल, स्थान र भावको पनि विस्तृत रूपमा अध्ययन र विश्लेषण गर्न आवश्यक रहन्छ । अस्तु ॥

-ज्यो. प. नारायणप्रसाद दुलाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.