ज्योतिष विज्ञान र जन्म कुण्डलीको सामान्य परिचय | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

ज्योतिष विज्ञान र जन्म कुण्डलीको सामान्य परिचय





ज्योतिष के हो ?
हरिॐ ! समय विज्ञान हो ज्योतिष । तेस्रो नेत्र (Third Eye) हो ज्योतिष । ज्योति अर्थात् उज्यालो प्रकाश नै ज्योतिष शब्दको अर्थ हो । उज्यालो प्रकाश बिना जीवन सम्भव हुँदैन । आँखा विनाको जीवन अन्धकारमय हुन्छ । सूर्य भन्नु आँखा भन्नु या ज्योतिष भन्नु यी सबै समानार्थी शब्द हुन । सूर्यको प्रकाश ( या बिजुली आदि कृत्रिम प्रकाश ) मा मात्र आँखाले काम गर्छ । त्यो पनि आँखाको क्षमता अनुसार कम या वेसी प्रकाश भएमा पनि आँखाले काम गर्दैन । आँखाले देख्ने कुरा पनि अत्यन्त सीमित हुन्छ । सामान्य आँखाले देख्न नसकिने विषय ज्योतिष विज्ञान द्वारा देखिन्छ । जस्तै सत्तरी बर्षको मांछेले देख्ने ( बुझ्ने ) कुरा दश वर्षको बच्चाले देखदैन बुझदैन । यहाँ भौतिक रूपमा बच्चाका आँखा राम्रा भएता पनि सुदूर भविष्यसम्म देख्न बुझ्न सक्ने आँखा सत्तरी बर्षको मान्छेमा नै हुन्छ । यही तेस्रो नेत्रको विशेषता हो । ज्योतिष शास्त्र त्यो भन्दा धेरै माथि छ । सत्तरी बर्षको मान्छेले पनि नदेखे बुझेको विषय ज्योतिष शास्त्रले देखाउँछ । ज्योतिष शास्त्रको महिमा दुइ चारबटा लेखमा पूरा हुन सक्तैन किनकी यो प्रकृतिको भाषा ( Language of nature ) हो । यसको गहनतालाई ध्यानमा राखेर नै दुइ चार लेखमा महिमा पूरा हुन सक्तैन भनिएको हो ।

विश्व प्रसिद्ध वैज्ञानिक अलवर्ट आइन्स्टाइनसंग कसैले प्रश्न गरे what about time Sir ? उनको उत्तर थियो- I don't know about this matter. यसबाट के बुझिन्छ भने आधुनिक विज्ञानले पदार्थको विश्लेषण राम्ररी गरे पनि समय विज्ञानको बारेमा आधुनिक विज्ञानको पहुँच छैन । यसै गरि अलवर्ट आइन्स्टाइनकै अर्को भनाइ पनि मननीय मानिन्छ - आधुनिक विज्ञानको साम्राज्य गणितमा आधारित छ र गणितको आविष्कारक गंगा किनारका ब्राह्मणहरू हुन । त्यसैले सम्पूर्ण वैज्ञानिक चमत्कार जे जति पनि भएका छन ती सबैको श्रेय ( credit ) तिनै गंगा किनारका वैदिक ब्राह्मणहरूलाई नै जान्छ, या दिनुपर्छ । अलवर्ट आइन्स्टाइनको भनाईबाट के स्पस्ट हुन्छ भने ( भास्कराचार्य आदि ) ज्योतिष शास्त्रको अध्येता अनुसंधाताले नै संसारलाई गणितशास्त्र दिएका हुन । त्यसैले ज्योतिष शास्त्र भनेको ग्रह नक्षत्रको अध्ययन अनुसन्धान गर्ने शास्त्रमात्र नभएर आधुनिक विज्ञानको पनि जननी हो । आज भोली या कुनै पनि दिन तपाईलाई राम्रो या नराम्रो के छ ? यस्ता प्रश्नको उत्तर आधुनिक विज्ञानसंग छैन । एक एक दिनको मात्र कुरा हैन बल्की महिना बर्ष या सम्पूर्ण जीवन र जीवनका विभिन्न पक्ष जस्तै स्वास्थ्य शिक्षा सम्पत्ति प्रेम परिवार सन्तान रोग शत्रु मित्र आदि राम्रो नराम्रो हुने कुराको विचार गर्ने र पत्ता लगाउने एकमात्र विज्ञान नै ज्योतिष विज्ञान हो ।

जन्म कुण्डली के हो ?
जन्म समयको ग्रहस्थिति देखाउने तस्वीर नै जन्म कुण्डली हो । Morning shows the day अर्थात् विहानको समय प्रसन्न भए दिनभर प्रसन्न हुने र दुःखी भए दिनभर दुःखी भइने कुरा हामीले दैनन्दिन अनुभव गरेका छौं । मान्छे जन्मदाको समय उसको पृथ्वीमा प्रथम उपस्थित हुँदाको समय के कस्तो छ र त्यसले जीवनमा कुन कुन पक्षमा सफल र कुन कुन पक्षमा असफल बनाउँछ भन्ने कुरा कुण्डलीले स्पस्ट देखाउँछ । ज्योतिष शास्त्र अनुसार जो व्यक्ति जुन समयमा जन्म्यो त्यस समयमा कुन ग्रह कहाँ के कस्तो अवस्थामा थिए र ती संकेत अनुसार कुन कुन पक्ष कति सबल या निर्बल छन भन्ने कुरा कुण्डलीले देखाउँछ । तिनै ग्रह नक्षत्रले देखाएको संकेत अनुसार व्यक्तिको वस्तुस्थिति या भविष्य कथन सम्भव हुन्छ ।

कुण्डली आँफैमा एउटा विज्ञान हो । कुण्डलीभित्र बाह्र कोठा हुन्छन जो आकाशको प्रतिनिधित्वलाई संकेत गर्छ । आकाशमा सबै ग्रह आ आफनै कक्षमा निरन्तर चलायमान हुन्छन । आकाशको यिनै बाह्र क्षेत्रलाई मेष वृष आदि राशिको नाम दिइएको छ । यी नाम पनि सार्थक छन । यी आकाशीय क्षेत्रमा ग्रहहरू घुम्दै जांदा अनेक प्रकारका चुम्बकीय प्रभाव उत्पन्न हुने गर्छ । एउटै ग्रह भिन्न भिन्न ठाउँमा भिन्न भिन्न प्रकारको गुरुत्वाकर्षणको प्रभावमा पर्छ र भिन्न भिन्न प्रकारको सुखद दुःखद या सम अवस्थाको अनुभव गर्छ र सोही अनुसारको प्रभाव दिन थाल्छ । जस्तै सूर्य ग्रह मेष राशि ( वैशाख महिना ) क्षेत्रमा हुँदा सुख अनुभव गर्छ र त्यसमा रहेर निक़ै राम्रो असर उत्पन्न गर्छ । पृथ्वीमा वैशाख महिनामा सूर्यले राम्रो प्रभाव पारेको हुन्छ । सूर्य आत्मा अर्थात जीवनको कारक हो । सूर्य बिना जीवनको कल्पना असम्भव छ । चैत वैशाखमा वसन्त ऋतुमा जीवन प्रारम्भ हुने हामीलाई अनुभव छँदैछ । यसै गरी पहिलो राशिमा सूर्यले सुखद अनुभव गरे झैं दोस्रो बृष राशिमा चन्द्रमाले सुखद अनुभव गर्छ ।जहाँ सुखद अनुभव गर्छन त्यसको विपरीत सातौं राशिमा दुःखद अनुभव गर्छन । त्यसैले सूर्य मेष राशिमा उँचा र तुला राशिमा नीच अर्थात् नेगेटिव मानिन्छ । चन्द्रमा बृष राशिमा उँचा र वृश्चिक राशिमा नीच मानिन्छ । त्यसै गरि मंगल ग्रह मकर राशिमा उँचा र कर्कट राशिमा नीच मानिन्छ । उँचा हुँदा सुखद अनुभव र सुखद परिणाम दिए झैं नीच हुँदादुखद अनुभव र दुखद परिणाम दिने गर्छन । यी दुइथरि मात्र अवस्था हुँदैन । आफ्नो राशिमा हुँदा शत्रुको राशिमा हुँदा मित्रको राशिमा हुँदा सम सम्बन्ध भएका ग्रहको राशिमा हुँदा सोही अनुसार फरक फरक फल दिने गर्छन । प्रत्यक्ष उपस्थित भएर फल दिए झै दृष्टिले पनि फल फलित हुने गर्छ । सबै ग्रहले आँफु बसेको राशिबाट सातौं राशिमा पूर्ण दृष्टिले हेरेको अर्थात् प्रभाव पारेको हुन्छ । त्यस बाहेक मंगलले चौथो र आठौंमा, गुरुले पाँचौं र नवौं राशिमा, शनिले तेस्रो र दशौं राशिमा पूर्ण प्रभाव पार्छन । यसैगरी ग्रहका बाल युवा वृद्ध आदि अनेक अवस्था हुने र सोही अनुसार फल दिने गर्छन । यी र यस्तै अनेक अवस्थाको सम्पूर्ण विचार दशा विचार गरेर चिना हेर्ने ज्योतिषीले फल बताउने गर्छन । वर्तमानमा आकाशमा चलिरहेका ग्रहहरूको बस्तुस्थिति, जन्मसमयको ग्रहस्थिति र वर्तमानमा चलेका दशाका आधारमा भविष्यफल भन्ने गरिन्छ जुन अस्सी देखि शय प्रतिशतसम्म मिल्ने गर्छ । यसरी चिना कुण्डली हेरेर जुन जुन विषयमा राम्रो हुने संकेत देखिन्छ ती विषयमा प्रयास गरेमा राम्रो सफलता प्राप्त हुने गर्छ र जुन विषयमा ग्रहको संकेत राम्रो हुँदैन त्यस्ता विषयमा सफल हुन सकिन्न अथवा निक़ै गाह्रो हुन्छ ।

तपाई हाम्रो जीवनमा सजिलै उन्नति प्रगति होस भन्ने छ भने प्रकृतिको भाषालाई बुझ्नुपर्छ । ग्रहहरुको यो सिस्टमलाई नबुझी सुखै छैन, त्यसको संकेतलाई अनुसरण नगरी सुखै छैन । कुनै ज्योतिषी व्यक्ति विशेषले कुनै प्रश्नको उत्तर मिलाएन अथवा भनेक़ो पुगेन भने त्यो त्यही व्यक्तिको कमी कमजोरी मान्नुपर्छ । ज्योतिष शास्त्रको कमी मान्न मिल्दैन । यही वास्तविकतालाई ध्यानमा राखेर नै हाम्रा बाउ बाजेले हज़ारौं वर्षदेखि निरन्तर चिना कुण्डली हेर्ने हेराउने र सोही अनुसार जीवन जिउने अभ्यास गर्दै आएका छन । यसरी ग्रह र तिनिहरूले पार्ने प्रभावको अध्ययन अनुसन्धान गर्न आज संसारभरिका विश्वविद्यालयमा ज्योतिष शास्त्र पढ़ने पढ़ाउने गरिन्छ । यी र यस्तै अनेक राम्रा पक्ष देखेर नै हाम्रो पात्रोको टीमले ज्योतिष सेवा लिएर उपस्थित भएको हो । आदरणीय मित्र ! ज्योतिषी भनेका life designer हुन । व्यवस्थित बन्न नसकेका हरेक जीवनलाई well manage गर्दै सुन्दर design मा व्यवस्थित गरिदिने भएकाले नै यसलाई वेदका आँखा मानिएको हो । अस्तु ।

- आचार्य चुडामणि पाठक

लेखकले "अध्यात्म विज्ञान" पुस्तक प्रकाशित गर्नु भएको छ (available on Amazon) । उहाँ वैदिक ज्ञान लाई विज्ञान सरह प्रस्तुत गर्न रुचाउनु हुन्छ। आचार्य चुडामणि पाठकसँग ज्योतिषीय परामर्श लिनको लागि नेपाली समय बेलुका ९ बजे देखि १२ बजे सम्म हाम्रो ज्योतिष सेवामा आउनु होला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.