सात वारहरूको परिचय र प्रभाव | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

सात वारहरूको परिचय र प्रभाव





हामी समयको एकाईलाई विभिन्न नामले चिन्ने गर्छौं । जस्तै सेकेण्ड मिनट घण्टा दिन रात हप्ता महिना बर्ष शताब्दी सहस्राब्दी युग चतुर्युग, मन्वन्तर कल्प आदि अनेक नाम समय खण्डका नाम हुन । यी नाम मध्ये सप्ताह अर्थात् सात दिनरातको समय खण्डलाई हप्ता भन्ने गर्छौं । भाषा वैज्ञानिक परिवर्तनले संस्कृतको सप्ताह शब्द नै हप्ता शब्दको रूपमा व्यवहारमा आएको छ । समयका अनेक खण्ड छन, यथासम्भव ती सबैको चर्चा पछि गर्ने छौं तर आज यहाँ हप्ता भनिने सात बारहरूको बारेमा केही जानकारी दिने प्रयास गर्देछौं । यी सात दिनका नामबाट यसका विशेषता बुझिने भएकाले आउनुहोस यसका नाम र अर्थ बुझौं ।

आइतवार, सोमबार मंगलवार बुधवार बिहीबार शुक्रवार शनिवार यी सातै बारका नामहरू हामीलाई सर्वाधिक प्रभाव पार्ने सात ग्रहका नामबाट नामकरण गरिएको छ । आदित्य अर्थात् सूर्यको नामबाट पहिलो बार आइतबार बनेको छ । आदित्य शब्दको अपभ्रंश नै आइत शब्द हो भन्ने बुझ्नुपर्छ । सूर्य ग्रहको नाम सबैभन्दा पहिले आउनुले हाम्रो जीवन र जगतको निर्माण एवं संचालनमा सूर्यको भूमिका एक नम्बरमा आउँछ अर्थात् सर्वाधिक भूमिका सूर्यदेवले नै गर्दछन भन्ने बुझिन्छ । अन्य वारमा अन्य ग्रहको प्रभाव बढ़ी हुने भएता पनि आइतवारका दिन सूर्यको प्रभाव बढ़ी हुने र अन्य ग्रहको प्रभाव कम हुने गर्दछ । सूर्यको प्रभाव बढ़ी हुने दिनमा सूर्यबाट प्राप्त हुने कुराहरू (आत्मबल, पितासुख, प्रभावकारिता, आरोग्य, शक्ति, शुभकर्म गर्ने उत्साह आदि) बढ़ी मात्रामा पाइने गर्छ । कसैको जीवनमा यी सामग्रीहरूको कमी महसूस भएको छ भने आइतवारका दिन सूर्य स्नान (Sun Bath) गर्नु या घाममा बढ़ी समय विताउनु राम्रो हुन्छ । स्वास्थ्य लाभ गर्नु छ भने या स्वास्थ्य सन्तुलन बनाइराख्नु छ भने घामको सेवन अपरिहार्य छ त्यसैले त श्रीमद् भागवत महापुराण आदि अनेक शास्त्रहरुमा “आरोग्यम् भास्करात् इच्छेत्” अर्थात् स्वास्थ्यलाभ गर्नुछ भने सूर्यदेवसंग कामना गर भनिएको छ । यदि सूर्य बिग्रेर नकारात्मक प्रभाव भएमा आँखा टाउकोमा रोग समस्या हुनसक्छ अथवा माथि बताइएका सूर्यबाट पाइने आत्मबल आदिको कमी भएमा सूर्यलाई जल चढ़ाउनु, आइतवार नून तेल नखानु नलगाउने गर्दा पनि सूर्यबाट उत्पन्न रोगादि शान्त हुने गर्छ । आइतबार सूर्यको प्रभाव बढ़ी हुने हुनाले यो दिन समयको विशेषतालाई बुझेर उपयोग गर्न सकेमा शतप्रतिशत लाभ लिन सकिन्छ । दुइ चारवटा पुस्तक लेखेर पनि सूर्य ग्रहबाट उत्पन्न सबै प्रभावको आद्योपान्त वर्णन गर्न सकिन्न भने यो छोटो लेखले पुरा गर्ने त कुरै भएन त्यसैले सामान्य जानकारी मात्र सम्भव भएको बुझ्नुपर्छ ।

सूर्य ग्रह जीवन र स्वास्थ्यसँग सम्बन्धित भए झैं चन्द्रमा पनि मानसिक स्वास्थ्य, बुद्धि, आमा, उच्च पद, सम्पत्ति आदिको कारक मानिन्छ । सोमबारका दिन चन्द्रमाको प्रभाव बढ़ी हुने गर्दछ । सोमवार चन्द्रमाको पूजा प्रार्थना या उपासनाले चन्द्रमाबाट प्राप्त हुने विषयवस्तुलाई बढ़ाउन या सकारात्मक बनाउन सकिन्छ । सोम शब्दको अर्थ अमृत हो । चन्द्रमाले अमृत वर्षा गर्ने गर्छ । “सोम खेती, बुध घर” भन्ने नेपाली उखान प्रसिद्ध छ । सोमवारका दिन लगाएको खेती सफल हुन्छ । खेतीबाट राम्रो उत्पादन लिनु छ भने किसानले सोमवारकै दिन बीज बपन या रोपण गर्नुपर्छ । चन्द्रमाबाट राम्रो फल लिनु छ भने सोमवार शिवपूजा मन्त्र जाप आदि प्रभावकारी मानिन्छ । एउटै लेखमा सम्पूर्ण फलकथन सम्भव नहुने भएकाले संक्षेपमा सोमवारको परिचय दिइएको हो ।

मंगलबार, मंगल ग्रहको प्रभाव बढ़ी हुने दिन हो । मंगल पृथ्वीपुत्र हो । साहस, पराक्रम, दाज़ुभाई, जग्गा ज़मीन, रक्त, हड्डी दाँत गणित विज्ञान आदि अनेकन विषयमा मंगलको अधिकार मानिएको छ । मंगल ग्रहबाट हुने नकारात्मक प्रभाव कम गर्न या मंगलबाट अझ बढ़ी पावर लिनुपरेमा मंगलबार व्रत बस्नु, गणेश कार्तिकेय या हनुमान पूजा गर्नुपर्छ । पूजाबाट कसरी राम्रो फल पाइन्छ भन्ने कुरा हामी अन्य लेखमा चर्चा गर्नेछौं ।

बुधवार, बुध ग्रहको शक्ति बढ़ी हुने दिन हो । बुध ग्रहबाट विद्या बुद्धि वाणी घर स्थिरता मामा मित्र रोग आदि विषय पाइन्छ । नयाँ घर या भाड़ामा बस्नु पर्दा बुधबार शुरू गरेमा टिकाउ हुने पक्का छ त्यसैले त हाम्रा बाउ बाजेले सोम खेती, बुध घर भन्दै आएका हुन । बुधबाट शुभ परिणाम चाहनेले बुधवार दुर्गा पूजा कन्या पूजा बुध मन्त्र जप आदि गर्नु राम्रो मानिन्छ ।

बिहीबार, बृहस्पति ग्रहको शक्ति बढ़ने दिन हो । देवताका पनि गुरु मानिने बृहस्पति ग्रह अत्यन्त शुभ शक्ति दिने ग्रह मानिन्छ । विद्या बुद्धि शान्ति सन्तान सम्पत्ति सौभाग्य आदिका कारक मानिन्छन बृहस्पति । बिहीबारका दिन व्रत वस्नु केराको बोटमा पहेंलो पूजा सामग्रीले पूजा गर्नु, शुद्ध सात्विक आहार विहार गर्नेलाई वृहस्पतिले शुभ फल दिने गर्छन । विवाह या विदेश पनि सफल बनाउँछन । योग साधना, अध्यात्म साधना आदि शान्ति बढ़ाउने काम बिहीबार शुरू गर्नु उत्तम मानिन्छ । यी र यस्तै धेरै महत्वपूर्ण जीवन सामग्रीको गुणवत्ता बढ़ाउनु छ भने विहीबार विशेष लाभदायी हुने बुझ्नुपर्छ ।

शुक्रबार शुक्र ग्रहको प्रभाव बढ़ी हुने दिन हो । जीवनसाथी, गाड़ी, गहना, यौनशक्ति, व्यापार सुख मन्त्रविद्या, कला संगीत मनोरंजन राम्रो बोली व्यवहार आदि विषय शुक्रका अधीनमा हुने गर्छ । शुक्रबारबाट शुरू गरिएको प्रेम सम्बन्ध प्रायः सफल हुन्छ । गहना, गाड़ी या सवारी साधन सुख सुविधाका सामग्री शुक्रबार किनेमा राम्रो हुनेछ । शुक्र ग्रह नकारात्मक भएमा यिनै वस्तुहरुमा खराबी या कमी आउँछ । त्यस्तो भएमा या शुक्रको पावर बढ़ाउनु परेमा शुक्रबारका दिनमा सेता सामग्री दान, सन्तोषी माता, सरस्वती या कन्या पूजा राम्रो मानिन्छ । सुख सुविधाका हरेक वस्तुको आरम्भ शुक्रबारबाट गर्नु सर्वोत्तम हुने भएकाले यी र यस्तै जानकारी प्रिय पाठकबर्गलाई दिन खोजिएको हो ।

शनिबार, शनि ग्रहको प्रभाव बढ़ने दिन हो । दुःख रोग मृत्यु अनिष्टको सूचक मानिन्छ शनि ग्रह । शनि या शनैशचर शब्दको अर्थ हो ढिलो । हरेक काममा ढिलो गर्नु गराउनु शनिको विशेषता हो । शनिवार प्रायः सबै गतिविधि ढिलो या सुस्त हुने गर्छ । त्यसैले त नेपालमा अनि संसारभरि कार्यालय बन्द गरिन्छ । शनिवार सकेसम्म कुनै पनि रिस्की काम, महत्वपूर्ण काम नगरेको राम्रो मानिन्छ । शनि ग्रहबाट राम्रो फल चाहनेले शनिवार पीपलबोटको पूजा गर्नु कालो वस्तु दान गर्नु आदि राम्रो मानिन्छ ।

आदरणीय पाठकवृन्द !!
ग्रहको महिमा अनन्त छ । एउटै कुरा सबैलाई लागू हुँदैन । वारहरुको विशेषता र त्यस सम्बन्धी उपयोगी जानकारी दिने यो संक्षिप्त प्रयास हो । यी बारहरुको विशेषतालाई बुझेर व्यवहार गरेमा जीवनमा सफलता बढ़ने र असफलता कम हुने निश्चित छ । नयां पुस्तालाई यी र यस्ता अनेक विषयको ज्ञान छैन । त्यसैले नयां पुस्ताले दुःख पाएको छ । यो लेखबाट त्यो वर्गले ठुलो फाइदा लिनसक्छन । अन्य उपयोगी विषयवस्तु लिएर यथासमय उपस्थित भइरहने शिव संकल्प गर्दै बिदा लिन्छु । नमस्कार धन्यवाद ।

- आचार्य चूडामणि पाठक

लेखकले "अध्यात्म विज्ञान" पुस्तक प्रकाशित गर्नु भएको छ (available on Amazon) । उहाँ वैदिक ज्ञान लाई विज्ञान सरह प्रस्तुत गर्न रुचाउनु हुन्छ। आचार्य चूडामणि पाठकसँग ज्योतिषीय परामर्श लिनको लागि नेपाली समय बेलुका ९ बजे देखि १२ बजे सम्म हाम्रो ज्योतिष सेवामा आउनु होला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.