आज विश्व हाँसो दिवस
सबैलाई थाहा छ कि हाँस्दा राम्रो लाग्छ, तर यी सरल हाँसोहरू हाम्रो दैनिक जीवन र सोच सुधार गर्न कत्तिको मूल्यवान् हुन सक्छन् भन्ने कुरा हामीले बुझ्न जरुरी छ। हुन त हाँसोले कुनै पनि कुरा या पीडालाई निको पार्न वा समाधान गर्न सक्दैन, तर यसले धेरै कुरा र पीडाहरूलाई छेउ लगाउँदै जीवनको मूल्य आत्मसाथ गर्न मद्दत गर्न सक्छ। विश्व हाँसो दिवस मा यस्तै हाँसो सम्बन्धी कुराहरूलाई चर्चा गरिन्छ ।
आफूलाई खुसी बनाउने र हाँस्ने कारणहरू पत्ता लगाउन आग्रह गर्दै हामी सबैलाई विश्व हाँसो दिवसको शुभकामना ।
कहिले मनाइन्छ हाँसो दिवस ?
मे महिनाको पहिलो आइतबार विश्व हाँसो दिवस मनाइन्छ ।
हाँसो दिवसको पृष्ठभूमि
मे ५ मा मनाइने यस दिवसको प्रथम पटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भ्रातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौँ अनि हरेक हाँसोमा बाँच्न नभुलौँ ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुसी छाइरहोस् । खुसीको खोजी जारी रहोस् ।
हेरिदिने कोही छ भनेँ पिरमा पनि फुलिदिन्छु ।
एउटा सानो फिरफिरे पाउँदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौँ रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसँग भेट्न पाउँदा एउटी आमा हाँस्दछिन्, करोडौँले पनि खरिद गर्न नसक्ने अर्को हाँसो ।
विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो ।
अनि लाखौँ, करोडौँ बैङ्क ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाउँदछ । महाकविले लेखेकै छन् ।
गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि
यो एउटा वाक्यांशले हाँसो को अपार व्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको बोट मुनी सुस्ताउँदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौँको हाँसो । हाँसोको यो समीकरणमा उदाहरण सदैव आउँदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र रु तर फुल त मुस्कुराउँछ नै, हाँस्छ नै । नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौँ ।फाँटहरूले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु ।
हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस हुन जरुरी छ। फाँटहरूले मात्र कहाँ पुग्छ र रु भीरहरुमा पनि हाँस्न सक्नुपर्दछ । अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफूलाई नै प्रश्न गरौँ हाम्रो जीवनमा हाँसोहरू कति उधारो राखेका छौँ भनेर रु हाँस्न नभुलौँ है । दिल खोलेर हाँसौँ, हँसाउन सकौँ ।
शुभकामना
गङ्गा सप्तमी व्रत
‘गङ्गा नदी’ र गङ्गा सप्तमी
हिन्दुहरूको आस्थाको केन्द्र भनेर ‘गङ्गा नदी’ लाई मानिन्छ । धेरै धर्मग्रन्थहरूमा गङ्गाको महत्त्वको वर्णन गरेको पाइन्छ । शुद्धता र पवित्रता निम्ति गङ्गा माताको सबै हिन्दु धर्मावलम्बीहरू माझ भावनात्मक आस्था रहने गरेको छ । गङ्गाको पानी हिन्दुका निम्ति पवित्र जल मानिन्छ । अनि गङ्गा नदीमा अस्तु बगाउँदा पितृ तर्ने विश्वास राख्छन्, हिन्दु धर्मावलम्बीहरू । हिन्दुहरूले स्वच्छता र पवित्र जलमा रूपमा लिँदै देव–पितृ कार्यमा प्रयोग गर्छन् ।
गङ्गाले जीवन र मृत्यु दुवैलाई बगाएकी छिन् । भूमि सिञ्चित गरेकी छिन् । गङ्गामा जीवन छ, अनि जीवनमा गङ्गा छ ।
किन मनाइन्छ गङ्गा सप्तमी ?
गङ्गा सप्तमीलाई धेरै स्थानहरूमा गङ्गा जयन्ती भनेर पनि मनाउने गरिन्छ । यस सप्तमीलाई जनहु सप्तमी भनेर पनि सम्बोधन गरिन्छ । गङ्गा उत्पत्तिको विषयमा वैदिक सनातन संस्कारमा विभिन्न कथनहरू भेटिन्छन् ।
आजको दिन अर्थात् वैशाख शुक्ल सप्तमीको दिन गङ्गाको पुनर्जन्म भएको तिथि मानिन्छ । आजको दिन गङ्गामा डुबुल्की लगाउने मनुष्यहरूको सबै पाप हट्ने र ती मनुष्यहरूलाई मोक्ष प्राप्त हुने मान्यता छ ।
आज यदि गङ्गा स्नान गर्न असमर्थ भएमा घरमा भएको गङ्गा जललाई आफूले नुहाउने पानीमा हालेर श्रद्धासहित नुहाए पुण्य प्राप्त हुने मान्यता छ । आज विशेषतः गङ्गा मन्दिरहरूमा श्रद्धापूर्वक पूजा आराधना गरिन्छ ।
हिमालयलाई मुहान बनाउँदै दक्षिण–पूर्वी कोण हुँदै गङ्गा नदी बहन्छ । गङ्गा नदी बङ्गोप सागरमा मिल्न पुग्छ । जुन नदीले उत्तरी भारतलाई हराभरा बनाएको छ र ठुलो जनसङ्ख्यालाई जीवन दिएको छ ।
आजको दिनको अर्थपूर्ण शुभकामना छ ।
रवि सप्तमी व्रत
के यहाँहरूलाई थाहा छ ?
हप्ताका हरेक बारहरूले सौर्यमण्डलका कुनै न कुनै ग्रहको प्रतिनिधित्व गर्छन् । आइतबार अर्थात् सूर्यको बार, सूर्यलाई रवि पनि भनिन्छ । यसअर्थमा रविबार परेको सप्तमीलाई रविसप्तमी भनिन्छ । यो दिन व्रत बस्ने र उपासना गर्ने चलन हुन्छ । रविबारको सप्तमीलाई दुर्लभ मानिन्छ ।
यस्तो संयोग परेको दिन भगवान् सूर्य नारायणको पूजा, अर्चना व्रत आदि गरिन्छ । नवग्रह तथा देवताहरूका पनि बन्दनीय सूर्य भगवान् सम्पूर्ण जगतलाई आफ्नो स्वभावको तेजले प्रकाशमय बनाउने र प्रेरणा प्रदायक सूर्य भगवानको यो दिन उपासना गर्नाले पद, प्रतिष्ठा, ऐश्वर्य, सन्तान सुख तथा मानो वाञ्छित फल मिल्ने शास्त्रोक्त कथन छ ।
सूर्यलाई अर्घ निवेदन गर्ने मन्त्रः
एहि सूर्य सहस्रांशो तेजोराशे जगत्पते ।
अनुकम्पय मां भक्त्या गृहाणार्घं दिवाकरः ।।
ॐ भूर्ब्भुवः स्वः जगतसाक्षिणे श्रीसूर्यनारायणाय नमः ।।
सूर्यको प्रभाव पृथ्वीमा र यहाँका हरेक जीवहरूमा अनेकरूपमा विद्यमान छ । सम्भवतः मानवले देखेको हालसम्मको सबैभन्दा विशाल, चम्किलो र प्रभावशाली ग्रह नै सूर्य हो । यसअर्थमा सूर्यको अर्चना धार्मिक र वैज्ञानिक दुबै हिसाबले जरुरी छ ।
हुन त, सूर्य नारायणलाई धर्म र विश्वासबाट फरक रूपले हेर्ने हो भने सूर्य आफैमा एक निरपेक्ष शक्ति अनि सापेक्ष प्रभाव हुन् । सूर्य नै देवता हुन् अनि सूर्य नै धर्म पनि । संसारका हरेक धर्म र पहिचानका मानिसहरूले कुनै न कुनै रूपमा सूर्यप्रति आफ्नो साधुवाद र भक्ति दर्शाउने गर्छन् ।
सत्य चाहिँ के हो भने, सूर्य नारायणमा भएको हाइड्रोजनको प्रताप र शक्ति कायम रहुन्जेलसम्म नै पृथ्वीको अस्तित्व र यहाँका जीवात्माहरूको प्राण सम्भव छ । त्यसपछि प्रलयको बिकल्प छैन । अन्धकार हारक सूर्य देवतालाई सम्झना गर्ने अनेक दिनहरूमध्ये रविसप्तमी एक दिन हो, जहाँ तिथि र बारको यस अनुपम संयोगलाई अध्यात्मिक रूपमा परिभाषा गरिएको छ ।
सूर्य भगवानलाई प्रातःकालमा सात्विक स्वरूप ब्रह्म मानिन्छ । मध्यान्हमा तमोगुण प्रदान गर्ने सूर्य भगवानलाई देवादि देव महादेवको स्वरूप मानिन्छ भने सन्ध्याकालमा राजसी स्वरूपमा विद्यमान हुने सूर्यलाई विष्णु स्वरूप मानिन्छ ।
उदय ब्रह्मणोरूपं मध्यान्हेतु महेश्वरः ।
अस्तकाले स्वयं विष्णु त्रिमूर्तिश्च दिवाकरः ।।
बाह्र कलाले युक्त यस्तो विशेषता भएको भागवन् सूर्यको पूजा एवं उपासना गर्ने क्रममा धता, अर्यमा, मित्र, वरुण, ईन्द्र, विवश्वान्त, पुखा, पर्जन्य, अंशवान, भग, त्वष्टा, विष्णुआदि १२ स्वरूपको आव्हान गर्ने गरिन्छ ।
सामान्यतया सूर्यलाई प्रशन्न बनाएर शुभफल प्राप्त गर्न आइतबार व्रत बस्ने गरिन्छ । आइतबारको व्रत प्रारम्भ रविसप्तमीको शुभ संयोगबाट या शुक्ल पक्षको पहिलो आइतबारबाट प्रारम्भ गर्नुपर्ने शास्त्रोक्त कथन छ । यस्तो शुभ संयोगको अवसरमा रातो बस्त्र लगाएर सूर्य नारायणको उपासना गर्नु पर्छ । सकिन्छ भने बाह्र महिना व्रत बस्ने नसके बाह्रवटा आइतबार व्रत बस्नु पर्छ । व्रतको दिन प्रातः सूर्य नारायणको पूजा अर्चना गरी अर्घ निवेदन गरी व्रत बस्न सकिन्छ ।
यस्तो व्रत आदि उपमसना गर्नाले सूर्यको जस्तै विद्या र बुद्धि तेजमय हुने र ज्योतिष शास्त्रानुसार जातकको जन्म कुण्डलीमा सूर्यजन्य दोष एवं ग्रह पिडा भए यस्तो शुभ दिनमा गरिएको आव्हानले ग्रह पिडा कम हुने र सूर्यनारायणको शुभ–आशिर्वाद प्राप्त हुनेछ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
Liked by: