AUGUST 25, 2014 / LENDAAI
२०४० मंसिर १० गते । बुवा-आमाले गोजीमा २ हजार रूपैयाँ बोकेर हामीलाई ट्रय्याक्टरमा अर्घाखाँचीबाट दाङ झार्नुभो । अनि जिविस र अदालतको अगाडि झुप्रो होटल खोल्नुभो । आमा र दिदी गाउँमा बस्थे ।
बुवा चिया-समोसा बेच्नुहुन्थ्यो, म पढ्थें । १५ मिनेट टाढा बजारबाट ग्राहकका लागि पान र चुरोट ल्याएबापत खेपको १ रुप्पे पाउँथें । ३ हजारमा किनेको झुप्रो होटलमा बुवा र म एकअर्काका सहारा थियौं । बुवा काखाखुट्टी हालेर सुताउनुहुन्थ्यो, काखीको पसिनाको गन्ध मलाई मीठो लाग्थ्यो ।
० ० ०
अदालत र जिविसका कर्मचारी चिया खान आउँथे, म उनीहरुको जीवनशैली देखेर मुर्मुरिन्थें । बुवा भन्नुहुन्थ्यो, “तँ पनि वकिल भइस् भने चिया खान आएस् ।”
अनि कल्पिन्थें— म कालो कोट लगाएर हाम्रै होटलमा चिया खान आउँथे, बुवालाई पैसा दिन्थें अनि बेलुकी त्यही पैसा चोरेर गोजीमा हाल्थें !
हरेक शुक्रबार बुवा र म २६ किलोमिटर पर गाउँ जान्थ्यौं, जहाँ आमा, दिदी र भाइ हुन्थे । घर जाँदा म संसार जितेझैं हुन्थें । फिलिप्सको रेडियो बजेको सुनेर दिदी र भाइ दौडिएर बाटामा लिन आउँथे !
घरमा टिभी नहुँदाको हुटहुटी थियो मनमा । बुवा भन्नुहुन्थ्यो, “टिभी ल्याए तिमीहरु बिग्रन्छौ ।”
म सहज बुझ्थें- टिभी किन्ने ल्याकत थिएन हाम्रो । अनि बुवासँगै रेडियो सुन्थ्यौं दिनभरि, रातभरि ।
० ० ०
झुप्रो होटलको भित्र कतै कुना बुवा र मेरो सानो घर थियो ।
र, त्यही झुप्रोमा एकदिन आगो लाग्यो, बुवा आधा जल्नुभो । छोरोलाई बचाउँदा आफू जल्ने बाउ पहिलोपटक त्यही रात देखें ।
आधा जलेको शरीर डोर्याउँदै म अस्पताल लैजान्थें, ल्याउँथें । म एक्लो सहारा थिएँ बुवाको । उहाँ ज्ञानी छोरा बन्नुभएको थियो, म बाउ !
हरेक मान्छे दुईपटक जन्मिन्छ— एकपटक बाउआमाले जन्माउँछन्, एकपटक छोराछोरीका लागि जन्मिन्छन् । मेरा बुवा मेरा लागि जन्मिनुभएको थियो दोस्रोपटक !
० ० ०
होटल बेच्यौं, फेन्सी किन्यौं । आमा, दिदी र भाइ गाउँबाट सहर आए ।
पसलका लागि सामान लिन बुवा हरेक महिना काठमाडौं आउनुहुन्थ्यो । उहाँसँगै काठमाडौं घुम्नु मेरो सबैभन्दा ठूलो सपना हुन्थ्यो । विशालबजारको लिफ्ट चढेका कथा साथीहरूले सुनाउँदा म हुरूक्कै हुन्थें ।
बुवा सामान पोका पारेर बसपार्क जानुअघि म पिलपिल गर्थें । घोसेमुन्टो लगाएर आँसु खसाल्थें । बुवा एकमन मलाई हेर्नुहुन्थ्यो र भन्नुहुन्थ्यो, “जा, लुगा लेर आ ।”
म भक्कानिन्थें !
काठमाडौंमा विशालबजारको लिफ्ट चढ्नु र बाटामा सलाईका खोस्टा खोज्नु मेरो एकमात्र उद्देश्य हुन्थ्यो । ती खोस्टाको मोल दाङमा ठूलो हुन्थ्यो । अझ रंगीन भए दुईगुणा बढी मूल्य । गोजाभरि सलाई बोकेर म बुवासँगै दाङ फर्किन्थें । गाडीमा उपदेश सुन्थें । एउटा उपदेश अहिले पनि सम्झन्छु, “जीवनसाथीभन्दा साथी सधैं एक तह माथि हुन्छ, साथीलाई कहिल्यै नपिराएस् !”
० ० ०
पसल र बसाइ अलि टाढा थियो । पालैपालो टिफिनमा खाना पुर्याउँथ्यौं बुवालाई । बेलुकी दिदी भाँडा माझ्थी, म धुन्थें । बुवा भन्नुहुन्थ्यो, “आफ्नो काम आफैं गर, तिमीहरू कम्युनिस्टका छोराछोरी हौ ।”
त्यही कम्युनिस्टको प्रभाव राख्न मेरो नाममै लेनिनको स्ट्याम्प राखिदिनुभो ! कांग्रेस भएको भए शायद बीपी राख्नुहुन्थ्यो !
० ० ०
फेन्सी बेच्यौं, गेस्ट हाउस किन्यौं । कपडा बेच्न छाडेर मान्छे सुताउन थाल्यौं ।
बुवाको आफ्नै दर्शन थियो- हामी साना छँदा कहिल्यै चुरोट र रक्सी बेच्नुभएन । समय फेरियो— जीवनले उहाँलाई ती सबथोक बेच्न बाध्य बनायो !
बुवा चिन्न मलाई २६ वर्ष लाग्यो । जब चिनें, उहाँ हजुरबुवा भइसक्नुभएको थियो !
० ० ०
सानोमा बुवा रेडियो बजाउँदै पसलबाट घर आउँदा हामी खुसीले लठ्ठिन्थ्यौं, अचेल दाङ जाँदा हामी कलंकीबाट फोन गर्छौं, बुवा लठ्ठिनुहुन्छ । पहिले दसैंमा बुवाले नयाँ लुगा किन्दिनुहुन्थ्यो, म रमाउँथें । अचेल म किन्दिन्छु, बुवा रमाउनुहुन्छ !
[बुवासँग २६ वर्ष बसें, त्यसपछि काठमाडौं आएँ, जहाँ जीवनको अर्को अध्यायले बाटो समात्यो]
Liked by: