विश्वनाथ र इब्राहिम | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

विश्वनाथ र इब्राहिम




   Madan Pravat - Jul 09 2016

इव्राहिम मोहम्मद हतास मनस्थितीमा यहाँ आइपुगेको छ । आज उसको ओठमा एक चिम्टि हाँसो पनि छैन, एक रेखा मुस्कान पनि छैन ।



व्राहिम मोहम्मद हतास मनस्थितीमा यहाँ आइपुगेको छ । आज उसको ओठमा एक चिम्टि हाँसो पनि छैन, एक रेखा मुस्कान पनि छैन । छन त केवल अवर्णनिय दुसाध्य पीडाहरु, आाशु पिएर व्यहोरेका हण्डर र ठक्करहरु । यस्तो एक्लोपन उसले आजसम्म अनुभूती गरेको थिएन । एक्लोपनको अनुभूतीमा मात्र होइन वास्तविक जीवनमै आइपरेको छ उसको । साँच्चै इव्राहिम अब एक्लो भएको छ । आफ्ना हराएका पारिवारिक सदस्यहरुको खोजी गर्दा-गर्दै उसका आाखावाट आँशु रिक्तिसकेका छन् । तर अंह, उसले जिउँदो फेलापार्न सकेको छैन कसैलाई ।

पाँच जनाको परिवार मध्ये उसले दुईजनाको मृत लास भेट्यो अहिले सम्म तर अझै दुई जनाको पत्तो लाग्न सकेको छैन । भेटे साँस नभेटे लासको खोजी गर्दा गर्दै उ यहाँ सम्म आइपुगेको छ । यहाँ उ जस्ता थुप्रै छन्, आ-आफ्ना हृदयविदारक कथाहरु बोकेर बसेका । सबैका आँखा आफन्तजनको खोजिमा भौतारीरहेका छन् चारैतिर । उनीहरु अझै बाँचेका छन्-मरेकाहरुको शोक मनाउन । इव्राहिम पनि त्यही पंक्तीमा उभिएको छ । आँखाहरुलाई पर-पर सम्म हुत्याएर उ अझै पनि खोजिरहेछ आफ्ना आफन्तहरुलाई, जो मानव कंकाल हुनबाट जोगिएर, उसले जस्तै थुप्रै हण्डर-ठकर र भुक्तान व्योहोरेर, आफ्ना आफन्तहरुको खोजिमा भौतारिएका हुन सक्छन् । अथवा लाखौ अनुनय विनय गर्दा पनि हिंस्रक पशु झै क्रुर बनेर सग्लो-सल्सलाउँदो जीवनलाई कंकालमा रुपान्तरण गर्न तम्सिएकाहरुको शिकार भएर कुनै धानखेत या बगरमा अथवा जलेर खरानी भएका झोपडवस्तीको अघिल्तिर लडिरहेका हुन सक्छन् । सम्झदा पनि उसलाई रिंगटा लागेर आउँछ ।
 इव्राहिम मोहम्मद आफ्नो विगतलाई सम्झन्छ । बा, आमा, दाजु, बहिनी र उ । बस यति पाँचजनाको परिवार त थियो उसको । आनन्दले आफ्नो जान्दो गर्दै पसिना बगाएर बाँचेका थिए । अलि-अलि दुःख त थियो, पीडा पनि थियो । तर ति दुःख र पीडालाई पुर्न सक्ने खुसीहरु पनि उनीहरुसँग थिए । यसैले इव्राहिम र उसको परिवार सुखी थियो । जुन सुखलाई कुनै शब्दमा वर्णन गर्न सकिदैन । कुनै मापक यन्त्रले नाप्न सकिदैन । तर अचानक साम्प्रदायिक सुनामी लहरहरुले छयान्न-ब्यान्न पारे उसका दुःखले आर्जिएको सुखीपनलाई । अब उ सर्वथा एक्लो भएको छ ।

उ नियाल्छ चारैतिर । पीडा र शोकमा डुबेर आँखाको डिललाई कालो बनाएका सबै दुखीजनहरुलाई पनि नियाल्छ । अनि सम्झन्छ, हिजो अस्ति र अस्तितिर घटेका ति हृदयविदारक घटनाहरुलाई पनि । जहाँ आफ्नै अगाडी अाफ्नो सम्पत्ति लुटियो । आफ्नै कानले प्यारी बहिनीको वलात्कृत चित्कार सुन्नुपर्‍यो अनि हेर्दा हेर्दै आफ्नो सारा सम्पत्ति घर-आँगन श्मसान घाटमा परिणत भयो । उखुँवारीमा साँस दवाएर नलुकेको भए आज उ पनि शायद मानव कंकालमा परिणत भैसक्ने थियो होला । अनि कसले मनाउँथ्यो इव्राहिम मोहम्मदको सम्पुर्ण परिवारको शोक ? जे होस् इव्राहिम मोहम्मद आफ्ना परिवारको शोक मनाउनकै लागि भए पनि बााचेको छ । बस्न त उ बुद्धको अति शान्त भूमिमा नै बसेको थियो । तर उसलाई के थाहा बुद्धको शान्त भूमिमा यतिधेरै अशान्तिका काला बादलहरु मडारिनेछन् र हिंसाको घनघोर वर्षा हुनेछ भन्ने कुरा । खै रोक्नै सकेन बुद्धका आर्दश बाणीहरुले पनि यो रक्तपातको वर्षालाई ।

अहिले इव्राहिम मोहम्मद यो बजारको घच्चा घमसानमा रुमलिएको छ । कोलाहलमय वातावरणमा उ र उ जस्ता थुप्रै जनहरु शरणार्थीमा परिवर्तन भएका छन् । उसले आज चौथो दिन सम्म बुझिरहेको थियो कि यो लुटपाट, हत्या, आगजनी र अत्याचार अल्पसंख्यक मुस्लिम समुदाय माथी बहुसंख्यकहरुद्वारा थोपरिएको घटना हो र सम्पूर्ण रुपमा यसका कारकतत्व बहुसंख्यक हिन्दुहरु हुन भनेर । तर आज यो आश्रय स्थलमा आश्रयलिन आइपुगेपछि उसको यो बुझाई गलत सावित भएको छ । जसले देख्यो उसको स्कुलमा सागै पढ्ने हरिकान्त चौधरी पनि उ जस्तै शरणर्थी भएर यस बजारमा आएको छ । उसले देख्यो उसको घर देखि अलि पर मन्दिर छेउमा घर भएका ध्रुव प्रसाद उपाध्याय खनाल पनि आफ्नो एउटा छोरो गुमाएर शोकमग्न भएर यस बजारमा एकोहोरिदै बसिरहेका छन् । हरिबहादुरको परिवार र इन्द्रबहादुर बस्नेतको परिवार पनि याहि आश्रय लिइरहेका छन् । जो सँग इव्राहिम मोहम्मदको झै आफन्त गुमाउनुको पीडा र सम्पत्ति गुमाउनुको पीडा एक साथ हृदयमा पिङ्ग खेलिरहेका छन् ।

यहिँ आएपछि उसले थहा पायो हिन्दुहरुको बस्ती भएको एउटा सिंगै गाउँ खरानीमा परिणत भएको छ । मन्दिरहरु तोडिएका छन् र मन्दिरवाट मूर्तिहरु हराएका छन् । अधिकांश छोरी चेलीबेटीहरुको अस्तित्व लुटिएको छ । उ सम्झन्छ उसको गााउको मस्जिदहरु पनि त तोडिएको छन् । वजारका घरहरु र पसलहरु सबै फोडिएका छन् । उ गम्न थाल्छ । त्यसो भए के यो हिन्दु या मुस्लिम बिचको दंगा थिएन त ? आखिर के थियो यो र के का निम्ति भएको थियो ? इव्राहिमको निधार तिनमुजा पर्छ तर उसले पत्तो पाउन सक्दैन यो तिन दिन सम्म यस्तो आतंक, अत्याचार र रगतको वर्षा कसले र किन गरायो भन्ने कुरा ।

इव्राहिम बाटोमा एकसुरले हिडिरहेको छ । उसको सेतो कमिज खेतको हिलो, आफ्नो टाउको फुटेर बगेको रगत, उखुँवारीमा लुक्दा लागेको उखुको कालो कसको मिश्रति रंगले नयाा खालको टाटेपाटे भएको छ । बाटोमा एउटा चिया पसल देखापर्छ । इव्राहिमलाई चियाको तल्-तल् लाग्छ । आज चार दिन देखि उसले चिया पिएको छैन । चिया मात्र होइन यो अबधिमा उसले केहि पनि खाएको छैन । उ सम्झन्छ, उसलाई यो विचमा एक पटक पनि चियाको तल्-तल् लागेको थिएन । भय, त्रास र आतंकको भुमरीमा फासेको बेला त तल्-तल् जस्ता नियमित प्रक्रियाहरु सबै हराउँदो रहेछ । तर जे होस अहिले उसलाई चियाको तल्-तल् लागेको छ । के यो नियमित जीवन प्रक्रियामा फर्किएको सुचक हो त ?

"एक कप चिया पिउन पाइन्छ हैन दिदि ?" उ मन खोलेर वोल्छ चियाको तल्-तल् मेट्न । तर अनायासै चियाको निम्ति चाहिने पैसाले पिरोल्छ उसलाई । उ आफ्नो मैलो कमिजको गोजीमा हात घुसार्छ । एउटा गोजीवाट एक रुपैयाँको थोत्रो नोट निस्कन्छ । पैसा कम भएपछि उसलाइै झन धेरै चियाको तल्-तल्ले सताउाछ ।

"म सँग त एक रुपैयाँ मात्रै रहेछ । यसको जति आउँछ त्यती नै दिनुस्न है ।" उ एकदमै मलिन स्वरमा बोल्छ । वरीपरि बसेका सबैले उ भएतिर नजर सोझयाउँछन् । छक्क पर्छिन चिया पसल्नी दिदि पनि । तर उ चुपचाप बेञ्चमा गएर बस्छ । चिया पसल्नीले पुरा एक कप चिया इव्राहिम मोहम्मदको हातमा थमाई दिन्छिन् । उ अप्ठ्यारो मान्दै पसल्नीको आँखामा हेर्छ त्यहाा सहानुभुतीको भाव झल्कीरहेको छ । इव्राहिम मोहम्मद अनुभुति गर्छ यो सहानुभुतीको भाव हिन्दु अथवा मुस्लिम भएकोले होइन बरु मानवताको नाताले सिर्जीत भएको हो । उ हिन्दु अथवा मुस्लिम भएर होइन मात्र मानव भएर सोच्छ र आफूलाई अलि सुरक्षित महशुस गर्छ ।

इव्राहिम बेञ्चमा बसेर चिया पिइरहेको छ । आज चार दिन पछि निस्फिक्र रुपमा विना त्रास उसले मुखमा हालेको यो पहिलो वस्तु थियो । तातो चियाले एकछन सबै कुरा भुलदिन्छ उ । उसलाई जीवनको अनुभुती हुन्छ । चिया जस्तै तातो र न्यानो जीवन ।

 चिया पिउँदै गर्दा इव्राहिम महशुस गर्छ उसको नजिकै बसिरहेको एउटा पातलो र खिनौटे युवक उसैलाई नियाली रहेको छ । त्यस युवकलाई कता-कता यो भन्दा पहिले नै देखेको र भेटेको आभास हुन्छ उसलाई । उ पनि नजानिदो पाराले नियाल्न थाल्छ उसलाई । पातलो शरीर, अनुहारमा चुस्स बोकेदाह्री पलाएको मैलो बाहुले सर्ट र अलिअलि फाटेको टोपी लगाएको त्यस यूवकलाई साँच्चै कतै भेटेको र देखेको चर्को अनुभुतीले गाँज्छ उसलाई । उ वर्तमानवाट निरपेक्ष भएर विगतमा टहलिन थाल्छ ।

विगतका स्कुले जीवन, गोवरहरु बटुलेर गुँइठा बनाउँदाको क्षण अथवा गाईहरु लखेटेर वन पुर्‍याउादा र बेलुका फर्काउँदाको क्षण, ठूल-ठूला घाासे मैदानहरुमा गाइहरु छाडेर कपर्दीमा खेलमा हराउँदाको क्षण र विभिन्न चाडपर्वहरुमा मन्दिरमा गएर अरुले पुजा गरेको लुकेर हेर्दाको क्षण इव्राहिमको आाखामा भिडियोका क्लिपरुमा जस्तै नाच्न थाल्छन् । त्यतिखेरको लगौटीया यार विश्वनाथ झाले कपर्दी खेलमा उसलाई हुर्काउन जिस्काएको भान भैरहन्छ उसलाई । उ चिया पिउँदा पिउँदै नियाल्छ त्यस ख्याउटे यूवकलाई र सम्झन्छ त्यही वाल्यसखा विश्वनाथलाई । मोटा र बलिष्ट पाखुरा भएको उसको कपर्दीको यार विश्वनाथ आज यस्तो चिन्नै नसकिने भयो त ? उसलाई अझै शंका लाग्छ ।

लगभग १६/१७ वर्ष पहिला विश्वनाथका बाबुआमा इव्राहिमहरुको गाउँ छाडेर २५/३० कोश परतिर अर्को गाउँमा वसाई सरेका थिए । त्यसपछि विश्वनाथसाग कहिल्यै भेट भएको थिएन उसको । तर आज यो हालतमा भेट भएको छ । के यो यूवक विश्वनाथ नै हो त ? उसलाई अझै विश्वास भैरहेको थिएन । इव्राहिम चिया पिउँदा पिउँदै धेरै कुराहरु मनमा खेलाउँछ । हेर्छ, त्यस यूवक पनि उसैलाई नियाल्दै छ । उसको आँखामाथीको खतलाई नियालेपछि भने इव्राहिम पक्का हुन्छ कि यो त्यही उसको कपर्दीको यार विश्वनाथ नै हो भन्ने कुरामा ।

"विश्वनाथ!" अनायासै उसको मुखबाट शब्दहरु फुत्कन्छन् । यूवक झसंग हुन्छ ।

"के तिमी इव्राहिम हौ!" यूवक बोल्छ । स्विकारोक्तिको मून्टो हल्लाउदै जुरुक्क उठ्छ इव्राहिम र अंगालोमा बााध्छ आˆनो वाल्यसखालाई । एक्लोपनको चिसो सन्नाटालाई चिदै भएपनि आफन्ती भावको अनुभूती गर्छन् उनिहरु । दुवैका आँखाबाट आफन्तहरु गुमाउनुको पीडा र लामो समय पछि यस्तो हालतमा वाल्यसखा भेटिनुले दुखमिश्रीत हर्षहरु पोखिन्छन् ।

मैलो र दागै दाग लागेको सेतो कमिज लगाएको, कालो दाह्री अनुहार भरी पल्हाएको, आँखाभित्र धस्सिएको अग्लो इव्राहिम र चुस्स बोके दाह्री पालेको, मैलो बाहुले सर्ट र फाटेको टोपी लगाएको पातलो विश्वनाथ दुवै हात समातेर हिंडिरहन्छन् कोलाहलले भरिएको बजारको विचबाट । दुवै एक अर्कोलाई नियाल्छन् तर बोल्न सक्दैनन् । दुवैका पिडा समान छन् । वितेको तिन दिनको रक्तपातपूर्ण समयलाई सम्झेर दुवैको मुटु गाँठो पर्छ । हो, फरक-फरक परिवेशमा रक्तपातपूर्ण हुरीले दुवैलाई नमज्जासँग गाँजेको छ । दुवैका आफन्तहरु हराइरहेछन् । सग्लै छन् या गिडिएका छन्, जसको कुनै पत्तो छैन । रक्तपातपूर्ण हुरी चल्दैगर्दा शुरुवातमा दुवैलाई यो धार्मिक साम्प्रदायिक दंगा हो कि भन्ने लागेको थियो तर अहिले यहाँ, यो शिविरले दुवैलाई प्रष्ट पारेको छ, यो उनिहरुले सोचेको जस्तो दंगा थिएन ।

बजारको शिविरको कोलाहलमय अवस्थावाट अलिपर चौरमा गएर बस्छन् दुवैजना । त्यहाँवाट देखिन्छ, शिविरमा सेतो र निलो रंगको यु.एन. लेखेका गाडीहरु आईपुगेका छन् । रेडक्रसका झण्डा टाँगीएका गाडीहरु पनि रोकिएका छन् । पत्रकारहरुको घुइँचो छ । यि सबलाई नियालेपछि इव्राहिम उतेजित हुन्छ । उसलाई लाग्छ सबका सामू गएर भनिदिउ -यो कुनै दंगा नभएर सुनियोजित ढंगले गरिएको वर्वर आक्रमण हो । यसमा जनताको पसिना र रगत चुसेर बाँच्न पल्किएकाहरुको स्वार्थ लुकेको छ भनेर । तर इव्राहिम त्यसो गदैन । अहिले उ आफ्नो वाल्यसखा विश्वनाथसाग समय विताएर आफु एक्लो नभएको महशुस गर्न चाहन्छ । १६/१७ वर्ष देखि बाँकी रहेको मित्रताको भलाकुसारी सबै सिद्ध्याउन चाहन्छ । उ विश्वनाथ सागको कुराकानीले आफूभित्र रहेको पिडाको गहिरो खाडललाई थोरै भएपनि पुर्न चाहन्छ ।

चउरमा तालु पोल्ने घाम छ । मनमा बढेको पिडा जस्तै एक्कासी बढेको धुपले गर्दा दुवैका अनुहार र शरीर पसिनाले निथ्रुक्क भिजेका छन् । तर पनि एक अर्काको विगतका चाखलाग्दा र कहालीलाग्दा कुराकानी सुन्न चर्को धुपलाई पनि वेवास्ता गर्दै जिज्ञासापूर्वक चउरमा वसिरहेकाछन् दुवैजना ।

 "...............मैले त आफ्नो कुरा सकाे, अब तिम्रो कुरा सुन्ने विश्वनाथ!" खुइया गर्दै इव्राहिमले आफ्नो कुरा सक्छ । इव्राहिमले आफ्नो कुरा सक्दा विश्वनाथको अनुहार पिडाले पहेँलो-पहेँलो हुन्छ, चिन्ताले निन्याउरो हुन्छ अनि आक्रोसले रातो हुन्छ । एकक्षण झोक्राउँछ विश्वनाथ । झोक्राउँदै गर्दा उसका आँखाबाट आँसुका थोपाहरु खस्छन् । उ धैर्यताको बाँध बाँध्न खोज्छ आँखाहरुमा तर बाँधहरुलाई छिचोल्दै आँसुहरु पोखीन्छन् उसैले टेकेको धर्तीमा । आशुँहरु पीडाको ज्वालामुखी निभाउन सक्षम नहोलान् तर केहि शितलताको राहत त अवश्यै दिनेछन् भन्ने सम्झिएर इव्राहिम विश्वनाथको आँशुलाई रोक्न चाहँदैन । निकैबेर सम्म त्यहाँ हुक्कऽऽऽ हुक्कऽऽऽ को आवाजसागै चुपचाप बस्छ परिवेश ।

"विश्वनाथ के तिम्रो विवाह भैसक्यो ?" आँशुले ओशिलो बनाएको परिवेशलाई चिर्दै बोल्छ इव्राहिम ।

भारी मन लिएर विश्वनाथ आफ्नो सबै कथा इव्राहिमलाई सुनाउँछ । उ सुनाउँछ कसरी उसकी प्राण प्यारी सत्यवती र एक वर्षको छोरो राहुललाई आततायीहरुले आगोमा पोले भन्ने कुरा । छोरोकी चिच्चाहट र श्रीमतीको चित्कारलाई उसका कानले सुनेपनि बाँधीएका हातखुट्टाले उसले केही गर्न सकेन । उसकै अगाडी उसको बाबुको शरिर दुईटुक्रा बनाइयो र बाबुको शरिरमाथी लडीबुडी गरिरहेका आमालाई पिटि-पिटिकन मारियो । उ सुनाउँछ कसरी उसले ति मानवताका शुत्रहरुसँग प्रतिकार गर्‍यो र एउटालाई ढाल्यो आफ्नै आागनमा भन्ने कुरा ।

"त्यसबखत कहाँबाट आएको होला शक्ति पनि !" पिठ्यूँमा तरवारले काटेको चोट देखाउँदै विश्वनाथ सुनाउँछ ।

"भाग्दा-भाग्दै एउटाले हानेको तरवारले पिठ्यूँमा काट्यो तर पनि म नरोकिकन कुदेको-कुदै यहाँ आइपुगें । काटेको ठाँउमा मल्हमपट्टी गरेपछि अहिले अलि आराम भएको छ ।" विश्वनाथको आाखा अझै ओभाएको छैन । कहिले उत्तेजीत हुँदै कहिले भाव विव्हल भएर उ आफ्ना पीडा र व्यथाका कथाहरु इव्राहिमलाई सुनाउँछ ।

के विश्वनाथले भोगेका पीडाहरुमा कुनै हिन्दुवादको रंग घोलिएको छ ? के इव्राहिमले झेलेका व्यथाहरुमा कुनै मुस्लिमवादको जलप लगाईएको छ ? धर्म, जाति, भाषा जस्ता सबै पर्खालहरुलाई लपेटेर आएको हिंसाको भेलले विश्वनाथ र इव्राहिम दुवैलाई बगाएको छ । दुवैलाई घर परिवारबाट एक्लो वनाएर, नितान्त एक्लो बनाएर हुत्याइदिएको छ हिंसाले हिलाम्य किनारा तिर ।

विश्वनाथ र इव्राहिम दुवैले सानैमा सुनेका थिए बाबरी मस्जिद काण्ड र दुवैले हिसाब गरि-गरिकन मर्नेहरुको संख्या निकालेका थिए । तर इव्राहिमले कहिल्यै पनि विश्वनाथसागर् हाम्रो बाबरी मस्जिद भत्काउने तिमीहरु हौ !' भनेर भनेको थिएन् । अल्पसंख्यक हिन्दुहरुमाथी वंगलादेश र पाकिस्तानमा भएको ज्यादती, लुटपाट र हत्या-हिंसालाई लिएर कहिले पनि विश्नाथले इव्राहिमलाई दोषी ठहर्‍याएन । यस्तो मित्रता र सहिष्णुता भएका यि नेपालीजन आज धक फुकाएर रोएका छन् एक-अर्को सामु । मुस्लिम र हिन्दुको हौवा खडा गरेर आफ्नो स्वार्थ साँध्ने समाज विरोधी तत्वहरुले यि दुइलाई झण्डै एक अर्काको शत्रु बनाएका थिए । तर अब परिस्थिती फेरिएको छ । दुवैले एक अर्कोलाई बुझिसकेपछि के अब कुनै साम्प्रदायिक सुनामीहरुले उनिहरुको मित्रतालाई ध्वंस गर्न सक्ला ?

- मदन प्रभात
पूर्वी नेपाल, वर्दिवास
[email protected]

----
तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.