फेसबुक | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

फेसबुक




सहयोगी रविन - Sep 12 2016

एकदिन एउटा रिक्वेस्ट आयो । दामी प्रोफाइल पिक्चर भएको केटीको, अबाउटभित्र खासै इन्फरमेसन नभएको । भर्खर सुरु गरेको जस्तो अकाउण्ट । संगीतले ढिला गरेन एसेप्ट गर्न । एसेप्ट गर्नेबित्तिकै उताबाट मेसेज आयो । "हाइ................." संगीतले खुशी हुँदै रिप्लाइ गर्यो...... उताबाट आउने र यताबाट पठाउने क्रम लामो समयसम्म चल्यो । दुबैको सामान्य परिचय भयो । मीठा मीठा कुरा भए । मोबाइल नम्बर साटासाट भयो र फनपार्कमा भोलि शनिबार भेट्ने कुरा भयो । यति हुँदासम्म रातको एक बजिसकेको थियो । संगीत सुत्न गयो तर उसलाई कतिबेला उज्यालो होला भन्ने कुराले तनाव बढाएको थियो ।



"संगीत! ए संगीत! ल खाजा तयार भयो खान आऊ त ।"

"हस् मम्मी! म आएँ । "


एकैछिनमा ऊ किचनमा पुग्यो, मम्मीले खाजा दिँदै भन्नुभयो, "लौ खाजा खाऊ अनि होमवर्क गर्न सुरु गर्ने है ?"
संगीतले केही उत्तर दिएन । केवल खाजा खाइरह्यो नबोलिकनै ।

खाजा खाइसकेपछि, "मम्मी म एकछिन् ल्यापटप चलाउँछु नि है ?" डराइ डराइ संगीतले सोध्यो ।

"हुँदैन, खाली ल्यापटप, पहिला होमवर्क अनि बल्ल ल्यापटप ।"
"ह्या मम्मी! एकैछिन् क्या ।"
"हुँदैन भनेपछि हुँदैन, खुरुक्क होमवर्क गर्न सुरु गर्ने ।"
मम्मीले चर्काे स्वरमा भनिन् ।

"आज होमवर्क नै छैन भन्दा हुन्छ मम्मी किनकि म्याथको मलाई आउँदैन भोलि साथीको सारेर लेख्छु, साइन्सको सर एब्सेन्ट, नेपालीको होमवर्क गरे पनि सरले चेक गर्नुहुन्न, अरुको होमवर्क छैन मम्मी ।"

छोराको कुराले मम्मीले अझ रिसाएर भनिन्, "राइटिङ्ग नभए रिडिङ्ग गर्ने ।"

मन नलागी नलागी संगीत कोठामा गयो र किताब समाएर पढेजस्तो गरेर बस्यो ।

मम्मी आफ्नो काम गर्नतिर लागिन् ।

एकैछिनमा "ह्या... हात्ति पढेर ठूलो भा हो र?" आफैले आफैलाई प्रश्न गर्दै किताब छोडेर ऊ बाहिर निस्क्यो ।

केहीबेरपछि मम्मीले खाना खान बोलाउनु भयो । किचनमा गएर छिटो छिटो खाना खायो । हतार भएझै गरेर किताब समाएर बसिरह्यो ।

मम्मीले आफ्नो काम सकेर टिभी हेर्न थाल्नु भयो । संगीत किताबमा सिरानी राखेर निदाएको जस्तो गर्यो । मम्मी पनि टिभी बन्द गरेर सुतिन् । केही बेरमा उठेर संगीतले फेशबुक खोल्यो र दुईघण्टा जति फेसबुक चलाएपछि ऊ पनि सुत्यो ।
भोलिपल्ट बिहानै मम्मीले संगीतलाई दूध तयार गरिदिइन् । घडीमा सात बजिसक्दा पनि संगीतको निन्द्रा खुलेको थिएन । मम्मीले बोलाएपछि बल्ल-बल्ल आँखा मिच्दै उठेर दूध पियो मुख नधोइकनै । अनि सरासर बाथरुम गयो, ब्रस गर्‍यो, आफ्नो ड्रेस लगायो ब्याग मिलायो । मम्मीले खाना खान बोलाएपछि ऊ खाना खान गयो । खाना खाइसकेपछि जुत्ता, मोजा लगाएर ब्याग लिएर ऊ स्कुलतिर हिंड्यो ।

बाटोमा उसको साथी आकाश भेट भयो ।

"ओ आकाश के छ यार ?"
"बबाल छ मेरो त अनि तेरो नि ?"
"मेरो त ठिकै छ ।"

"आँखा त रातो रातो छ नि रातिसम्म खूब पढ्छस् कि क्याहो संगीत ?"

"कहाँ पढ्नु यार । रातभरि फेसबुक चलाएर हो नि ।"

"अँ साँच्चै तँ त रातिसम्म अनलाइनमा थिइस् त खूब च्याट गर्छस् क्या हो कसै-कसैसँग ?"

आकाश रिसायो र भन्यो, "अँ खुब तँ जस्तो हो नि , म त साइन्स सरसँग नजानेको कुरा सोध्दै सिक्दै थिएँ । अनि पछि निदाएँछु, अनलाइन देखाएहोला।"

"हो र ? तैंले सरलाई पनि एड गरेको छस् ? म त गर्दिन यार, अनलाइन भएको थाहा हुन्छ अनि स्कुलमा गाली खाइन्छ ।
तँ जस्तो हो र ? झन् नजानेको कुरा सोध्न पाइन्छ ।"

"अँ साँचै मलाई हिजो सबिनाले रिक्वेस्ट पठाकी रैछ यार , मैले च्याट गर्दै थिएँ मम्मीले बोलाएर कुरै गर्न पाइन , आज स्कुलमा भेटेर कुरा गर्नुपर्छ ।"

"ह्या खाली फेशबुक र केटीका कुरा..."
आकाश झर्किँदै अगाडि गयो संगीतलाई छोडेर ।

केही बेरमा अर्काे साथी भेट भयो । उसको नाम हो अकिंत

"के छ अंकित ?"
"ठीक छ ।"
"अनि तेरो?"
"मेरो पनि सेम ।"
"होमवर्क सबै गरिस् त अंकित ?"
"छैन ।"
"के गरिस् त हिजो ?"
"के गर्नु नि फेसबुक चलायो बस्यो ।"

"हो र ? मलाई त मम्मीले ल्यापटप खोल्नै दिनुहुन्न । त्यसैमा पनि मम्मी रातिसम्म सिरीयल हेरेर बस्नुहुन्छ । मम्मी नसुतुञ्जेल चलाउनै मिल्दैन ।"
"कसरी चलाउनु ?"
"ल्यापटपमा मात्रै फेसबुक चल्छ र ? आफूलाई त नो टेन्सन"
"किन ? कसरी ?"
"मेरो त बाबाले अहिले आइफोन चलाउनु हुन्छ । पहिला नोकियाको मोबाइल थियो । मैले त त्यसैमा सीम राखेर चलाउँछु । किताब पढेझैँ गर्छु फेसबुक चलाउँछु । क्या मज्जा ।"

उनीहरुको कुरा नसकिंदै स्कूल नजिकै आइसकेको थियो । अनि अंकितले भन्यो, "आज फिल्म हेर्न जाउँ न यार ।"

"हुँदैन मत स्कुल जान्छु । हिजो सबिनासँग कुरा गर्नै पाइन अनलाइनमा, आज जसरी भेटेर कुरा गर्नु छ ।"

"तँ साहै्र बिग्रिएछस् संगीत ।"

"अँ ! खुब स्कुल नगएर फिल्म हेर्न जाउँ भन्ने मान्छेचाँहि राम्रो होला नि ।"


घरबाट स्कुल हिँडेका तिनीहरु स्कुलमा पुगेनन् । तर साँझ भने सधैकै समयमा घर पुगे । पहिला पढ्न अल्छि गर्ने अंकित त्यो दिनदेखि किताब समातेर पढेको देखिन्थ्यो । मम्मीले पनि बाबासँग फोनमा कुरा गर्दा संगीत ज्ञानी भएको भनेर भनिन् ।

फेसबुकमा रिक्वेस्ट आउने पठाउने क्रम चलिरहेको थियो । केटीको प्रोफाइल पिक्चर र नाम देख्नेबित्तिकै एसेप्ट गर्न ढिला गर्दैनथ्यो भने उसले पठाउने रिक्वेस्ट पनि यस्तै हुन्थे ।

एकदिन एउटा रिक्वेस्ट आयो । दामी प्रोफाइल पिक्चर भएको केटीको, अबाउटभित्र खासै इन्फरमेसन नभएको । भर्खर सुरु गरेको जस्तो अकाउण्ट । संगीतले ढिला गरेन एसेप्ट गर्न ।

एसेप्ट गर्नेबित्तिकै उताबाट मेसेज आयो ।

"हार्इ................."

संगीतले खुशी हुँदै रिप्लाइ गर्यो...... 

उताबाट आउने र यताबाट पठाउने क्रम लामो समयसम्म चल्यो । दुबैको सामान्य परिचय भयो । मीठा मीठा कुरा भए । मोबाइल नम्बर साटासाट भयो र फनपार्कमा भोलि शनिबार भेट्ने कुरा भयो ।

यति हुँदासम्म रातको एक बजिसकेको थियो । संगीत सुत्न गयो तर उसलाई कतिबेला उज्यालो होला भन्ने कुराले तनाव बढाएको थियो ।

बिहानै पाँच बजे उठेर संगीत बाथरुम गयो । संगीत उठेको मम्मीले थाहा पाइन् । हत्तपत्त उठेर सोधिन्, "बाबु! सञ्चो भएन ? किन छिटो उठेको ?"

"होइन मम्मी सञ्चै छ, भोलि सण्डेदेखि स्कुलमा टेस्ट छ, अझ भोलि म्याथको छ । त्यसैले आकाशकोमा सिक्न जान्छु मम्मी ।"


मम्मीले पनि छोराको कुरा पत्याइन्, "उसोभए खाजा खाएर जाउ न त । होइन ,मम्मी म खाजा खाना साथीकोतिरै खान्छु ।"

"बुक कपि, पेन लिएर जाऊ ।"
"होइन मम्मी बुक साथीसँग नै छ बरु कपि पेन किन्नु छ पैसा दिनु न ।"

मम्मीले भित्रबाट रु पाँचसयको नोट निकालेर दिइन् र भनिन्, "ल! यसैबाट के के चाहिन्छ किन्नु, साथीलाई पनि खाजा खुवाउनु है!"
"हस् मम्मी"
"बाइ"


संगीत सरासर निस्क्यो । बाटोबाट बसपार्क जाने गाडी चढ्यो । रत्नपार्क पुगेर हिजोको नम्बरमा फोन गर्यो । उताबाट केटीको आवाजमा नै म आइसकें छिटो आउ बाल्मीकि क्याम्पसको अपोजिटमा भन्ने आवाज आयो । केहीबेरमा ऊ त्यहाँ पुग्यो । फोन लगायो फोन उठेन । कसैले उसको आँखामा पट्टी लगाइदियो । उसले आफूलाई केही सुँघाएर गाडीमा राखेको महशुस गर्यो । त्यसपछि उसले केही थाहा पाएन र ऊ घर पनि कहिल्यै फर्किएन |


----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.