कथामा अल्झीएका प्रेम - संगीता श्रेष्ठ | Hamro Patro
Make Kundali | Buy Tickets | Live Video Call

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

कथामा अल्झीएका प्रेम - संगीता श्रेष्ठ





प्रस्तुतिः सन्तोष देवकाेटा | संगीता श्रेष्ठ नेपाली श्रव्यदृष्य क्षेत्रमा चिनिएकी एउटा सफल पात्र हुन् । उनको पहिलो पुस्तक विमोचन कार्यक्रमलार्इ सहजिकरण गरीरहेकी अर्की सफल नारी माल्भिका सुब्बा र उनी दुवैले एक अर्कालार्इ साक्षात्कार गरीरहँदा कहिले परिचयमा सिमित मिडिया गसिपका कुरा हुन्थे त कहिले एक अर्काका जीवन साथीको सहयोग, अानी बानी अनि साथको । संगीता भन्थिन, "मेरी सानी छोरी, मेरो काम र सफलतामा मेरो श्रीमान भूमीको (भूमी श्रेष्ठ) अथाह विश्वास र सहयोगी साथकै कारण श्रव्यदृष्य पछिको यो नयाँ परिचय बनाउन सकेकी हुँ ।" उता अाठाैं महिनाकी गर्भवती पूर्व मिस नेपाल तथा सफल टेलिभिजन प्रस्तोता माल्भिका सुब्बाले, "हैन तपाइको श्रीमानले कसरी म्यानेज गर्नुहुन्छ, मलार्इ पनि टिप्स चाहियो ।" यति भनिराख्दा नेपालयको त्यो हलमा हाँसोको खित्का छुट्थ्यो । संगीताले भनिन, "कार्यक्रम पछि मेरो श्रीमानलार्इ तिम्रो श्रीमानसंग म पक्कै भेटाउने छु ।"

जे होस् अाैपचारिक कार्यक्रम कुनैपनि हिसाबले अाैपचारिक मात्र थिएन, बेला बेला तालि, कानेखुसी, कमेन्टहरूका कारण गजबको व्यवहारीक, व्यवसायीक तथा हाँसो ठट्टासहितको संवादमय माहोलमा पुस्तक विमोचन भयो र संगीता श्रेष्ठको यो पहिलो पुस्तक विमोचित भयो उनकै अन्तरवार्ता लिइरहेकी माल्भिका सुब्बाबाट । 

संगीता फिल्म लेखन, निर्माण तथा निर्देशन गर्छिन् । उनले करिब पाँच दर्जन म्यूजिक भिडियो पनि निर्देशन गरेकी छन् । कान्तिपुर टेलिभिजनको "कथा प्रेमका" शीर्षकको यदि छोटो फिल्म हेर्नुभएको छ भने पक्कै संगीतालार्इ सम्झिनैपर्ने हुन्छ । उनले "कथा प्रेमका" शीर्षकको १३ वटा छोटा फिल्म लेखन तथा निर्देशन गरेकी थिइन् । त्यसैबाट उत्साहित भएर उनले यी कथाहरू तयार पारेकी हुन् ।

नव लेखिका संगीता भन्छिन्, "प्रेमलार्इ न कहिले उमेर, समय अनी परीस्थीतीले बाँध्न सकेको थियो, न त कहिले सक्छ । फेरी किन यो समाज अझै यिनै सब कुराहरुमा अल्झीरहेको छ । यो किताब भित्रको कथामा भेटीने पात्रहरु मध्य टिन एजकी आयशा हुन वा पैतालीस कटेकी अनुराधा दुबैको प्रेममा परे पछीको अनुभव एउटै छ । बन्दुकको भरमा संसार जित्न निक्लेका आतंककारी, कसैको प्रेममा हारे पछि होस वा अपार सम्पतीको बिचमा पनि कसैको मायाको अभावमा बाँचेकी समी होस, प्रेमप्रति सबैको भावना उस्ता उस्तै छ । प्रेमका अगाडी हारेको मृत्यु, अनि मृत्युलाइ समेत जितेको प्रेमका यस्तै यस्तै कथाहरु समेटीएको किताब हो, कथामा अल्झिएका प्रेम ।"


यहाँछन् किताबमा प्रकाशीत कथाहरूका केही विशेष अंशहरूः

एफ.एम. बाट करीयर शुरु गरेर टेलीभिजनका लागी बिभीन्न सांगेतीक कार्यक्रम पस्तुत अनि निर्माण गर्दे आएको । करीब पाँच दर्जन म्युजीक भिडीओ निर्देशन गरीसकेकी ।  "कथा प्रेमका" नामक तेह् वटा र्सट फिल्म लेखन अनि निर्देशन गरी सकेकी । "कथामा अल्झीएका प्रेम" पहिलो किताब लेखकको रुपमा ।

कसैलाइ माया गर्नु वा कसैलाइ पाउनु, दूइ नितान्त अलग कुरा हुन ।

सबैको प्रेम गन्तब्य सम्म पुग्छ नै भन्ने छैन, तर गन्तब्य सम्म नपुगेकाहरुको प्रेम... प्रेम होइन र ?

कथाको अन्त्य जाहाँ हुन्छ, त्यहाँबाट अर्को नयाँ शुरुवात पनि हुन्छ । अनि त्यसलाइ पछयाउँदै जाने हो भने त्यहाँ थप नयाँ कथाहरु भेटीन्छन ।


शून्य अाकाश

“विश्वास नै लाग्दैन, म त्यही अनुराधा हुँ जसले जीवनभर एक्लो रहने प्रण गरेको थियो...” ऊ धेरै दिनपछि डायरीमा आफ्नो मनको कुरा पोख्न बसेकी छ । नत्र आजभोलि उसलाई फुर्सद नै कहाँ छ र ! अब त्यसै पनि उसको समय उनको मात्र रहेन । आकाश केही दिनदेखि काममा व्यस्त भएकाले मात्र उसले डायरी लेख्ने समय पाएकी हो । नत्र यति बेला ऊ आकाशसँगै घर वा बाहिर कतै डिनर गरिरहेकी हुन्थी ।

“यदि आकाश मेरो जीवनमा नआएको भए, सायद मैले कहिल्यै अनुभव गर्न पाउँदिनथेँ होला मायाको आभास कस्तो हदो रहेछ भनेर । हाम्रो उमेरको ग्यापलाई मायाले नै कुन बेला भरिदियो थाहै भएन । यस्तो लाग्छ, अब त सायद जीवनमा कुनै पनि चीज कमी रहेन । हुन पनि एउटी नारीलाई अरू के नै चाहिँदो रहेछ त ! आफूलाई बुझ्दिने र जीवनभर माया गर्ने एउटा जीवनसाथी, बस । अब सायद चाँडै हाम्रो रिलेसनलाई विवाहको रूप पनि दिनेछौं । विवाह ? अनौठो लाग्छ यो सोच्दा पनि कि, म विवाहबारे कल्पना गर्दैछु । के गर्नु माया भन्ने चीज नै यस्तो हुँदोरहेछ ढुङ्गालाई पनि पगालिदिने । अब त मलाई पनि आकाशबाट टाढा बस्न उत्तिकै गाह्रो छ जति उसलाई । आज आमाबुबा हुनुभएको भए एक्ली छोरीको खुसी देखेर कति मक्ख पर्नुहुन्थ्यो होला । आकाश, तिमी मेरो जीवनमा एकसाथ कति धेरै खुसी लिएर आयौ, सायद तिमीलाई पनि अन्दाज छैन होला । बताऊ तिम्रो यति धेरै मायाको बदलामा म तिमीलाई के दिऊँ ?”

आकाशको मायामा चुर्लुम्म डुबेकी अनुराधाको आँखामा विवाहको सपना गहिरिँदै गइरहेको छ ।

चाहना
“खै के भन्न मलाई बोलाको तिमीले, भन न,” समीले हातको बाला खेलाउँदै सोधिन् । उनको प्रश्नले झ्न् नर्भस बनेको अभिषेक एकछिन त बोल्नै सक्दैन् । उसलाई हिम्मत जुटाउन नै केही समय लाग्यो । बल्लतल्ल मुख खोले ।“समी, अब हामी बच्चा रहेनाैं, ठूलो भइसक्यौं । मेरो काँधमा पनि आमाबाबाप्रतिको जिम्मेवारी छ, मैले उहाँहरूको सपना पूरा गर्नु छ,” उनले भूमिका बाँधे, “तर समी, मेरो हरेक सपना तिमीबिना अधुरो छ । मैले त भावी जीवनसाथीको रूपमा केवल तिमीलाई नै देखेको छु । के तिम्रो मनमा पनि मेरो लागि ठाउँ छ ?”

उसको कुरा सुनेर छक्क परेकी समीले के भन्ने के नभन्ने सोच्नै सकिनन् । उनले अभिषेकलाई एउटा राम्रो साथीको रूपमा मात्र हेरेकी थिइन् । प्रेम प्रस्ताव नै आउला भनेर कल्पनासमेत गरेकी थिइनन् । उनको कल्पनामा रहेको धनाढ्य राजकुमार त अरू नै कोही हो । साथीको मन दुखाउने उनको इच्छा थिएन, तर आफ्नो सपनासँग सम्झैता पनि गर्न चाहिनन् ।

त्यसैले उनले अभिषेकलाइ सम्झाइन्, “तिमीले ठिक भन्यौ अभिषेक, अब हामी बच्चा रहेनाैं, ठूलो भइसक्यौं । त्यसैले हामीले सबैभन्दा पहिले आफ्नो सुरक्षित भविष्यको बारेमा सोच्नुपर्छ । जहाँसम्म सपनाको कुरा छ, मेरो आफनो पनि सपना छ । धनी बन्ने र संसारको सबै सुख प्राप्त गर्ने सपना । तिमीसँग बिहे गरेर त्यो सपना पूरा हुँदैन ।”

उनले अझै थपेकी थिइन्, “अब हेर न, तिमी अहिलेसम्म जीवन जिउनैका लागि सङ्घर्ष गर्दैछौ । त्यसपछि तिम्रो बाआमाको सपना... वाहाहरु प्रतीको तिम्रो जिम्मेवारी अनि यस्तो अवस्थामा तिमीले मेरो सपना कहिले पूरा गर्न सक्छौ भन त ?” अभिषेकले निहुरेर चुपचाप सुनिरहे । उनी बोल्दै गइन्, “मेरो चाहनालाई पनि बुझने कोसिस गर अभिषेक, मलाई पनि मेरो सपना पूरा गर्न देऊ ।”

उनी केही बेर चुप लागिन् र फेरि आउने दिनको कल्पना गर्दै भनिन्, “अभिषेक, मेरो सपना कुनै धनी मान्छेसँग बिहे गरेर मात्र पूरा हुन्छ । तिमीलाई त थाहै छ नि हामीले सधैंभरि अभाव मात्र देखेका छाैं, तर अब म संसारको सबैसुख भोग्न चाहन्छु र यसको लागि अब म वर्षौं कुर्न पनि सक्दिनँ ।”

मलिन अनुहार बनाएका अभिषेकतिर हेर्दै उनले फेरि भनिन्, “अनि तिमीलाई त म कसरी बिर्सन सक्छु र अभिषेक ? आखिर मलाई सपना देख्न पनि त तिमीले नै सिकाएका हौ ।”

सानो कथा
त्यो साँझ् हामी फेरि भेटियाैं । दुई जना मात्र । त्यही ठाउँमा जहाँ हामी अघिल्लो दिन भेटेका थियौं । तर, यसपल्टको अवस्था बिल्कुलै फरक थियो । ननस्टप बोलिराख्नुपर्ने प्रशान्त आज चुपचाप थियो, एकदम उदास । आफ्नो जिबनको सबैभन्दा अमूल्य चीज गुमाएझैं । मेरो अवस्था पनि उसको भन्दा कम थिएन । के भन्ने के नभन्ने हामी अन्योलमा थियाैं । उसको हातमा एउटा गिफ्ट प्याकेट देखिरहेकी थिएँ, सायद त्यो मेरो लागि थियो । केही बेरको शून्यतापछि उसले प्याकेट मतिर बढाउँदै भन्यो, “सञ्जना, म नेपाल आएको लगभग एक महिना भयो, भोलि ५ बजेको फ्लाइटबाट फर्कँदैछु । मसँग बस यति नै समय बाँकी छ । सुन्दा तिमीलाई अनौठो लाग्ला, तर यो साँचो हो, हिजो तिमीसँग भेट भएपछि मेरो जीवनमा सबथोक बदलिएजस्तो लागिरहेको छ । साँच्चै भनौं भने मलाई फर्केर अमेरिका जाने पनि मन छैन । आई एम इन लव विद यू ।”

त्यो एउटा यस्तो समय थियो, जहाँ प्रशान्त संसारभरिकै खुसी बोकेर मेरो अगाडि उभिएको थियो । म कल्पना गरेरै मात्र पनि खुसी थिएँ कि, मलाइ पनि कसैले माया गर्छ, तर उसलाई केही भन्न सकिरहेकी थिइनँ । यस्तो लाग्यो, संसारको सबैभन्दा अग्लो स्थानमा म छु । प्रशान्तले मलाई म आफू सबैभन्दा विशेष छु भन्ने अनुभव गरायो जुन मैले यसअघि कहिल्यै अनुभव गरेकी थिइनँ ।

तर, वास्तविकता सबैभन्दा तितो थियो । सबैभन्दा पीडादायक । आजभोली जब अतितलाई फर्केर हेर्छु, मलाई लाग्छ मेरो ठाउँमा अरु जो कोहि पनि भएको भए उसले पनि शायद त्यहि गथ्र्यो होला जे मैले गरें । म कसरी यस्तो मान्छेको जिन्दगी बर्बाद गर्न सक्थेँ ! जसको मायामा मैले सबथोक बिर्सिसकेकी थिएँ... सबथोक । तर, आज म स्विर्कान चाहन्छु । हो... मैले पनि उसलाई माया गरेकी थिएँ । धेरै माया । तर, मैले आफ्नो माँया उसलाई देखाउन सकिनँ, किनकि म उसको जीवन बर्बाद होस् भन्ने चाहन्नथेँ । त्यसैले, मैले उसलाई त्यो सब भनें जुन भन्न चाहन्नथेँ । “हेर प्रशान्त, हिजो तिमीले नै भन्दैथ्यौ, तिम्रो लक्ष्य पूरा गर्न तिमीले अर्को पाँच वर्ष अमेरिका बस्नुपर्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो पढाइमा ध्यान देऊ । फेरि पाँच वर्ष भनेको त निकै लामो समय हो । यसबीचमा के होला के नहोला कसले भन्न सक्छ ? फेरी एक दिन भनेको त निकै छोटो समय होे एकअर्कालाई जान्न अनि बुझनलार्इ । यति चाँडो तिमी कसरी भन्न सक्छौ कि यो माया हो भनेर, हुन सक्छ, यो मात्र एउटा आकर्षण होकी ? त्यसैले सबैभन्दा पहिला आफ्नो करिअरमा ध्यान देऊ । तर, विश्वास गर, कुनै बेला यस्तो साथीको आवश्यकता महसुस भयो, जोसँग तिमी आफ्नो मनको कुरा सेयर गर्न चाहन्छौ भने आई विल बी देयर फर यु टिल डेथ ।”

एक सासमा आफ्नो कुरा सकाएर म त्यहाँबाट निस्केँ । मैले राम्रोसँग उसलाई बाई पनि भन्न सकिनँ । डर लाग्यो, कतै उसले मेरो मनभित्रको भावनालाई पढ्ने पो हो कि ? कतै उसको अगाडि म कमजोर पो हुन्छु कि ?



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.