छ कक्षामा पढ्दा एउटा धिमाल केटोसँग मेरो अचानक फाईट परेको थियो । त्यसले
नाक कुच्चिनेगरी हान्यो र म रक्ताम्य भएको थिएँ ।
स्कूलमा ग्यांग फाईट पनि हुनेगर्थ्यो । केटाहरु नयाँ आएकालाई प्रयोग गरेर
छुट्टाछुट्टै ग्यांग बनाउँथे । अनि पुरानो रीसइबी साध्थे । रीसइबी
भएकाहरुलाई एक्लै पारेर त्यस्तो ग्यांग बनाई कुट्थे । कुटाई पनि खान्थे ।
किनभने, कुट्ने पनि भागेर कतै जान नसक्ने हुँदा एकदिन ऊ एक्लो पर्न
सक्थ्यो । यो एक मूर्खतापूर्ण वर्तुलाकार पागलपन थियो जसको चपेटामा केटी
बाहेक प्रायः सबै पर्न सक्थे ।
पूर्णे एक महसूर केटो थियो । जब ऊ कक्षा आठमा हामीसँग मिसिन आयो,
केटाहरुले उसलाई युज गरिहाले । युज गर्नेमा माहिर थियो, बिमल । यसले
बेलाबेला पुष्करलाई पनि युज गरयो । पूर्णेलाई अघि सारेर यसले म लगायत
अन्यलाई कुटायो । कुटाई त बिमलले पनि खान्थ्यो तर ऊ बढी चाहिँ आफूले
कुटेकै हिसाब राख्थ्यो । ब्यापारी घरको ऊ अलिक ओभर फेड थियो, र यसैको
आधारमा आफूलाई बलियो ठान्थ्यो ।
एक दिन रेवत मसँग फाईट खेल्न ताम्सियो । ताम्सियो के भन्ने, बिमललगायतले
उकासेका थिए । नत्र त्यो फुच्चे कदको सिकुटे केटो मसँग के फाईट खेलोस ?
तर त्यो जिरे खुर्सानी भन्दा तेज रफ्तारमा मसँग आइलाग्यो । वरिपरि
दर्शकहरु पनि भेला भैहाले । राधिका माविको एल आकारको त्यतिबेला सबैभन्दा
नयाँ बिल्डिंग पछाडि, ट्वाईलेट अगाडिको खुल्ला चौरमा रेवतलाई मैले भक्कु
कुटें । रातो अनुहार लिएर ऊ रफूचक्कर भएको थियो । त्यसले पहिल्यै बिचार
गरेको भए त्यतिका कुटाई खाने थिएन ।
तर पहिल्यै बिचार गर्ने उमेर त्यो थिएन ।काठमाण्डौमा क्याम्पस पढ्दा
कुट्ने, कुटाउँने वा कुटाइ खाने तिर लागिएन । त्यो बास्तवमै मेरो स्वाभाव
थिएन । स्कूलमा पनि डिफेन्सिव मात्रै थियो ।क्याम्पसमा पनि ग्यांग फाईट त
हुन्थे । तर ति ज्यादा विध्यार्थी संगठनका क्ल्याश वा केटीविषयक हुन्थे ।
रत्नराज्य (हालको नेपाल मानविकि) कलेजमा आइए र बीए पढुन्जेल कुनै पनि
फाईटहरुमा संलग्न भइएन । तर थुपै्र ग्यांग फाईटहरुको द्रष्टा भने भइयो नै
।पत्रकारिताको विध्यार्थी भएकाले क्याम्पस लेभलमा पढ्ने, लेख्ने,
अनुसन्धान गर्ने र बात मार्ने काम नै बढी भयो । र यो नै आफ्नो आदत हुँदै
गयो ।
धेरै पछि यात्राका शिलशिलाहरुमा केही फाईट परे । तर म कहिल्यै कसैलाई
हान्न गइँन । मैले केवल डिफेन्स लिन्थें ।
केही प्रमुख फाईटः
नारायणघाट
नारायणघाटमा एउटा पत्रकार साथीलाई भेटिसकेर मोरंग घर आउँने क्रममा एउटा
खतरनाक हादसा भयो । पारस बसपार्कबाट पूर्व आउँने एउटा बस समातें । तर
कन्डक्टरले बढी भाडा माँग्यो । मैले त्यत्रो भाडा तिर्दिनँ बरु ओर्लिन्छु
भनें । बस आठ दस किलोमिटर गुडिसकेको थियो ।
एउटा पेट्रोल पम्पमा बस अडियो । म त्यहीं झरें र अर्को बस पर्खिन थालें ।
निकैबेर बस आएन । रातको दस बजिसकेको थियो । पेट्रोल पम्प भन्दा केही पर
एउटा झुपडी खाजा घर रहेछ । मैलें केही चुरोट किनें र चियाको अर्डर गरें ।
त्यहाँ खासै धेरै मान्छे थिएनन् ।
चिया बनुन्जेल एउटा चुरोटमा गाँजा भर्ने बिचार गरें । चुरोटको धुलो झारेर
गाँजा भर्दै थिएँ । केही केटा आए र मलाई नियालेर हेर्न थाले ।
अनि मेरो छेउमा आएर भन्न थाले, यहाँ गाजा खान पाईन्न ।
मैले शान्त भावमा भनें, सल्काएको त छैन । बनाउँदै मात्रै छु ।
उनीहरु निहुँ खोज्ने पारामा भन्न थाले, यहाँ बनाउँन समेत पाईन्न ।
तिनीहरु होटलवाला थिएनन् । अरु नै कोही थिए । म पनि के कम ? मैलें भनें,
होटलवालालाई केही आपत्ति छैन । को हौ तिमीहरु मसँग निहुँ खोज्ने ?
उनीहरुले बताए कि उनीहरु स्थानिय बासिन्दा हुन् ।
मैलें गाँजा भरिनँ । विवाद बढ्दै गएपछि म त्यहाँबाट उठें र बाहिरिएँ ।
काठमाण्डौबाट मैले एउटा सानो कुकुरको छाउरो पनि ल्याएको थिएँ । त्यसलाई
भुईंमा छोडिदिएँ ।
र, बाहिर एकान्तमा गएर आफ्नो धुवाँ तानें । केही छिनमा नै ति केटाहरु
लामा लामा घोचा र बाँसहरु लिएर अचानक मलाई हान्न आए । मैले आफ्नो
ब्याकप्याक भुंइमा फ्यालें र पोजिशन लिएँ । तिनीहरु चारजना थिए । एक दुई
झट्का तिनीहरुले मलाई हाने पनि । म केही तर्किएँ । र केही मार पनि खाएँ ।
मेरो रगत उम्लियो ।
म कुनै लफडामा पर्न चाहन्न थिएँ । मैले भनें, भाईहरु हो, म तिमीहरुलाई
चिन्दिनँ । नेपालमा दस ग्राम गाँजा अझै लिगल नै छ । फेरि मैलें तिमीहरुले
भनेको मानेर बाहिर खुल्ला ठाउँमा नै तानेर सकें पनि । यसमा अब केको झगडा
?
तर तिनीहरु मानेनन् । मलाई पुनः आक्रमण गर्न ताम्सिए । मैले चेतावनी
दिँदै भनें, म तिमीहरुलाई मार्न पनि सक्छु । तर तिमीहरुले मलाई मार्न
सक्ने छैनौ ।
यत्तिकैमा एउटाले पछाडिबाट मलाई प्रहार गरयो । म लड्खडाएँ । तुरुन्तै
सम्हालिएँ र सारा बल झिकेर तिनीहरुलाई प्रहार गर्न थालें । हेर्दा हेर्दै
मेरा हाइटेक जुत्ता लगाएका लातहरु तिनीहरुका छातिमा बजारिन थाले । एक
राउण्ड त मैले तिनीहरुलाई ढालें । तर पछाडिबाट एउटाले मलाई न्याक्यो ।
मैले त्यसलाई फुत्काउँन सकिनँ । मैले हानेका प्रहारहरुबाट अरुहरु भने
सम्हालिदैं थिए ।त्यसले मेरो घाँटि थिचेको थियो । सासै फेर्न गाह्रो
भैरहेको थियो । ऐठन नै हुन थाल्यो । अरु केटाहरु मसँग खनिनु अघि नै मैले
फुत्किसक्नुपर्थ्यो । त्यसले त आफ्नो कसाव मेरो घाँटिमा अरु बढायो ।
मेरो केही उपाय लागिरहेको थिएन । यत्तिकैमा कसो कसो मलाई ईश्वरको एउटा
सन्देश प्राप्त भयो । मैले आफ्नो मुख उसको एउटा कान निर पुरयाँए र एउटा
काँन लुछें । तितो तितो स्वादको कान ख्वाप्पै आयो । केटो कान कान भनेर
लुलो भयो । अरु भागारेभाग भए ।
म जुरुक्कै उठें । मुखबाट त्यसको कान झिकेर मैले आफ्नो ज्याकेटको खल्तिमा
हालें । लामो सास लिएँ । त्यहाँ बसिरहनु उचित लागेन । राजमार्गमा
पूर्वतिर पैदल हान्निएँ । सानो कुकुर कुँईं कुँईं गर्दै मेरो पछि पछि आयो
। मैले त्यसलाई उठाएँ र ज्याकेट भित्र लुकाएँ ।
चूक घोप्ट्याए जस्तो थियो अन्धकार ।
अध्याँरोमा ब्याकप्याक कता परयो, त्यो खोजिरहने मेसो गरिनँ । थरथर काम
छुटिरहेको थियो ।
केहीबेर हिँडेपछि मेरो छेउमा हेडलाईट बाल्दै एउटा बाईक रोकियो । मनमा
चिसो पस्यो । तिनीहरुले केही सोधे । मैले झुठ बोलें, पूर्व हिँडेको हुँ ।
बस छुट्यो । अत्तालिएको छु ।
उनीहरुले खासमा रातबिरात राजमार्गमा एक्लै हिँडेको मान्छे देखेर मद्दत
गर्ने हेतुले बाईक रोकेका रहेछन् । मलाई बाईकमा राखे र करिव चार पाँच
किलोमिटर परको एउटा बजार पुरयाईदिए । मैले कृतज्ञता टक्र्याएँ ।
केही बस थिए । एउटामा चढें । जायज भाडा तिरेर सिटमा बस्दै लामो सास फेरें ।
बिहान चिया खाने स्थानमा ज्याकेटको खल्तिबाट त्यो कान झिकें, एकछिन
नियाले । र आफ्नो कुकुरलाई खान दिएँ । र आफूले चाहिँ एक कप चिया पिएँ ।
गाँजांको पोको अरु सामानसँगै ब्याकप्याकमा नै छुटेको थियो । ब्यागमा केही
महत्वपूर्ण सामानहरु पनि थिए । अब तिनको लिष्ट उतार्नु भन्दा बिर्सिनु
उचित लाग्यो ।
तर त्यहाँ एउटा पुस्तक पनि थियो । हिटलरको मेन काम्फ । त्यो मलाई
अष्ट्रियाको डेनियल लेजिगोंगले केही महिना अघि उपहार दिएको थियो । त्यस
पुस्तकमा आदर्श शिक्षाका बारेमा हिटलर भन्छन्, विध्यार्थीलाई विध्यालयमा
घुँस्सा हान्ने र खाने तालिम पनि दिनुपर्छ । जसले उनीहरुलाई जीवनमा ठूलो
काम दिन्छ ।
तर म हुर्किएको समाजका विध्यालयहरुमा यस्तो व्यवस्था थिएन र छैन पनि ।
त्यसैले यहाँ डबल एमए गरेको महाशयलाई बसको एउटा खलासीले एक झट्कामा ढाल्न
सक्छ ।
बरगाछी
काठमाण्डौमा बोर भएपछि म घर आउँथे । एकदिन आफ्नो जन्मस्थानको बरगाछीमा
हिँड्दै थिएँ । देवकोटाको सालिक अगाडि एउटा मान्छेले मेरो छेउमा बाईक
रोक्यो र सोध्यो, फर्निचर किन्ने हो ?
मलाई झनन्न रीस पनि उठ्यो । मेरो होमटाउनमा कसरी र कहाँ फर्निचर किन्ने
त्यो मलाई राम्रोसँग थाहा थियो । मलाई तबदेखि बरगाछी थाहा थियो, जतिबेला
यहाँ पसलको नाउँमा केवल एउटा स्यानो घुम्ती थियो ।
मैले अलिक झोंक्किएर भनें, मलाई चाहिएको छैन ।तर उसले भन्यो, राम्रो
फर्निचर छ । किन न भाई ।मलाई झनै रीस उठ्यो । त्यो मैले चिनेजानेको
ब्यक्ति पनि थिएन । र मलाई लाग्यो कि त्यो मान्छेले मलाई अनाहकमा
जिस्क्याइरहेको छ ।
मैले भने, यसरी बाटाबाटामा मान्छे रोकेर जर्बजस्ति फर्निचर भिडाउँन
खोज्ने तिमी दलाल हौ ? उसले चिढिएको भावमा भन्यो, दलाल किन भन्छौ ?
मैले भनें, दलाल मात्रै होईन अब त तिमी कुनै बास्टर्ड पनि लागिरहेका छौ ।
बास्टर्ड शब्द त्यस अञ्जान ब्यक्तिलाई निकै भारी भएछ । ऊ बाईकबाट ओर्लियो
र मसँग निहुँ खोज्न थाल्यो, तैंले बास्टर्ड कसलाई भनेको ?
मैलें भनें, बास्टर्ड मैले तँलाई नै भनेको हुँ ।
त्यसले आफ्नो हेलमेटले मलाई हान्न खोज्यो । मैले छेकें । घम्साघम्सी परयो
। वरिपरि मान्छेहरु भेला भैसकेका थिए । त्यो पागल भने अझै मसँग लड्न
खोज्दै थियो । त्यसले केही प्लाइवुडको लाम्चो काठले मलाई हान्न थाल्यो ।
मैलें त्यसका सबै प्रहारहरु दुवै हातले बडो कुशलतापूर्वक छेकें ।
अब म त्यसको एउटा काँन टोकेर भए पनि छिन्ने प्रयास गर्न थालें । त्यसलाई
मजा चखाउँने विचार थियो । तर त्यसले हातले आफ्ना कानहरु छोप्यो ।
ध्रुव थापा भन्ने एउटा छिमेकी दाईले छुट्यायो । अन्य रमितेहरुले मलाई
चिन्थे । तर ति सबै त्यहाँ नपुंशक झैं रमिता मात्रै हेरिरहेका थिए ।
त्यो फर्निचरको दलाल को थियो अझै थाहा छैन ।
कालिम्पोंग
बुबाको देहावशान पछि मैले केही समयलाई काठमाण्डौ छाडें । मोरंग घरमा आएर
बसें । एउटी रसियन केटीले सिक्किम घुमाइदिने आग्रहसाथ काठमाण्डौबाट ईमेल
लेखी । मैले हुन्छ भन्दिएँ । उसको नाम थियो इरिना भोरोन्टशोभे ।
केही दिनपछि बडेमानका रुकस्याक लिएर इरिना मेरो घर आइपुगी । छरछिमेकमा
मेरो कुरा काटिएछ । स्वास्नी हुँदाहुँदै कुइरिनी ल्यायो भनेछन् । तर
इरिनासँग मेरो संबन्ध ब्यवसायिक थियो । काठमाण्डौमा ऊ लगायत अरु केही
विदेशीलाई म ध्यान सिकाउँथे । त्यसै मेसोमा ऊसँग चिनजान भएको थियो ।
इरिनालाई मैले आफ्नो गाउँ घुमाएँ । उसको नेपालको भिषा एक्स्पायर हुँने
अघिल्लो दिन हामी सिलिगुढी पुग्यौं । एक आफन्तको घरमा बास बसेर भोलिपल्ट
हामी सिक्किम हिँड्यौं । तर रम्फु चेकपोष्टबाट मैले फर्किनु परयो ।
सिक्किम जान भ्यालिड् आइडि कार्डको जरुरत थियो । आफूसँग नागरिकताको फोटो
कपि मात्रै थियो । त्यसले काम गरेन । सिक्किममा चिनजानका एक
होटलब्यवसायीलाई फोन गरेर मैले इरिनाको बारेमा बताएँ र सहयोगको लागि
अनुरोध पनि गरें । उसलाई सिक्किम पठाएर म वापस भएँ । साँझ परिसकेको थियो
। सिलिगुढी जाने डाईरेक्ट बस पाईएन । कालिम्पोंग जाने एउटा जिपमा चढें ।
कालिम्पोंग पुग्नु अगावै, जहाँबाट सिलिगुढी जाने बाटो छुट्टिन्छ, त्यहाँ
आईपुग्दा रातको लगभग ९ बजिसकेको थियो । ड्राईभरका अनुसार त्यसबेला
सिलिगुढी जाने साधन पाउँनु असम्भव थियो । मैले त्यसै जिपमा कालिम्पोंग
जाने निश्चय गरें ।
कालिम्पोंग पुग्दा १० बजिसकेको थियो । एउटा रेस्टुरेन्टमा पसेर केही खाजा
खाने निर्णय गरें । त्यहाँको डान्सबर्ग बियर र मःम खाएँ
। त्यत्तिकैमा....केही केटाहरु आए । र सोधे, त्यो अंग्रेज केटी कहाँ छे ? म
छक्क पर्दै थिएँ । मैले बास्तविकता बताएँ । उनीहरु सिक्किममा इरिना बस्ने
होटलको बारेमा सोध्न थाले । मैले रम्फुपछि ऊसँग कुनै सम्पर्क नभएको
सत्यकुरा बताएँ । तर उनीहरुले मानेनन् ।त्यसै घम्साघम्सीमा मैले
रेस्टुरेन्टको बिल तिरें । उनीहरुले मलाई अपहरण शैलिमा बाहिर ल्याए ।
जहाँ उनीहरुको एउटा मारुती कार पार्क थियो । मलाई त्यसमा हाले र एकातिर
हुइँक्याए । एकान्तमा पुरयाएर ओराले । र पुनः सोध्न थाले कि इरिना
सिक्किममा कुन होटलमा बसेकि थिइ । मलाई साँच्चै थाहा थिएन । के बताउँने ?
थाहा छैन भन्ने जवाफ नै रट लगाईरहेको थिएँ ।
यो यसरी मान्दैन, एउटाले भन्यो र कारबाट एउटा पाइप ल्याएर अर्कालाइ दियो
। त्यसले मलाई बेरहम हान्यो । शुरुमा त मैले पाइप खोस्न खोजें । तर सकिन
। भाग्ने मौका थिएन । उसका प्रहारहरुले म ढलें । तर त्यसले हान्न छाडेन ।
त्यसले मलाई जथाभावी आठ, दस पटक जोडदार प्रहार गरयो । मलाई लाग्यो मेरो
लीला खत्तम भयो ।
त्यसपछि तिनीहरुले मलाई त्यहीं छाडेर गायव भए । जानु अघि मेरै ब्यागको
सिरानी हालिदिए र सडक किनारमा सुताए । म अर्धचेतावस्थामा रातभर त्यहीं
उत्तानोचित खाईरहें ।
म हलचल गर्न नसक्ने गरी पसारिएको थिएँ । बडो मुश्किलले बिहान भयो ।
मान्छेहरु भेला भए । सोधपूछ गरे । मैले जे भएको हो त्यो बताएँ ।
बिहान मलाई अघिल्लो रात पाईप हान्ने एउटा केटो पनि आयो । ऊ स्थानिय रहेछ
। उज्यालोमा मलाई हेरयो ।
गाउँलेहरुलाई उसले भन्यो, अर्को मान्छे भनेर हानेको, निर्दोष मान्छे परेछ ।
म केही बोलिनँ । के बोल्नु ?
त्यो ठाउँ रहेछ, जिरो माईल । त्यो पाईप हान्ने पुड्के पुड्के केटाले मलाई
सरी भन्यो र प्रहरीमा उजुर नगरिदिने अनुरोध गरयो ।
आफूभित्रबाट जिसस क्राईस्टिय आयाम झिकेर मैले उसलाई भनें, आई फर्गिभ यु ।
तर मलाई भने यस्तो लाग्यो कि त्यो घटना सुनियोजित थियो । कसैले भाडाका
गुण्डा लगाएर मसँग कुनै बदला चुकाएको थियो । उनीहरुलाई इरिना चाहिएको भए
रम्फुबाट मेरो पिछा नगरी उसको पिछा गर्ने थिए ।मान्छेहरुको मद्दतले म
सिलिगुढीसम्म पुरयाइएँ । त्यहाँ एक आफन्तले एम्बुलेन्स खोजिदिए । त्यसमा
म विर्तामोड ल्याइएँ । आफन्तको मद्दतमा हस्पिटल पुगियो । एक्स रेबाट थाहा
भयो कि मेरो दाहिने खुट्टा, देब्रे हात, दाहिने हातका दुई औंला र एउटा
करंग भाँच्चिएको रहेछ । डाक्टरले मलाई काठमाण्डौ रिफर गरिदिए । काठमाण्डौ
मेडिकल कलेजमा मेरो उपचार भयो । पुरै पाँच महिना मैले प्लाष्टरमा बस्नु
परेको थियो ।यो मेरो जीवनको सबैभन्दा खतरनाक दुर्घटना सावित भयो ।
त्यसो त जीवनमा अरु पनि केही फाईट परे । तर लेख लामो हुँदै गएकाले तिनलाई
सन्दर्भ मिलाएर अरु कुनै बेला लेख्नेछु ।
Liked by: