पटाक्षेप | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

पटाक्षेप




   Ajit Kshetri - Aug 06 2016

उज्यालो भयो । बाबुआमाले रातो टिका निधारै भरी लगाएर आशिर्वाद दिए । मैनाले पतिलाई बिदाई ढोग दिई । लाहुरे घरबाट निस्क्यो । मैनाको मन अमिलो भयो, मुटुमा किला रोपे सरी भयो । ढोका थुनेर धेरैबेर रोई । बाबु आमाले पनि दुई थोपा आँसु झारे ।



उमेरले बैंशको फूल फुलाउन नपाउँदै उसको बिहे भयो ।

भर्खरै कोपीला लागेको आरुको फूल जस्तै थिई, सलक्कको जीऊ । उमेर पुग्नु अगाबै अंगहरु भरिएर आए । जता जान्थी उतै भमरा पछि लाग्थे । तर उ बेखबर थिई, फक्रिन लागेको आफ्नो जवानीको बास्ना डाँडा पारिसम्म पुगेछ । एकदिन भारतीय सेनामा कार्यरत युवक माग्न आए । कुराकानी मिल्यो र अन्ततः सामान्य रीतले बिहे पनि भयो । पुतलीझैं बाबुआमाको काखमा हुर्किँदै गरेकी मैना अब दुई डाँडा पारीको बिल्कुलै नौलो परिवेशमा नयाँ घरमा बुहारी बनि ।

भारतीय सेनामा कार्यरत लालबहादुरको यो दोस्रो छुट्टी थियो । ईष्टमित्र र बाबुआमाले मैना फूल जस्ती छ भने । त्यो फुललाई आफ्नो घरमा सजाउन पाए घरै सुन्दर हुन्छ भने । लालबहादुर पनि लठ्ठियो, देख्यो मैना साँच्चीकै फुल जस्ती छ, गोरी छ, अग्ली छ, शर्मिली छ, लच्छिनकी छ । लोग्ने मानिस भमरा हुन् । लालबहादुर झन् तिर्खाएको भमरा । उसले मैनालाई बिहे गर्यो, तिर्खा मेट्यो ।

भारतीय आर्मी, त्यसमाथी भर्खरै बिहे भएको ! दुई महिनाको उसको छुट्टी घर- ससुराली गर्दैमा बित्यो । मैनाले लाहुरे पतिलाई खुब रत्याई आँफू पनि रत्यिई ।

दुई महिनाको छुट्टी पनि सकियो । परदेश जाने अघिल्लो रात मैना पनि निदाउन सकिन लालबहादुर पनि । एक अर्काको हातको सिरानी गरेर दुबैले बिछोडको आँसु झारे । प्रणयको मिठो मधुमासमा कतै हुरीले लछारे जस्तो भयो । रोएरै उज्यालो भयो ।

----

उज्यालो भयो । बाबुआमाले रातो टिका निधारै भरी लगाएर आशिर्वाद दिए । मैनाले पतिलाई बिदाई ढोग दिई । लाहुरे घरबाट निस्क्यो । मैनाको मन अमिलो भयो, मुटुमा किला रोपे सरी भयो । ढोका थुनेर धेरैबेर रोई । बाबु आमाले पनि दुई थोपा आँसु झारे ।

लालबहादुरले डाँडा पार नहुन्जेल घरतर्फ फर्किफर्कि हेर्यो । उसलाई लाग्थ्यो उसकी प्राणप्यारी आँसु बगाउँदै उसको पिछा गरिरहेकी छ । बस स्टेसन आयो, बस चढ्यो, सुनौली पुग्यो । सुनौलीबाट गोरखपुर अनि गोरखपुरबाट रेलको सफर । केही घण्टा अघिसम्म आफ्नै घर आँगनमा रमाएको ऊ, अहिले परदेशको भुमिमा परदेशी भएको छ ।

अघिल्लो दिन ऊ पल्टनमा हाजिर भयो । भर्खर बिहे गरेर ल्याएकी पुतली जस्ती पत्नीलाई छोडेर आउनु पर्दा कहिलेकाहीँ उसको मन अमिलो हुन्थ्यो । पल्टनमा अरू साथीहरुले कस्ती छन् तेरी बुढी भनि सोध्दा पुतली जस्तै छिन् भन्थ्यो ।

यता मैनालाई पनि परदेशी पतिको खुब याद आइरह्यो । भर्खरै पिरतीको रस बस्न लागेको बेला उसको मालीले उसलाई छाडेर गएको थियो । जानेबेलामा लालबहादुरले चिठ्ठी पठाउने ठेगाना दिएर गएको थियो । मैनाले महिनै पिच्छे आफ्नो खसमलाई मनको बह पोखेर चिठ्ठी पठाउँथी । लालबहादुर पनि आफ्नी पुतलीलाई बराबर चिठ्ठीको जवाफ पठाउँथ्यो ।

समय बितेको पत्तै भएन । लाहुर गएको बर्षदिन पुगिसकेछ । लालबहादुर छुट्टि आयो । मैना अनि पुरै परिवारमा फेरि खुशी छायो ।

घरको एउटा मात्रै छोरा थियो लालबहादुर । ऊ लाहुर गएपनि घरमा बुहारी भएकाले उसका बाबुआमालाई घरमा छोराको अनुपस्थितीको कहिल्यै आभास हुन पाएन । बुहारीले गरेको सेवा सम्मानले उनीहरु अत्यन्तै खुसी थिए तैपनि आजकल केही दिनदेखि बुढाबुढीको मनमा एउटा रहरले डेरा जमाएको थियो ।

राम्ररी सजाईएको गमला त थियो तर त्यहाँ फूल थिएन । अब त्यो गमलामा सानो फूलको बिरुवा भैदिए त्यही बिरुवासँग रमाउँदैमा दिन जान्थ्यो होला । बुढाबुढीलाई अब घर आँगनमा नाती नातीनि खेलेको हेर्ने रहर जाग्यो ।

एकदिन आमाले एकान्तमा पारेर लालबहादुरलाई मनको बह पोखिन्:- बाबु तँसँग हामी साह्रै खुशी छौं, बुहारीले पनि हामीलाई केही कुराको कमी हुन दिएकी छैनन् । अब एक दुई नाती नातीनि यो पिँडी र आँगनमा तातेताते गर्दै खेलेको देख्न पाए अरू केही चाहिँदैन । नातीको मुख देखेर मर्न पाए स्वर्ग पुगिन्थ्यो बाबु ।" उसले केही जवान दिन सकेन ।

मनमनै सोंच्यो:- ठिकै भनेकी हुन् आमाले । बेलुका उसले आमाले भनेको कुरा मैनालाई सुनायो । मैना लजाई । हिउँदको आकासलाई चिसो बादले छोपे झैं उसले मैनालाई अंगालोमा कस्यो । मैनाले पनि पतिलाई साथ दिई । उसले सारा शरीर पतिको काखमा छाडिदिई र आँखा बन्द गरी । एकैछिनमा त्यहाँ प्रणयको बसन्त ऋतु आयो । प्रेमिल पंक्षीका जोडी सुखको सागरमा डुबे । पानी पर्यो,बाढी आयो, बाढीमा दुबैजना पसे । निथ्रुक्कै रुझे, निदाए ।

छुट्टी सकेर लालबहादुर फेरी पल्टन फर्क्यो ।

आज रामलाल काकाको नातीको पास्नी छ । गाउँभरीका मान्छेहरुलाई निम्तो गरिएको छ । रामलालका छोरा लक्ष्मण र बुहारी मधु छोराको पास्नीका लागि सामान जुटाउन र निम्तालुहरुको ब्यवस्थापनमै ब्यस्त छन् । एक किसिमले बिहे घर जस्तै भएको छ रामलाल काकाको घर आज ।

मैना र उनकी सासु दुबैजना पास्नीको निम्तो मान्न गएका छन् । सासुले काकाको घरायसी काम सघाई दिइन् भने मैना रोटी र कसार बनाउने महिलाहरु सँगै काम गरी ।

बच्चाको पास्नीको कार्यक्रम सकियो । सबैले बच्चालाई टिका लगाएर आशिर्वाद दिए । निम्तालु सबैले मिठामिठा भोजन ग्रहण गरे । माहोल निकै रमाईलो थियो । यत्तिकैमा काकीले मैनाकी सासु तिर हेर्दै भनिन्:-"अब अर्को साल तिम्रो नातीको पास्नी यस्तै रमाईलो गरी मनाउ पाइयोस् ठुली ।" सबै जना हाँसे । लाजले रातो पिरो भएकी मैना घरतिर भागी ।

छोरा पाउनु कता हो कता, कन्ननीको हतपत-मनमनै सोंची ।

यसपाली मैना दोजीया छे कि भन्ने सबैको मनमा थियो तर त्यसै रात उसको नियमित मासिक श्राब भयो । यो साल घरमा नयाँ सदस्य नआउने भो- सासु ससुराको मन खिस्रिक्क भयो ।

छरछिमेकीका घरमा बालकहरु कृष्ण झैं कहिले आमाका काखमा त कहिले आँगन भरी खेलेको देख्दा मैनाको मनमा पनि मातृत्व बिजारोपण हुन थालेको थियो । परदेशीको नासो भनेर काखमा खेलाउन पाए पनि त्यो पापी परदेशीको यो बिधी यादले त सताउँदैनथ्यो कि ? मैना मनमनै यस्तै सोंच्दथी ।

हिउँद गयो बर्षा याम पनि आयो गयो । यस पटक छुट्टीबाट गएको दस महिनामै लालबहादुर फेरी छुट्टीमा घर आएको छ त्यो पनि दुई महिनाको । कश्मीरबाट उसको पोष्टिङ् गोरखपूर भएको छ । करीब चार बर्ष पछाडि उसले यो बर्ष दशैं तिहार घरमै मनाउने छ । घर खुशीले भरिएको छ ।

दशैं आयो गयो । केही दिनपछि तिहार पनि आयो । तिहारमा मैना दुई दिन मात्रै बसि माइती र फर्कि हाली । लालबहादुरले परिवार र ईष्टमित्रका साथ दशैं र तिहार खुब रमाईलो गरी मनायो । तिहार लगत्तै छुट्टी सकेर ऊ पल्टन फर्क्यो ।

यसपटक पनि मैनाको पेटमा गर्भ रहेन । घरका सबैको चाहना थियो उसको कोखमा बच्चा होस् र यो घरै उज्यालो होस् । तर सोचेजस्तो भएन ।

गर्भवती हुन नसकेकै कारण केही दिनयता सासु ससुराको बुहारी प्रतिको ब्यवहारमा परिवर्तन आएको छ । लालबहादुरले पनि पत्नीको चिठ्ठीको जवाफ फर्काउन छाडेको छ । पहिले पहिले महिनै पिच्छे चिठ्ठी पठाउने उसले अहिले गएको आठ महिनामा दुईवटा मात्रै चिठ्ठी पठायो । चिठ्ठी पठाई हाले पनि आमा हुन नसकेकी भन्दै मैनालाई उपहास गर्थ्यो उसले ।

घरको कलह यति सम्म बढ्यो कि सासु ससुरा र बुहारी बिचमा दोहोरो सम्बाद हुनै छाड्यो । खाइस् खाइनेस् र सन्चो बिसन्चो सोध्ने आफ्नै मनबाहेक कोही रहेन अब मैनालाई त्यसघरमा । साह्रै भएपछि एकदिन ऊ माईत गई र दुई हप्ता बसेर फर्की ।

माईतीबाट फर्केपछि कसैलाई नसोधी गएको भन्दै सासुले दिनहुँ टोकस्न थालिन् । ससुराले खासै केही भन्दैनथे तापनी सासु बुहारीको झगडामा उनी आफ्नै पत्नीको पक्ष लाग्दथे र घर झगडा मिलाउनतिर कहिल्यै अग्रसरता देखाउँदैनथे । छरछिमेकीहरु पनि सासुको कुरा सुनेर आजकल मैनासँग उतिसारो हिमचिम बढाउँदैनन् ।

आफ्नै घरभित्र पराई भएकी छ मैना । उसलाई यो घर घरजस्तो लागेको छैन । आँफै बसेको ठाउँ कुनै निर्जन मरूभूमि जस्तो लाग्न थालेको छ । बेदनाले पिल्सिएको जिउ लिएर हिँडेकी छ । भित्रभित्रै मरेकी छ तर दुनिया भन्छन् ऊ बाँचेकी छ । यस्तो जीवन पनि के जीवन जहाँ मन र तनको मिलन नहोस् । हो, उसको आफ्नै मनले उसको साथ छाडेको छ । केवल किँकर्तब्यविमुढ ज्यान मात्रै लिएर बाँचेकी छ ऊ ।

जान मन लाग्छ कतै टाढा एकान्तमा जहाँ उ रोएको कसैले नदेखोस् । तर जाने कहाँ ? रुन मन लागेको बेला एकान्तमा गएर रुन्छे अनि आफ्नै कर्मै यस्तै रहेछ भनेर आफैलाई सान्त्वना दिन्छे ।

दुई बर्षपछि फेरि लालबहादुर घर आएको छ । छिमेकीहरु भन्छन् - आजकल मध्यरातमा लालबहादुरको घरमा मान्छे रोएको आवाज सुनिन्छ । पँधेरोमा पनि त्यही घरको कुरा चल्छ । "लालबहादुरले त अर्की ल्याउन लागेको छ रे नि !"- पँधेरोमा एउटी बोल्छिन् ।
"नल्याएर के गरोस् त मैना थारी रै'छ"- अर्कीले थप्छे ।
रातदिन कुट्छ रे नि त मैनालाई'-अर्कीले साउती गर्दै भनि ।
"त्यस्तो हुँदा नि किन बसिराखेकी हो त्यो मैना, दुई छाक नि खुवाउन नसक्ने रै'छन् कि के हो माईती पनि ?- पहिली चाहिँ महिला पुन: बोली ।
'गरिब छन् रे'-अर्कीले अट्टहास गर्दै बोली ।
"कस्तो बाँझो कोख भएकी आइमाई रै'छे है ! छि छि छि"-महिलाहरु गलल्ल हाँस्छन् ।

महिलाहरुले आँफूलाई गरेको उपहास सुनेर मैनाको मुटु पोलेर आयो । कसैले तिखो छुरीले मुटुमै हाने जस्तै भयो । महिलाहरु अरू पनि के के कुरा गर्दै थिए सुन्नै सकिन उसले । पँधेरो नपुगी घर फर्की । एक मनले त सोंचेकी थिई पँधेरोमा गएर ति कुरौटे आइमाईहरूको जगल्टा च्यातिदिउँ तर सोंची क-कसको जगल्टा च्यात्ने ? कतिजनासँग झगडा गरेर सक्ने ?

मिल्ने भए उसलाई आफ्नै कर्मसँग झगडा गर्ने मन थियो । भेटिने भए खोटो कर्म लेखिदिने त्यो ईश्वरको अनुहार त्यातिदिनु मन थियो । महिलालाई गर्भाधानको मेसिन सम्झने पुरुषबादीहरुको पुरुष जननेन्द्रीय उखेलिदिनु मन थियो अनि भन्नु मन थियो तिमीहरु गर्भ बोक अनि हेर नपुँसक पुरुष हो । तर लाचार छे । लाचारी नै मानिसको सबैभन्दा ठुलो दुश्मन रहेछ । आँफैसँग हारी ऊ ।

उसलाई अब त्यो घर अनि समाजमा एक क्षण पनि बस्न मन लागेन । बिहानको खाना पनि नखाई ऊ माईत हिँडी । घरमै रहेका पति लालबहादुर र सासु ससुरा कसैले पनि उसलाई रोक्ने कोसिस गरेनन् । मनको पर्खाल गहिरो गरि भत्किसकेको थियो । जोड्नु उचित पनि सम्झिन उसले । र, सम्भवत अब त्यो जोडिने हालतमा पनि थिएन ।

मैना घर छाडेर माईत गएको दस दिनमै लालबहादुरले गाउँकै नरमायाँलाई कान्छी श्रीमतीको रुपमा घर भित्र्यायो । यो खबर पाएर पनि मैनालाई कुनै दुख लागेन किनकी ऊ अब सदाका लागी लालबहादुरलाई त्यागेर आएकी थिई । ऊ अब आफ्नो हिस्साको जीवन आफ्नै लागि जीउन चाहन्थी ।

उमेर पुग्दै जाँदा मैना दिनदिन जवानीले मस्त हुँदै गई । माइतीमा रहँदा बस्दा उसको पनि गाउँकै एक युवकसँग हिमचिम बढ्यो । अन्ततः नजिकैको मन्दिरमा गएर एकदिन उनीहरुले बिवाह गरे । विवाहको केही महिनामै ऊ गर्भवती समेत भई र एक बर्ष नहुँदै उसको कोखबाट छोराको जन्म पनि भयो ।

बिवाह पछि मैनाका पति पत्नी मिलेर गाउँमै रासन दुकान खोले । दुकानबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरुले दुकानको छेउमै रासन मिल पनि राखे । मिल पतिले हेर्छन् भने दुकान मैनाले सम्हाल्छिन् ।

बिहेको चार साल बितिसकेको छ र मैनाको कोखबाट दोस्रो सन्तानको रुपमा छोरीको जन्म भएको छ । मैना अब पहिलाकी मैना रहिन । अहिले उसको संसार बदलिएको छ अनि आकास अझै बिशाल । उसका सपना बिस्तारित भएका छन् भने बाटा चौडा । बिगत पुरै मेटिएका छन् अतितका पानाबाट, छन् त केबल सुन्दर बर्तमान र सुनौलो भबिश्यको रंगीन चित्र मात्र ।

दोस्रो विवाह गरेको लालबहादुर फेरी पनि खुसी हुन सकेन । बिहे पछि उसले नरमायाँलाई दुई साल पल्टनमै राख्यो । त्यसपछि पनि बर्षै पिच्छे घर छुट्टीमा आयो तर नरमायाँ आमा बन्न सकिन । गोरखपुरदेखि लखनउ र काठमाडौँका कैयौं अस्पतालमा उसले नरमायाँको स्वास्थ्य परिक्षण गरायो तर हरेक अस्पतालले नरमायाँ बिल्कुल स्वस्थ रहेको र उनी बच्चा जन्माउन सक्षम रहेको रिपोर्ट दिए ।

त्यसो भए सन्तान किन हुँदैन त ? कहिँ आफ्नै कारण सन्तान नभएको त होइन कतै ? यस्तो सोंचाई आउनासाथ उ घबराउँथ्यो । अब त सन्तान नभएको चिन्ता भन्दा बढि कहिँ आफ्नै मर्दाङ्गीको खिल्ली उड्ने हो कि भन्ने चिन्ताले सताउँथ्यो उसलाई । त्यसैले आफ्नो कमजोरीको पटाक्षेप हुने डरले श्रीमतिका कारणले बच्चा नभएको देखाउन बिभिन्न अस्पताल चाहर्दै उसले नरमायाँको स्वास्थ्य परिक्षण गराउँछ ।

नरमायाँले पनि पतिको कमजोरी बुझिसकेकी छ । यसै बिषयलाई लिएर लालबहादुर र नरमायाँबिच आजकल खटपट सुरु भएको छ । अवस्था यतिसम्म पुगिसकेको छ कि अब आफ्नो स्वास्थ्य परिक्षण गराई त्यसको ईलाज नगराई केबल अर्कालाई मात्र दोषी प्रमाणित गर्न खोजिरहने हो भने आँफू अब यो घरमा बस्न नसक्ने धम्की पनि नरमायाले पति लालबहादुरलाई दिन्छे ।

अन्त्यमा बाध्य भएर लालबहादुर पत्नी नरमायाँको साथमा जिल्ला सरकारी अस्पतालमा आफ्नो स्वास्थ्य परिक्षण गराउन जान्छ । आवश्यक सम्पूर्ण परिक्षण पश्चात डाक्टरले जुन रिपोर्ट लालबहादुरको हातमा थमाई दिन्छन् त्यसको कारण आज ऊ स्वयम् सँग र पत्नी नरमायाँसँग पनि लज्जाबोध गरेको छ । हिँजोसम्म जुन पौरुष र मर्दाङ्गीको खुला छाती देखाउँदै पत्नीलाई ललकार्थ्यो ऊ, आज हिनताबोधले भित्रभित्रै जलेको छ । डाक्टरले ऊ बाँझोपनाको शिकार भएकोले बाबु बन्न नसक्ने रिपोर्ट दिएका छन् । नियतिको कठोर निर्णय चुपचाप स्वीकार्नु उसको बाध्यता बन्यो ।

संयोग नै भन्नु पर्छ आज सोही अस्पतालमा मैना पनि स्थाई परिवार नियोजन गर्न पतिको साथमा आएकी छ । डाक्टरी रिपोर्ट हातमा लिएर डाक्टरको क्याबिनबाट बाहिर निस्कँदा जब मैनासँग नजर जुझ्छ, लालबहादुरको नजर हिनताबोध र लज्जाले झुक्छ ।

---
-अजित क्षेत्री
स्याङ्जा, नेपाल
[email protected]


----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.