म अनि मजस्ता धेरै आजसम्म पनि यस्ता सभ्य बलात्कारको शिकार भएका छन् । बलात्कारीलाई थाहा होला नहोला तर हामी धेरैका पेटका मांशपेसीहरु दुख्दछ, कम्मरमुनीको त्यो दुखाई बिच हामी मुस्काइरहेका हुनसक्दछौ तर पीडा झुठो हुँदैन । श्रीमानले माया गर्दछ भन्दैमा श्रीमानलाई नाई भन्न नहुने यो कस्तो चलन हो ।
यो एउटा कथा हो जुन वास्तविक छ र हो । कसैको हैन धेरको जीवनसंग मेल खाने छ, यो संयोग हैन किनभने मैले जे भोगें धेरैले भोगिरहेका छन् । यो एउटी महिलाको कथा हो, वेदनाको कविता हो । म एउटी सहनसिल पात्र हुँ र मेरा पति हृदयले सुस्त श्रवण छन्, उनले मेरो भावना कहिल्यै सुन्दैनन । मेरा आवाजहरु भित्रभित्रै गुम्सिएका छन्, उनी बाहेक म अरुलाई सुनाउन पनि सक्दिन हैन र ?
यो पनि हेर्नुहोस् : कथाकार - 'ओ माई भूत !'
आज म मेरो कथालाई एउटा बेनाम अभिब्यक्ति दिइरहेकि छु, आज म भन्दैछु एउटा सभ्य बलात्कारीको कथा जसले कानुनतः मलाई बलात्कार गरेको छ, निमोठेको छ अनि थिचेको छ । म को हुँ त्यसतर्फ नखोज्नु होला है ? म तपाइकै श्रीमतिजस्तै, आमाजस्तै, दिदिबहिनी जस्तै अनि साथीजस्तै एकजना हुँ, कथावाचक पात्र या सुत्रधार जे भन्नुहोस् ।
कथा शुरु हुन्छ मेरो विवाहको पहिलो रातवाट, उ छिटै सुत्यो.. थाकेर होला, म भने सुत्न सकिन किनभने सुहागरात केवल चलचित्र या कथामा मात्र रमाइलो, उसको पुरुषत्व र आवेगले मेरो पेटका मांशपेसी दुखेको थियो । म सुत्न सकिन, उसको सन्तुष्ट घुराइमा म आफूलाई खोजरहेकि थिए, तर शायद पाइन मैले आफूलाई उ भित्र ।
उसले मलाई सोधेन, मेरो थकाइ बारे कुनै प्रश्न गरेन । हरेक बिहान ओच्छ्यानमै उसलाई चिया चाहिएको थियो र हरेक साँझ ओच्छ्यानमै मेरो शरीरको डस्ना । उसले मलाई माया गर्छु भन्यो, भन्थ्यो र मैले पत्याइरहे । मलाई मेरो माइतले पनि त त्यहि सिकाएको हो, पतिको माया गर्नु, सेवा गर्नु, मैले गरिरहें । उसलाई उसका घरले पत्नीको माया गर्न सिकाउन भ्याएनछन्, उ सभ्य बलात्कारी बनेर मलाई बलात्कार गरिरह्यो ।
शुक्रबारको साँझ थियो र मेरा पति साँच्चै रातीसम्म अबेर कार्य गरिरहेका थिए, उनि ति दिनमा वास्तवमैं व्यस्त थिए । मलाई नराम्रो लाग्छ किनभने उनले हप्तामा केवल एकदिन मात्र बिदा पाउँछन् तर खुशी लाग्छ किनभने उनी भन्छन् कि उनी मलाई माया गर्दछन् ।
म केवल गृहणीमात्र हैन, म त महत्वपूर्ण भूमिका निर्वाह गर्ने गृहणी पनि हुँ । उनि कमाउने कार्य गर्दछन् र म ब्यबस्थापन गर्ने गर्दछु, पैसाले मात्र खाना पाक्दैन नि, म त्यो रसायनशास्त्रि हुँ जसलाई जीवनका रसायन र घरको भौतिक बिज्ञान पनि थाहा छ ।
अफिसबाट सोझै घर आएका उनी लुगासम्म फेर्न भ्याएका थिएनन्, उनि काम सकाएर कोठामा आए । सुस्तरि कपडा खोले, मैले उठेर उनलाई कपडा खोल्न सर्टका टाँक खोलेर सहयोग गरे । उनले मेरो कम्मरमा समाते र आफ्नो शरीरतर्फ ताने, मैले नाई भने । मेरो पेटमा पीडा थियो, माफ गरिदेउ नछुने भएको केवल अस्तिको सोमबारमात्र हो । उसले मलाई छाड्यो यसरी मानौ आँप खाएर कोया कसैले फालेको होस् । उनले भने ठिकै छ म बाहिरै केही ब्यबस्था गर्छु... लुगा बाँडेजस्तो म श्रीमान बाँड्न कहाँ सक्छु र रु मैले सहिरहें उनको बाहिरी ब्यबस्थापनको कुराले मेरो पीडालाई मैले माफ गरे, उनि चढिरहे म झरिरहेँ ।
मलाई ओच्छ्यानमा फालेर उनि हाम्फाले, यस्तो लाग्यो कि माया गर्नु उनकालागि बिकल्प हैन बाध्यता हो । उ भन्छ, उ मलाई माया गर्दछ शायद यो मायाले नै होला मेरो शरीरको अवस्थाको उनलाई वास्ता छैन । मलाई मेरो श्रीमानको यो कुरा मन पर्दैन, बिवाह देखि ओच्छ्यानसम्म उनले सँधै मेरो भावनाको कदर गरेका छैनन् ।
अरु केही हैन्, मेरो मन हुन्छ या हुँदैन्, पीडा छ या छैन त कम्तिमा सोध, मेरो भावना बुझिदेउ ।
म अनि मजस्ता धेरै आजसम्म पनि यस्ता सभ्य बलात्कारको शिकार भएका छन् । बलात्कारीलाई थाहा होला नहोला तर हामी धेरैका पेटका मांशपेसीहरु दुख्दछ, कम्मरमुनीको त्यो दुखाई बिच हामी मुस्काइरहेका हुनसक्दछौ तर पीडा झुठो हुँदैन । श्रीमानले माया गर्दछ भन्दैमा श्रीमानलाई नाई भन्न नहुने यो कस्तो चलन हो । मलाई मिलेर बस्न छ, मेरा श्रीमान राक्षस पनि त हैनन् ।
उनि साँच्चै मलाई माया गर्दछन्, अब मैले नाई भन्न थालेकि छु । बाहिरी ब्यबस्थापनको धम्कीलाई जस्ताको तस्तै जवाफ पनि दिन्छु । दुइ अक्षर पढेकी छु, उनको जत्तिकै कमाई म नि गर्न सक्छु हैन र ? सम्बन्ध बिच्छेद मेरो ओखती हैन्, दुबैबिचमा हुने समझदारी मेरो ओखती हो ।
नारी र पुरुष बिना यो समाज चल्दैन्, आजभोली मैले बोल्न थालेपछि श्रीमान बुझ्न थाल्नुभएको छ । दुवैलाई इच्छा लाग्दा गरिएको मायाले पुरुषत्व र नारीत्वलाई पूर्नब्याख्या गरेको छ । मेरा सभ्य बलात्कारी अब त्यस्ता छैनन, मेरो मौनताले उनलाई बलात्कारी बनाएको रहेछ ।
कहिलेकाँही उनि अधिकार जमाउन खोज्दा मैले चुप लगाउन जानेकी छु । घरिघरि लाग्छ एउटा बुढो बच्चाकी आमा भएकी छु जसलाई पत्नि पनि भनिन्छ ।
Liked by: