"मलाई माया गर्ने कोही छ?" यो वाक्य निदारमै लेखेर हिँडम् जस्तो लाग्छ । कहिले काहीँ यस्तो लाग्छ सबै कुरा मेरो प्रतिकुल बनेका छन्। गोलपार्क नजिकैको त्यो बूढो बहुमुखी क्याम्पस मलाई एकटक हेर्छ। खै? के सम्झेजस्तो गर्छ,अनि किराले खाएर बिग्रिएका केही अवशेष दाँत देखाएर ङिच्च हाँस्छ। उसको बहुमुखले मलाई हेरिरहन्छ, म अगाडि बढ्छु।बिग्रिएको बाटोको बीचमा भएको खाल्टोमा मेरो खुट्टा अल्झिन्छ। मेरो टाउको शरीरभन्दा अल्लि अगाडि हुत्तिएला जस्तो हुन्छ। चस्मा नाकको तल आइपुग्छ। म धन्नै धन्नै लड्नै लागेको हुन्छु। "बिग्रिएका तेरा आखाले अल्लि हेरेर हिड्ने गर् म धन्नैले फुटेको थिए।" मलाई मेरै चस्माले यत्तिकैमा गालि गर्छ। म अल्लि आत्तिए जस्तो हुन्छु, हत्तपत्त चस्मा मिलाएर अगाडि बड्छु।अघि मसँगै भएको घाम पनि अहिले धेरै टाढा पुगिसकेछ। अँध्यारो छिटो छिटो मेरो नजिक बड्दैछ। म एउटा अँध्यारो कोठामा पुग्छु। कोठामा झुन्डाइएको बत्तिले अतिकति अँध्यारो मेटाउने प्रयास गर्छ। कोठा मलाई एकपटक नियाल्छ या म कोठा नियाल्दछु जे भए नि कुरा एकै हो। भित्ताको कुनामा झुन्डाइएका ह्याङ्गर ,खाट, भाँडाकुँडा सबै मेरो पर्खाइमा छन्।अफिसको कामको थकानले थाकेको मेरो शरीर खाटको चुइइ...आवाजसँगै पल्टिन्छ। निन्द्रा भने मसामु अझै आइपुगेको छैन। कुनै नदीको किनारमा भेटिको बेवारिसे लास जस्तै देखिएको छ मेरो तात्कालीन दृश्य।
बिहान सबेरै उठ्छु, काममा दौडिन्छु,दौडिदै कोठामा आउछु, सत्छु, फेरि उठ्छु, मानौ यो मेरो नित्यकर्म नै हो।सधै देखिने बुढो क्याम्पस,गोलपार्क चोक,तेही बिग्रिएको बाटो, यही म जस्तै रुपहीन कोठा अनि यी छरपस्ट बसेका मेरा कोठाका सामान यिनैमा मेरो जीवन अडिएको छ। म यसैमा रमाएको छु, म यसैमा बाँचेको छु,म यसैमा हराएको छु, म यसैमा कराएको छु, म यसैमा रोएको छु, म यसैमा हाँसेको छु। यी नै मेरा साथी हुन् अनि मेरो कम्जोरी पनि। म कुनै कवि होइन; सायद यी मेरा कविताका पङ्क्तिहरुमा अटाउथेँ होला? न म कुनै गीतकार हुँ ; मेरा प्रत्येक राग तरङ्गमा यिनीहरु तरङ्गित हुन्थे होला? न म उदाहरणीय नै बन्न सके, सायद यिनीहरु मेरा उदाहरणहरु हुन्थे होला? म केही होइन, म केही बन्न सकिन बनिन तर पनि यिनीहरु मेरा लागि सब थोक हुन्। मेरा नित्यकर्मका हिस्सा हुन् मेरा नजिकका साथी हुन् मेरा कम्जोरी हुन्।
चुट्किलाको अस्तित्व आफैमा एकपटक बेजोड हुन्छ; मन खोलेर हँसाउछ।मानौ जिन्दगी चुट्किला हो।एकपटक आफ्नो बेजोड अस्तित्व बोकेर आउछँ खुब हँसाएर जान्छ। प्रायःजसो सबै चुट्किला हास्यास्पद हुन्छन् तर मेरो चुट्किलामय जिन्दगी त्यस्तो परेनछ क्यारे! म मेरो चुट्किला जत्रो जिन्दगीमा चुट्किला जस्तो बन्न चाहान्न। म स्वतन्त्रता चाहान्छु, मेरो जीवनमा उचाइको गहिराइमा पुग्न चाहान्छु, म त्यो परमानन्दलाई चुम्न चाहान्छु। मेरा हरेक प्रयास, मेरा हरेक पाइला, मेरा हरेक दिन, हेरक पल स्वतन्त्रता चाहन्छ आनन्दको खोजमा भौँतारिरहेको छ।
मलाई सोध्न मन छ- "आए चस्मे! तँ किन छेक्छस् मेरा सुन्दर संसार हेर्ने आखाहरुलाई? ए,कहिल्यै बन्न नसक्ने बिग्रिएको बाटो! भन् तँ किन आउछस् मेरो परमानन्दको बाटोमा?अोइ मर्न नसकेको बूढो क्याम्पस तँ किन हेरेर हाँस्छस् मलाई ? के म तँलाई हँसाउने चुड्किला लाग्छ?"
ढोकाको ढक्ढक् आवाजले मलाई झस्काउछ। ढोका बाहिरबाट एउटा सुनेको चिनेको अावाज गुन्जिन्छ । म जुरुक्क उठेर ढोका नजिकै पुग्छु, मिना बाहिरबाट मलाई बोलाउदै हुन्छे- "ढोका खोल्नुस् न! आशिका दिदी ....।"
Liked by: