April 17, 2014 / LENDAAI
ब्लड बैंकको गेट छिरिनसक्दै ऊ अत्तालियो । छपक्कै छरिएका बाइक देखेर अन्दाज लगायो– कम्तीमा २ घन्टा उसको पालो आउँदैन । कीर्तिपुरबाट बाइक चढेदेखि अहिलेसम्म लगभग १० पटक घन्टी बजिसकेको थियो मोबाइलमा । हतारोले गोजीसम्म हात पुर्याउन पाएन ।
पार्किङको कुनामा बाइक ठड्याएर मोबाइल हेर्यो । दिदीले गरेकी रहिछन् । कल ब्याक गर्यो ।
‘भएन अझै? ओटी छिराइसके ।’ उताबाट दिदी बोली– अजिता ।
‘ठूलो लाइन छ । २ घन्टा त लाग्छ के हो,’ उत्रिएको आवाजमा बोल्यो– रमेश ।
‘ला… । एकदमै अर्जेन्ट छ भनेर करा न । ह्याँ अत्ताइसके,’ आत्तिएकै आवाजमा बोली अजिता ।
‘मजस्तै आत्तिएका अरू पनि छन् यहाँ । कराएर हुन्न केरे,’ स्वाभाविक देखिन खोज्यो तर उसका पसिना बोलीभन्दा छिटोछिटो खसिरहेका थिए ।
भाइ प्रवीणतिर हेर्योए । ऊ पनि उस्तै उदास पसिना चुहाइरहेको थियो ।
‘जा त भित्र बुझ् । पैसा पनि तिर्,’ गोजीबाट अस्पतालको सिफारिस निकाल्यो । एबी पोजेटिभ रगत दिन प्रेक्षा डक्टरले लेखेको चिठी दियो ।
ब्लड बैंकबाहिर लामो लाइन थियो । थरीथरीका अस्पतालबाट पर्चा लिएर सबै हतास मुहारमा पालो कुर्दै थिए । प्रवीण पनि पैसा बुझाउने लाइनमा थियो । गेटबाट सबै हतारिएर भित्र छिर्थे अनि लुसुक्क परेर लाइन बस्थे । प्रवीण बेलाबेला उदास अनुहार लिएर रमेशतिर हेर्थ्यो ।
‘भएन?’ रमेश इसारामा सोध्थ्यो ।
‘अहँ,’ ऊ पनि त्यसैगरी उत्तर फर्काउँथ्यो ।
अलि बेरमा उसको पालो आयो । पालो त आयो, तर खुसीको पालो थिएन ।
‘छैन भने अघि नै भन्नुपर्दैन? बाहिर सूचना टाँस्नुपर्दैन?’
प्रवीण एक्कासि बम्कियो । उसको आवाज सुनेर रमेश भित्रतिर दौडियो ।
‘के भो?’
‘यत्रोबेर लाइनमा उभ्याएर अहिले त एबी पोजेटिभ छैन पो भन्छन्,’ प्रवीणले सुनायो, ‘अब कहाँ जाने यतिखेर?’
घडी हेर्यो, सवा ४ भएको थियो ।
रमेश चिठी लिएर भित्र गयो प्रशासनमा । अनि क्षणभरमै फर्कियो उदास–उदास ।
अर्थात्, रगत पाइएन ।
बारम्बार बजिरहने घन्टीले उसको तनाव शिखरमा पुर्याकएको थियो । कतिले के भयो भनेर सोध्थे । उसले अझै भएको छैन भनेर उत्तर फर्काउँथ्यो । धेरैजसो उसकै दिदीको फोन हुन्थ्यो ।
अनि ऊ च्याँठि्ठएिर भन्थ्यो, ‘ह्या’ अझै पालो आ छैन के ।’
कीर्तिपुर अस्पतालबाट आउँदा प्रेक्षाले रेडक्रसमा फोन गरेर बुझेकी थिई । दुई पिन्ट एबी पोजेटिभ छ भन्ने खबर पाएपछि रमेश र प्रवीण हुरीझैं हान्निएका थिए प्रदर्शनीमार्ग ।
रमेशले प्रेक्षालाई फोन गर्यो । अपरेसन थिएटरभित्र भएकीले होला– फोन उठेन ।
यता रमेशको मुटु गतिहीन भयो । जगेडा रगत नराख्ने अस्पताललाई सराप्यो । कसैसँग फ्रेस रगत मागे पनि आएर दिँदासम्म अबेर भइसक्थ्यो । नत्र उसले फेसबुकमा लेख्थ्यो पनि होला शायद ।
० ० ०
बिहान भाले पनि नबास्दै इन्दिरा चिच्याई व्यथाले । गाउँबाट सासू आएकी थिइन् सुत्केरी स्यहार्न ।
फोन गरेको १५ मिनेटमा एम्बुलेन्स आयो हुइँय । अनि लिएर गयो उत्तिखेरै हुइँय ।
एमर्जेन्सीमा राख्यो एकछिन । छामछुम पारे । लेबर रुम लैजानुअघि फर्म भराए । स्ट्रेचरमा राखेर लेबर रुम छिराए । अनि ढ्याप्प ढोका लगाए । भित्र इन्दिरा चिच्याउन थालिसकेकी थिई । बाहिर सासू, अजिता, रमेश र प्रवीण कुरेर बसे ।
५ बज्यो । ६ बज्यो । ७ बज्यो ।
लेबर रुमबाहिर र भित्र दुवैतिर उस्तै छटपटी र व्याकुलता थियो ।
८ बज्यो । सुई घुम्दै ९ मा टेक्यो । १० बाट ११ लाग्यो । अहँ– भित्रबाट खबर आएन ।
घरि सासू जान्थिन् घरि दिदी । बाहिर आएर भन्थे, ‘९ इन्चमात्रै छ अझै ।’
यतिन्जेल रमेश हरेकपटक फेसबुक अपडेटमा थियो । भित्र जान स्वीकृति थिएन, बाहिरै बसेर अनेक स्ट्याटस लेखिरहन्थ्यो । ऊ बिहेको ५ वर्षपछि बाउ बन्दै थियो । त्यसको खुसी कसरी पोख्ने, असमञ्जसमै थियो ।
१२ बजेतिर डक्टर प्रेक्षा आइन् । हत्त न पत्त उतैतिर सोझिए सबै ।
‘९ इन्च सेन्टिमिटर खुलिसक्यो, अझै निस्किएन,’ थकितझैं बोलिन्, ‘पाठेघरको मुख खुलिसक्यो । अलमल भयो । पानी पनि ओइलाइसक्यो ।’
उनको ‘अलमल’ सुनेपछि सबै काल्लिए । डक्टरले नै अलमल भनेपछि कसको अडेस लाग्नू?
‘के गर्ने त?’ सासू सुस्तरी बोलिन्, ‘सिएस नै गर्ने कि?’
सिएस भनेपछि डक्टरले पुलुक्क उनीतिर हेरिन् ।
‘म खबर गर्छु नि, है त,’ यति भनेर उनी लेबर रुमतिर सोझिइन् । जाँदाजाँदै थपिन्, ‘बच्चाको धड्कन ठीक छ, सबै नर्मल छ, नआत्तिनुस् ।’
रमेश बेचैन थियो । घरिघरि लेबर रुमको ढोकामा कान टाँस्थ्यो, इन्दिरा प्राण फुत्केलाझैं चिच्याएको सुनेर उत्तिखेरै बाहिर प्रतीक्षालय आउँथ्यो । भाइ प्रवीण चुपचाप कुनामा अडेस लागेर निदाइरहेको थियो ।
१२ पछि १ बज्यो । इन्दिरा बिस्तारै चिच्याउन छाडिसकेकी थिई । बाहिर गुनगुन बाक्लियो ।
‘८ घन्टा भइसक्यो, किन निस्कएन होला अझै?’ अजिता बोली ।
‘मलाई त डर लाग्न थाल्यो, कस्तो हेलचेक्र्याइँ हो के!’ सासूले थपिन्, ‘सिएस गरिदिए हुन्न? ८–८ घन्टासम्म यसरी लेबर पेनमा राख्ने हो?’
‘आमा, बाहिर लैजाम् कि के हो । मलाई त चाला ठीक लागेको छैन,’ रमेश जुरुक्क उठेर नजिक आयो ।
‘बेडमा सुतेको मान्छेलाई कसरी लैजाने बाहिर? फेरि यहाँका डक्टरलाई तिमीहरूले सकेनौ, हामी लैजान्छौं भन्न पनि त मिलेन,’ सासूले तर्क दिइन् ।
रमेश सरासर भित्र गयो । ढोका ढक्ढकायो । नर्सले ढोका खोलिन् । ढोकाको दायाँतिर कुनामा इन्दिरालाई सुताइएको थियो । तर, उसले देखेन । डक्टर प्रेक्षा अचम्म परेझैं ऊतिर हेरिन् ।
‘एउटा सल्ला गर्नुथ्यो डाक्साप्,’ अलि कामेको स्वरमा भन्यो, ‘एकैछिन ।’
प्रेक्षा बाहिर आई ।
‘यत्रो घन्टा भइसक्यो, बच्चा निस्किएन । के भएको हो, क्लियरली भनिदिनुस् न ।’
त्यसपछि प्रेक्षा गम्भीर भइन् ।
‘बिहानैदेखि नर्मल डेलिभरीमै लागिरहेका छौं । ९ इन्च सेन्टिमिटर खुलिसकेर पनि बच्चा निस्किएन । भित्र केही समस्या छ कि जस्तो भएर सिनियर डक्टरलाई बोलाएका छौं, आउँदै हुनुहुन्छ एकैछिनमा,’ खरर भनी ।
अरूभन्दा पनि ‘भित्रको समस्या’ले उसलाई गलायो । अल्ट्रासाउन्ड गर्दा तिनै डक्टरले सबै नर्मल भनेको सम्भि्कयो । त्योभन्दा पनि उसलाई नजन्मिसकेको सन्तानले पिरायो ।
‘बरु तपाईं प्रदर्शनीमार्ग ब्लड बैंक गएर एबी पोजेटिभ रगत ल्याउनुस् । अपरेसन गर्नुपर्योल भने नभई हुन्न । म चिठी लेखिदिन्छु ।’
यति भनेर उसले रिसेप्सनबाट फोन डायल गरी । फरर अवस्था भनी अनि रगत भए/नभएको निश्चित गरी ।
‘दुई पिन्ट छ रे, छिटो गएर ल्याउनुस् । हामीकहाँ रहेनछ,’ अनि उसले खरर्र चिठी लेखेर थमाइदिई ।
० ० ०
ब्लड बैंक वरिपरि चक्कर लगाउँदा रमेशले एकजना अधवैंशे भेट्यो । त्यो मान्छेले अघिदेखि नै रमेशको छटपटी नियाल्दै थियो । हातमा कागज बोकेर यताउता गर्दा पसिनाले निथ्रुक्क भिजेका रमेश र प्रवीणलाई उसले टक्क रोक्यो ।
‘भाइ यता आउनुस्,’ उसले हात समाएर पार्किङको कुनामा लिएर गयो ।
‘कुन ग्रुप हो चाहिएको?’ सोध्यो ।
‘एबी पोजेटिभ ।’
‘कहाँ लैजानुपर्ने?’
‘कीर्तिपुर अस्पताल ।’
‘४ हजार दिने हो?’
‘किन दिने नि?’
‘म रगत मिलाइदिन्छु,’ त्यो अधवैंशेले यसरी भन्यो, मानौं ऊ रगत बेच्छ ।
त्यसपछि दुई भाइ घोरिए । यस्तो अनिकालको बेला ४ हजार ठूलो कुरा पनि थिएन, सजिलै दिन सक्थ्यो ।
‘पहिले रगतको ग्यारेन्टी गर्नुस्, म दिन्छु,’ रमेशले भन्यो ।
‘यस्तो बेला अविश्वास गर्नुहुन्न भाइ, दिनुस्, म तपाईंलाई खाली हात पठाउन्नँ ।’
भाइतिर हेर्योा, उसले ‘हुन्छ’ भनेको जनाउमा टाउको हल्लायो ।
गोजी छाम्यो, ४ वटा हजारका नोट निकालेर थमाइदियो ।
‘एकछिन पख्नुस् । यहीँ बस्नुस्, हराउनुभो भने खोज्न सक्दिनँ,’ यति भनेर ऊ चिठी लिएर भित्रतिर छिर्यो ।
उत्तिखेरै अजिताको घन्टी बज्यो । पसिनाले निथ्रुक्क भिजेका हातले डायलप्याड थिच्यो ।
‘यता अप्रेसन सुरु हुन लाग्यो, रगत नआउँदासम्म नगर्ने भन्दैछन् । छिटो ल्या,’ अजिताले बोलिनसक्दै रमेश च्याँठि्ठयो ।
‘माछा मार्न ला’छु र? रगतै पाइएन । एउटाले मिलाइदिन्छु भनेर ४ हजार लग्यो ।’
अजिता चुक्चुकाई ।
५ मिनेटपछि त्यो अधवैंशे सेतो ब्याग लिएर त्यहीँ आइपुग्यो । रमेश हस्कियो । त्यो मान्छे नजिक आइनपुग्दै उसले कीर्तिपुर पुगेर रगत झुन्ड्याएको कल्पियो ।
‘ल त भाइ, छिटो लिएर जाऊ । २ घन्टाभित्र रगत चढाइसक्नुपर्छ ।’
रमेशले घ्यारर्र बाइक स्टार्ट गर्यो । भाइ पछाडि बस्यो । यसरी कुद्यो कि मानौं संसार उसलाई लखेट्दै पछाडि दौडिएको छ ।
० ० ०
अस्पतालको ढोका नछिर्दै सासू आँखाअघि भेटिइन् । अनुहार उस्तै उत्रिएको थियो । घडीले ६ बजाइसकेको थियो । इन्दिरालाई लेबर रुमभित्र छिराएको १२ घन्टा भइसकेको थियो ।
‘यता आउनुस् त!’ मलिन स्वरमा सासूले रमेशलाई बोलाइन् ।
रमेशको मनमा सयथरी कुरा खेलिरहेका थिए । सासूको अनुहार देखेर त्यसै पनि खिन्न थियो ।
‘के भयो?’ सोध्यो ।
‘छोरा,’ तर, उनको बोलीमा उत्साह थिएन ।
मनमनै पिङ खेल्यो खुसीले । उसले छोरी चाहेको थियो र पनि छोराले ऊ दुःखी भएन ।
‘तर ब्याड न्युज छ,’ सासूले थपिन् ।
मुजा परेका अनुहारमा मुजाभन्दा पनि चिन्ताका धर्सा देख्यो उसले । दिनभरि छोरीको चिच्याहट सुनेर थाकेकी थिइन् र पनि हौसला दिँदै बोल्दै थिइन् ।
रमेशको मनमा चिसो पस्यो । एकै प्रहरमा उसले सम्भावित नराम्रा सबै अवस्था कल्पना गर्यो । तर, सबैभन्दा अन्तिम सत्यमा गएर ठोक्कियो– बच्चा खस्यो या असाधारण जन्मियो ।
रुन पनि सकेन, बोल्न पनि । हातमा बोकेको रगतको ब्याग छेउमा राख्यो र थचक्क बस्यो । भाइ पनि टाउकोमा हात राखेर कुर्सीमा थच्चियो ।
‘सबै नर्मल छ, पछाडि अलिकता मासु पलाएको रहेछ,’ बिस्तारै कानैछेउ पुगेर बोलिन् सासू ।
रमेशले टाउको उठायो ।
‘हँ?’
‘मेनिङ्गोसिल हो रे! अप्रेसन गरेपछि ठीक हुन्छ रे!’
रमेश केही बोल्नै सकेन । मानौं, बडेमानको पहाडले उसको रुद्रघण्टी थिचेको छ र ऊ ऐंठन परेर कुनै सपना देख्दैछ । कहिल्यै नसुनेको नाम सुनेर पनि ऊ बढी आत्तियो । त्यसमाथि त्यत्रो दुःख गरेर ल्याएको रगत कामै लागेन ।
‘रगत चाहिएन?’ मलिन स्वरमा सोध्यो ।
‘नचाहिने भयो रे! तर, फिर्ता गर्न मिल्छ रे भोलिसम्म,’ सासूको आवाजमा दुःखभन्दा व्यवहारिकता बढी झल्किन्थ्यो ।
लगत्तै डक्टर प्रेक्षा आइन् र आफैं ब्रिफ गर्न थालिन् ।
‘बच्चाको स्पाइनल कर्डको फ्ल्युड मेरुदण्डको हाडबाहिर निस्किएर डल्लो बनेको छ । न्युरोको केस भएकाले न्युरोलोजिस्टलाई देखाउनुपर्छ । मोडल अस्पतालमा कुरा गरिदिएकी छु, भोलि ल्याउन भन्नुभएको छ ।’
यसरी विवरण सुनाइन् कि मानौं सबै एकदमै सपाट साधारण छ । रमेशको अनुहार भुईंतिर लत्रिएको थियो ।
‘अनि, पिडियाट्रिसियनलाई पहिले देखाउनुपर्छ । यो १००५ जनामध्ये १ जना बच्चालाई हुन्छ,’ थप्दै गइन्, ‘अहिले इन्क्युबेटरमा राखेका छौं, गएर हेर्न सक्नुहुन्छ ।’
रमेशलाई चित्त बुझेन ।
‘अनि ४ महिनामा अल्ट्रासाउन्ड गर्दा किन केही भन्नुभएन? सबै नर्मल भन्नुभएको होइन तपाईंले?’
डक्टर अलि हच्किएझैं गरिन् ।
‘त्यतिबेला भिडियो एक्स–रेमा केही देखिएन,’ एकदमै छोटो र गैरजिम्मेवार जवाफ दिइन् ।
‘४ महिनामा त सबै विकास भइसकेको हुन्छ, कसरी देखिएन?’ रमेशले फेरि प्रश्न सोझ्यायो ।
‘हेर्नुस्, यसबारे त रेडियोलोजिस्टलाई नै सोध्नुपर्छ । मैले त उहाँले दिएको रिपोर्ट हेर्नेमात्रै हो,’ यति भनेर उनी बाहिरिइन् ।
रमेशले सासू र दिदीको अनुहार हेर्यो, निधारमा धर्साबाहेक केही देखेन । हतारिएर इन्क्युबेटर राखिएतिर दौडियो ।
वरिपरिबाट सिसाले घेरिएको बाकसभित्र साढे ३ किलोको छोरो कोल्टे परेर सुतेको थियो– संसारबाट बेखबर । पछाडि पुच्छरे हाडनेर पुक्क उक्सिएको डल्लो थियो । नजिकबाट हेर्योक, पानी भरिएको बेलुनझैं थियो । जीवनमा कहिल्यै देखेको थिएन, शायद सोचेको पनि ।
इन्दिरा भन्थी, ‘छोरो भए पनि छोरी भए पनि मलाई केही छैन, बस् नर्मल भइदेओस्!’
तर, ४ महिनामा एकपटक गरेको भिडियो एक्स–रेपछि उसको त्यो डर पनि हराइसकेको थियो कतै ।
विरक्तिएर ऊ पोस्ट–अपतिर निस्कियो । इन्दिरा अचेत सुतिरहेकी थिई ।
बाहिर जेठको चर्को गर्मी, भित्र मनको ताप– सहन सकेन । भननन्न रिंगटा लाग्यो । बुंग ढल्यो । शरीरका छालाबाट चिटचिट पसिनाको मूल फुट्यो ।
सासू र दिदी आत्तिए । चिच्याएको सुनेपछि नर्सहरू हुर्रिदै आए ।
पानी छमछम पारे, शरीर हल्लाए ।
अनि, रमेशले आँखा खोल्यो केही बेरमा ।
३ घन्टापछि इन्दिरा ब्युँझिई । डक्टरले उसलाई केही नभन्न अह्राएका थिए ।
रमेशतिर हेरेर मुसुक्क हाँसी । ऊ पनि हाँसेजस्तो गर्योह ।
सोधी, ‘के भयो?’
‘छोरा,’ मुसुक्क हाँसेर बोल्यो रमेश ।
‘खै त?’ वरिपरि कतै नदेखेपछि सोधी ।
‘चिसोबाट जोगाउन मेसिनमा राख्या छन्, सबै ठीक छ,’ इन्दिराको निधार सुम्सुम्याउँदै थप्यो, ‘पर्सि डिस्चार्ज गर्ने भनेका छन् अनि घर जाने ।’
मुसुक्क हाँसीमात्रै । रमेशले डल्लोबारे केही भनेन । देख्यो– छेवैमा भर्खरै किनिएका ढाकाका लुगा थिए । जन्मिएपछि लगाइदिन भनेर ल्याएका । सुरुवाल त लगाउनै नमिल्ने भयो डल्लोले । घाँटीनेरै गाँठो पर्यो ।
राति फेसबुकमा स्ट्याटस लेख्यो, ‘१००५ मा १ भएर जन्मियो छोरो : ) ।’
० ० ०
दोस्रो दिन :
प्रेक्षाले मोडलका डक्टर आकाशलाई फोन गरेर सविस्तार लगाई । ३ बजे अप्वाइन्टमेन्ट दियो । सासू, अजिता र रमेश साढे २ बजे नै पुगे । जानुअघि इन्दिराले सोधी, ‘कहाँ जान लागेको?’
सासूले भनिन्, ‘जन्डिस चेक गराउन । यता बच्चाका डाक्टर रैन्छन्, मोडल जान लागेको ।’
इन्दिरालाई यतिखेरसम्म थाहा थिएन, उसको छोरा अर्कै जन्मिएको थियो । कसैले भनेनन् पनि । दूध पनि ल्याक्टोजिन खुवाइदिए नर्सहरूले ।
३ बजे डक्टर आकाशको ढोका खुल्यो । कपडामा बेरेर रमेशले छोरालाई बोकेको थियो । डल्लो फुट्ला भनेर बडो जतनले समाउनुपर्थ्यो । रमेशलाई छोराभन्दा डल्लो जोगाउन महाभारत थियो । घाँटीको गलगाँडजस्तै झुन्डिरहने त हैन जीवनभर? यस्तै कुराले चस्का हान्थ्यो मुटुमा ।
‘आउनुस्,’ ढोकाको पहिलो लहरमा देख्नेबित्तिकै आकाशले बोलायो, ‘प्रेक्षा डक्टरले भन्नुभएको तपाईंहरू नै होइन?’
सासूले मुन्टो हल्लाइन् । कोठाभित्र सासू र रमेशलाई मात्रै बोलायो । अजिता बाहिरै बसी ।
‘ओहो, ठूलै रहेछ,’ टर्च लाइटले डल्लो हेर्योल घोरिएर । लाइटको प्रकाशले भित्र मसिना नसा देखिन्थे कतैकतै ।
रमेश र सासू मुखामुख थिए । बोली नै फुटेन ।
आकाश आफैं बोल्यो, ‘सोचेभन्दा ठूलो रहेछ । भिडियो एक्स–रेमा देखिएन?’
‘४ महिनामा एकपटक गर्दा देखिएन, त्यसपछि सबै नर्मल छ भनेर प्रेक्षा डक्टरले भिडियो एक्स–रे गर्नै पठाउनुभएन,’ रमेशले उत्तर दियो ।
‘त्यतिबेलै देखिएको भए बच्चा फाल्न हुन्थ्यो, अब त फाल्न पनि मिलेन,’ आकाश बोलिरहँदा रमेशको निधार चाउरियो । सासूतिर हेर्नै सकेन ।
‘अनि फोलिक एसिड पनि ख्वाउनुभएन?’
‘४ महिनासम्म खुवाएको, त्यसपछि खानुपर्दैन भन्नुभो डक्टरले ।’
‘ओ माई गड!’ आकाश चकित परेझैं बोल्यो ।
आकाशको हाउभाउ असामान्य देखिन्थ्यो । घरिघरि ठूलो किताब पल्टाएर मेरुदण्डका चित्र हेर्थ्यो अनि घरिघरि डल्लोमा टर्च लाइट बालेर हेर्थ्यो । एकछिनपछि दराजभित्रबाट एउटा फोटो झिकेर देखायो ।
‘यो बच्चाको पनि यस्तै समस्या थियो, अपरेसनपछि ठीक त भयो तर ५ वर्षपछि राम्ररी हिँड्न सकेन । दुःख पायो विचरोले,’ ऊ भन्दै गयो, ‘मेनिङ्गोसिल, आई मिन स्पाइना बाइफिडाका बिरामीको भविष्य छैन । बाँचे पनि दिसा र पिसाबको समस्या हुन्छ ।’
रमेश र सासूको मुटुमा जोडले सियो घोचेझैं भयो । यतिबेलासम्म उनीहरू ठूलो आशा पालेर बसेका थिए । रमेशले पुलुक्क छोराको अनुहारमा हेर्योो । आँखा चिम्म गरेर निदाएको थियो ।
‘मेरो सल्लाह यसलाई नबचाएकै बेस हुन्छ भन्ने हो,’ आकाश फेरि बोल्यो, ‘भोलि गएर दुःख पाउनुभन्दा अहिले नै माया मारेको बेस ।’
सासूका आँखा टिलपिल भए ।
‘केही ‘ केही त उपाय होला नि डाक्टरसा’प,’ घाँटीमा सास अड्किएझैं बोल्यो रमेश ।
‘अप्रेसन गर्न त सकिन्छ, तर भोलिको ग्यारेन्टी हुन्न । मिराकल भयो भने स्वस्थ पनि हुन सक्छ । तर ३ महिना नहुँदै बच्चाको अपरेसन हुँदैन । ३ महिनासम्म डल्लो जोगाएर राख्न सक्नुहुन्छ?’
आकाशको बोलीमा कतै नम्रता थिएन । रमेश र सासू के भन्ने दोधारमा परे । सासूका आँखा टिल्पिलाएका थिए । रमेशको अनुहारमा बादल थियो । ३ महिनासम्म डल्लो जोगाउने कसरी? चौबीस घन्टा रुँङेर बस्ने कसरी? यही प्रश्नले बढ्ता घोच्यो ।
‘नरिसाउनुहोला,’ आकाश फेरि बोल्यो, ‘यो डल्लोलाई आफैं फुट्न दिनुस्, इन्फेक्सन भएर बच्चा आफैं मर्छ ।’
कोठामा एकाएक सन्नाटा छायो । रमेशका शरीरमा एकैपटक हजारौं काँडा उमि्रए । सासू झन् भक्कानिइन् । मुटुमा जोडले सुनामी आयो ।
‘जोगाउन सक्नुहुन्छ भने ३ महिनापछि आउनुस्, म अप्रेसन गरिदिन्छु,’ आकाश एक्लै बोलिरहेको थियो । रमेश र सासूले त उसको आवाज राम्ररी सुन्न पनि सकेका थिएनन् ।
‘फोलिक एसिडको मात्रा नपुगेर यस्तो भएको हो । अब अर्कोपटक बच्चा जन्माउने बेला ३ महिनाअघिदेखि नै फोलिक एसिड खानुपर्छ, नबिर्सिनुहोला,’ आकाश भन्दै गयो, ‘यो बच्चालाई माया मारिदिनुस् । मेरो कुरा अप्रिय लागे पनि ध्रुवसत्य त्यही हो ।’
सासू जुरुक्क उठिन् । आँसु पुछिन् । च्याप्प नाति समाइन् । अनि बोकेर निस्किइन् बाहिर । रमेश पछिपछि गयो ।
आकाश के भन्दै थियो, उनीहरूले सुनेनन् । वा, सुन्नै चाहेनन् ।
० ० ०
जतिखेरै पनि फुट्ने डल्लोको डरभन्दा अजंगको डर थियो– इन्दिरालाई कसरी सुनाउने! घाउका टाँका नओइलाउँदै यस्तो खबर सुनाउन उनीहरू सक्दैनथे । बच्चाको शरीर लुगाले छोपिएको हुन्थ्यो, दूध खुवाउन पर्दैनथ्यो । अपरेसन गरेर बच्चा निकालेपछि केही दिन आमाको दूध खुवाउन मिल्दैन्थ्यो ।
टुंगो लाग्यो– डिस्चार्ज भएर घर नजाउन्जेल कसैलाई नभन्ने ।
अघिल्लो दिन नाति आएको खबर सुनेर घरमा कुखुरा पाकिसकेको थियो । रमेशले साँचो कुरा भन्नै सकेन । आमा–बुवाको ठूलो आशा थियो नातिप्रति ।
राति अस्पतालको बेडमा इन्दिराले सुस्तरी भनी, ‘राम्ररी बाबुको अनुहारै देख्न पा’छैन, देखाइदेऊ न ।’
एकाएक टाउकोमा बज्र खसेझैं भयो । के भनम्, कसरी भनम् भयो ।
राति इन्क्युबेटरमा राखेपछि एकैपटक बिहान अस्पताल लैजाँदामात्रै झुलुक्क अनुहार देखेकी थिई इन्दिराले । आमाको मन, २४ घन्टा कसरी बाँधेर राखी होली! सम्झेरै मुटु गह्रुंगो भयो रमेशको ।
सकेसम्म हाँस्न खोज्यो । हाँस्यो पनि– मुसुक्क ।
‘यत्रो ९ मैना नदेखेर पनि त भाथ्यो केरे, भोलि बिहानै हेर्नू नि हुन्न?’
‘नाइँ के, एकपटक मात्रै ल्याइदेऊ न के,’ कर गरी ।
‘इन्क्युबेटरमा छ, नर्स नभएर निकाल्न मिल्दैन,’ बहाना बनायो र मन भुलाउन खोज्यो, ‘कस्तो राम्रो छ । लास्टै ह्यान्डसम भएर निस्किने भो केटो ।’
‘हेहे, त्यही त हेर्न मन लाग्यो, नर्सलाई भन्देऊ न प्लिज,’ इन्दिराले अड्डी कसी । रमेश लत्रियो ।
बाहिर निस्किएर नर्ससँग सोध्यो ।
‘जतनसँग है । कसैगरी पनि थाहा पाउनु हुन्न आमाले । नत्र प्रेसर बढेर घाउ मक्किन्छ,’ अलि सिनियरजस्तै देखिने नर्सले भनिन् ।
‘तपाईं नै लगिदिनुस् न, मलाई आँटै छैन,’ मलिन स्वरमा भन्यो ।
तिनै नर्सले जनतसाथ लगिदिइन् । बच्चाको अनुहार देखेर इन्दिराका आँखा टिल्पिलाए । च्याप्प बोकेर छातीमा टाँस्न खोजी, नर्सले दिइनन् ।
‘घाउमा असर पर्छ, नबोक्नुस् ।’
छोराको अनुहारसँगै पुलुकपुलुक रमेशतिर हेर्थी अनि मुसुक्क हाँस्थी ।
‘अनुहार त काटिकुटी बाउजस्तै ल्याएछ ।’
रमेश ट्वाइलेट जान्छु भनेर बाहिर निस्कियो । कति बेरसम्म भित्र पस्नै सकेन । पौने घन्टाजति टहलिएर भित्र जाँदा इन्दिरा एक्लै थिई, आँखा चिम्लिएर निदाएकी थिई शायद । राति च्याँच्याँ गरेर बच्चा रुँदा नर्सहरू नै आएर ल्याक्टोजिन खुवाइदिन्थे ।
० ० ०
तेस्रो दिन :
सासू बिहानै कड्किइन् ।
‘यसरी हुन्न । न्युरोलोजिस्टकहाँ जाम् ।’
रमेश त्यस्तै सोच्दै थियो । ३ महिना यत्तिकै डल्लो हेरेर बस्न सक्ने धैर्य उसमा थिएन ।
‘यो पिडियाटि्रसियनभन्दा न्युरोको केस हो,’ अजिताले थपी । प्रेक्षाले भनेको पनि सम्झी ।
‘न्युरोले जे भन्छ, त्यही गर्ने, मन दह्रो बनाउनुस्,’ सासूले रमेशलाई भनिन्, ‘कस्ता–कस्ता दुःख सहनुपर्छ, यो पनि सहुँला । यस्ता बच्चा कति बाँचेका पनि छन् रे!’
रमेशको मनमा पुलुक्क आशाको गुबारा फुल्यो । दुई दिनमा ऊ धेरैपटक मरेर बाँचेको थियो । वीर अस्पतालमा यस्तै बच्चाको सफल अपरेसन भएको खबर कताकताबाट सुनेदेखि उसको मनमा अनेक रंगका गुबारा फुलिसकेका थिए । फोन गरेर नाम टिपायो अनि बेतोडले हान्निए वीरतिर ।
साँघुरो भर्याटङ चढेर न्युरो वार्ड गए । १० बजेको ओपिडीमा भीड थियो । बच्चा समाएर उभिँदा मान्छे पुलुक्क फर्किएर उनीहरूतिर हेर्थे । पुछारतिर पुक्क उक्सिएको डल्लो देखेर उनीहरू मुखामुख पनि गर्थे ।
रमेश सरासर काउन्टरमा गएर पर्चा लिई आयो । गेटमा उभिएको मान्छेलाई दियो । उसले २१ नम्बरमा पालो भएको बतायो । यानेकि कम्तीमा २ घन्टा । त्यति पर्खिन सक्ने धैर्य र ताकत थिएन, रमेशले नम्र भएर अनुनय गर्योक । त्यो मान्छेले पुलुक्क बच्चाको अनुहार हेर्यो् र २ नम्बरमा पालो राखिदियो । रमेशसँगै वरपरका सबै चकित परे । एकजनाले त मुख खोलिहाल्यो, ‘ढिलो आएर यसरी छिटै छिराउन पाइन्छ?’
गेटको मान्छे कड्कियो, ‘त्यत्रो मुठीभरको बच्चा देख्नुभएन? कस्तो ढुंगाको मन रै’छ यार!’
त्यो बोल्ने मान्छेको रुद्रघण्टी ठप्प भयो ।
छिनभरमै भित्रबाट बोलायो कसैले । सासू र रमेश गह्रुंगो मन लिएर छिरे भित्र । उनीहरू नराम्रो केही सुन्न चाहँदैनथे, सबै राम्रैराम्रा कुरा सुन्न पाऊँ, त्यही कामना गर्दै थिए ।
बडेमानको पावरवाला चस्मा लगाएको डाक्टर केही लेख्दै थियो । बच्चा बोकेर उभिएको रमेशतिर पुलुक्क हेरेर सोध्यो, ‘ल भन्नुस्, के भयो ।’
‘मेनिङ्गोसिल,’ सासू अगाडि सरेर बोलिन् ।
‘ए!’ चस्माको कापबाट हेरेर सोधे, ‘कसले भन्यो मेनिङ्गोसिल भनेर?’
‘मोडलका डाक्टरले,’ रमेश बोल्यो ।
‘ए!’
उसले टर्च लाइट बालेर डल्लो हेर्यो’ ।
‘ओह! कति भो जन्मेको?’
‘आज ३ दिन ।’
‘ठीक छ । अप्रेसन गर्नुपर्छ,’ कागजमा केही कोर्दै उसले भन्यो, ‘जनरल्ली ३ महिना कुर्नुपर्छ बच्चाको अपरेसन गर्न, तर यो केस सेन्सिटिभ छ । म जनरल्ली ७ दिनको दिनदेखि नै अपरेसन गरिदिन्छु । एमआरआई गर्नुस्, त्यसको ३ दिनमा अपरेसन गर्ने । हुन्छ?’
भित्रभित्रैबाट सुलुलु आएर सास ठ्याप्प घाँटीमा अड्कियो रमेशको । मुखबाट केही शब्द निस्किएनन् ।
‘यो डल्लोमा पानीमात्रै छ, नसा छैन । नसा भएको भए बडो गाह्रो हुन्थ्यो,’ आशाका संकेत पहिल्याउँदै ऊ बोल्दै गयो, ‘यस्ता केस ८ वटा अपरेट गरिसकेँ । सुताउँदाचाहिँ कोल्टे फेरेर सुताउनुहोला । बच्चा ४ महिना नकटी आफैं कोल्टे फेर्न सक्दैन ।’
ऊ बोलिनसक्दै रमेश भक्कानियो । दुःखभन्दा बढी खुसीको भक्कानो थियो त्यो ।
डक्टरले उसको काँधमा हात थम्थमाउँदै भन्यो, ‘नआत्तिनुस्, यो केटा प्रधानमन्त्री हुने भाग्य लिएर जन्मिएको छ ।’
० ० ०
५ वर्षपछि एकदिन ।
छोरो स्कुलबाट हुर्रिंदै आएर रमेशसँग लपक्क टाँस्सियो ।
रमेश केही लेख्दै थियो ल्यापटपमा ।
‘बाबा, यो के हो?’ स्क्रिनमै छोएर सोध्यो उसले ।
मुसुक्क हाँस्यो । गालामा बिस्तारै चिमोट्यो । बोल्ने शब्द केही थिएनन् ।
र, पनि भन्यो, ‘डल्लो हो छोरा, तेरै कथा ।’
Liked by: