मास्टरको सपना | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

मास्टरको सपना




   Ajit Kshetri - Jul 09 2016

राती बिस्तरामा बाबुको दुबै हातको सिरानी नहाली दुबै छोराछोरी निदाउँदैनन् । दिनभर कामले थाकेकी मास्टर्नी पनि हिउँदको यो सालीन मौसममा आफ्ना पतिको छातीमा हात राखी निदाउन पाउँदा संसार जितेको महसुस गर्छिन् ।



अजित क्षेत्री | गाउँघर दशैंको आगमनले उल्लसित छ । घरहरू रंग पोतेर उज्याला र चम्किला पारिएका छन् । आँगन, गल्ली, बाटो र डहर चिरिच्याट्ट पारी दुलही झैं सिंगारिएको छ । बडादशैं मान्न घर जाने र आउनेहरुले गाडी भरिन थालेका छन् । जुवाका बादशाहहरु तासको खाल जमाइसकेका छन् । पसलेहरु आधा बाटो/सडकै कब्जा गरी दशैका सामान बिक्रीका लागी प्रदर्शन गरेका छन् । बच्चाहरु लठ्ठे पिङ मच्चाउनमा मस्त छन् । बास्तवमा सारा देश नै भाङ् खाएर लठ्ठिए झैं बडादशैंको उल्लासमा लठ्ठिएको छ ।

हिजैदेखी देशभरका सरकारी र सार्वजनिक बिधालयहरु दशैं बिदा भएर बन्द छन् । घरपाइबाट टाढा रहेका शिक्षक बिधार्थीहरु धमाधम घर फर्किँदै छन् । गाउँमा पिङ् हाल्ने र बाटोघाटो सफा बनाउने चटारो छ । देशभरी जस्तै स्याङ्जा कोल्माको एक बिधालय पनि दशैं बिदामा बन्द छ भने गाउँलाई दशैंको आगमनले घपक्कै ढाकेको छ । सोही बिधालयका एक शिक्षक हुन् चोलाकान्त शर्मा । नामले भन्दा पनि मास्टर जी र मास्टर उपनामले चिनिन्छन् उनी । बुढापाकाहरुले उनको अनुपस्थितिमा उनलाई मास्टर भनेर सम्बोधन गर्छन् । मृदुभाषी एवम् गाउँलेको दुखमा सधैं दिलोज्यान दिएर सहयोग गर्ने हुनाले गाउँदेखी सदरमुकामसम्म उनको राम्रै इज्जत छ । सदरमुकाम पुतलीबजारको बाडखोला घुम्ती भनिने चोकदेखी कोल्मा काहुले सम्म जीप गुड्ने बाटो बन्नुमा यिनै मास्टरले गरेको सामाजिक अगुवाइ नै मुख्य कारण हो भन्छन् गाउँलेहरु । हल्का चेक सर्ट, कटराईजको पाइन्ट, गोल्ड स्टार जुत्ता र ढाका टोपी यिनको पहिरन र पहिचान हुन् । सदरमुकाम झर्दा होस् या अन्त जाँदा होस्, हातमा ठुलो अफिसिएल ब्याग र ब्याग भित्र एकजोर कपडा प्राय: छुट्दैन । मास्टर पनि दशैँको आगमनले फुरुक्क छन् । अरूको घरमा जस्तै उनको घरमा पनि दशैंको चटारो छ । भोली बिहानै सदरमुकाम गएर दशैंको खरिदारी र लत्ताकपडा किन्ने योजना बनाउँदै मास्टर र उनको परिवार निदाउँछ ।
   
बिहानको खाना घरमै खाएर मास्टर जीप चढेर मास्टर सदरमुकाम जान्छन् । सदरमुकाम स्याङ्जा बजारमा उनले दिनभरमा खरिदारी सिद्याउँछन् भने बिभिन्न संघसंस्थाले आयोजना गरेका शुभकामना आदानप्रदान कार्यक्रममा पनि आफ्नो उपस्थिति जनाउँछन् । 

दिनभर यताउति गर्दागर्दै झम्के साँझ परिहाल्यो । लौ मार्यो गाउँतिर जाने सबै जीपहरु पहिले नै छुटिसकेछन् । जीप पार्किङ्मा एउटै जीप नभएपछि मास्टर अब डेढ घण्टा उकालो जंगलको बाटो हिनेरै घर पुग्नु पर्ने भो । छिटो छिटो औषधी पसलबाट आमालाई दमको नियमित औषधी आगामी पन्ध्र दिनलाई पुग्ने गरी किन्छन् र झोलामा राख्छन् अनि झोलाबाट दुई बेट्रीवाला टर्च लाइट निकालेर बाल्छन् । धिपधिपे उज्यालो दिंदै टर्च मास्टर साबको सन्ध्याकालीन सेवामा तम्तयार भो । मास्टरले पाइला चाले ।

उनले आज ठुली छोरीलाई जिन्सको पाइन्ट र टिसर्ट किनि दिएका छन् दशैंको दस्तुर । छोरालाई पनि जिन्स पाइन्ट र कलर भएको टिसर्ट अनि आफ्नी जीवनसंगीनी सरला अर्थात् मास्टर्नी साबको लागी पच्चीस सयको जापानीज सारी र बृद्ध आमालाई घरबुनाको धोती किनेका छन् । बँचेको पैसाले दसैँलाई केही मरमसाला किन्दा किन्दै पैसा सकियो, यसपाली उनको सोल च्यातिएको गोल्डस्टार जुत्ताले उनको खुट्टासंग सजिलै साथ छोड्न नपाउने भयो ।

घर जति चाँडो पुग्यो उति चाँडो आमाले दमको औषधी खान पाउने छिन् । उनले आमालाई आफ्नै हातले औषधी खुवाउने छन् । ७५ बर्षिया आमाको ब्यबहार आजकल केटाकेटीको जस्तो हुन थालेको महसुस उनले गरेका छन् । दुई बर्ष अघि पतिले परलोक यात्रा गरेपछि बुढि आमाको जीउने आधार र सहारा भन्नु नै यै मास्टर छोरा र बुहारी भएका छन् । साँझ छोरा घरमा भएन भने आमा अतासिन्छिन् र नानाभाँती बतुराउँछिन् । बच्चाले बाऊ खोजे झैं बुढिआमा छोरो खोज्छिन् साँझ परे सी । त्यसो त घर पुग्न ढिला भएको दिन छोरा छोरीको ध्यान र नजर बाटोतिरै दौडिरहेको हुन्छ । भञ्ज्याङ्तिर कसैले उज्यालो बालेर गाउँ तिर ठडियो भने घरका सबैले त्यो उज्यालो कता जान्छ भनेर ठमासी बस्छन् ।

मास्टरलाई जतिसक्दो चाँडो घर पुग्नु छ । भरे सदा झैं नौ बर्षिया छोरी र सात बर्षिय छोराले बाबुको थालबाट भात निकाली खाने छन् अनि बाबुको हातले भात खान उनीहरु खोसाखोस गर्नेछन् । त्यसो त कहिलेकाहीँ  छोराछोरीले नदेख्ने गरी उनले आफ्नी मास्टर्नीलाई पनि एक गास खुवाउन भ्याउँछन् । त्यसो गर्दा उनलाई मास्टर्नी आफ्नी पत्नी नभएर प्रेमीका जस्ती लाग्छिन् । मास्ट्नीलाई पनि श्रीमानको जुठो हात आफ्नो ओठ हुँदै पुन श्रीमानको ओठसम्म पुगेको दृश्य संसारकै सुन्दर र अलौकीक दृश्य लाग्दछन् । राती बिस्तरामा बाबुको दुबै हातको सिरानी नहाली दुबै छोराछोरी निदाउँदैनन् । दिनभर कामले थाकेकी मास्टर्नी पनि हिउँदको यो सालीन मौसममा आफ्ना पतिको छातीमा हात राखी निदाउन पाउँदा संसार जितेको महसुस गर्छिन् । अझ धेरैजसो रातहरुमा त निदाएका छोराछोरी बाबुको काखबाट अर्को बिस्तरामा सारेर सुताइन्छन् र उनको पुरै बिस्तरा र शरिरमाथी मास्टर्नीले अधिकार जमाइसकेकी हुन्छिन् । हुन पनि बच्चाहरू हुर्किन थालेपछि पत्नीले बढि नै आफुलाई माया गर्न थालेको र आफ्नो सामित्यताको लागी भोकाएरै बस्ने गरेको उनले महसुस गर्न थालेका छन् । भोको बाघले शिकार झम्टे झैं हिंजो रात उनले झम्टेर आफुलाई एकै गास पारेको सम्झँदा उनी तरंगीत हुन्छन् । 

आफ्नै मनसँग कुरा गर्दै उनका पाइला अगाडी बढिरहेका छन् अनि पुतलीबजार बाडखोला बजार पछाडी छाडिइसकेको छ । खोलाको किनार र धानखेत हुँदै उनका पाइला देबीथान मन्दिर नेर पुगिसकेका छन् । मन्दिर कटेसी माथी कुँबरहरूको बस्ती भएको अरौंदी खोला आउनेछ अनि उकालो जंगलको बाटो हिंड्नु पर्नेछ । देबीथान मन्दिर कटिसकेको छ । अब अरौंदी खोला गाउँ पुग्न जंगलको छेवै छेऊ केही बेर हिंड्नु पर्नेछ ।

बाडखोला र स्याङ्जा बजारमा घटस्थापनाको दिनदेखि नै जुवाडेहरु म्यारिज खेल्नमा र कौरा हान्नमा मस्त छन् । गल्लीका भित्री घरहरूमा पुलिस प्रसासनको आँखा छलेर जुवा खेलाईएका छन् । कोही हारेका छन् कोही जितेका । जुवाडेहरुलाई कुखुराका साँप्रा, काँक्राको सलाद र बियर ठाउँको ठाउँ सर्भिस दिइएको छ । चार दिन लगातार खेल्दा पनि जीतबहादुर र रिते कार्कीले एक दाउ जित्न सकेनन् । श्रीमतीको बेरुवा औंठी एक छिन लगाउँछु भनेर ल्याएको जीतबहादुरले त्यो पनि फालेको छ । खेलको नशाले लठ्याएको छ तर साथमा सुको पैसो छैन । तासको खेल छोडेर जीतबहादुर र रीते चोकतिर निस्कन्छन् ।

दसैँको बेला भएकाले लाहुरेहरु र बिदेशीएकाहरु धमाधम गाउँ फर्केका छन् । देशमै भएकाहरु पनि दशैंको बोनस र मासिक तलब जेबमा राखी धमाधम घरतिर हिडेका देखिन्छन् । कोही पेन्सन थापी किनमेल गरी घर फर्केका छन् । मान्छेको चापलाई गाउँका जीपले थेग्न सक्दैनन् । त्यसैले मानिसहरू पैदलै पनि हिंडिरहेछन् कोही समुहमा कोही एक्लै आफ्नै सुरमा । जुवामा हारेका जीतबहादुर र रीते कार्कीको मनमा कुबिचारले स्थान ग्रहण गर्छ, दशैंमा घर फर्केकालाई लुट्ने र पैसा कमाउने । गत बर्ष यै समयमा यिनिहरूले तीन ठाउँमा लुटी करिब सवा लाख पचाएका थिए । लुटेराको सुईंको सम्म कसैले पाएनन् । यो जोडीले आज लुट्न योजना बनायो । सकेसम्म लुट्ने मात्र तर लुटिनेले आँफुहरुलाई चिनेको अवस्थामा मारिदिने योजना बन्छ ।

झिमिक्कै साँझ परिसकेको छ । एक काँधमा ब्याग र हातमा टर्च लाईट अनि अर्को हातमा सामानले भरिएको पोलिथिन ब्याग लिएर मास्टर देबिथान हुँदै अरौंदी गाउँतिरको बाटोमा लम्किरहेछन् । बाटोको माथीतिर घना जंगल र तलतिर लहलहाउँदा धानका बाला छातीमा टाँसेर अरौंदी खोलाको फाँट मुस्कुराई रहेछ । अलितल सानो अरौंदी खोला एकतमासले सुसाई रहेकोछ । झ्याउँकिरी र भ्यागुताको टर्रटर्र आवाज कानमा गुन्जिरहन्छ । "यो दशैंमा म आइन भनेँ..निष्ठुरीलाई दाई तिम्ले नभने" दिउँसो रेडियोमा सुनेको यो गीत गुनगुनाउँदै मास्टर अगाडि बढिरहेछन् । बाटो निस्पट्ट अँध्यारो छ चुक पोखेजस्तो । पहाडको खोंच र कुइनेटो परेकाले यहाँ आइपुग्दा रातको समयमा मान्छे डराउँछन् ।

जीत बहादुर र रिते कार्की यसै कुइनेटोमा बटुवा लुट्न ढुकी बसेका छन् । काँधमा र हातमा गह्रौं सामान बोक्दै एक मानिस टर्च लाइट बालेर आफ्नै नजिक आएपछि जीतबहादुर र तिते हौसिन्छन् । मास्टर नजिकै आइपुगेका छन् । एक्कासी रिते मास्टरमाथी जाई लाग्छ र हातको टर्च खोसेर खेततिर मिल्काई दिन्छ । उसैमौकामा जीत बहादुरले मास्टरको ब्याग खोस्छ । "ओई को हौ तिमीहरु ? के गरेको यो ?"- घबराउँदै मास्टरले भने ।

" हामी चोर" एउटाले भन्यो ।
"चुपचाप सबै सामान हामीलाई दे"-अर्कोले भन्यो ।
"सबै खोसी सकिस् अब के दिउँ ?
"कति पैसा छ निकाल !"-चोरले फेरी भन्यो

"छैन पैसा सैसा, खोई मेरो ब्याग दे ?" मास्टरले रिस, आक्रोश र डर मिसाउँदै भनेसः "बढ्ता बोल्छस् ?, ल खा...." रीतेले कम्मरको खुकुरी मास्टरको टाउकोमा बजार्छ । ढुनमुनिंदै मास्टर खेतमा लड्न पुग्छन् । रगतको छर्रा रिते र जीत बहादुरको मुखभरी पर्छ । छटपटाएका मास्टरको मुखभरी खेतको पानी जान्छ र बिस्तारै उनी चलमलाउन बन्द गर्छन् । चोरले उनको शरीर छामछुम गरेर झोला बोकेर जंगलतिर भागीसकेका छन् । झ्याउँकिरी र भ्यागुता कराउन बन्द गरे । उता खाना पकाएर पतिको पर्खाईमा बसेकी मास्टर्नीको छाती अचानक भारी भएर आयो । बाहिर निस्कन्छु भन्दा ढोकामा ठोक्कीएर हातको एउटा चुरा फुट्यो, छोराको टाउकाको टोपी खस्यो ।

"भगवान्, के अलल्छिन हो यस्तो !!" मास्टर्नी डरले चिच्याईन् । खोरमा थुनी राखेका कुखरा तर्से, बसिराखेको भैँसी जुरुक्क उठ्यो ।

"उफ्, कस्तो नराम्रो सपना देखेछु, बुढी एक गिलास पानी लेऊ त"-उठ्नासाथ मास्टरले भने । "छि, हजुर पनि ! चाडबाडको बेला के के सपना देख्नुहुन्छ ।"- एक गिलास पानी पतिको अगाडि राख्दै मास्टर्नीले भनिन्-"बिहानपख देखेको सपना पुग्छ भन्छन् ।"

'के गरम त नि, मैले देख्छु भनेर देखेको होइन के रे'-मास्टरको ओंठे जवाफ फर्कन्छ ।

''ल भै गो, पानी पिउनुस्, त्यो सपना शौचालय बस्दा आँफैलाई सुनाउनु, दोष काटिन्छ रे" यति भनि मास्टर्नी गोठतिर लागिन् । मास्टर पानी पिईसकेर शौच जान्छन् अनि आफ्नो सपना सुनाउन थाल्छन् आफैलाई । हुन पनि यति नराम्रो सपना उनले कहिल्यै देखेका थिएनन्, आँफै मारिएको सपना ।

उज्यालो भएको छ, भर्खरै उदाएको घाममा चाँदिको घेरो सरी बादलले हल्का छोपेको छ । तल फाँटतिरबाट निस्केका हुस्सु आकाश छुन दौडेका छन् । हल्का चिसो मौसम छ । घरमा चिया पाकिसकेको छ मास्टर्नीले पति, बच्चा र सासुलाई चिया दिन्छिन् र आँफू पनि पिउँछिन् ।

"यसो रेडियो खोलओ न केटाकेटी हो, चाडबाडको बेला छ, के के भन्छ रेडियोले''- यति भन्दै बार्दलीमा बसेकी मास्टरकी बुढी आमैले खोक्न थालिन् ।

"दशैं सकिनासाथ आमालाई पोखरा लगेर ठुलै हस्पतालमा चेक गराउँछु" यति भन्दै उनी भित्ताको किलामा झुँडाई राखेको रेडियो रेडियो खोल्छन् । रेडियोमा प्रबिण गिरीले बिहानको समाचार पढिरहेका छन् । "कति चाँडै सात बजेछ है !" मास्टर मनमनै गुनगुनाउँछन् ।

"स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिकाको उत्तरपूर्वमा पर्ने देविस्थान् र अरौंदी गाउँको बिचको जंगलको बाटोमा गएराती अज्ञात ब्यक्तिहरुबाट कोल्मा काहुले गाबिसका एक बिधालयका प्रधान अध्यापकको धारीलो हतियार प्रहार गरि हत्या भएको छ....." प्रबिण गिरी समाचार बाचन गरिरहेछन् । समाचार सुनेर मास्टरको हातबाट चियाको गिलास भुईंमा खस्छ ।

"यै सपना हो मैले देखेको" एक्कासी मास्टर चिच्याउँछन् । "थुईया,,,ति पापीको घरमा आगो लागोस्, कस्तरी चाडको बेला अर्काको ज्यान लिईछस् पापी"- बार्दलीबाट मास्टरकी आमा रेडियोको समाचारको तितो प्रतिक्रिया स्वरुप हत्यारालाई गाली दिँदै थिईन् । 'साह्रै अनर्थ भएछ भगबान् '- मास्टर्नीले लामो सुस्केरा हाल्दै भनिन् । आँफूले केही घण्टा अगाडि देखेको सपनासँग ठ्याक्कै मेल खाने सपना...केवल पात्र फरक! जिऊ लगलग काम्छ,शरीर असिनपसिन हुन्छ । 'बिहानी पखको सपना पुग्छ भन्छन् भन्दैथी बुढी, हो त रै'छ'-उनी मनमनै गुनगुनाउँछन् । 'बच्चाले जस्तै चिया पोखेर के गरेको होला' भन्दै मास्टर्नी मास्टरले चिया पोखेको भुईं सफा गर्न लाग्छिन् । केटाकेटीले रेडियोको समाचारमा ध्यान दिएनन् आफ्नै सुरमा चिया पिउँदै छन् । मास्टर जुरुक्क उठ्छन् अनि रेडियो बन्द गर्छन् । कुर्चीमा थचक्क बस्छन् अनि श्रीमतीतिर हेर्दै भन्छन्- बुढी यो सपना भन्नी कुरो कसरी देखिन्छ होला? के राती मेरो आत्मा त्यहाँ गएको थियो र त्यो घटना प्रत्यक्ष देखेको थियो होला त ?"
मास्टर्नी एकोहोरो टोलाए जस्ती हुन्छिन् केही जवाफ दिन्नन् ।

एकैछिन् पछि उनी भन्छिन्: "छिमेकाँ यस्तो नराम्रो घटना घटेसी चाडबाड आएको के सार भो र? अब सदरमुकाम क्यार्न जानु पर्यो र बरू गए हुन्छ हेडसरको घरतिर,..रुवाबासी होला कठै !"

"गैहाल्छु अब, छिमेक मर्दा पर्दा त हो नि चाहिने"-लामो सुस्केरा हाल्दै मास्टर भन्छन्-" यस्तो मृत्यु त कस्तै सत्रुको पनि नहोस् ।"

"नमस्कार मास्टर साप, गाउँमा त साह्रै नराम्रो घटना घटेछ है ! राम राम राम.." कोही मान्छे यति भन्दै उनको आँगनतिर आउँदैछ । उही जीतबहादुर रै'छ जसले सपनामा उनको हत्या गरेको थियो । मास्टर झस्के ।

"गुन्द्री तानेर बस"-मास्टर्नी बोलिन् । मास्टर भित्र पसे । प्यास लागेजस्तो भयो । एक अंखोरा पानी घटघटी पिएर सिध्याए ।



मल्याङ्कोट १ दार्सिङ् स्याङ्जा
हाल: युएई
[email protected]
----

तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.