फ्लाईट नं. ७१७ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

फ्लाईट नं. ७१७





२०७० फाल्गुन २४ / LENDAAI
कान धुम्म भयो एक्कासि– राति सालघारीमा कतै कीरा कराएजस्तो शून्न। पोखरीभित्र कतै डुबुल्की मारेजस्तो। एकछिन अघिसम्म पनि कान त्यसैगरी धुम्म थिए, कपास कोचेझैं, पोखरीमा डुबेझैं।
आँखा खोल्न सकिनँ। आँखीभौं टन्कियो। छामेँ, पानीझैं थियो केही। आँखा चिम्लिँदा परेलाको पृष्ठभूमिमा सिंगो ब्रह्माण्ड देखेझैं लाग्यो। त्यो ब्रह्माण्डमा कतै पृथ्वी नाचिरहेझैं लाग्यो। त्यो पृथ्वीमा कतै अँध्यारो नेपाल टुस्स आङ फिँजाएर बसेझैं लाग्यो। तर, त्यो नेपालको कुन भूगोलमा छु, देखिनँ। परेलामा कतै नक्सा देखिएनन्, धर्सैधर्सामात्रै देखिए।
दायाँतिर गोजीको मोबाइल छाम्न खोजेँ, हात उठेन। दायाँ कम्मरले च्यापिएर होला– हात निर्जीव ढुंगाझैं जमिनमै धस्सिएको थियो। वरपरका रूखमा कतै चरा कराएको पनि सुनिनँ। म भूगोलको कुन अक्षांश र देशान्तरमा छु, मेरो अवस्था के छ– थाहा थिएन। १५ मिनेटअघि आकाशमा धुम्म बादल र सिमसिम पानी दर्केको सम्झन्छु। जताततै मान्छे चिच्याएको सम्झन्छु। अनि फ्ल्यासब्याकझैं घरिघरि धमिला अनुहार सम्झन्छु।
कान उसैगरी धुम्म थियो, केही सुनेको थिइनँ। आँखा उसैगरी बन्द थिए, केही देखेको थिइनँ। देब्रे हात बिस्तारै चल्थ्यो, दाहिने हात सायद मरिसकेको निर्जीवझैं लम्पसार थियो। दिमागले कताकता काम गरेको जस्तो त लाग्थ्यो तर सोच्थेँ– यो कुनै सपना हो, मलाई सपनामा भयंकर ऐँठन परेको छ।
त्यतिबेलामात्रै विपना लाग्यो, जतिबेला १५ मिटरपर नेपथ्यमा कोही चिच्याएको सुनेँ। यस्तो चिच्याहट १५ मिनेटअघि पनि सुनेथेँ। बादलभित्र कतै हराउँदा, जोडले भित्तामा टाउको बजारिँदा र चर्खे पिङझैं तल र माथि गर्दा– यस्तै चिच्याउँथे मान्छे।
पानीको तलाउभित्र डुबुल्की मार्दा संसारबाट बेखबर भएझैं म पनि त्यो आवाजदेखि बेखबर थिएँ। यस्तो लाग्थ्यो– हावाले कतैबाट कसैको बोली उडाएर मसामु ल्याउँछ अनि कानभित्र नपुर्याआई अन्तै हुर्या्उँछ। लाग्यो– म सपनामै थिएँ, ऐँठन परेको सपना। निद्रामै दायाँ कोल्टे फेर्दा हात बटारिएर लथ्रक्क परेझैं थियो त्यो सपना। यस्तो ऐठन मैले भोगेकै थिइनँ कहिल्यै।
आँखा उघि्रए। म सपनामा थिइनँ। मलाई कोही बोलाउँदै थियो, सायद मेरै नामले। त्यो नाम, जुन नामले मलाई हरेक दिन मेरो पल्टनका साथीहरू बोलाउँछन्। त्यो नाम, जुन नाम लिएर मलाई हरेक दिन आमा र प्रमिलाले बोलाउँछन्।
जुरुक्क उठ्न खोजेँ, सकिनँ। मेरा खुट्टा लम्पसार परेका थिए, एउटा बडेमानको फलामको पत्तामुनि।
अब भने मलाई साँच्चै लाग्यो– मलाई सपनामा होइन, विपनामै ऐँठन परेको छ।
दुइटा खुट्टा पत्तामुनि, दायाँ हात आफ्नै शरीरमुनि। सास फेर्नुबाहेक अरू हरेक कोणबाट म मरिसकेको थिएँ।
बाँचेको त्यतिखेर खबर पाएँ, जतिखेर कानका जाली सुलुलु गर्दै ढक्क खुले। तलाउभित्रबाट एक्कासि सतहमा आएझैं। अनि सुनेँ– अलि पर दायाँतिर खोल्सामा खस्य्राकखुस्रुक केही चलिरहेको थियो। कोही चिच्याइरहेको थियो।
मलाई मेरै शरीर क्विन्टलभन्दा भारी भइरहेको थियो। १५ मिटरजति पर त्यो खोल्सासम्म पुग्न यही हालतमा मलाई १५ दिन लाग्थ्यो।
टाउकोनेर माथिबाट घोप्टिएको क्यापजस्तै सेतो टिनको बट्टाले पनि जोडले थिचिरहेको थियो। घरिघरि लाग्थ्यो– टाउको ठूलो कोइलाको भट्टीभित्र छ। देब्रे हातले त्यही भट्टी पन्छाउन खोजेँ, करेन्टले हानेझैं भयो। टाउकोमाथि थेच्चिँदा कपाल पूरै खुइलिएछ। असह्य चहर्याायो। शरीरमा कताकता दुःखेको थियो, अन्दाजै थिएन। सायद, नदुख्ने ठाउँ कतै बाँकी थिएन।
जसरी हुन्छ, गोजीको मोबाइल झिक्नु थियो। दायाँतिरको हर जति प्रयास गर्दा पनि चलेन।
मनमा चिसो पस्यो। छातीको देब्रेतिर जोडले बुल्डोजर कुदेजस्तो लाग्यो। करङको कापबाट सुलुलु रगत बग्दै पैतलानेर पुगेजस्तो लाग्यो। फलामको तातो रापले तातिएका खुट्टा एकाएक चिसा भए। लाग्यो– म बर्बाद भएँ। मेरो स्पाइनल कर्ड भाँच्चियो।
टाइमल्याप्स क्यामराझैं कताकताबाट सिंगल फ्रेममा आई प्रमिला।
प्रमिलासँगै ११ दिनकी अढाई किलो छोरी आई।
छाडेर हिँड्दा आँखा पनि राम्ररी खोलेकी थिइन।
मनमा फेरि बुल्डोजर कुद्यो।
आँखाबाट पानी चुहिए या टाउको माथिबाट तातो रगत, थाहै पाइन।
 
० ० ०
 
चाहेको बेला साढे ४ कहिल्यै बज्दैन—
जतिबेला एकजना बूढा मान्छे कुर्सीको छेवैमा आएर फत्फताउँछन्—
अनि, अलि पल्तिरबाट उनकी अर्धांगिनी सही थाप्दै नाकको बुलाकी हल्लाउँछिन्।
म पुलुक्क पूर्वतिर झुन्ड्याएको भित्तेघडी हेर्छु।
स्पिकर बोल्छ, ‘नेपालगन्जदेखि काठमाडौंसम्मको फ्लाइट नम्बर ३०५ का यात्रु महानुभावहरू कृपया प्रस्थान गेटमा आइदिनुहोला।’
अनि क्रमैसँग लर्बरिएको लवजमा अंग्रेजी उल्था गर्छे। उसको बोलीसँगै कोठाभरि छट्पटाउँदै बसेका अस्थिर मान्छेहरू गेटतिर हतारिन्छन्।
बूढा सोध्छन्, ‘आवाजै बुझिनँ बाबु, के भनी त्यो नानीले?’
उनी जुम्ला सुन्न चाहन्छन्, म भन्छु, ‘अझै १ घन्टा छ, नआत्तिनुस्। अहिले काठमान्डुको रै’छ।’
पत्नीतिर फर्केर खुसुरफुसुर गर्छन् र मतिर फर्केर फेरि सोध्छन्, ‘बाबु कहाँ जाने नि?’
‘म पनि जुम्लै हो।’
हाँसेजस्तै भन्छु, ‘स्पिकरमा अघिजस्तै बोलेको राम्ररी सुन्नुहोला, साढे ४ तिर।’
बूढा हाँसेजस्तो गरेर पल्तिरको कुर्सीमा बसे।
म एयरपोर्ट छिरेदेखि नै बूढाको छनक हेर्नलायक थियो। रिक्साबाट झरिसकेपछि दुईपटक शरीरमा लोकल इन्धन भरिसकेका थिए। साथमा बूढी थिइन् र एउटी २५ वर्षजत्तिकी छोरी। छोरीको काखमा अर्की नाबालक छोरी थिइन्।माइकबाट सुरिली नानी फेरि बोलिन्, ‘नेपालगन्जदेखि जुम्लासम्मको फ्लाइट नम्बर ७१७ का यात्रु महानुभावहरू कृपया प्रस्थान गेटमा आइदिनुहोला।’
आवाज नसकिँदै बूढा आँखाअघिल्तिर झुल्किए।
‘बाबु, अब जाने हो?’
‘हो हजुर, उः त्यो ढोकातिर हिँड्नूस।’
बूढाले अलि पर बसेका बूढी, छोरी, नातिनी सबैलाई चिच्याएर बोलाए।
उनीहरू हतार–हतार गेटतिर दौडिए। खै, के–को हतारोले उनीहरूलाई तानेको थियो।
‘बाबुको नाम?’ लाइनमा बूढाले सोधे।
‘विजय।’
‘के गर्नुहुन्छ?’
‘आर्मीमा छु।’
‘आहा! कस्तो राम्रो।’
दुइटा ओठ दायाँ–बायाँ तन्काएर फिस्स हासेझैं गरेँ।
उनले पनि त्यही दोहोर्यातए।
प्रतीक्षालय आएको आधा घन्टापछि मेरो मनमा एउटै कामना रहिरह्यो– बूढा छिटो कतै जाऊन्। मेरो दिमाग नचाटून्।
कानमा सेतो इयरफोन घुसाएँ।
‘घरै जुम्ला ˜˜˜˜…’
बूढा के बोल्दै थिए, सुनिनँ। वा भनौं, ध्यानै दिइनँ। अगाडि लाइनतिर फर्किएँ। टाउको माथितिर फर्काएर आँखा चिम्लिएँ। कानमा फुल बाससहित ‘रोलिङ इन द डिप’ घन्कियो। क्या स्वर छ आहा!
गीतमा हराउँदै थिएँ। एक्कासि झस्किएँ। बूढाले कोट्याउँदै मलाई केही सोध्दै थिए।
‘घरै जुम्ला हो बाबुको?’
एकमन त लाग्यो, हातको मोबाइलले बजाइदिऊँ।
‘होइन, घर काभ्रे हो। पोस्टिङ २४ नम्बर बाहिनी हो।’
‘ए,’ बूढाले भयंकर ठूलो अनुसन्धान गरेझैं सन्तुष्टि दर्शाए। मलाई किनकिन उनको अनुहार हेर्नु थिएन। त्यसमाथि उनी अघिदेखि लोकल गन्हाइरहेका थिए।
‘मेरो नामचाहिँ हर्षजित,’ मैले नसोध्दै उनले परिचय खुलाए, ‘हर्षजित पुन।’
‘ए,’ मैले कुराको बिट मार्न चाहेँ।
तर उनले चाहेनन्।
‘थरचाहिँ के नि बाबुको?’
‘क्षेत्री।’
‘ए,’ बूढाले फेरि मुन्टो हल्लाए, ‘पैसा त थुप्रै हुन्छ होला नि है?’
‘हुन्न। मैना नउत्रिँदै गोजी उत्रिन्छ।’
उनी मसँग जबर्जस्ती गफ गर्दै थिए। मलाई उनको गफभन्दा बाहिरको कालो बादलले दुःखाइरहेको थियो।
डेढ–दुई घन्टासम्म पनि सिमसिम पानी रोकिएको थिएन। ३ बजे उड्नुपर्ने जहाज कालो बादल र सिमसिमे पानीकै कारण डेढ घन्टा रन–वेमै रोकियो। सुत्केरी श्रीमती छाडेर हिँड्नुको विरहमाथि कालो बादलले झन् अँध्यारो थपिदियो।
मौसमको खराबीले उडानमा डिले भएको सूचना लगातार आइरहेको थियो।
कालो बादलको अनिष्टले मन पोल्यो।
 
० ० ०
 
चहर्यााइरहेको टाउकोमा राम्ररी छुन पनि सकेको थिइनँ। त्यसमाथि खोल्साबाट आइरहेको भयंकर डरलाग्दो आवाज। उठेर हेर्न जान सक्दिनथेँ। तर, उनको बर्बराहटले मलाई भयंकर त्रासदीको छनक दिइरहेको थियो।
कमसेकम मोबाइल झिक्न पाए जिपीएस लोकेट त हुन्थ्यो। कम्पास ब्यागमै कतै हरायो सायद।
देब्रे हातले वरिपरि छामेँ। ढुंगा भेटियो। त्यही ढुंगाको भरले टाउकोमाथिको टिन हुत्याएँ।
एकैछिनमा त्यो आवाजले चिच्याएर पानी माग्यो। मलाई अत्यास लाग्यो।
‘को हो?’ चिच्याएरै बोल्न खोजँे, आवाज निस्किएन। घाँटीमा धुवाँको मुस्लो छिरेझैं भयो।
थुप्रैपटक ‘को हो?’ भनेँ घाँटीभित्रको एपिग्लोटिसनेर सासै ठोक्किएन।
घाँटी सफा गरेँ। छेउमा कतै पानी भइदिए म आफैं समुद्र निलिसक्थेँ।
तेलको गन्धले वाकवाकी आइसकेको थियो।’पानी … मरेँ …’
आवाज प्रस्ट सुनेँ। महिला चिच्याउँदै थिइन्। महिला पनि होइन, भर्खरकी युवती थिइन्। त्यो चिच्याहटमा असह्य कम्पन थियो। अनेक बल गरेर पानी माग्दै थिइन्, आवाज सुनेर पनि म केही गर्न सक्दिनथेँ।
कारण– म आफैंले कसैलाई बोलाउनु थियो।
मेरा खुट्टामाथिको फलाम उठाएर मलाई कतै तेलको गन्ध नआउने चौरमा लैजानु थियो।
अनि, तातोले खुइलिएको टाउकोमा बेटाडिन लगाएर सफा गर्दिनु थियो।
साथमा घडी थिएन। करिब १ घन्टाअघि साढे ४ बजेको थियो। अहिले साढे ५ जति भएको होला। अस्ताउँदै गरेको घाम देख्दा लाग्यो– म उत्तरबाट दक्षिणतिर फर्किएको थिएँ। ती युवती दायाँतिरबाट चिच्याउँदै थिइन्।
‘को हो …?’ भएभरको बलले चिच्याएँ। घाँटी बसेको आवाजमा धोद्रो स्वरले बोलाएँ। आवाज निस्किएछ सायद। उनले सुनिन् सायद।
‘म… म…’ यसरी उत्साहले बोलिन्, मानौं उनको अगाडि साक्षात् कुनै देवता उभिएका छन् र उनलाई हात दिएर तान्न खोज्दैछन्।
 
० ० ०
 
‘म जया।’
विमानको ढोकाभित्र छिरेको केहीबेरपछि छेवैमा बस्न आएकी युवतीले मलाई आफ्नो नाम भनिन्। भन्नुअघि धेरैबेर हामी आफ्नै ध्याउन्नले एकाकार थिएनौं।
‘तपाईं?’
म अगाडिकै सिटमा थिएँ, उनी मेरो छेउमा। जिन्स पाइन्टमा सेतो ज्याकेट लगाएकी थिइन्। बायाँ आँखाको कुनामा सानो खत थियो। कपालमा सायद पर्म गरेकी थिइन्, घुमि्रएको थियो। मलाई घुमि्रएको कपाल मन पर्छ। उनी समग्रमा ठिकठाक लागिन्। मेरो जीवनभर छेउको सिटमा यसरी ‘ठिकठाक’ केटी कोही बसेका थिएनन्। मलाई कौतूहल जाग्यो।
‘म क्याप्टेन विजय।’
‘अनि प्लेन उडाउन छाडेर यता किन नि?’ उसले हाँसेर सोधी।
‘हैन, म प्लेन उडाउने क्याप्टेन होइन, परेको बेला मान्छे उडाउने क्याप्टेन,’ मैले पनि अट्टहास गर्दै टि्रगर दबाएको जेस्चर गरेँ।
मेरो ज्यान र कपाल देखेर उनले पहिल्यै लख काटेकी हुनुपर्छ, म सैनिक हुँ। क्याप्टेन भनेको सुनेपछि उसले लामो स्वरमा ‘ए…’ भनी र मुसुक्क हाँसी।
‘घरै जुम्ला?’
‘होइन, ड्युटीमा जान लागेको। २४ नम्बर बाहिनीमा।’
‘अनि तपाईं?’
हातमा फ्लायर थियो। विमानभित्रका सुरक्षासम्बन्धी जानकारी पढ्दै उसलाई सोधेँ।
‘म रिपोर्टिङमा जान लागेको। अस्ति डोनर एजेन्सीले बाँडेको चामलले हैजा फैलिएको खबर आएपछि अफिसले पठाएको।’
मैले भेउ पाएँ, उनी पत्रकार रहिछन्। मलाई पत्रकारको जातै मन पर्दैन।
अघिल्लो सातामात्रै जुम्लाको मालिका ठाटामा सडेको चामल खाएर हैजा फैलिएको सुनेको थिएँ। ३ जना बच्चाबच्ची त मरे पनि। समाचारको भरमा बुझेको थिएँ, त्यहाँ ठूलै चलखेल भएको छ।
बाहिर सिमसिमे झरी रोकिए पनि आकाश खुलिसकेको थिएन। म फ्लायर एकटक हेर्दै थिएँ। सामुन्नेमा एमर्जेन्सी ढोका थियो। आपत् पर्दा त्यो ढोका कसरी प्रयोग गर्ने, किताबमा थियो। सिटबेल्ट खोल्दै–बाँध्दै गरेँ, ८–१० पटक। देख्नेहरूले अचम्म माने। अप्ठेरोमा त्यही सिटबेल्ट खोल्न नसक्दा धेरैले ज्यान गुमाएको पढेको थिएँ कतै।
‘सिक्दै हुनुहुन्छ कि टाइमपास गर्दै?’ जयाले हाँसेरै सोधी।
‘सिक्दै। तपाईं छेउमा भएपछि टाइमपासको टन्टा किन लिइराख्नू!?’ मैले जिस्काएको बुझी क्यार, हाँसी। हँसाउन सकेकोमा म पुलकित थिएँ।
‘कहिले पोस्टिङ भएको नि तपाईंको यता?’
‘डेढ वर्ष भयो। अब तेगरी (धनगढी) वा जोमसोम जाँदैछ हाम्रो गण। कि तातो भुंग्रोमा जाकिन्छ, कि हिउँको थुप्रोमा।’
ऊ चुक्चुकाएझैं गरी। म सिटबेल्ट फुकाउँदै, लगाउँदै गरिराखें। उसलाई पनि त्यसै गर्न सिकाएँ। वरपरका मान्छे हामीतिर सोझिए। त्यसरी सोझिनेमा हर्षजित पनि थिए। मलाई देखेर फिस्स हाँसे।
हर्षजित हाम्रो सिटको ठ्याक्कै दायाँतिरको सिटमा थिए, श्रीमतीसँग। त्यसभन्दा पछाडि छोरी र नातिनी थिए, उसको छेउमा अधबैंसे थियो। सिटबेल्ट बाँध्न नसकेपछि उनीहरू चारैजनाले एयर होस्टेसको सहयोग माग्दै थिए। उनीहरूलाई लाग्यो, हामीलाई पनि सिट बेल्ट बाँध्न आउँदैन।
हर्षजितले होस्टेसलाई भने, ‘ऊ, बाबुहरूलाई पनि सिकाइदिनुस् नानी, विचरा अघिदेखि हरेश खाइसक्नुभो।’
जया र म लाजले गल्यौं।
 
० ० ०
 
उनी तिनै जया थिइन्, जसलाई आधा घन्टाअघि म सिटबेल्ट बाँध्न सिकाउँदै थिएँ।
‘जया ˜˜˜!?’
म पनि वारिबाट चिच्याएँ। १५ मिटरपारि आवाज पुर्याँउन मलाई १५ टनको बल लगाउनुपर्थ्यो। घाँटी यसरी बसेको थियो, मानौं मैले आजीवन कहिल्यै बोल्ने अभ्यास गरेकै छैन। सासजति रुद्रघन्टीमै आएर अडिन्थ्यो। र, पनि चिच्याएर बोल्न छाडिनँ।
जया निरन्तर १०–१५ मिनेटसम्म चिच्याइरहेकी थिइन्। कतै नेपथ्यमा सुनिने आवाज तिनै जयाको त थियो।
अनि, एक्कासि मेरो मुटु रेलझैं दौडियो।
म बिस्तारै होसमा आउँदै थिएँ। शरीरभरि कमिलाले टोकेजस्तो भयो। जिउभरि लगभग २५ प्रतिशत लुगा बाँकी थियो। आगोको रापले घुँडामुन्तिर पूरै खुइलिएको थियो। शरीरमा यतिखेर ४ वटा अंगमात्रै चलिरहेका थिए– मुटु, देब्रे हात, फोक्सो र आँखा। यस्तो लाग्यो– सबै अंग यतिखेर कतै अँध्यारोमा बाटो बिराएर हराइरहेका छन्।
सूर्यलाई पश्चिमतिरको डाँडोले ढाकिसकेको थियो। घाममात्रै अस्ताउने सुदूरमै कतै अनकन्टार जंगलमा थिएँ। यो अन्दाजमात्रै थियो।
म यसरी अचल लम्पसार परेको १ घन्टा भइसकेको थियो शायद। वरपर जताततै धुवाँ पुत्ताउनुबाहेक केही सजीव देखिनँ।
‘जया ˜˜˜!’ यसपटक झनै जोडले बोलेँ।
‘म ˜˜ म ˜˜˜ मरेँ ˜˜˜ ऐया ˜˜˜’ जया आत्तिएर बोलिन्। उनलाई लाग्यो– त्यहाँ ज्युँदो उनीबाहेक अरू पनि कोही छ, जो उनीछेउ गएर खोल्साबाट तानेर बाहिर निकालोस्।
म पनि त त्यही चाहन्थेँ– कोही आओस् र मलाई ठूलो फलामको पत्ताबाट उठाएर अलि पर कतै लैजाओस्।
न जया सक्थिन्, न म सक्थेँ।
‘एकछिन पख्नुस् है, म पनि च्यापिएको छु,’ ठूलो कष्टले सोधेँ, ‘तपाईंलाई ठिक छ?’
उनी भक्कानिएर रोइन्। बोल्न सकिनन्। हिक्का छुट्यो। हिक्क–हिक्क गरिन्।
‘पानी ˜˜˜’
मलाई उनको दुःखभन्दा पानी दिन नसकेको दुःखले बढी गलायो। यस्तो भिरालो डाँडोमा पानी सायद थिएन पनि।
‘नआत्तिनुस् है ˜˜˜ म केही गर्छु,’ ढाडस दिन त भनेँ र मैले गर्न सक्ने केही थिएन।
ढुंगाले टाउकोमाथिको टिन पन्छाइसकेको थिएँ। जसोतसो खुट्टा निकाल्नु थियो। तर, यसरी च्यापिएको थियो कि मानौं मलाई टनभन्दा ठूलो भारीले थिचेको छ। दायाँ हात च्यापिएकै थियो, दायाँ छातिको भरमा घोप्टो थिएँ।
उपाय एउटै थियो– अझै बल गर्ने।
गरेँ पनि।
खरिपाटी तालिममा भोगेका अनेक दुःख सम्भि्कएँ। पुसको चिसोमा नांगै तलाउभित्र पसेर नांगै जंगलमा अलपत्र पारिएको सम्भि्कएँ। नगरकोट राउन्डमा रातभरि ४० किलोको बन्दोबस्ती लिएर दौडिएको सम्भि्कएँ। जंगल वारको तालिममा सिंगै ७० किलोको साथीलाई बोकेर उद्धार गरेको सम्भि्कएँ।
अनि सम्भि्कएँ– १५ मिटरपारिको खोल्सो, जहाँ जया पानी मागेर चिच्याइरहेकी थिइन्।
बायाँ पञ्जाको भरमा दायाँ काँध उठाएँ। दायाँ हातमा रक्तसञ्चार थिएन सायद, केही महसुस नै भएन। लाग्यो– यो हात अब कहिल्यै चल्दैन। पछि नचलोस्, केही छैन। अहिले त चलिदेओस् न एकछिन।
बिस्तारै–बिस्तारै अनेकपटकको प्रयासमा दायाँ हात निकालेँ। यति भए म उत्तानो पर्न सक्थेँ। उत्तानो पर्दा खुट्टाको बलले फलाम हटाउन सम्भव थियो पनि।
घाम अस्ताइसकेको थियो। बादल लागेको हुँदा अँध्यारो छिटोछिटो बढ्दै थियो।
देब्रे हातको बलमा ठूलो सकसले ढाड उठाएँ। दायाँ हात एक्कासि झन्झन् गर्योत। नसा–नसामा रगत सुलुलुल्ल बगेझैं लाग्यो। बाँध खोल्दा निस्किने पानीको गति यस्तै हुन्छ सायद। एकछिनसम्म झन्झनाएपछि बिस्तारै हातले जीवन पाएझैं लाग्यो। औंला चल्न थाले। मुठ्ठी कसिन थाल्यो।
त्यति खुसी सायद जीवनमा यसअघि कहिल्यै लागेको थिएन। मेरो हात सग्लो थियो। त्यसपछि एकाएक तन र मन दुवैमा भयंकर बल भरियो।
उठेर थचक्क बस्दा देखेँ–
मेरो खुट्टाको सरासर अलि तल जमिन पूरै नांगो भइसकेको थियो। पुत्ताइरहेको धुवाँले मासु पोलेको गन्ध ल्याइरहेको थियो। होटल छिर्दा आउने सेकुवाको जस्तो गन्ध।
आकाशमा कतै जहाज उडेझैं सुनेँ। लाग्यो– कोही लिन आउँदैछ हामीलाई। सोच्दा पनि मन धक्क फुल्ने। यही नै त हो जिजीविषा!
पूरै बादल थियो, ठम्याउन सकिनँ– जहाज हो या कतै रोइरहेको आकाश। पानीका छिटा पर्न थालिसकेका थिए।
दायाँ गोजी छामेँ। मोबाइल थिएन। पछाडि हेरेँ, अगाडि हेरेँ, देखिनँ।
मोबाइलसँगै मनभित्रको झिनो आशा पनि जंगलमै हरायो कतै।
जया र मेरोबीचमा बडेमानको अवशेष जलिरहेको थियो। जहाजको मुख्य इन्जिनजस्तो लाग्ने ठूलो फलामकै कारण पनि बोलाउँदा चर्को आवाज चाहिन्थ्यो। सिमसिम परेको पानीले त्यो फलामको आगो निभाउनुपर्ने, झन् दन्किदै थियो। पुत्ताएको धुवाँ हावासँगै कतै हराउँदै थियो।
अनि पो देखेँ– असरल्ल छरिएका मान्छे। १ घन्टाअघि प्लेन छिर्दा कोही अघि भएका मान्छे, कोही पछि भएका मान्छे। कोही मेरोअगाडि बसेका मान्छे, कोही पुछारतिर बसेका।
फरक यत्ति थियो– चढ्दा सग्ला थिए, अहिले जमिनभरि यत्रतत्र छरिएका थिए।
भित्रैबाट पेट बटारिएर आयो। ह्वाल्ल निस्कियो। एयरपोर्टमा खाएको चाउमिन जमिनभरि पोखियो।
मरेका मान्छे सयौं देखेको थिएँ, डढेका मान्छे कहिल्यै देखिनँ। सग्लै मरेका भन्दा छरपस्ट डढेका मान्छे कति भयंकर लाग्ने! झोलाजस्तो गुटुमुटु परेका मान्छेको बीचमा म ज्युँदो थिएँ।
आँखा बन्द गरेर बसूँ भने जया चिच्याएको असह्य थियो। आँखा खोलेर उभिने चेष्टा गरूँ त सेकुवाको गन्धले पेट बटार्थ्यो।
मलाई डढेका मान्छेभन्दा चिच्याइरहेकी ज्युँदो मान्छेको मायाले तान्यो।
आँखा खोलेर चारैतिर हेरेँ। मान्छे असरल्ल पल्टिएका थिए, एकदम शान्त। देब्रेतिर १० मिटरजति पर हर्षजितकी नातिनी घोप्टो परेकी थिई। लुगाले चिनेँ। उसका वरिपरि झोला थिए। झोलाले थिचेको अर्को मान्छे पनि थियो। सायद हर्षजित होला। ठम्याउन सकिनँ।
दायाँतिर हेरेँ। जया लडेको खोल्सोभन्दा अलि वर धुजाधुजा परेको सेतो सर्ट देखेँ। सर्टनजिकै गाढा कालो क्याप देखेँ। सम्भवतः त्यो लुगा पाइलट वा को–पाइलटको थियो। मनमा ‰याप्प अनिशको अनुहार नाच्यो।0 0 0
लाइनमा हर्षजितबाट छुट्टिएपछि सिधै प्लेनतिर सोझिएँ। भर्याेङ नचढ्दै अनिश टुप्लुक्क अगाडि झुल्कियो। पानी तर्किन छाडेको थियो।
‘ओए, आज लान्न कि के हो तेरो प्लेनले? कुराएरै दिन खायो यार,’ दिनभरि थिग्रिएको रिस थियो, पोखेँ, ‘आजै जाम् भन्नुपर्ने तैले पनि? मौसमबारे हिजै हेक्का राख्नुपर्छ नि,’ म ठुस्सिएझैं गरेँ।
‘पानी रोकिएको छ यार, अब एटीसीले गो अन भनेपछि उड्ने हो। बढी आत्तिन्छस् तँ,’ उसले आश्वस्त पार्न खोज्यो। म पो रिस र तनावले काल्लिएको थिएँ।
अनिशको अनुहारमा त कान्ति थियो। गजबको लाली भरिएको।
११ वर्षपछि अस्तिमात्रै अचानक भेटिएका थियौं हामी। एसएलसी सकेर गायब भएपछि त्यही पहिलो भेट थियो। त्यसरी भेट्दा हामी दुबै क्याप्टेन थियौं– ऊ आकाशमा जहाज उडाउने क्याप्टेन, म जमिनमा लेफ्िटनेन्टदेखि सिपाहीसम्मलाई कजाउने क्याप्टेन।
म भोलि उड्ने योजनामा थिएँ, उसले आफ्नै फ्लाइटमा जाऊँ भनेर मलाई आज लैजाँदै थियो।
जुम्ला उडान सकेर फर्किएको ११ औं दिनमा ऊ बिहेको रस्साकस्सीमा लाग्दै थियो। यति समयपछि भेटिएको साथीले आग्रह गर्दा मैले १ दिन नसार्नु कसरी?’वेदरले ‰याउ गर्योस यार। दसै दिन फ्लाइट क्यान्सिल भए त बर्बादै भयो नि!’ ऊ हाँस्यो।
हुन पनि एयरलाइन्सहरूले पुस–माघतिर आधा उडान रद्द गर्छन्। मौसमको भर र यात्रुको चाप नहुँदा खर्च जोगाउन उनीहरू उडान कटौती गर्छन्।
‘फ्लाइटै नभए म ब्यारेकको गाडी झिकाउँछु, टेन्सन नले,’ मैले सम्झाएँ।
‘हाहा। मजाक गरेको। यो २–३ दिनभन्दा बढी नटिक्ने झरी हो। अब फागुन सुरु हुन्छ, गर्मी आउन लागेको संकेत हो,’ उसले ढुक्क भएर भन्यो।
मैले सुत्केरी श्रीमती र नाबालक छोरीबारे सुनाएँ, उसले बिहे गर्न लागेकी को–पाइलटबारे ब्रिफिङ गर्योा। संयोगवश आजै उसकी गर्लफ्रेन्ड अञ्जना काठमान्डू उडानमा जाँदै रहिछन्, आधा घन्टापछि।
दुइटैको फ्लाइट क्यान्सिल भयो भने आज रुपैडिहा घुम्न जाने प्लान छ,’ ऊ पूरै दाँत देखाएर फेरि हाँस्यो, ‘तर, तँलाई पनि लैजान्छु, डोन्ट वरी। भाउजू चिन्लास्।’
म पनि उसकै पछिपछि हाँसेँ।
 
 
० ० ०
आधा डढेको सर्टनजिकै अनिश ढलेको थियो। दुइटा खुट्टा उचाल्लिएका थिए। भाँचिएका खुट्टालाई सपोर्ट दिन अस्पतालमा झुन्ड्याएझैं। टाउकोको आधा भाग थिएन। बायाँ हातमा सग्लो औंठी देखेँ, धस्सिएर कालो भएको। त्यही औंठी देखेर चिनेँ– यो अनिश नै हो।

मुटु कस्सिएर गाँठो पर्यो , कहिल्यै नफुकिनेजस्तो। आँखाबाट तरर्र आँसु बगे। एकछिनअघि रुपैडिहा लैजान्छु भन्ने मान्छे अहिले मेरै आँखाअघि लम्पसार थियो, एकदम स्थिर। अस्ति रेस्टुराँमा भेट्दा उसले मलाई त्यही औंठी देखाएर बिहेबारे बताएको थियो।
अहिले औंठीमात्रै थियो, अनिश थिएन।
भाउन्न भयो। रिंगटा लाग्यो। बुंग पल्टिएँ टाउकोको भरमा। आकाशको बादल उस्तै कालो थियो। पानी उसैगरी सिमसिम बर्सिंदै थियो।

 

० ० ०

 

मौसम उदेकलाग्दो किसिमले ठुस्सिएको थियो। र, पनि हामी उड्ने टुंगो लाग्यो। भिजिबिलिटी ठिक भएको सूचना आएपछि अनिशसँग छुट्टिएर म प्लेनको भर्या।ङ चढेँ। भित्र सिट भरिएका थिए। मान्छेहरू हतार–हतार झोला यताउता घुसार्दै थिए। यस्ता प्लेनमा उस्तै परे ३ वटा झोला ह्यान्ड क्यारी भनेर बोक्दिन्छन् मान्छे। सिटका सबै खोल च्यातिन थालेका थिए। प्लेनबाट एक तमासको गन्ध आइरहेको थियो। देखेँ– हर्षजित गजधम्म बसेका छन्। लोकल उनै गन्हाइरहेका थिए सायद।

एयर होस्टेसले धुलो नपुछिएको किस्तीमा ल्याक्टो चकलेट र केही थुप्रा कपास ल्याइन्। मैले चाहिन्न भनेर मुन्टो हल्लाएँ। अलि पारिका दुई अधबैंसेले मुठीमा अट्नेजति चकलेट लिएर गोजीमा घुसारे अनि छोडाएर आवाज आउने गरी चपाउन थाले।
हर्षजितकी नातिनी स्वर निकालेर रुन थाली। मैले मेरी छोरी सम्भि्कएँ अनि आई प्रमिला मनभरि। छोरीले यसैगरी उसलाई सताउँदी हो।
पहाडतिर जाने प्लेनको बिजोग हुन्छ, देख्दै थिएँ। ढोका खुल्ने र लाग्ने टुंगै नहुने, टायर पन्चर हुने, नचाहिने बेला कार्गोको ढोका खुल्ने। यो प्लेनको दशा काठमान्डूमा चल्ने थोत्रा माइक्रोभन्दा कम थिएन। धन्न यहाँ मान्छे झुन्डिएका थिएनन्। धन्न ढोकामा खलासी झुन्डिएको थिएन।
घुररर्र आवाज निकालेर एकापट्टिको पंखा घुम्यो, फेरि अर्को घुम्यो। कारकाँदोका रूखलाई पछि पार्दै उड्यो प्लेन आकाशमा आफ्नै गतिले। छेउतिर हेरेँ– हर्षजितसँगै उसका सबै परिवार आँखा चिम्म गरेर जोडले एक–अर्काका हात समाइरहेका थिए।
एकैछिनमा प्लेन कुनै जंगलमाथि थियो। बाहिर हुरी चल्न थालेजस्तो लाग्यो। निमेषमै पानी दर्कियो। ‰यालमा पानी जोडले ठोक्किएको प्रस्ट देखिन्थ्यो। हल्का बादल हुँदै प्लेन बादलभित्र पस्यो। मेरो आधा सास सधैं यही बादलले लैजान्छ। अहिले पनि लग्यो। छेवैमा बसेकी जया पनि अधैर्य भएर घरिघरि ‰यालबाहिर हेरिराख्थी।
कोट्याएर सोधेँ, ‘डर लाग्यो?’
ऊ नबोली मतिर हेरी।
‘यस्तै हो, अब २० मिनेट त हो,’ आश्वस्त पार्न खोजेँ र पनि ऊ बोलिन।
चकलेट बाँड्दै आएकी होस्टेस मेरो सिटछेउ आइपुगी। मन भुलाउनु न थियो, सोधेँ।
‘तपाईंहरूको पढाइ छुट्टै हुन्छ कि अरूथोक पढेर तालिम लिने हो?’
‘होइन, एयर होस्टेसको कोर्स हुन्छ, छुट्टै।’
‘अनि अभ्यासचाहिँ प्लेनमै हुन्छ कि क्लासमै?’
सबै कुरा थाहा भएर पनि म ध्यान भुलाउने प्रयत्नमा थिएँ। प्लेन बादलमै थियो। निष्पट अँध्यारो बादलभित्र कतै थियो।
‘क्लास पनि हुन्छ, अनि प्य्राक्टिकल पनि,’ ऊ मन नलागेरै मलाई उत्तर फर्काइरहेकी थिई।
अनि ऊ अघिल्लो सिटतिर गई।
‰यालबाहिर हेरेँ। आक्कलझुक्कल देखिने दृश्यबाट अन्दाज लगाएँ, प्लेन कतै पहाडको वरिपरि छ।
चकलेट र कपास बाँडेर होस्टेस ककपिटतिर गई सर्यादक सर्या क गर्दै।
मलाई किनकिन लाग्यो– अवस्था मैले सोचेभन्दा धेरै फरक छ। कहीँ कतै केही पक्कै हुँदैछ।
मैले वारिबाटै अनिशलाई देखें। एयर होस्टेस उसको नजिक गएर केही भनी, अनिशले फर्केर केही भन्यो। फर्किंदा उसको आधामात्रै अनुहार देखेँ। उत्रिएको अनुहार। होस्टेस मलिनो अनुहार लगाएर फर्किई। मेरो मन ढुक्क फुल्यो। जयाले आँखा चिम्लिएकी थिई।
सिधा गइरहेको प्लेन एक्कासि कोल्टे फर्कियो। सबैको अनुहारमा अँध्यारो पोतियो। बाहिर बिजुली चम्किएको देखिन थाल्यो। पानी अनवरत दर्किरहेकै थियो। मन बुझाउँथेँ– प्लेन उडिरहेकै त छ!
तर, उडेको २५ मिनेटजति हुँदा पनि माबुको लेक कटेको थिएन। हामी अझै कुनै पहाडवरिपरि नै घुम्दै थियौं। नेपालगन्जदेखि जुम्ला ३२ मिनेटभित्र टेकिसकिन्छ, हामी अझै कता हो कता वारि थियौं।
अरु यात्रुतिर हेरेँ, सबै उस्तै काल्लिएका थिए। ३५ मिनेट भइसक्दा पनि माबुको लेक कटेन। प्लेन चर्को स्वरले कराउँदै पहाडको चक्कर लगाउँदै थियो। घरिघरि मेरो ठिकअघितिरि बसेकी होस्टेसतिर हेथर्ें, उनी हामी यात्रुभन्दा पनि काली भएकी थिइन्। घरिघरि खुल्ने ककपिटको ढोकाबाट अनिशको हतास हाउभाउ देख्थेँ। ऊसँगै को–पाइलट घरि दायाँ, घरि वायाँको इसारा गरिरहन्थे।
एकैछिनमा को–पाइलटले चर्को स्वरमा केही भन्यो। प्लेन फेरि फनक्क घुमेर उकालो लाग्यो। उत्तिखेरै सिरिंग हुने गरी तल आयो, चर्खे पिङझैं। फेरि चर्को स्वर निकालेर घुम्न थाल्यो। अहिले त हल्लियो पनि। ककपिटदेखि पुछारसम्मका सबै मान्छेको मुटुले हंश छाड्यो।
होस्टेसलाई बोलाएर सोधेँ, ‘हामी कहाँ पुग्यौं? फर्किराखेको हो कि जुम्लातिरै गइराको?’
उसको मुखबाट बल्ल बोली निस्कियो, ‘खोइ, फर्किन लागेको जस्तो लाग्छ।’
प्रस्ट थियो— प्लेन हरायो।

पानी झनै जोडले दर्कियो। प्लेन छिनछिनमा ढल्किने र सोझिने गर्न थाल्यो। अनिश जोडजोडले स्टेयरिङजस्तो बटार्थ्यो, अनि आँखाअगाडिका अनेक स्विच थिच्दै के–के भन्थ्यो।
छेउमा हर्षजितकी नातिनी जोडले रुन थाली। ऊ रोएकीमात्रै के थिई, हर्षजितकी श्रीमती पनि पिलपिल गर्न थाली। जया हेर्नलायक थिइन। मैले डरैडरले च्याप्प हात समातेँ। उसले असजिलो मानेर हात तानी।
हतारहतार होस्टेसले चिच्याएर भनी, ‘सबैले सिटबेल्ट कसेर बाँध्नुस्। सकेसम्म ब्यागहरू काखमा नराख्नुस्।’
सबैले ब्याग सिटमुनि फाल्न थाले।
प्रस्ट थियो— प्लेन खस्यो।

नौनाडी गले। प्लेन कोल्टे पर्योख र केही पड्किएको जस्तो आवाज आयो। मुटु फुट्लाझैं धड्कियो। लाग्यो– यत्ति रहेछ बाँच्न। वरपरका हरेकले हरेकका अनुहारमा सम्भावित मृत्यु देखे सायद। प्लेन उकालो चढ्ने क्रम रोकिएको थियो, सोझै जमिनतिर खसिरहेको थियो। भित्र रुवाबासी सुरु भयो। मैले च्याप्प जयालाई समातेँ, उसले मलाई। सिटबेल्ट कसिएको थियो। प्लेनले दुई–तीनपटक फन्का लगाउँदा भित्तामा टाउको ठोक्कियो। प्लेन पूरै गतिमा अगाडि जाँदै थियो। लाग्यो– अनिशले फोर्स ल्यान्डिङ गराउँदैछ कतै।
आँखा सुरुदेखि एमर्जेन्सी ढोकामा अडिएका थिए।
केही सोचिनँ, च्याप्प जयाको हात समातेँ। सिटबेल्ट खोल्न भनेँ। उसले त्यसै गरी।
सिसाबाहिर रूख देखिन थाले। हामी जमिननजिकै थियौं।
जुरुक्क उठेर एमर्जेन्सी ढोकाको दायाँतिर ह्यान्डिल समातेर तानेँ। हावाको वेगले हुत्तायो। हात समाएकै थिएँ, जयासँगै हुत्तिएँ बाहिर।
ड्याम्म ठोक्किएर प्लेन घसि्रयो। अनि, एक्कासि पानीभित्र डुबेजस्तो सन्नाटा छायो। कान धुम्म भए। राति सन्नाटामा कतै कीरा कराएझैं।

 
 
० ० ०
 
 
भुईंमा बजारिएको ५ घन्टा भइसकेको थियो। खुट्टा फलामको पाताबाट उम्किनै सकेनन्। जया चिच्याउन छाडेकी थिई। जोडले बोलाएँ, उत्तर फर्काइन। सायद जमिसकेकी थिई चिसोले। वा रगत बगेर नित्रिएकी थिई। वा पानी खोज्दै खोल्सैतिर कतै अलप भएकी थिई।
मेरो शरीरमा सास फेर्ने शक्ति पनि थिएन। चिसोले तलमाथिका दाँत ठोक्किरहेका थिए। मुटुको गति १ सयसम्म चढेर झर्दै थियो बिस्तारै। शरीरभरि हिउँ थुप्रिएको थियो।
लाग्यो– अब मुटु धड्किन्न धेरैबेर।
एक्कासि मेरो मोबाइलको घन्टी बज्यो कतै! अनि हराउँदै गयो।
आँखा बिस्तारै आफैं चिम्म भए। ठूलो अँध्यारो टनेलभित्र कुदेको रेलझैं लाग्यो। त्यस्तो टनेल, जो कहिल्यै कतै टुंगिदैन।


Photo Credit : Nagarik Dainik



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.85
  • 114.45
  • European euro
  • 128.47
  • 129.15
  • UK pound sterling
  • 147.02
  • 147.79
  • Swiss franc
  • 113.25
  • 113.85
  • Australian dollar
  • 80.93
  • 81.36
  • Canadian dollar
  • 85.88
  • 86.34
  • Singapore dollar
  • 83.9
  • 84.34
  • Japanese yen (10)
  • 10.28
  • 10.33
  • Chinese renminbi (Yuan)
  • 16.82
  • 16.91
  • Saudi Arabian riyal
  • 30.36
  • 30.52
  • Qatari riyal
  • 31.27
  • 31.43
  • Thai baht
  • 3.65
  • 3.67
  • UAE Dirham
  • 31
  • 31.16
  • Malaysian ringgit
  • 27.89
  • 28.04
  • Korean Won (100)
  • 10.09
  • 10.15
  • Swedish Krone
  • 12.13
  • 12.2
  • Danish Krone
  • 17.22
  • 17.31

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम