#iHateMoMo | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

#iHateMoMo



AUGUST 2, 2015 / LENDAAI

ट्रक घ्याँच्च रोकियो । म सँगसँगै पछिल्तिर लहरै उभिएका सबै एकैपटक हुत्तिए । एउटो प्याच्च बोल्यो, ‘त्यस्का बाउ, बिस्तारै रोके हुन्न ?’

उसको बोलीमा मिसिएर अर्को सन्कियो, “त्यो घन्टाउके । आज मोर्च त्यो । झर्न दे न ।”

मैले केही प्रतिक्रिया जनाइनँ । दुलोबाट पुलुक्क बाहिर हेरें, साइनबोर्डमा ‘मुग्लिन’ लेखिएको रहेछ । होटलछेवैमा रोकेकोले होला, मगमग बासना आइरहेको थियो ।

केही नखाएको ६ घण्टाभन्दा बढी भइसकेको थियो । बाटोका खाल्डामा बुरूक् बुरूक् उफ्रिएर पनि होला, मसँगसँगै ट्रकभरिका करिब २५ थान यात्रुको शरीर फतक्क गलेको थियो ।

मेरो दाहिने पाखुरामै टाँसिएर बसेकी चनमतीको कानमा सुटुक्क भनें, “ओई, हेर त त्याँ ।”

उसले ढालाको चरबाट एउटा आँखाले हेरी । बडेमानको भाँडो र त्यसबाट निस्किएको बाफ देखेर लख काटी— म:म: पाक्दैछ ।

कुमले घच्याउँदै सोधें, “खाने हो ?”

ऊ बोल्न सकिन । ज्यान फर्फराई । तनक्क तन्की । नाकमा सम्पूर्ण शक्तिले मुजा पारी र भनी, “नाइ यार, आई हेट म:म: !”

अनि ऊ फरक्क अर्कोतिर फर्की ।

ड्राइभर र खलाँसी पालैपालो ओर्लिए । होटलअघिको धारोमा मुख धोए । खलाँसीले कपाल भिजाएर लरक्क लर्कायो । गोजीबाट काइँयो झिकेर बडो अन्दाजमा दायाँतिर ढल्कायो ।

जेठको यो तातो रापले म:म: पाकेझैं गुम्सिएको थिएँ । त्यही धारोमा ठडिएर शिरदेखि पैतलासम्म भिजाउन मन लाग्यो । आङ फिँजाएर त्यही पानीमा आहाल बस्न रहर लाग्यो ।

तनक्क तन्किएर उठ्न खोजें, सकिनँ । अनि पो झसंग भएँ !

० ० ०

त्यही बिहान—

४ बजे एक्कासि बडेमानको ट्रकले हर्न बजायो । अरु गाउँघरतिर यतिखेर भाले बासेर मान्छे जगाउँछन्, हाम्रोतिर यस्तै ट्रकले हर्न बजाउँछन् र सारा गाउँलेलाई बिहानीको छनक दिन्छन् ।

कीराले रातभरि टोकेर भर्खर निदाउन खोज्दैथिएँ, झस्किएर जुरूक्क उठें ।

ट्रकबाट २–३ जना तिघ्रे पहलवान ओर्लिए । घरमा पिलिक्क पहेंलो बत्ती बल्यो । भित्रबाट काजी आँखाका कचेरा मिच्दै बाहिर निस्किए । सिंगो ब्रह्माण्ड खान लागेझैं हाई काढे । दुवै हात पुर्पुरोमाथि लगेर समाए अनि कस्सिएर आङ ताने ।

तिघ्रेहरू सरासर ‘नमस्कार काजी सा’प’ भन्दै घरभित्र छिरे । छेवैमा सुतेकी बूढीलाई कोट्याएँ । ऊ पनि रातभरि ज्यान चिलाएर सुत्न सकेकी थिइन, बल्लबल्ल उठी ।

“यिन्ले राम्ररी सुत्न नि दिन्नन्,” च्याँठ्ठिएर बोली, “दबाई खाऊ भन्दा टेरे पो । आफूले त दु:ख पाएपाए, मलाईधरी सुत्न दिन्नन् ।“

उसको अनुहारका धाँजा फाटे । धर्सैधर्सा । जसरी खडेरीमा खेतका छाला चिरिन्छन् ।

मलाई २ दिनदेखि पखालाले सुताएको थियो । काजीले बजारबाट औषधि ल्याइदिएका थिए । औषधि भनेपछि मेरा नौनाडी गल्छन्, घाँटीबाटै बाटो लाग्दैन । बरू सुईं लाइदिए सहन्छु, लामखुट्टेले छुस्स सुइरो घुसाएझैं त हुन्छ । राति २–३ पटक पेट गड्याङगुडुङ गरेको थियो, झरीमा आकाश कराएझैं ।

बूढी उठ्न खोजी । मैले उसको घाँटीको सप्को समातेर तानें ।

“मान्छे आ’छन्, टरक ल्याछन्,” सुस्तरी कानमा फुस्फुसाएँ, “मलाई डर ला’छ ।“

बूढी एकाएक पानी पोखिएको कागजझैं ओइलाई । शीतले भिजेको पातझैं गली । आँखाका नानी तिलको गेडाबाट कागतीका दानाजत्रा भए ।

उसको बोली निस्किएन । शायद बोल्नुपर्ने केही थिएन पनि । अनि छिनमै आँखाबाट तर्रर आँसु झारी ।

उसको आँखाको डिलमै अश्रुकुण्ड छ, जतिखेर पनि फुट्ने, जतिखेर पनि चेपबाट भल बग्ने ।

ऊ हरेक ३ घण्टामा रोइरहन्थी । गुमनाम छोराको विरहले ऊ ३ महिनायता यसैगरी सुँक्सुँकाउँथी । छोराको झल्को दिने हरेक चिज मैले लुकाइदिएको थिएँ । ऊ दिनभरि खोज्थी र भेटाएपछि हेरेर आफ्नै संसारमा टोलाउँथी ।

छोरो मध्यरातमा यसैगरी हर्न बजाउने ट्रकमा कोचिएर अलप भएको थियो कतै । तिघ्रेहरूले जबर्जस्ती तानेर लैजानुअघि उसले भनेको थियो, “आमै, फर्किनँ भने नरोए है । तिमी रोयौ भने मेरा आँसु बग्छन् ।”

ऊ मतिर फर्किनसक्दै तिघ्रेहरूले लतारेर लिएर गए । जबर्जस्ती ट्रकमा हुत्याए । ड्राइभरले घ्यार्रर ट्रक स्टार्ट गर्‍यो । छिनमै ट्रक बेपत्ता हुइँकियो र आँखैअघिबाट अलप भयो । जसरी अस्ताउन लागेको सूर्य पहाडको छेको पार्दै हराउँछ कतै । त्यसपछि बूढीका आँखा कत्तिखेरै पनि सुख्खा छैनन् ।

“नआत्ते डसनी, परेको बेहोरम्ला,” मैले आश्वस्त पार्न खोजें, “हामीमध्ये जो सहर गए पनि छोरो खोज्ने है ?”

हिजो राति काजीले ठूलो ताउलोजस्तो थालमा ल्याइदिएको कुँडोजस्तो खाना जस्ताको तस्तै थियो । हामी दुवैको मुखमा परेन । भोक र तिर्खाले व्याकुल भए पनि डसनीले थालतिर फर्केर हेरिन । त्यो थालमा पनि शायद ऊ छोरोको अनुहार देख्थी । डसनीको अनुहार देखेर मेरो भोक हराएको थियो ।

वरपर भाले बास्न थाले । चराहरू गुँड छाडेर उड्न थाले । मान्छेहरू कम्मरमा गाग्री बोकेर धारातिर हिँड्न थाले । पूर्वतिर अग्लो पहाडमाथि मिर्मिरे उज्यालो देखिन थाल्यो । क्षितिजपारिको उज्यालो हामीसामु नआउँदै काजी र तिघ्रेहरू गलल हाँस्दै ढोकाबाहिर निस्किए । काजीले औंलामा थुक लगाउँदै पैसाको मुठो गन्दै थियो । काजीसँग कानेखुसी गरेझैं एउटाले पुलुक्क हामीतिर हेर्‍यो र सोध्यो, “कुन हो ?”

काजीले चोर औंला मतिर सोझ्याए र भने, “त्यै हो । जब्बर छ ।”

डसनीले च्याप्प मलाई समाई र आफूतिर तानी । मैले उसको खुइलिसकेको तिलहरी सुम्सुम्याएँ । उसले मेरो गर्धननेर ल्याएर ओठ टाँसी र जिब्रोले लपक्कै भिजाई । ऊ हम्मेसि यसैगरी माया दर्साउँछे ।

यो संसारमा हामी दुईबाहेक हाम्रा कोही थिएनन् । अब म पनि उसलाई छाडेर जाने भएँ, ऊ एक्लै हुने भई । छोराको वियोगमा भक्कानिन्थी, मैले सम्हाल्थें । अब त म पनि हुन्न, कसको काँधमा टाउको राखेर भक्कानिओस् !

मेरा आँखाबाट तरर आँसु बगे । मानौं साउने भेलको मूल मेरै आँखाबाट बगेर राप्ती नदीमा मिसिएको छ ।

काजी र दुईजना तिघ्रे हामीछेउ आए । एउटाले काजीलाई सोध्यो, “नाम के हो ?”

काजी मुसुक्क हाँसेर भने, “हामीले हर्के भनेर बोलाम्चम् !”

अनि उसले मेरो घाँटीको सप्को जोडले समात्यो र तान्यो, “ल हिँड् हर्के भाइ, सहर घुम्न जाने अब ।”

म डेग चलिनँ । आँखा भरिएका थिए । डसनी उसैगरी आँसुको आहालमा डुबेकी थिई । हिँक्कहिँक्क गर्दै ऊ बर्बराइरहेकी थिई । यस्तो लाग्यो— मानौं ऊ आज त्यही आहालमा निसास्सिएर सास फेर्न छाड्छे ।

म जोडले चिच्याएँ । सिंगो गाउँ जाग्नेगरी कराएँ र भनें, “नलैजाऊ न मलाई, डसनी एक्लै मर्छे … !”

कसैले केही सुनेन । सुने पनि शायद कसैले बुझेन ।

म ढिटझैं उभिएँ । दुवैजनाले सकेसम्म बल गरे, सकेनन् । अलि पर गइसकेको काजी हातमा लठ्ठी बोकेर सरासर आयो र आँखा चिम्म गरेर मलाई पछाडि हिर्कायो । पुठ्ठामा करेन्ट लागेझैं सिल्का हान्यो । म अझै डेग चलिनँ । काजीले फेरि हिर्कायो । तिघ्रेहरुले मलाई जोडले तानेर लतारे र ट्रकमा चढाए । ट्रक घ्यार्रर गर्‍यो । त्यसपछि मैले डसनी चिच्याएको सुनिनँ । ट्रक आफ्नै गतिमा हुइँकियो । मेरो घर र डसनी आँखाबाट टाढिँदै गए । धमिलिँदै गए ।

० ० ०

ट्रक चढेपछि एकछिन म बेहोसजस्तै भएँ । संसार रिङाएजस्तो भो । मरूभूमिमा पानी नभएर आँत सुकेझैं म डसनी नभएर सुकें छिनभरमै । ट्रक बेपत्ता हुइँकियो । मेरा हात, खुट्टा बाँधिएका थिए । सास फेर्नेबाहेक अरू कुनै अंग फुक्का थिएनन् ।

घर, घरवरपरका अरु घर, गाउँ हुँदै तुलसीपुर बजार आँखाबाट छुट्दै गए ।

अनि मेरा वरपर सल्बलाउनेहरू जाग्दै गए । मजस्तै त्यहाँ करिब २२–२५ बन्धक अरू थिए । सबै एउटै दिशामा उभिएका, ट्रकको पुच्छरतिर फर्किएका । बस्दा १० जना पनि अटाइँदैनथ्यो, लाइनमा उभ्याउँदा २२–२५ जना अटाइएछ !

मेरो दायाँतिर छेवैमा केटी थिई । उमेरले मभन्दा त्यस्तै ३–४ वर्ष कान्छीजस्ती । उभिएरै आँखा चिम्लिएकी थिई । ऊभन्दा पर लहरै अरू ४ जना उभिएका थिए । हाम्रा पछाडि त्यस्तै ५ वटा लाइन थिए । यस्तो कोचाकोच थियो कि जोडले भुँडी फुल्लाएर सास पनि फेर्न सकिँदैनथ्यो । सबैले एकैपटक त्यसरी सास फेर्ने हो भने सबै च्यापिएर मरिन्थ्यो झैं ।

“सिठ्ठी हाल्न सक्ने क्वै छ ह्याँ ?” पछाडिबाट कोही करायो ।

कसैले उत्तर फर्काएन । सबैले मुखामुख गरे ।

“गाडी रोकाउन पर्‍यो, भोकले मर्न लागियो,” ऊ फेरि बोल्यो ।

जति चिच्याए पनि फलामको भित्तोपारि बसेका ड्राइभर र खलासीले सुन्दैनथे ।

“साह्रै गाह्रो भयो यार, रोकाम् न । उभिने ताकत नि छैन !” ऊ ठसठसी कनेर फेरि बोल्यो ।

जोडले भित्तामा बजाउन पाए ड्राइभरले सुन्थ्यो पनि होला तर सबैका हात बाँधिएका थिए !

“हात खोल्दे, म सिठी बजाउँछु,” दोस्रो लहरबाट अर्को कोही बोल्यो ।

“हात खोल्न सक्ने भए यति दु:ख पाइन्थ्यो ?” ऊ झर्कियो, “मैले मात्रै खाने हो र ?”

गाडी हुइँकिएदेखि अहिलेसम्म कतै रोकेको थिएन । ड्राइभरलाई भोक नलागुन्जेल गाडी रोक्दैनथ्यो ।

भोकले त मलाई पनि गलाएको थियो । भोकभन्दा अझै बढी डसनीको सम्झनाले गलाएको थियो । सक्थें त भुईंमा घोप्टो परेर भक्कानिन्थें । तर, अहिले मसँग सम्झनामात्रै थियो, भुईं थिएन ।

अनि, एक्कासि पछाडि लहरका ३–४ जना एकैपटक जोडले उफ्रिए । उनीहरूलाई साथ दिँदै अरु ३–४ जना उफ्रिए । ट्रक जँड्याहाझैं लत्रकलत्रक गर्‍यो र घ्याँच्च रोकियो । कोही कता पछारिए, कोही कता । छेवैमा घुरिरहेकी केटी अत्तालिएर मसँग टाँसिई लपक्कै । पुलुक्क आँखा हेरी र ‘ओ सरी’ भनेर आफूलाई सम्हाली ।

उसको न्यानोले म चिसिएँ ।

“को झ्याँक्नी हो गाडी हल्लाउने ? झन्डै खाल्डामा गएन त्यसका बाउ,” ड्राइभर तुफानझैं आएर बम्कियो ।

उसको आवेग देखेर सबैको होश उड्यो । अघि उफ्रिनेहरू सब चुपचाप मूर्तिझैं भए ।

“को हो भन्छौ कि यहीँ झारेर सप्को लाऊँ ?” ड्राइभर पाखुरा सुर्किंदै नजिक आयो ।

ढाला आधाभन्दा बढी लगाएको थियो, माथिको भाग खुला थियो । सास फेर्न मिल्ने हावा त्यहीँबाट आपूर्ति हुन्थ्यो । ड्राइभर त्यही आधा भागसम्म चढेर चिच्यायो ।

म ठ्याक्कै उसको सामुन्ने थिएँ । सबैभन्दा पहिले मेरै घाँटी अठ्याएर करायो, “तँ भन् त साला, कसले हल्लायो ?”

उसले अँठ्याउँदा मेरो सास रोकिएलाझैं भयो । प्याकप्याक भयो । उसले जोडले झट्कारेर छाडिदियो ।

म भुईंतिर निहुरिएर बोलें, “भोक लागेर हो ।”

“राँडीका बान्, भोक लाग्यो भन्दैमा गाडी पल्टाउन खोज्ने ?” उसले मेरो देव्रे कन्चटमा मुड्की हानेको मात्रै सम्झन्छु, अरु केही याद छैन ।

रातभरिको अनिँदो, झिसमिसे बिहानको वियोग र भोकले थलिएको थिएँ, त्यसमाथि कन्चटमा बज्रिएको चट्याङले उठ्नै सकिनँ । बुंग ढलेछु । होशमा आउँदा देखें— गाडीभरि सबैले कुरुमकुरुम केही चपाइरहेका थिए ।

मेरो भागमा केही थिएन ।

म उठेपछि छेउकी केटी अलि वर सरी । पीर परेझैं गरी । मलाई झैं आफूलाई पनि दुखेझैं गरी ।

“कस्तो कोरी रै’छ साला,” दाह्रा किट्दै ड्राइभरलाई सरापी, “मर्न नसक्ने कुक्कुर ।”

मेरो मन शीत्तल भो ।

“मलाई त कस्तो डर लागेको अघि,” नजिकै आएर बोली, “साह्रै दुख्यो ?”

मैले तलमाथि मुन्टो हल्लाएँ । आँखामा पनि चोट लागेछ, टनटनी दुख्यो ।

“तपाईंको नाम के हो ?” मुखबाट फ्याट्ट निस्कियो ।

ऊ मुसुक्क हाँसी । लजाएझैं गरी ।

“सुनकेस्रा, मैले आफैं राखेको नाम,” जमिनतिर हेर्दै बोली, “घरमा बोलाउँदा चाइँ चनमती भन्चन् ।”

“म चाहिँ जर्गले,” अलि परबाट एउटा ठिटो प्याच्च बोल्यो, “परिचय गरम् न ।”

म वाल्ल परें । मजस्तै चनमती पनि वाल्ल परी ।

चनमतीकै छेउमा २ घण्टासम्म उभिँदा ऊ चुँक्क बोलेको थिएन । गुँडबाट छुट्टिएको चरोजस्तो थियो ।

“म धनराज, घर प्युठान ।” हाम्रै लहरमा सबैभन्दा बलिष्ट देखिने अर्को कोही बोल्यो । जर्गलेले उसलाई पन्छाउँदै चनमतीतिर आँखा सोझ्याएको थियो । हात र खुट्टाका नङ खुइलिसके पनि चनमतीको अनुहार धपक्क बलेको थियो ।

सबैले क्रमैसँग नाम, ठेगाना भन्न थाले । त्यो क्रम दोस्रो, तेस्रो, चौथो हुँदै पाँचौं लहरसम्म चल्यो । कसैले परिचयसँगै आफ्नो वेदना पनि सुनाए । सुनिदिनेहरूका पनि उस्तै व्यथा र पीडा थिए मनभरि ।

“म हर्क, घर तुलसीपुर । म किन यहाँ आएँ, कहाँ लगिँदैछ, केही थाहा छैन,” मैले एकैसासमा भनें, “घरमा बूढी एक्ली छ, छोरो हराएको ३ महिना भो । सहर गएर छोरो खोजेर फर्किन्छु ।”

गाडीमा खाँदिएका सबैले आँखा फट्टाएर मतिर हेरे । कान ठाडा पारेर एकोहोरिए ।

लाग्थ्यो, मैले शान्त तलाउमा ढुंगा फ्याँकेको छु र त्यसले तलाउमा तरंग ल्याएको छ ।

त्यसपछि मेरा घाँटीबाट शब्द झरेनन् । डसनी र छोरोको अनुहारले परेली ढाकिए । परेलीको डिलबाट मूल फुट्यो ।

० ० ०

लतारेर गाडी चढाएको ४ घण्टासम्म मलाई कहाँ लैजाँदै छन्, किन लैजाँदैछन्, थाहा पाइनँ । ममात्रै होइन, गाडीभरि उभिएका सबै अनुहारमा उस्तै अनिश्चय थियो । हरेकका आफ्नै संसार थिए, अर्कै संसार जाँदै थिए । त्यस्तो संसार, जहाँ आफूबाहेक कोही आफ्नो छैन ।

पछाडि कोही सुँक्कसुँक्क गर्दै थियो । उसलाई कोही सम्झाउँदै थियो । म पछाडि फर्किन सक्दिनथें । ममात्रै होइन, अघिल्लो लहरका कोही पनि सक्दैनथे ।

“नरोऊ दाइ नरोऊ, हाम्ले पनि छाडेर आ’छम् । बाँचिएछ भने फर्किम्ला ।”

“यत्रो भइयो, अहिलेसम्म घर छोड्याथिनँ गोथे,” उसको हिक्का छुट्यो ।

थाहा भो— सम्झाउनेको नाम गोथे रै’छ ।

“केन आत्तिन्छौ घने दाइ ? हाम्ले नि छोड्याथिनम् । अब आइइगो, ल्याले त के गर्ने ?” गोथेले कोसिस गर्दै थियो ।

फेरि थाहा भो— रुनेको नाम घने रै’छ ।

“छोरीको न्वारन नि भाथेन गोथे,” घने भक्कानियो, “म यै टरकबाट हामफालेर मर्चु, छाड्दे ।”

उसले चाहे पनि हामफाल्न सक्दैनथ्यो । ढालासम्म आइपुग्न कम्तीमा ३ वटा लहर छिचोल्नुपथ्र्यो । त्यहसमाथि हात र खुट्टा बाँधिएका ।

“यत्रो लाठे भएर नि मर्ने कुरो गर्चौ ? मरे त संसार सक्किगो, बाँचेर हाम्लाई बाँधी लैजाने पशुलाई ठेगान लगाउनुपर्छ,” गोथे बोल्यो ।

सकीनसकी पछाडि फर्किने प्रयास गरें, दायाँतिर चनमती पनि उस्तै सकसले कोल्टे फर्किने प्रयासमा थिई ।

“बाँच्चेला र ?” घने लत्रिएर बोल्यो, “नत्र किन यसरी बाँधेर लैजान्ला’छन् त ?”

“बाँचिन्छ, क्यै उपाय नलागे लडेर भागम्ला,” गोथेले गजब कुरा गर्‍यो, “हरेस चाइनी नखाऊ दाइ ।”

गोथे र घनेको वार्तालापमा बिस्तारै अरु ८–१० नयाँ आवाज सुनिए । बेलाबेला हिँक्क–हिँक्क गर्ने घने नेताझैं चर्का कुरा गर्न थालेको थियो ।

मैले चुपचाप सुनिरहें ।

गाडी बेलाबेला खाल्डामा परेर बुरूक् बुरुक् उफ्रिन्थ्यो । गाडीका त आँखा हुँदैनन, त्यसैले चाहेर–नचाहेर खाल्डामा परिरहन्छ । मान्छेले त आँखा देख्छ, र पनि बारम्बार खाल्डोमा पार्छ । स्टेयरिङ समाउने मान्छेले बतासझैं पत्ताएको गाडी एकाएक खाल्डोमा हाल्दा लहरै उभिएकाहरू भयंकर भूकम्पले हल्लिएझैं आपसमा खप्टिन्थे, कोही भित्तामा ठोक्किन्थे । म सबैभन्दा छेउमा भएकोले हरेक पटक भित्तामा बजारिन्थें । भित्तामा गढेको फलामे काँटीले बारम्बार कोतरिहँदा देव्रे पाखोमा असह्य चहर्‍याएको थियो । शायद रगत चुहिरहेको थियो, फर्केर हेर्न पनि सकिनँ, काँटी हटाउन पनि ।

गाडी आफ्नै गतिमा थियो । गाडीको त निश्चित गन्तव्य थियो, त्यहीँ पुग्थ्यो । ठेगाना नभएका त हामी थियौं । निर्जीव ट्रकले जहाँ लगेर पछाडिको ढाला खोल्छ, त्यहीँबाट हाम्रो गन्तव्यको अर्को बाटो कोरिन्छ ।

जेठको पुत्ताउने गर्मीमा ट्रकभित्र कतैबाट हावा छिर्दैनथ्यो । प्रेसर कुकरभित्र पत्रैपत्र मिलाएर राखिएको हरियो सागझैं थियौं– फतक्क गलेका ।

तर, गोथेको रगत उमाल्ने कुरो सुनेर मेरो मथिंगल एकाएक घुम्यो । ठीक त्यसरी, जसरी बिहानै घरबाट निस्केर गाडी चढ्दा घुमेको थियो । मनमा सिरिरी हरियाली वसन्त नाच्यो । हात–खुट्टाका दाम्ला चुँडिएर कुनै अमुक ग्रन्थको हक्र्युलिसझैं बल चढ्यो । मैलिएको मफलर कतै टुकुचामा मिल्काएर खुला घाँटी बतास निलिरहेझैं लाग्यो ।

० ० ०

कुनै एक ठाउँमा गाडी रोकियो । यसपालि हामीले रोकेका थिएनौं । र, पनि सब चुपचाप मूर्तिझैं सतर्क भए ।

ढाला पन्छाउँदै खलासी उक्लियो । एकटक पुछारदेखि अघिल्लो लहरसम्म नबिराई हेर्‍यो र बीचतिर आँखा पुर्‍याएर सन्तोषले मन्टो हल्लायो ।

फेरि वरपर घुरेर हेर्‍यो र बाहिर मन्टो फर्काउँदै चिच्यायो, “गुरुजी तानम् ?”

नेपथ्यबाट ‘तान् तान्’ भनेको सुनियो । सबैको मुटुमा जोडले तुफान चल्यो । अनुहारमा अनिष्टको कालो बादल मडारियो ।

“एक्लै सक्दैन, तपैं नि आउनुस्,” खलासी फेरि चिच्यायो, “म फुकाल्छु, तपैं तान्नुस् ।”

त्यहाँ के हुँदैछ, कसैले अनुमान लगाउन सकेनन् । एउटा कुरा पक्का थियो– खलासीले हामीमध्ये कसैलाई ट्रकबाट झारेर लैजान खोज्दैछ । करेन्टले हुत्याएझैं पूरै तरंगित भयो मन– झननन्न !

ड्राइभरसँगै अर्को १ जना मान्छे पनि आयो । यो मैले देखेको भन्दा फरक अनुहार थियो । बिहान मलाई उठाएर ल्याउने मान्छेभन्दा बिल्कुल फरक ।

खलासीले सबै ढाला निकालेपछि देखें— हामी जंगल र गाउँको दोभानमा थियौं । मान्छेको खासै आउजाउ नहुने अनकन्टारजस्तो ।

एउटा बाइक दायाँबायाँ कुखुरा झुन्ड्याएर पश्चिमबाट भुर्रर आयो । ठ्याक्कै हाम्रै अघि रोक्यो र ड्राइभरसँग अदवले हात मिलायो । मेरा आँखा भने बाइकमा तुर्लुंग उल्टो झुन्डिएका कुखुरामा गएर अडिए टक्क । मार हान्न पानी छम्किएको खसीझैं सेकेन्ड–सेकेन्डमा टाउको फट्कार्ने कुखुरा देखेर मन बाउँडियो । मान्छे भएर जन्मिएपछि यो जगत्का हरेक प्राणीलाई जसरी चाह्यो, त्यसरी भोग्ने अधिकार कसले दिँदो हो ? मान्छेजति चेतनशील नहुँदैमा निम्छरा जनावरको बाँच्ने अधिकारै हुन्न ?

एकमन आफूलाई हेरें । आफूसँगै ट्रकभरि खाँदिएका २ दर्जन अनुहार सम्झिएँ । हामी पनि बाइकमा झुन्डिएका ती कुखुराजस्तै त थियौं— एकदम एक्लो र निरीह ।

खलासीले एउटा फल्याक जमिनमा तेर्सो गरी अड्याएर बाटो बनायो । ड्राइभर र ऊ पालैपालो चढे । मेरो छेवैकी चनमतीको डोरी फुकाए र जोडले ताने । मेरो मनमा भयंकर सन्नाटा छायो । तर, चनमती प्रतिक्रियाविहीन चुपचाप फल्याकबाट ओर्लिई । ऊ झरेपछि खलासी फेरि चढ्यो र दोस्रो लहरबाट अर्कोलाई तानेर भुईंमा झार्‍यो अनि चनमतीलाई ठेल्दै फेरि गाडी चढायो । पहिलेझैं उसलाई टमक्क बाँध्यो र ढाला खाप्यो– १, २, ३ … !

कुखुरा बोकेर आएको मान्छेले गोजीबाट मोटो गड्डी निकालेर ड्राइभरको हातमा थमाइथियो । मैले फल्याकको चरबाट देखें । र, निमेषमै गाडी उही गतिमा हुइँकियो ।

यी दृश्यले मेरो मनमा नफुकिने गाँठो पारे ।

“तिम्लाई किन झारेको ?” सुटुक्क कानैमा गएर सोधें, “मेरो त सासै अड्केला झैं भो एकछिन ।”

उसले आँखा चिम्लिएर लामो सास तानी र उस्तै वेगमा फाली । २–३ पटक त्यसै गरी र पुलुक्क मतिर फर्की । एकटकले हेरी । हेरीरही । मैले पनि उसैगरी हेरें, हेरिरहें । बिस्तारै बिस्तारै उसका आँखा भरिँदै गए । चुलीभरि भएपछि तरर खसे भुइँमा, धागो चुँडिएर खसेका मोतीझैं । सक्थें त अञ्जुली थापेर मोती टिप्थें र उनेर घाँटीमा लगाइदिन्थें ।

न ऊ बोल्न सकी, न मैले दोहोराएर सोध्न सकें ।

“गोथेलाई लगे,” एकछिनपछि ऊ भक्कानिई । थचक्क बस्न खोजी तर सकिन । मलाई नांगै पारेर सिस्नु हानेझैं पोल्यो । ऊ त्यही गोथे थियो, जसले केही बेरअघि विद्रोहको कुरा गर्दै थियो । मुटुका चारैवटा कोठामा रगत भरिएर पोखियो ।

धेरै बेरसम्म ऊ हिँक्कहिँक्क मात्रै गरिरही । पल्तिरकोले उसलाई सान्त्वना दिँदै भन्यो, “नरोऊ नानी, हामी फर्केर गोथेलाई खोजौंला । तिम्रो सिउँदो त्यसै बलि चढ्दैन ।”

‘सिउँदो’ सुनेपछि मेरा हातमा जिरिंग काँडा उम्रिए ! घाँटीमा क्याप्प सास अड्कियो ।

० ० ०

गाडीले मुग्लिन छाड्यो । त्यसपछि कहीँ कतै रोकिएन । करिब ४ घण्टा घुम्दै, उकालो चढ्दै एकठाउँमा गएर झ्याप्प ब्रेक लाग्यो । टम्म लागेका ढाला पालैपालो खोलिए । देखें— बाहिर झिसमिसे भइसकेको रहेछ ।

ड्राइभर, खलाँसी र बिहानका दुवै तिघ्रे गुनगुन गर्दै हाँस्दै थिए । उनीहरूले बोलेको बुझिनँ । एउटाले बलेको टर्च सोझ्यायो र गोजीबाट कागज निकालेर पढ्यो अनि टर्च हामीतिर सोझ्यायो ।

“कलंकीमा ५ अनि टेकुमा १० रै’छ,” ड्राइभरले हिसाब सुनायो ।

त्यसपछि ३ जना क्रमैसँग ट्रकमा चढे र पालैपालो ५ जनालाई लतारेर ताने । मेरा पैतला डरले चिसा भए । कसैलाई चिन्दिनथें र पनि मनमा अथाहा माया जागेर आयो ।

एकछिनमा गाडी हुइँयय गयो र अर्को ठाउँमा झ्याप्प रोकियो । ठीक त्यसैगरी १० जनालाई क्रमैसँग झारे । अनि फेरि गाडी हुइँयय गयो ।

ट्रक आधा खाली भइसकेको थियो । अघि गाडी भरिँदा मन एक्लै थियो, अहिले गाडी खाली हुँदा मन भरिएको छ । मैले चिन्ने चनमतीबाहेक कोही थिएन ।

यतिबेलासम्म बाहिर चकमन्न भइसकेको थियो । गाडीभित्र म कसैको अनुहार ठम्याउन सक्दिनथें । कोही कसैसँग बोलिरहेका पनि थिएनन् । सबैको मनमा एउटै डर थियो— अब कसको पालो ?

त्यो डर निमेषमै वायुपंखी घोडाझैं उडेर अलप भयो, जतिखेर तिनै तिघ्रेले टर्च बाल्दै ढालाका पत्र खोले । अनि हामी प्रत्येकको ज्यानमा टाइलको फोकस फाल्दै गने, ‘१, २, ३, ४, ५, ६, ७, ८, ९ । ल ठीक छ, झारम् ।’

सबैभन्दा पहिले चनमतीलाई ताने अनि मलाई । म १२ घण्टापछि पहिलोपटक ट्रकबाट जमिनमा झर्दै थिएँ । सधै महत्ताहीन लाग्ने चिसो जमिन आज पहिलोपटक यस्तो प्यारो लागिरहेको थियो !

बाँधिएका खुट्टा र हात फुकाइदिए । डोरीलाई बाटुलो बनाएर सुर्के गाँठो पारे र घाँटीमा ख्याप्प लगाइदिए । दासयुगका मान्छेझैं हामीलाई डोर्‍याए र एउटा किलोमा लगेरर बाँधिदिए । मेरो सम्मुखमा अरू २ जना थिए । त्यसपछि भित्ताको टेको लगाएर चनमतीलाई बाँधिदिए ।

बाहिर केटाकेटी ‘बत्ती आयोऽऽऽ’ भन्दै चिच्याए अनि उत्तिखेरै आँखै तिर्मिराउने गरी कोठाभरि झलमल्ल बत्ती बल्यो । आँखाले भ्याएसम्म हेरें । वारि कुनादेखि पारि कुनासम्म हेरें । हरेकका अनुहार हेरें । तर, छोरोको अनुहार कतै देखिनँ ।

मलाई एकाबिहानै घिसारेर ल्याउने दुई तिघ्रेहरू लुंगी र गन्जी लगाएर आए । सरासर मेरोसामु आएर आपसमा कानेखुसी गरे । उत्तिखेरै एउटाले मेरो घाँटीमा अर्को डोरी छिराएर अँठ्यायो । म फत्रेफत्रे गरें । लाग्यो— म डरलाग्दो ग्रहको संघारमा छु ।

२ महिनाअघि अलप भएको छोरो र आज बिहान सखारै आँखाबाट ओझेल भएकी डसनी एकैसासमा आँखाभरि आए र पानी बनेर बगे ।

अँठ्याइरहेको पहलवानले आफ्ना दुइटा खुट्टा फट्टायो र जोडले डोरी आफूतिर तान्यो । मैले आफ्नो भएभरको बल लगाएर आफूतिर तानें । सँगै उभिएको अर्को पहलवानले एक्कासि छेउको घन उठायो र मेरो टाउकोमा ड्याम्म बजार्‍यो । म डरलाग्दो गरी चिच्याएँ । उसले अर्कोपटक घन बजार्‍यो र घोप्टो परेर मेरा आँखामा हेर्‍यो । म झनै छटपटिएँ, खुट्टा आफैं तनक्क तन्किए । आँखाका नानी सर्दै परेलीमाथि गए । वरपरका सबै दृश्य औंशीको रातझैं एकाएक अँध्यारा भए ।

पहलवानले तेस्रो पटक टाउकोमा बज्र हान्यो । म अझै ठिंग उभिएको थिएँ ।

“त्यस्का बाउ, जब्बर राँगो परेछ, काजी सा’पले जतनले पालेका रै’छन्,” दुईमध्ये एक बोल्यो, “कसको म:म:मा पर्ने भो, हाहा ।”

“फेरि हान्दे, अब ढल्छ,” उक्साउँदै अर्को बोल्यो, “मलाई त यस्तै घिनलाग्ने देखेर नि बफ म:म: मन पर्दैन यार !”

उसको आवाज मेरा कानसम्म आइनपुग्दै टाउकोमा अर्को बज्र पर्‍यो । अनि म बुंग भुईंमा पछारिएँ । आँखाबाट सबै दृश्य धमिला हुँदै गए र आँखाका ढकनी ठ्याप्प बन्द भए ।

अलि बेरपछि घाँटीमा केही छ्याक्क गर्‍यो । चसक्क भयो ।





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.