खुत्रुके | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

खुत्रुके



JULY 26, 2014 / LENDAAI

‘कोठाको १२ सय, बिजुलीको आफैं तिर्ने, पानीको पर्दैन । हुन्छ?’ झट्ट हेर्दा अजंगका जंगबहादुरझैं देखिने बूढाले गोजीबाट १२ बुँदे कागज निकालेर तेर्स्यायो ।
सरर्र पढेँ ।

पढ्नु के थियो, मञ्जुरीले टाउको हल्लाएँ ।

‘ल ह्याँ सही गर्नूस्,’ गोजीबाट कलम निकालेर दियो, ‘आफ्नो घरजस्तै सम्झिनू ।’

पुछारमा ‘दोस्रो पक्ष’ लेखिएको ठाउँनेर सही धस्काएँ ।

१२ बुँदे कागजमा ११ वटा बुँदा बूढाकै पक्षमा थिए । बाह्रौंमा थियो, ‘धारामा पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गरिनेछ ।’
लेखिने कुरा त्यस्तै हुन् । ऐन–नियम पनि लेखिएकै त हुन्, सबैभन्दा धेरै मिचिने पनि तिनै हुन् । म पनि यस्ता नियम मिच्ने सोचेर ढुक्क भएँ । मलाई बस्– कोठा पाउनु थियो, पाएँ ।

नाम : सोहनलाल
ठेगाना : कीर्तिपुर
उमेर : ५६ वर्ष
काम : पैसा उठाउने र घरको तला थप्ने ।

बूढाको बायोडाटा यत्ति थियो । र, यसमा थपिने सम्भावना सायद थिएन पनि । २०६२ फागुनमा कीर्तिपुर पाइला टेक्दा सोहनलालको घर तीनतले थियो । मैले संयोगवश पहिलो तलामा एउटा कोठा पाएँ ।

भर्खर ब्याचलर सकेर दाङबाट कीर्तिपुर पढ्न आउने थुप्रैको भीडमा म एउटा थिएँ । त्यो ग्याङमा आधाजसो समाजशास्त्री बन्नेवाला थिए, आधा अंग्रेजी भाषाविद् ।
र, म समाजशास्त्री बन्दै थिएँ ।

नाइट बस चढ्नुअघि मेरो सम्भावित रुम पार्टनरलाई औंलो ठड्याएर सतर्क गराएको थिएँ । पकाउनुजस्तो पट्यारलाग्दो र नीरस काम जिन्दगीमा अरू केही थिएन र छैन पनि । भएभरको तरकारी केलाउनु, धुनु, काट्नु, पकाउनु, मसला हाल्नु, नुन–बेसार छर्किनु, मिठो भयो/भएन चाख्नु अनि गजधम्म परेर बस्नेलाई पस्किएर खुवाउनु !

कसले गरोस् !

पराँतमा भाँडा लिएर इनार झर्यो, मस्कायो अनि पखाल्यो । १५ मिनेटमा तमाम ।

समाजशास्त्र पढ्न बसमा झिटीगुन्टा कोचेर नाइट बसको सिटमा बस्दा काठमान्डूको उदेकलाग्दो गन्ध सम्झेर मन बटारियो । शरीरले यो बिरानो सहरका हरेक गन्ध सोसिसकेको थियो एकफेर । आफ्नै देशको माटो पनि यसरी किन गन्हाउँछ होला? किन मान्छेहरू माटो सम्भि्कएर रुन्छन्? काठमान्डूको माटोमा बास्ना छैन, गन्धमात्रै छ– त्यही बुझेको थिएँ ।

र, मैले काठमान्डूको माटोमा कहिल्यै सुगन्ध भेटाइनँ ।

त्यही विरक्तलाग्दो माटोमा गएर अब हरेक दिन बिहान र साँझ भाँडा धस्काउनु थियो ।
भाँडा धस्काउने र खाना पकाउनेबाहेक मेरो रुम पार्टनरसँग अर्को पनि मौखिक सहमति भएको थियो– काठमान्डूमा सँगै बसुन्जेल चामल उसले घरबाट ल्याउने, भाडा मैले तिर्ने । भाडा– यानेकि १२ सय रुपैयाँ । दाङको जागिरबाट बचेको केही हजारले थुप्रै महिना भाडा चल्थ्यो ।

बैना बुझाएको अर्को दिन झिटीगुन्टा बोकेर भर्यााङ उक्लिँदा सोहनलालले पहिलो इम्प्रेसन पारे ।

‘स्टोभ ल्याको छ कि छैन?’

‘छैन, ग्यास किनेको छु ।’

‘ए ! स्टोभ बाल्न पाइन्न है । घर भर्खर रंगाको छ,’ बोले, ‘भित्ता कालो भयो भने आफैं रङ लगाउनुपर्छ ।’

‘हस्,’ चुपचाप भर्या्ङ उक्लिएँ ।

सोहनलाल फेदमै बसिरह्यो । सामान बोकेर ढोका छिर्ने प्रत्येकलाई त्यही सोध्थ्यो । सबैले चुपचाप मुन्टो हल्लाएर सकार्थे ।
पछि सोहनलालकी बूढी पनि देखिई भर्याङमै । सेतै फुलिसकेकी बूढीले सोहनलालसँग आफ्नै लबजमा केके भनी । बाँसघारीमा सारौं कराएजस्तो थियो आवाज– तिखो ।
बूढो भर्याङ उक्लिएर कोठा नम्बर १० अगाडि ठिंग उभियो ।

‘भाइ, यता सुन्नूस्,’ टाटेपाटे बाक्लो स्वेटर र खरानी रङको पाइन्ट लगाएको सोहनलालले बोलायो, ‘फागुन र चैतको पैसा पूरै दिनूस् । हिजोको बैना कटाएर चौध’से ।’
झसंग भएँ ।

‘दुई–चार दिनमा दिए हुँदैन ? सामान धेरै किन्नुछ,’ मैले गोजीको अन्दाज पाइसकेको थिएँ । चम्चादेखि ग्याससम्म, रुमालदेखि सिरकसम्म किन्दा गोजी रित्तिसकेको थियो ।

म बोलिनसक्दै बूढी टुप्लुक्क आइपुगी । तौलमा सोहनलालभन्दा ठ्याक्कै आधा । स्वरजस्तै ज्यान पनि मसिनो । फेरि आफ्नै लबजमा च्याङच्याङ गरेर बोली । मैले ‘मखलः’ बाहेक केही बुझिनँ ।

‘हुन्न,’ जड भएर बोल्यो, ‘घर फिनिसिङ गर्न बाँकी छ, फोन लाइन पनि तान्नुछ । आजै चाहिन्छ ।’

मनमनै हिसाब गरेँ । आउँदा गोजीमा २० हजार थियो । सरसामान किन्दा १४ हजार सकिएको थियो । बैना एक हजार बुझाइसकेको थिएँ । बाँकी पाँच हजार । १४ सय दिने हो भने म त भोकै हुन्थेँ एक हप्तापछि ।

उपाय केही थिएन । कालो अनुहार लगाएर विन्ती गरेँ ।

‘सर, आज एक हजार राख्नुस्, दुई–तीन दिनमा पैसा आउँदै छ अनि दिन्छु नि, हुन्छ ?’

सोहनलालले बूढीतिर पुलुक्क हेर्यो । फेरि च्याङच्याङ के-के भनी । बूढो मतिर फर्क्यो ।

‘चौथो दिन नजाओस् नि!’

मैले हत्त न पत्त हुन्छ भनेर मुन्टो हल्लाएँ ।

बूढोले भोलिपल्ट सबै पाँच वटै कोठालाई पायक पर्ने ठाउँमा डेढ सयको फोन सेट ल्याएर राखिदियो । उठाउनमात्रै मिल्ने, डायल गर्न नमिल्ने! त्यस्तो फोन मैले अहिलेसम्म देखेको थिइनँ । डायलै गर्न नमिल्ने फोन पनि हुन्छ ?

हुने रहेछ ।

सबैले पिसिओबाट फोन गरेर घरमा नम्बर टिपाए । पाँच वटा कोठाका १० परिवार ।

त्यसपछि सुरु भयो घन्टीको चर्तिकला ।

बजेको बज्यै गर्ने । सुरुसुरुमा त घन्टी बज्दा मन फुरुंग हुन्थ्यो । एक घन्टी बजेर नसकिँदै कुद्थेँ उठाउन । आफ्नो नभएपछि चिच्याएर बोलाउँथेँ । पछि घन्टी बज्यो कि कन्चट फर्फराउन थाले । एकाग्र भएर सुतिरहेका बेला पूरै घरै थर्किने घन्टीले कैयौंपटक निद्रा खलबलियो ।

आवाज त ल सहियो । फोन उठाएर कानमा राखेपछि अर्को ताण्डव हुन्थ्यो । रेडियो नेपाल बजेको बज्यै गर्ने! उताबाट बोलेको आधामात्र बुझिने, आधा रेडियो नेपाल ।
कहिलेकाहीँ त कामै नभएपछि फोन उठाएर गीत सुन्न थालेँ । बीचबीचमा कतैकतै ‘हेलो–हेलो’ भनेको पनि सुनिन्थ्यो । क्रस कनेक्सन होला भनेर गीतमै ध्यान दिन्थेँ ।

एकदिन बिहान सोहनलाल जर्फरिँदै आएर ढोका ढकढकायो । जुत्ता खोलेर भित्र आयो । कोठामा एक्लै थिएँ । सँगै बस्ने साथी गर्लफ्रेन्ड लिएर दक्षिणकाली कुदेको थियो बिहानै । छेउछाउका कोठा सबै बन्द थिए । कोही उठेका थिएनन् ।

भित्र सबैतिर हेर्योए । पलङमुनि छड्के आँखा लगायो । छेउको मुढामा टुस्स बसेझैं गरेर पूरै कोठा हेरिभ्यायो । म चकित परेँ ।
‘के भो सर?’ नम्र भएर सोधेँ, ‘चिया पकाऊँ?’

एउटा कुनामा भान्सा, अर्को कुनामा बिस्तरा थियो । चिया पकाउन भान्सातिर दगुर्नुपर्थेन ।

‘नाइँ, पर्दैन । खाएरै आएको,’ त्यत्ति बोलेर बूढो ठप्प भयो । आँखा चोर खोजेझैं यताउता थिए । म घनघोर अचम्ममा थिएँ, बूढोको उपरी भेग खाली भएछ कि के हो!

ऊ जुरुक्क उठेर निस्कियो अनि छेउको अर्को ढोका ढकढकायो । १० मिनेटपछि निस्किएर अर्को कोठा पुग्यो । एक घन्टाको बीचमा ऊ पाँच वटै कोठा छिरेर निस्कियो ।
कारण थाहै पाइनँ । बूढो आफ्नै कुटीतिर लागेपछि छेउतिरका सबैलाई सोधेँ, कसैले भेउ पाएनन् ।

दुई दिनपछि बूढो आफैंले ओकल्यो ।
‘ह्याँ कसले अर्को फोन सेट ल्याएर राखेको छ भन्ने सुनेको छु । चिनेँ भने सिधै हनुमानढोका पुर्या्इदिन्छु, ख्याल राख्नू!’

बूढाको गर्जन सुनेर हामी तीनछक पर्यौं । मुटुमा कताकता ढ्यांग्रो बज्यो । तर, त्यो ढ्यांग्रो निमेषमै पत्ताएर गयो । मैले सेट ल्याएको भए पो!

त्यसपछि पो बुझेँ– सोहनलाल अस्ति किन छड्के हान्न आएको थियो!

तर, पाँच वटा कोठामध्ये कसैले पनि अर्को सेट ल्याएका थिएनन् । त्यसबारे कसैले सोचेका पनि थिएनन् । बूढाले नयाँ जुक्ति सिकाएर गयो ।

बूढाले झुन्ड्याइदिएको फोन सेटजस्तै अर्को सिट किन्यौं दुई जना मिलेर । दिनभरि लुकाउने, राति ढोका बन्द गरेर अर्को सेट जोड्ने । अनि, तहले कुरा गर्ने । बूढोले कहिल्यै सुइँको पाएन ।

तर, जब बिल आयो– हाम्रा दिन सकिए ।

सोहनलाल फेरि उफ्रिँदै आयो ।

‘यो नम्बर कसको हो?’ बिल देखाएर उसले वरपरका सबैलाई सोध्यो ।

सोहनलालले ०८२ बाट सुरु हुने सबै नम्बरमा चिह्न लगाएको रहेछ । गनेर लेखेछ पनि– कुल संख्या ४२!

अब भने झलझली हनुमानढोका आयो आँखाभरि । छुलुक्क मुतूँलाझैं भयो ।

यसो हेरेजस्तो गरेँ । १२ वटा मेरो घरका नम्बर रहेछन् । पाँच वटै कोठामा दाङका मान्छे थिए, त्यसैले डर मलाई मात्रै थिएन । फोन सबैले गर्थे चोरीचोरी । बिलमा सबैका नम्बर थिए ।

‘यस्तो झूटो काम गर्ने विद्यार्थी भएर ? टीयू पढ्ने मान्छे यस्तै हुन्छन्?’ बूढो नराम्रोसँग चिच्यायो । कानै र्याउँर्याउँ गरे ।

कोही बोलेनन् । जो बोल्थ्यो, रिसमा उही पर्थ्यो ।

पुलिस ल्याएर जेल पठाउँछु भन्ने धम्की भने दिएन । उसलाई थाहा थियो– चोरेर फोन गरेकै भरमा पुलिसले दुई छाक भात खुवाउन लैजाँदैनथ्यो ।

‘कसैले नभन्ने भए सबैको भाडामा कटाउँछु । मलाई सोझो देखेर हेप्ने?’ सोहनलाल एक्लै बर्बराउँदै भर्याङ झर्यो ।

अब भाडामै कटाउने भनेपछि लुकेर फोन गर्नुको तुक थिएन ।

फोन काण्डको तीन महिनापछि मेरो रुम पार्टनरकी बहिनी पनि थपिन आइन् । कोठा एउटै थियो । तीन जना कोचिएर बस्नुको सकस उदेकलाग्दो थियो ।
बहिनी ११ पढ्न आएकी । कोठाको भाडा मैले तिर्ने सर्त भएकोले पकाएर खुवाउने जिम्मेवारी मेरो थिएन ।

बहिनी आइसकेपछि सोहनलालले एकदिन मलाई बोलायो ।

‘भाइ बस्नूस्,’ नम्र भएर बोल्यो । म टुसुक्क बसैं गलैंचामा ।

‘कुर्सीमा बस्नूस् न । चिया खाने?’ बूढोले यसो भनेपछि म झस्किएँ । कोठा सरेदेखि ऊ त्यसरी नम्र भएर बोलेको सुनिनँ कहिल्यै ।

कोठाका भित्तामा जरायोको सिङ झुन्ड्याएको थियो । लो–बेडको सिधै खुट्टातिर २१ इन्चको टिभी थियो । टिभीको छेउमै डिभिडी प्लेयर । त्यसमाथि कागज ।

‘चिया खाने?’

दोस्रोपटक सोधिसकेपछि भनेँ, ‘नाइँ, पर्दैन । भरखर खाएको ।’

मलाई सोहनलालको घरमा पानी पनि खानु थिएन । लाग्थ्यो– कुनै दिन त्यही पानीको पनि हिसाब माग्न सक्थ्यो ।

बूढाले डिभिडी प्लेयरमाथिको कागज उठायो ।

‘हेर्नूस् त एकपटक,’ मेरो हातमा थमाउँदै उसले भन्यो, ‘आठ नम्बर पढ्नूस् ।’

त्यो त्यही १२ बुँदे कागज थियो । सही पनि मेरै ।

आठ नम्बर बुँदामा लेखिएको थियो, ‘एउटा कोठामा दुई जनाभन्दा धेरै बस्न पाइनेछैन । बसेको पाइए कुल भाडाको आधा थप गरिनेछ ।’

अब भने मेरो हंशले ठाउँ छोड्यो । महिनामा १२ सय तिर्दा नै म कायल भइसकेको थिएँ । भाडा तिर्ने मेरो जिम्मा भएकोले थपिने पैसा पनि मेरै भागमा हुन्थ्यो । नाभीनेर गाँठो परेझैं भयो एक्कासि । आउँ परेर कटक्क खाएझैं ।

त्यहाँ तर्क–वितर्कले केही लछार्नेवाला थिएन । म बोलिनँ पनि । यत्ति भनेँ, ‘सर, विद्यार्थी हौं, मिलेर बस्दा के फरक पर्छ र! महिनामा त्यही सय लिटरजति पानी त हो!’
‘हुँदैन । नियम भनेको नियम हो,’ सोहनलाल अलि चर्किएर बोल्यो, ‘एउटा कोठामा तीन जना बसेपछि पैसा छ’सेको हिसाबले तिर्नुपर्छ ।’

म चुपचाप निस्किएँ ।

त्यसको एक हप्तापछि भाइ दीपक आयो काठमान्डू, फिजिक्स पढ्न ।

अब कोठामा चार जना अट्ने ठाउँ थिएन । मेरो रुम पार्टनर बहिनी लिएर अर्को कोठा सर्योँ । त्यसको अर्को एक हप्तापछि छेउको अर्को कोठा खाली भयो । अर्घाखाँचीबाट दिदी अनिता आई– आफू पढ्न, भान्जालाई पढाउन ।

जनआन्दोलन भयो । हामीले पनि कीर्तिपुरमा ढुंगा हान्यौं ।

त्यसपछि नेपाल एफएमको समाचार एजेन्सीमा जागिर पाएँ– ६५ सय रुपैयाँ तलबमा । अफिस थियो रविभवनमा । कीर्तिपुरबाट कालिमाटी गएको सात रुपैयाँ थियो गाडीभाडा– कार्ड देखाउँदा । भाडाबाट हरेक दिन कम्तीमा ६ रुपैयाँ सिक्का फिर्ता आउँथे । ती सिक्का माटाको खुत्रुकेमा हाल्थेँ ।

म जसोतसो मान्छेसँग सम्बन्ध गाँस्दिनँ । दाइ, दिदी भन्न मनले छिट्टै मान्दैन । सोहनलाललाई सिधै सर भनेर बोलाउँथेँ । तर, व्यवहार हेर्दा सर पनि भन्न मन लागेन । ५६ वर्ष काटेको बूढोलाई कसरी दाइ भन्नू! अंकल भनूँ त आफ्नै बाको दाजु वा भाइ थिएन ।

छेउछाउ बस्नेले सोहनलाललाई ‘बा’ भन्थे, बूढीलाई ‘माँ’ । भाडामा बस्नेले बूढा घरबेटीलाई यसैगरी सम्बोधन गर्दा रहेछन् ।

तर, उनीहरू न मेरा ‘बा’ थिए, न ‘माँ’ ! बरु बाजे भन्न सक्थेँ । अनि, बूढालाई बोलाउँदा ‘बा’ त भन्थेँ तर मनमनै ‘जे’ पनि थपेर बाजे बनाउँथेँ । ‘मा’ भनेर बोलाउँदा मनमनै ‘इली’ थपेर ‘माइली’ बनाउँथेँ ।

सुरुसुरुमा ट्वाइलेटमा पानी आउँथ्यो । सोहनलालले दिनमा दुईपटक मोटर चलाइदिन्थ्यो– बिहान र साँझ । मान्छे थोरै थिए, पानी धेरै । तर, तीनतले घर चारतले भएपछि मान्छे थपिँदै गए, पानी घट्दै गयो । खानेपानी हरेक दिन आउँथ्यो तर खानमात्रै पुग्ने । एउटा कोठालाई दुई बाल्टिनको कोटा । धारामा पानी नआउँदा सोहनलालले ट्यांकरबाट पानी मगाउँथ्यो अनि भाडाको चिट दिँदा त्यो पैसा पनि थप्थ्यो । यो १२ बुँदे सहमतिभन्दा विपरीत थियो ।

एउटा बुँदामा थियो, ‘धारामा पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गरिनेछ ।’

त्यही १२ बुँदे लिएर बूढाकहाँ गयौं पाँच जना भाडावाल । उसैगरी देखायौं, जसरी सोहनलालले मलाई एकपटक देखाएको थियो ।

बाह्रौं बुँदा देखाएर मैले भनेँ, ‘तपाईंले पानी नआएको बेला ट्यांकीबाट आपूर्ति गर्ने लेख्नुभा’छ, अनि हामीसँग पैसा किन माग्नुहुन्छ?’

म पूरै अक्मक्किएर बोलिरहेको थिएँ । सोहनलालको व्यक्तित्व अजंगको थियो, मलाई डर लाग्थ्यो कताकता ।

अनि उसले हक्की पारामा सपाट उत्तर दियो, जुन हामीले सोचेभन्दा कता हो कता नमिठो थियो ।

‘आपूर्ति गरिने भनेको छ, गरिदिएकै छु, पैसा मैले तिर्ने लेखेको छ र त्यसमा?’

हामी पाँचै जना मुखामुख भयौं । कसले के भनोस्! सबैलाई खेरेर लैजाने म नै थिएँ । पाँचमध्ये दुई जना बूढाका साख्खै थिए । बा…माँ… भनीभनी उनीहरूले बूढाबूढीको मन जितेका थिए । मलाई भने उनीहरू गुलामजस्ता लाग्थे ।

फेरि चुपचाप फर्कियौं ।

त्यसपछि ट्वाइलेटमा कहिल्यै पानी आएन । आफूलाई चाहिए इनारबाट तानेर ल्याउनुपर्थ्यो । इनारमा कल जोडिदिएको थियो, एकपटक भाँचिएपछि अर्कोपटक कहिल्यै नयाँ फेरिदिएन सोहनलालले ।

फागुनमा एक वर्ष भएपछि सोहनलालले फेरि बोलायो आफ्नै कोठामा । सोहनलालले हरेक पटक बोलाउँदा मेरो मन काम्थ्यो । मेरो भलाइका लागि उसले कहिल्यै बोलाएको थिएन ।

चिया सोध्यो, खान्नँ भनेँ ।

वरिपरि आँखा दौडाएँ, लोबेडमा गएर टक्क अडिए । कागज थियो, सायद त्यही १२ बुँदे! मनमा फेरि चस्का हान्यो । दिमागमा १२ वटै बुँदा घुमे एकैपटक ।

‘एक वर्ष पनि भयो तपाईंहरू आएको,’ सोहनलालले कागज निकालेर छैटौं बुँदामा चोर औंला राखेर देखायो, ‘के छ विचार?’

छैटौं बुँदामा ‘हरेक वर्ष १० प्रतिशतका दरले कोठाभाडा वृद्धि गरिनेछ’ लेखिएको थियो ।

मनमा बुल्डोजर कुद्यो ।

जागिरमा एक प्रतिशत पनि तलब बढेको थिएन । ६५ सय तलबमा भाइको र आफ्नो सम्पूर्ण खर्च अडेको थियो । रुम पार्टनर सरेर गएपछि खाने कुरा सबै आफैं किन्नुपर्थ्यो । महिनामा ३० दिनको ठाउँमा ६० दिन भइदिए कति हुन्थ्यो! सोच्थेँ ।

सोहनलालले सिधै घुच्चुकमा हिर्काएझैं भयो ।

‘त्यसै भाडा बढाउन पाइन्छ? सुविधा के छ? जे मन लाग्छ, त्यही गर्न पाइन्छ घर छ भन्दैमा?’ नाभीनेरबाट सुलुलु बग्दै आएर घाँटीमा ठ्याप्प अड्किए शब्द । जिब्रोसम्म आउनै मानेनन् । अनि त्यही बाटो फर्किए भित्रै ।

‘भाडा त बढाउने ठिक छ, ट्वाइलेटमा पानी नि?’ भएभरको ऊर्जा खेरेर सोधेँ । सोहनलालसँग यसरी सोझै मुख फर्काएको थिइनँ ।
एकछिन गम्म पर्योे । चिच्याएर बूढीलाई चिया ल्याउन अह्रायो ।

‘ट्वाइलेटमा पानी आपूर्ति गरिनेछ भनेर कहाँ लेखेको छ र लेनिनजी?’ उसले कागजी कुरा गर्योय, ‘तैपनि दिइराखेकै थियौं, मान्छे धेरै भएर पुर्यारउन सकिएन । त्यत्रो इनार खनिदिएको छ त!’

एकैसासमा उसले भएभरको कुरा सिध्यायो । दमको रोगी भए पनि खरर बोल्यो ।

बिहान–बेलुकी मोटर चलाउने भनेर उसले बत्तीको पैसा पनि प्रतियुनिट १२ रुपैयाँ लिन्थ्यो, जबकि आठ रुपैयाँ थियो दर ।

‘ट्वाइलेटमा पानी दिन पनि कागजमै लेख्नुपर्छ र?’ अलि नम्र भएर सोधेँ, ‘कागजी कुराभन्दा पनि व्यावहारिक कुरा हेर्नुपर्दैन र बा?’

‘चित्त बुझ्दैन भने छाडेर जाँदा हुन्छ, जबर्जस्ती बसालेको होइन केरे!’

मेरा कुरा हावामै उडाएर सोहनलालले वर्षौंदेखि रटेको वाक्य ओकल्यो । उसले त्योभन्दा बढी भन्न सक्ने कुरा थिएनन् पनि केही । सजिलो पनि थियो, मैले छाडे अर्को दिन अर्कै मान्छे आइसक्थ्यो कोठा खोज्दै ।

म फेरि चुपचाप निस्किएँ । भर्या ङनेर पुग्दा बूढी चिया लिएर आइसकेकी थिई । गिलास एउटामात्रै थियो ।

उसले आफ्नै लबजमा केके भनी, बुझिनँ ।

एउटा कोठामा म र भाइ, अर्कोमा भान्जा र दिदी बस्थ्यौं । भिनाजू दुबई थिए । जेठो भान्जो तीनमा पढ्थ्यो । अफिसबाट फर्किंदा ऊ ढोकैमा उभिएर मलाई पर्खिरहेको हुन्थ्यो । गोजीबाट सिक्का झिकेर दिएपछि खुरुरु दौडिएर खुत्रुकेमा खसाल्थ्यो– हरेक दिन । त्यो खुत्रुके ऊ आफैंले किनेर ल्याएको थियो ।

 

त्यो एक दिन–
भान्जो अनमोल दौडिँदै आएर मछेउ बस्यो र भन्यो, ‘मामा, स्पेनको जर्सी किन्दिनू न ।’

२०१० को विश्वकपमा स्पेनको सरगर्मी चल्दा उसले मलाई जर्सीको फर्माइस राख्यो । ठाडै भनेँ, ‘किन्दिन्नँ ।’

ऊ चुपचाप निस्कियो ।

भान्जो यसरी थुप्रैपटक निस्किएको थियो मलिन अनुहार लिएर । उसलाई हरेकचोटि थाहा हुन्थ्यो– उसले मागेका चिज म केही किन्दिन्नँ । र, पनि बिर्सिएर सधैं छेउ आएर त्यसैगरी माग्थ्यो केही न केही ।

‘मामा, ड्यांगो जुत्ता किन्दिनू न ।’

म पुलुक्क उसको अनुहार हेर्थें र भन्थेँ, ‘किन्दिन्नँ । पैसा छैन ।’

उसले फर्माइस राख्दा मसँग गोजीमा पैसा हुन्थ्यो । भएर पनि उसले मागेका केही किन्दिन्नथेँ ।

अभाव के हो, बुझोस् न ।

र, उसले फेरि माग्यो ।

‘मामा, २० रुप्पे दिनूस् न, बल किन्छु ।’

फेरि उसैगरी पुलुक्क अनुहारमा हेरेँ । गोजी छामेँ । अलिकता पैसा थियो । निकालेर गनेँ– ६५ रुप्पे । टकटक गनेर आठ रुप्पे दिएँ र भनेँ, ‘जा, गएर खुत्रुके किनेर ल्या । दिनदिनै पैसा जम्मा गर्, मसँग माग्नैपर्दैन ।’

ऊ खुरुखुरु गयो । १५ मिनेटपछि खुत्रुके किनेर ल्यायो । थपक्क दराजमाथि राख्यो । फुच्चे थियो, कुर्सीमै चढेर राख्यो र बाहिर गयो ।

अनि मैले ३० रुप्पे राखिदिएँ उसले नदेख्ने गरी ।

त्यसपछि हरेक दिन थुप्रिएका सिक्का उसले त्यही खुत्रुकेमा खसाल्थ्यो । सधैं आएर खुत्रुके उचाल्थ्यो र भन्थ्यो, ‘मामा कहिले भरिन्छ?’

म भन्थेँ, ‘एक वर्ष राख् न अझै ।’

उसले हरेक दिन गन्दै एक वर्ष पुर्यायो ।

तर, त्यसबीचमा अनेक काण्ड भइसकेका थिए ।

सोहनलाललाई दमले च्याप्दै लग्यो, ओच्छ्यानको ओच्छ्यानमै । अक्सिजन सिलिन्डर किन्नुपर्योर भनेर बूढी च्याँटि्ठँदै कोठाअघि आएर उभिन्थी १ गते । अफिसले तलब १ गते नै दिए उसको मुखमा १३ सय २० ले हान्थेँ हरेक महिना ।

तर, मैले ३ महिनामा एकपटक तलब पाउँथेँ । त्यही पनि भनसुन गरेर । बूढी ढोकाअघि उभिएर च्याङच्याङ कराउँदा के गरूँ कसो गरूँ हुन्थ्यो । नेपालीमै बोले त प्रतिवाद पनि गर्दो हुँ । ऊ बोल्ने आफ्नै लबजमा, नेपाली नबुझ्ने !

हरेस खाएर भनेँ, ‘१० गते नहुँदै पैसा दिन सक्दिनँ । यत्रो घर बनाएर १३ सयमा अड्किने भए अड्किराख ।’

भाषा नबुझे पनि उसले मेरो हाउभाउ हेरेर लख काटी– यसले पैसा दिन्न । भए पो दिनू ! केही नबोलेर बाहिर निस्की । १० मिनेटपछि सोहनलाललाई डोर्याउँदै ल्याई ।
ठसठस कन्दै सोहनलाल बोल्यो, ‘भाइ पैसा चाहियो ।’ अजंगको अनुहार लत्रिएको थियो । बल गरेर उठाउँदै उसले मेरो आँखामा आँखा गाड्यो ।

‘बा, अहिले छैन । एक–डेढ हप्ता लाग्छ, अफिसले पैसा दिएको छैन,’ म लत्रिएर बोलेँ ।

स्वाँस्वाँ गर्दै सोहनलाल बोल्यो, ‘जसरी पनि चाहियो, अक्सिजन किन्नु छ ।’

झोँक चल्यो ।

‘हुँदै नभए’सि कसरी दिनू बा ? चोर्न भएन,’ अलि कड्किएर बोलेँ ।

‘नभए कोठा सरेर जानू । पैसै तिर्न नसक्ने के कोठा लिएर बस्नू ?’

चस्स बिझायो । बिझाएको मात्रै होइन, रिसले भननन्न रिंगटा लागेझैं भयो । तर, केही बोलिनँ । दमले थ्यालथ्याल भएको बूढालाई केही भने त्यहीँ ढल्थ्यो सास बढेर ।

‘भोलिसम्म जसरी पनि चाहिन्छ, अरू थाहा छैन,’ जाँदाजाँदै सोहनलालले अल्टिमेटम दियो । मैले हुन्छ पनि भनिनँ, हुन्न पनि ।

त्यतिबेला सबैको गोजी रित्तिएको थियो । दिदीलाई भिनाजूले पठाइदिएका थिएनन्, मेरो तलब आएको थिएन ।

१ गते नै चिर्कटो लिएर आउने सोहनलालको अनुहार कताकता शनि ग्रहबाट झरेको एलियनजस्तै लाग्यो । न कुनै संवेदना, न कुनै मानवता । अमानव ।

त्यसैले बिरानो काठमान्डू र बिरानो कीर्तिपुरको यो बडेमानको डेरा कहिल्यै घरजस्तो लागेन । भुटानी शरणार्थीभन्दा पनि ठूलो पीडामा बस्यौं हामी ।

लाग्यो– सोहनलाल हाम्रै महिनावारी तलबले बाँचेको छ । हामी नभए त उसको अक्सिजन सिलिन्डर पनि चल्दो रहेनछ । कमसेकम हाम्रै कारणले उसको सास त अडिएको छ !

तर, उसले कहिल्यै बुझेन– भाडा बुझाउन सक्ने ल्याकत नभएकाहरू काठमाडौं छिरेर पक्की घरमा बस्दैनन् ।

वरपर साथीभाइ सबैतिर चहारेर १३ सय २० पुर्याएर पठाइदिएँ दिदीको हातबाट । मलाई सोहनलाल र उसकी बूढीको अनुहार हेर्नु थिएन ।

भाडाको खड्गो टारेको पाँच दिनपछि बिहानै कोठामा ग्यास सकियो । ग्याससँगै सबैका ओठमुख सबै सुके । अफिसले दुई महिनादेखि तलब दिएको थिएन । दिदीसँग पैसा थिएन । भाइ– पढ्ने विद्यार्थी । माग्नुपर्ने ठाउँ कतै बाँकी थिएनन् । मागेजति पैसा सोहनलालले सोहोरिसकेको थियो । ग्यासजस्तो कुरा उधारो पनि पाइन्थेन । १३ सय ५० पर्थ्यो सिलिन्डरको ।

वरपर चहार्यौंस । सबै विद्यार्थी भएकाले हविगत उस्तै थियो । ग्यास नभए भातै पाक्ने अवस्था थिएन । त्यसमाथि सोहनलालले कोठा छिर्नुअघि नै चेतावनी दिएको थियो, ‘स्टोभ बाल्न पाइन्न है । घर भर्खर रंगाको छ, भित्ता कालो भयो भने आफैं रङ लगाउनुपर्छ ।’

उपाय केही थिएन । घरबाट पैसा मगाउने आँट थिएन ।

भान्जो होमवर्क गर्दै थियो । दुई घन्टापछि भात खाएर कसरी स्कुल जाला?

गाइँगुइँ सुन्यो । होमवर्क थन्काएर जुरुक्क उठ्यो ।

वल्लो कोठामा कुर्सी ठड्याएर दराजमाथिको खुत्रुके निकाल्यो । झरेर भुइँमा बिस्तारै बजार्यो । सिक्कैसिक्काले भरिएको खुत्रुके झर्यामझुरुम भयो निमेषमै ।

‘मामा, आउनूस् त गनम्,’ मलाई बोलाएर गन्न थाल्यो आफैं ।

म पनि मिसिएर गनेँ । दिदी, भाइ सबैले गने– ११ सय ४५ रुप्पे रहेछ ।

भान्जोले प्लास्टिक ब्यागमा पोको पारेर मलाई थमाइदियो, ‘ल मामा, ग्यास किन्न जानूस् ।’

सबै मुखामुख भयौं । बोल्न सक्ने कोही थिएनन् । दिदी पिलपिल गरेर अर्को कोठा गई । म पैसाको पोको समातेर बाहिर निस्किएँ ।




Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.66
  • 114.26
  • European euro
  • 128.14
  • 128.82
  • UK pound sterling
  • 145.8
  • 146.57
  • Swiss franc
  • 112.9
  • 113.5
  • Australian dollar
  • 80.82
  • 81.24
  • Canadian dollar
  • 85.58
  • 86.04
  • Singapore dollar
  • 83.72
  • 84.16
  • Japanese yen (10)
  • 10.29
  • 10.34
  • Chinese renminbi (Yuan)
  • 16.79
  • 16.87
  • Saudi Arabian riyal
  • 30.31
  • 30.47
  • Qatari riyal
  • 31.22
  • 31.38
  • Thai baht
  • 3.64
  • 3.66
  • UAE Dirham
  • 30.94
  • 31.11
  • Malaysian ringgit
  • 27.82
  • 27.97
  • Korean Won (100)
  • 10.09
  • 10.14
  • Swedish Krone
  • 12.23
  • 12.29
  • Danish Krone
  • 17.18
  • 17.27

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम