फिलिम | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

फिलिम





“बसन्ते, एक… एक… एक ही रास्ता लाग्यो….”

दौडिँदै आएको रमेशले एकाएक गाउँ थर्कायो । एक हप्तादेखि ‘चित्रहार’मा अजय देवगण र रविना टन्डन छमछमी नाचेकोदेखिरहँदा हामीलाई वाक्क लागिसकेको थियो । ‘फूल और काँटे’ आएदेखि रमेश र मेरो मनमा सानोतिनो हुन्डरी ल्याएको थियो अजयले । नयाँ वर्ष र दसैंका शुभकामना कार्डमा अजयले बन्दुक भिरेका पोस्टकार्डले सहर पिटेको थियो । रमेश र म त्यसका डाइहार्ट फ्यान ।

“विद्यानाश ?”

“आम्मापोइ हो, कस्सोनाले छिरिसक्या थें, यस्का बाउ गजवीरले देख्यो, हिँत्तिन समातेर पछार्‍यो,” दायाँतिर कन्सिरी देखाउँदै भन्यो ।

दाहिने हात मुठी पारेर दायाँ करङ छेउनेरैबाट कुहिनो पछाडि हुत्ताएँ, “या ऽऽऽ…”

“पैसा छ ? मसँग त २ रुप्पेमात्रै छ, हाप्ट्यामबाट छिर्छु । तँ नि ?”

मेरो लागि सर्वाधिक उल्लासमय खबर सुनाउन रेलझैं कुदेर आएको रमेश त्यसपछि ओइलायो । ऊसँग पैसा थिएन ।

“तँ जा, म ढोकामा आउँछु । ढोक्कैमा बसेस् नि, फेरि माटो हाल्देलान् चोरहरूले ।”

“ल ल । बरु तैंले भेली ल्याएर आएस्, फर्किंदा चिउरासँग खानुपर्छ ।”

०००


घोराहीको बीच सहरमा थियो राप्ती हल- ‘पुरानी हवेली’को बंगलाजस्तो । हलबाहिर दुवैतिर गन्हाउने नालीको गन्धले फिल्म हेर्न जानेहरू पनि सराप लिएर आएजस्तो गर्थे । त्यसमाथि हलभित्रबाट आउने पिसाबको कुलोले वरपर कसैलाई कहिल्यै पिनास लाग्दैनथ्यो ।

हलको ढोकैमा टिकट जाँच्न गजवीर (चौधरी) बसेको हुन्थ्यो । ज्यान फर्सीजस्तो थियो, डल्लै न डल्लो । हामीलाई छेउमा कतै देख्यो भने उसका नजर टिकटतिर भन्दा हामीतिर बढी हुन्थे । उसलाई छक्काएर कैयन् पटक गेटभित्र छिरेका थियौं । स्टिलको टर्च लाइट बालेर उसले हलभित्र धुइँधुइँती हामीजस्ता घुसपैठहरूलाई खोज्थ्यो र भेटाउँदा ट्वाइलेटमा लगेर थुन्दिन्थ्यो । तर, हलभित्र पनि हाम्रा स-साना ग्याङ हुन्थे, कोही ट्वाइलेटमा थुनियो भने पिसाब फेर्न निस्केको बहानामा ढोका खोल्दिने अनि आँखा छल्दै लुसुक्क भित्र छिर्ने । कतिपटक त्यसरी छिर्दा गजवीरले देख्थ्यो र टर्च लिएर हलभरि खोज्थ्यो । हामी सिटमुनि लुकेर उसलाई छल्थ्यौं । सिटमुनि लुक्दाको सकस भने अत्यासलाग्दो हुन्थ्यो ।

बाल्कोनीबाहेक हलका सबै सिट काठका थिए, बसिरहँदा टट्टाउँथ्यो । त्यसमाथि चुइँगम चेप्टिने डर ! यो काममा पनि हामी सिद्धहस्त थियौं । एकपटक चुइँगम टाँस्दाटाँस्दै म रंगेहात फेला परेपछि गजवीरले गालामा सुम्ला उठाउँदै नयाँ नियम लगाइदिएको थियो- हल वरिपरि चुइँगम चपाउन बन्द । बाहिर चुइँगम चपाउँदै घुमेको देख्यो भने पनि ऊ लखेटीलखेटी कुट्थ्यो । पछि हामी बस्ने सिटमा पनि चुइँगम चेप्टिन थाले । चुइँगम आतंक स्पेशलमा बढी थियो, जहाँ बाल्कोनीभन्दा गरिब र प्रथम श्रेणीभन्दा धनी मान्छे बस्थे । तर, १० रुप्पे तिरेर स्पेसल टिकट काट्नेहरुको ‘इमेज’ भने गतिलो थिएन । रमेश भन्थ्यो- स्पेसलको कुनामा अनेकखालका गतविधि हुन्थे रे ! कतिपटक त ऊ मलाई एक्लै छाडेर स्पेसलको कुनातिर लुक्न जान्थ्यो अनि रातोपिरो भएर फर्किन्थ्यो ।

रमेशलाई जन्म दिने आमा थिइनन्, त्यसैले ऊ दिदी पार्वती र कान्छी आमा (घैंटे दिदी)सँग बस्थ्यो । डल्ली भएकीले हामी घैंटे दिदी भन्थ्यौं । रमेशले उनीबाट आमाको माया अनुभव कहिल्यै गर्न पाएन । दिदीको प्यारो त थियो तर कहिलेकाहीँ आमाको कुरा सुनेर उसले पनि लुछेर भकुर्थी । कारण थियो- रमेशको गोली (गुच्चा) खेल्ने अद्भूत बानी, जसको गुरू म थिएँ ।
उमेरले ११ वर्षका हामी दुवै गोलीका नामुद सुपरस्टार थियौं गाउँभरि । हामी अरु-अरुसँग भिड्थ्यौं, जित्थ्यौं र फेरि उनैहरूलाई बेच्थ्यौं । गोली जित्नुको अन्तिम उद्देश्य हुन्थ्यो- राप्ती हलमा गएर ४ रुप्पेको प्रथम श्रेणी टिकट किन्नु । २ रुप्पे भयो भने गजवीरलाई फकाएर हाफटाइमबाट छिर्न पाइन्थ्यो । अर्को पटक २ रूप्पे हुँदा हाफटाइसम्म हेर्ने प्रबन्ध मिलाउँथ्यो गजवीर ।
वरपरका साथीहरू हामीसँग गोली खेल्न कहिल्यै अघि सरेनन् । उनीहरू बुझ्थे- रमेश र मेरो गाउँभरि हैकम चल्छ । तर, हामीसँग कोही नखेलेपछि आम्दानीको बाटै सुक्थ्यो, त्यसैले अरु गाउँ चहार्थ्यौं र जितेर फर्किन्थ्यौं । जितेको पैसा रमेशले बढीजसो खाजा खानमा खर्चिन्थ्यो, म फिलिम हेर्न । घैंटे दिदीले हप्तामा चार दिनजसो उसलाई खानै नदिएर घरबाट लखेट्थिन् ।

घैंटे दिदीले रमेशलाई हेला गरेको देखेर मेरा कन्सिरी तात्थे ! एकदिन रिसैरिसमा भनें, “ए रमेश, तेरी आमाको भुँडीमा एउटा टुटी झुन्डाइदिम् न, बुढीले लास्टै खिसखिस गरी । कराई भने घैंटोको टुटी बन्द गर्दिम्ला ।”

यसपछि रमेश मसँग तीन दिन बोलेन । उसले आमालाई माया गरेर हो या मैले होच्याएको ठानेर, दुःख मानेछ । ती तीन दिन उसका र मेरा लागि सग्ला तीन जुनी बराबर थिए ।

बोल्नै परे ‘आलुभान्टा’ भन्ने चलन थियो । हामीमध्ये कसैले पनि पहिले एक-अर्कालाई बोलाउन सकेनौं । साथीहरूले बोलाउन कर गरिदिए पनि हुन्थ्यो झैं लाग्थ्यो । र, उनीहरूले पनि कहिलेकाहीँ कर गरिदिन्थे अनि हामी पालैपालो नामका अगाडिका अक्षर भन्थ्यौं ।
म भन्थें- ‘र’
रमेश भन्थ्यो- ‘ब’
सबै अक्षर सकेर म भन्थें- ‘रमेश’
रमेश भन्थ्यो- ‘बसन्ते’
अनि दुइटैको नाम काढेर हामी बोल्थ्यौं ।

घरबाट लखेटिनेमा म रमेशभन्दा तीनगुणा अघि थिएँ । सिंगो खानदानमै मजत्तिको चोर अरु थिएन । गाउँका सर्वाधिक लठ्ठक गोलीबाज र चोरमा म सधैं टप फाइभमा रहें । रमेश पनि सूचीबाट कहिल्यै बाहिरिएन । घरका जुन कुनामा पैसा लुकाए पनि म भेट्टाउँथें र खुसुक्क बारीका डल्लामा चेप्थें । कहाँनेर कुन डल्लामा कति पैसा छ, मलाई कण्ठ हुन्थ्यो । बिहान टुसुक्क बस्ने बहानामा पैसाको सघन अनुगमन गर्थें । हाफपाइन्टको इन्टरलक उधारेर भित्र पैसा कोच्थें । नांगै पारेर खोज्थे तर अहँ कसैले कहिल्यै भेटाएनन् ।

यताउति गरेर पैसा जम्मा भयो भने १२-३ सो हेर्न जान्थें । बेलुकीको सो जाँदा घरमा प्रष्ट शंका हुन्थ्यो र आमाले बाँसमा बाँध्थिन् । ४ बजेभन्दा ढिलो घर फर्किएँ भने आमाले सीधै डल्ला समातेर गाली गर्दै गाउँको पुछारसम्म लखेट्थिन्, “यस्लाई दैवले चुँड्नी, पखेस् भरे आउलास् । तेरा खुट्टामा सुम्ला उठाइनँ भने तेरी आमा हैन ।”

म खुरुरुरु दौडिन्थें, आमाले निसाना लगाउँथिन् ।

अनि कम्मरभन्दा मुन्तिरको भाग अलि उठाएर भन्थें, “इस् आउँछु ।”

कहिलेकाहीँ रमेश र म सँगसँगै भागिरहेका हुन्थ्यौं, दुइटी आमाहरु डल्लाले हामीलाई चहारिरहेका हुन्थे ।

आमाको दायाँ गालामा पोलेको टाटो थियो । जतिखेर पनि डल्लाले चहार्दा म रिसले भावन्नै हुन्थें र आमालाई चिच्याएर ‘टाटे’ भन्थें । आमा तरर आँसु झारेर फर्किन्थिन् अनि म पीरले काल्लिन्थें र तरक्क आँसु झार्थें ।

“सब यस्का बाउले बिगारेका हुन्, यौटो फिलिमि फेरिन नहुनी… !”

हो, मलाई बुवाले बिगार्नुभएको थियो ।

राप्ती हलभन्दा दक्षिणतिर ५० मिटरको दूरीमा हाम्रो फेन्सी पसल थियो । बुवा बिहान पाँचै बजे पसल जानुहुन्थ्यो र बेलुकी ८ बजेतिर फर्किनुहुन्थ्यो । नेपाली फिल्म सकेसम्म नछुटाउने भएकाले बुवासँग मेरो जम्थ्यो ।

“भागेर हेरिस् भने मर्छस्, मै लान्छु तँलाई हेराउन,” बुवाले धेरै पटक चेतावनी दिनुभएको थियो, “हिन्दी फिलिम हेर्न हुन्न, केटाकेटी बिग्रिन्छन् । फेरि बोलेको पनि सप्पै बुझिन्न ।” मैले स्वीकृतिमा मुन्टो हल्लाउँथें र बुवालाई छिटो पिसाब लागिदिए हुन्थ्यो भन्दै कामना गर्थें । कहिलेकाहीँ कामना लाग्थ्यो पनि, पसल मलाई छाडेर बुवा ट्वाइलेट जानुहुन्थ्यो । उहाँ नफर्किंदै गल्लाबाट १० को नोट घटिसकेको हुन्थ्यो । बुवा फर्किंदा म कुचो लिएर बढारेको जस्तो गर्दिन्थें ।

पैसा झिकेकै दिन स्कुलबाट फर्किंदा बाटामा रिक्सा भट्याउँदै थियो- “तपाइँको आफ्नै गणेश चलचित्र मन्दिरमा अपार भीडका साथ चलिरहेछ, राजेश हमालको सुपरहिट नेपाली कथानक चलचित्र ‘अधिका~~~~~र~~~~ ।”

वाह, क्या गजब ! मनभित्र पुलुक्क गुबारा फुल्यो, कानमा चरा चिरबिरचिरबिर गरे । राजेश हमालको नाम सुन्नेबित्तिकै मनमा हलचल आइसकेको थियो । ‘युगदेखि युगसम्म’मा मरेको मान्छे ‘अधिकार’मा आउँदै थियो, अर्की हिरूनीसँग । रिक्साले पूरा बजार फन्को लगायो तर अहँ बुवाको कानसम्म पुगेन ।

दौडिएर पसलअघिको बेन्चमा बसें । लुगा फेर्न गइनँ, फर्किँदा १ घण्टा बितिसक्थ्यो । अनेक मान्छे आए, लुगा किने, गफ गरे अनि गए । मेरा आँखा भने पसलको घडीमै अडिएका थिए टक्क- जसरी चिलले आकाशबाट जमिनमा सिकार हेर्छ । बुवा घरिघरि मलाई पुलुक्क हेर्नुहुन्थ्यो, म घोसेमुन्टो लगाउँथें । ५ बज्दै साढे ५ भयो अनि सुइँ पौने ६ मा गएर अडियो । मेरो मुटु जोडजोडले धड्कियो । सोचें- पसलमा कोही मान्छे नआइदिए हुन्थ्यो, बजार सुनसान भइदिए हुन्थ्यो, लाइन गइदिए हुन्थ्यो । मिनेटको सुइँ ५० बाट ५५ मा जाँदा पनि अहँ, बुवा डेग चल्नुभएन । सुइँ ५८ मा गएर अडिएपछि बुवाले एकाएक भन्नुभयो, “हिन् ।”
बुवाले सटर झार्नुभयो, मेरो मन उघ्रियो । मुटु एकपटक जोडले धड्किएर बिस्तारै धीमा भयो, बजारका सबै मान्छे हँसिला लागे, संसार कति सुखी छ जस्तो लाग्यो । बुवाले १५ रुप्पेमा बाल्कोनीको एउटा टिकट किन्नुभयो, म काखमा टुसुक्क बसें ।
“अबदेखि पैसा चोरिस् भने बाल्कुनीमा कहिल्यै हेराउन्न बुझिस् ?” पर्दामा राजेश हमाल देखिनुअघि बुवाले भन्नुभयो, “खै दिउँसोको पैसा ले त फेन्टा किनम् ।”

लाजले भुतुक्क भएँ, बोल्नै सकिनँ । हाफपाइन्टको इन्टरलकभित्र गुटमुटाएर राखेको १० को नोट दिएँ र मनमनै प्रतीज्ञा गरें- अब पैसा कहिल्यै चोर्दिनँ र मज्जाले पढ्छु अनि पास हुन्छु । मेरो प्रतीज्ञा लामो समयसम्म कायम रह्यो, १४ घण्टासम्म ।

तर, बुवाले त्यसरी बिगार्नुअघि पनि म फिल्म हेर्थें ।

(४ वर्षअघि)
“बसन्ते हृयाँ आ !” एकदिन सबेरै बुवाले हकारेर बोलाउनुभो ।

“५ रुप्पे काँ हालिस् ? चुपचाप भन्नेभए भन् नत्र तेरो खैरेत छैन ।” एकाएक बुवाले यसो भन्दा मेरा नौनाडी गले, मुटु छालै छेड्ने गरी धड्कियो । घोसेमुन्टो लगाएर भनें, “कुन्नि तो, मलै के था ?”

दिनभरि होटलमा चिया समोसा बेचेर स्टिलको सानो बाकसमा गनेर बुवाले २५ वटा ५ का नोटको गड्डी राख्नुभएको थियो, अर्कोदिन बिहान २४ वटामात्रै थिए ।

“झुठ बोल्छस् ? मलाई था छैन भन्ने मानिस् ?” बुवाले कन्चटका रौं तान्नुभो, “खुरुक्क भन्, नत्र जिविसको ट्वाइलेटमै बास हुन्छ तेरो आज ।”

जिविसको ट्वाइलेट भन्नेबित्तिकै म फेरि भीरबाट खसेजस्तो भएँ । डुङडुङ्ती गन्हाउने ट्वाइलेटमा ५ मिनेट बस्नु पनि कुरुक्षेत्र जितेजस्तो हुन्थ्यो, म कसरी टिक्नु ?

“मैले लगेको हैन के !” मैले यत्ति भनें, बुवाले समातेर सरासर जिविसको ट्वाइलेट लगेर थुनिदिनुभो । बिहान सबेरै भएकाले मलाई ट्वाइलेटबाट उम्किन कम्तीमा ४-५ घण्टा लाग्थ्यो । १ घण्टा बसिसकेपछि थाम्न सकिनँ, के गरुँ कसो गरुँ भयो । सिलिङतिर भेन्टिलेसन देखें । फ्लसमाथि टेकें र भेन्टिलेसनबाट निस्किएर सरासर स्कुल गएँ । त्यसदिन मेरो २ कक्षाको नेपाली परीक्षा थियो । ९ बजेतिर मलाई ट्वाइलेटमा नदेखेपछि सबैले सबैतिर खोजेछन् । म जानसक्ने सम्भावित ठाउँमा म कतै थिइनँ । अनि एकाएक हल्ला फैलिएछ-

“बसन्ते त भाग्यो रे !”

“बसन्ते रुँदै गएको मैले देखेको हुँ ।”

तर, दिउँसो म परीक्षा दिएर लुरुलुरु फर्किएँ । हराएको छोरो एकाएक फर्किंदा बुवा बोल्नै सक्नुभएन । मैले घोसेमुन्टो लगाएर सुँक्कसुँक्क गर्दै भनें, “अन्याय फिलिम हेरेको हुँ, अब चोर्दिनँ ।”
बुवा धेरै बेरसम्म बोल्नुभएन ।

० ० ०

नामुद चोर भएकोले जतिखेर पनि मलाई घरभित्र पस्ने अनुमति थिएन, म गोली खेलेर दिनभरि रमाउँथें । बेलुकी बुवासँग आमाले लाइने लगाएको सुन्थें, “हेर्दाहेर्दै बसन्ते काम नलाग्ने भो !”

एकदिन सुनें, “बसन्तेलाई अब बोर्डिङमा हाल्दिऊँ, यत्तिकै छाडिम् भने त सर्वस्व हुन्छ ।”

एकमन खुसीले हुरुक्क भएँ । म पनि चाहन्थें बोर्डिङ पढूँ र टाई लगाएर स्कुल जाऊँ । छरछिमेकका साथीहरू बुट्टेदार टाइ लगाएर ब्याग बोकेको देख्दा मलाई औधि डाह हुन्थ्यो । भाइ त पहिलेदेखि नै बोर्डिङ जान्थ्यो, अब दिदी र मलाई पनि हाल्ने कुरा चल्दै थियो । कुरा चलेन मात्रै, बोर्डिङमा भर्ना भयौं पनि ।

तर, गोली खेल्ने र चोर्ने बानी छुटेन । आमा र बुवाको नजरमा म कुलंघार, गोलीबाज र हुल्याहा थिएँ । यो विशेषण मेरो टाउकोमा सधैं झुन्डिरह्यो ।

एकदिन दिदीको खुत्रुके रित्तो भेटियो । घरमा हल्लाखल्ली भयो । हिसाब गर्दा ५ सय जति रहेछ खुत्रुकेमा । एउटा ५ रुप्पेको च्यातिएको नोटबाहेक त्यो खुत्रुकी सर्वांग नांगो थियो । भाइ सानो भएकोले उसलाई कसैले शंका गरेन, बाआमाले चोर्ने कुरा भएन, खुत्रुकी दिदीकै भइहाल्यो । अन्तिम शंका ममाथि आएर टक्क अडियो ।

“बसन्ते हृयाँ आ ।” आमाले चिच्याएर बोलाउनुभो । म लुरुलुरु गएँ ।

“यो भुर्कीको पैसा काँ हालिस्, खुरुक्क भन् नत्र तेरा हड्डी भाँच्छु ।” शरीरभरि काँडा उमि्रए, मुटु जोडजोडले धड्कियो ।

“मलाई के था, मुसाले लग्यो होला । ऊ त्यत्रो भ्वाङ छ त,” मैले बचाउ गरें, “पैसा लगे पनि त्यत्रो ५ सय लग्छु क्या हो मैले ? जहिले नि मलाई मात्रै देख्नी !” मैले निन्याउरो मुख लगाएँ ।

आमाले खुत्रुकीतिर हेर्नुभो, त्यसमा २ इन्चजत्रो भ्वाङ थियो ।

“त्याँ हेर्नुस् न, नोट पनि धुजाधुजा भा’छ, मुसाले नै टुक्रा पारेको हो,” मैले अझै जोड दिएँ ।

आमालाई पनि हो न हो मुसाले नै लगेको जस्तो लाग्यो ।

त्यो खुत्रुकेको पैसाले मैले ‘आँधीबेहरी’, ‘आँखें’, ‘दिल है बेताब’, ‘डर’, ‘बाजीगर’, ‘दामिनी’, ‘अनारी’, ‘गर्दिस’, ‘लुटेरे’, ‘खलनायक’ जस्ता हिट फिल्म भ्याइसकेको थिएँ । पैसा हराएपछि पहिलो निसाना मै बन्छु भन्ने पक्का थियो, मुसाले फुटाएजस्तो गरेर ५ रुप्पेको नोट धुजाधुजा पारेको थिएँ । आमा र दिदीले कहिल्यै भेउ पाएनन् । त्यसपछिका वर्षमा यस्ता दुईवटा अरु खुत्रुके फुटे, आमा र दिदीले मुसालाई सरापिरहे ।

०००

तर, ‘एक ही रास्ता’ लागेको दिन रमेश र मसँग पैसा थिएन । आमाले बिहानै भकुरेपछि ऊ भात पनि नखाएर स्कुल गएको थियो । फर्किंदा राप्ती हलमा बडेमानको पोस्टर देखेर छिर्न खोजेको रहेछ, गजवीरले कन्सिरी तानेर हुत्याइदिएछ ।

“ऐया, मार्‍यो कुकुर्नीको छोरोले,” हलभित्र अजय देवगनको सेकेन्ड फाइट चलिरहँदा रमेश एक्कासि चिच्यायो । एकमाथि अर्को खप्टिएर ढोकाबाट हेरिरहेका सबै हुत्तिए । रमेशभन्दा माथि अरु दुईजना थिए, त्यसपछि म । सबै उछुट्टिँदा म बुंग भुईंमा लडें ।

देब्रे आँखा छोपेर रमेश जोडले करायो, “तेरा बाउको के खाइदया छम् र माटो हाल्छस् ए भोषडी ? तँ पुर्ने त होस्, पख् न साले, आम्मापोइ छाड्दिनँ ।”

मेरो २ रुप्पेले एकजनाको पनि पूरा टिकट आउँदैनथ्यो । मलाई हाफटाइमपछि एक्लै आधा हेर्ने मन लागेन, त्यसैले सल्लाह गरेर दुवैजनाले चरबाट सुरुदेखि हेर्ने निधो गरेका थियौं । हलको उत्तरतिर नालीछेउमा रहेको ढोकाको ३ इन्चजति चरबाट हामीले यसैगरी लगभग ५० वटा फिलिम पूरै भ्याइसकेका थियौं । फाइट र गीतमात्रैको हिसाब गर्ने हो भने सयौं थियो । प्रत्येक सिन र डाइलग कण्ठ हुन्थे । चरबाट हेर्ने ठाउँ नभएको बेला त्यत्तिकै उभिएर हिरोसँगसँगै डाइलग बोल्थ्यौं ।

तर, हरेक पटकका हेराइ कष्टपूर्ण भए । एकमाथि अर्को खप्टिएर हेर्दा सबैभन्दा मुनि थिच्चिनेको हविगत हेर्नलायकको हुन्थ्यो । त्यसमाथि अर्को आतंक थियो- माटो । टिकट काटेर भित्र छिर्नेहरूले चरबाट हेर्नेको आँखामा माटो हाल्नु बहादुरी र गर्नैपर्ने नियमित रुटिनजस्तै थियो । सानो चरबाट आधा पर्दामा आधा सिन हेर्दा कतिखेर झ्याप्प आँखामा माटो पथ्र्यो र एकछिन संसार अँध्यारो हुन्थ्यो, वरिपरिका मान्छे धमिला देखिन्थे । त्यसपछि भयंकर र डरलाग्दा गालीको वर्षात् हुन्थ्यो । तर, जब टिकट किनेर छिर्थ्यौं, हामी पनि त्यसैगरी माटो हाल्दिन्थ्यौं र त्यस्तै डरलाग्दा गाली खान्थ्यौं ।

“कुक्कुरहरू !” रमेशले आँखा खोल्नै सकेको थिएन, एकजनाले नालीछेउ ड्रममा राखेको पानी ल्याएर छ्यापिदियो ।

“भो नकरा, त्यो पुर्नेलाई भोलि यै नालीमा पुर्नुपर्छ,” मैले ढाडस दिँदै भनें ।

“भोलि हैन, अहिले निस्किएला नि ३ बजे ! पख् न !” रमेशले पुर्नेलाई नछोड्ने अड्डी लियो । मलाई भने मनमनै डर लाग्यो । लडाइझगडा भनेपछि मेरा नौनाडी गल्छन्, त्यतिबेला पनि गल्यो । रमेश अलि हक्की स्वभावको थियो, कसैलाई कुट्नु परे हामी उसैलाई अघि सार्थ्यौं । तर, पुर्ने रमेशभन्दा उमेरले जेठो थियो, यो सम्झेर मेरो मुटु जोडले धड्कियो ।

देव्रे आँखा चिम्म गरेर दाहिने आँखाले मान्छे हेरिरहेको रमेशलाई देख्दा एकछिन काउकुती लाग्यो हाँसोले ।

“हाहा, तँ त अशोक होन्डा जस्तो देख्खिस् यार, कालै न कालो,” मैले खित्काउँदै भनें ।

“तँ पनि मर्लास् साले, हल्ला नगर धेरै ।” रमेशले थर्काएपछि कलेजो बटारिने गरी हाँसें । यस्तो हविगत मैले धेरैपटक भोगिसकेको थिएँ, रमेश यसैगरी हाँसेको थियो । हाँस्नेमात्रै होइन, उसले गाउँभरि मेरो बिल्ला गर्दिन्थ्यो ।

सोधें, “पुर्नेलाई पछार्लास् त तैंले ?”

“पछार्नेमात्रै हैन, सालेले आज बाउको बिहेमा पञ्चेबाजा बजाउँछ ।” मेरो हाँसो रोकिएन, रमेशले जोडले पर हुत्ताइदियो ।
३ बजे फिलिम छुट्यो । रमेशको शंका सही रहेछ, त्यो पुर्ने नै थियो ।

“ओए हरामी, किन माटो हालिस् ?” रमेशको देव्रे आँखा अझै धुम्म टालिएको थियो । फिलिम हेर्ने मान्छे पातलिसकेका थिए ।

“किसको हरामी भनिस् ? बढ्ता हुन्छस् ?” पुर्ने गर्जियो, “अँ मैले हालें माटो के गर्छस् ? अस्ति तैले नि त्यै खड्डाको माटो हालेथेनस् ?”

पुर्ने पुरनकुमार गुप्ता थियो, जसको बोलीमा हिन्दी लवज मिसिन्थ्यो । उमेरले जेठो भए पनि रमेशजत्तिको हक्की र ज्याद्रो थिएन । रमेशले सीधै थुतुनोमा मुड्की बजायो ।

मेरो सातोपुत्लो उड्यो । पुर्ने पनि भर्खर अजय देवगनको किक हेरेर निस्किएको थियो, त्यही जोसमा उसले पनि बजायो । एउटा आँखा लिएर युद्धमैदानमा उत्रिएको रमेशको देव्रे गाला पुक्क भयो ।

“साले कुकुर्नीको छोरो, भेली बेच्छु भनेर फुर्ती लाउँछस् ?” पुर्नेको घाँटी अठ्याएर रमेशले वर्गीय र क्षेत्रीय गाली गर्‍यो, “साले बिहारी भोषडी ।” पुर्ने लल्याकलुलुक भयो, अरु केटाहरूले छुट्टयाए । म भने डरले छेउ परिनँ ।

“मार्दिन्छु साले,” दुई जनाले समातेको हात उछिट्टयाउँदै रमेश चिच्यायो, “छाड साला, यसलाई आज कटुवा खोलामा लगेर पुर्दिन्छु ।”

पुर्ने केही बोलेन । रमेशले एक मुड्कीमात्रै खाएको थियो, पुर्नेका त मुखभरि निलडाम थिए । गजवीरले देखेछ, दौडिँदै आएर पुर्नेलाई तानेर लग्यो । कहिलेकाहीँ गजवीरलाई भेली र च्युरा ल्याइदिएर पुर्नेले उसलाई आफ्नो वशमा पारेको थियो ।

हाम्रो ‘एक ही रास्ता’को पहिलो सो छुट्यो ।

०००

बेलुकी रमेशको घरमा डड्याङडुडुङ सुनियो । आँखा बल्लबल्ल पाकेका टमाटरबाट काँचा टमाटर भएका थिए, गाला सुन्निएकै थियो ।

“यो कुकुर्नीको छोरोले मलाई सुखसँग बाँच्न दिएन, तेरी आमाले के छोरो पाई, थुक्क कुलंघार !” घैंटे दिदी चिच्याएको हाम्रो घरसम्म सुनियो । त्यसमाथि पार्वती पनि आमासँगै लागेर रमेशलाई भकुरी ।

“तँलाई तँलाई हरिया बाँसमा चुइँकाउनी, मैले के पुराएकी थिइनँ र यस्तो गुन्डागर्दी गर्ने भइस् ?” घैंटे दिदीको आवाज झन् चर्कियो, “दिमागमा गोबर छ, उल्टै हिरो पल्टिने तँ ? खै पार्वती दाम्लो ले, यसलाई बानेर खारखोली बगाएर आउँछु ।”

पार्वती दाम्लो लिन गई ।

“कुन जुनीमा यस्की आमाले छाडेर गै, सँगसँगै किन लइने त्यो जगल्टेनीले, हरे हरे…” घैंटे दिदी झन् चिच्याइनन् । दिउँसो गाला सुन्निएको रिस थियो, रमेश पनि जोडले तथानाम गाली गर्दै करायो र आमालाई हुत्याएर निस्क्यो । पार्वती उसको पछिपछि दौडी । रमेशले उसलाई पनि गालामा बजायो, ऊ रुँदै घर गई ।

रातिमा रमेशको जाने ठाउँ कहीँ थिएन, हाम्रै घरको पेटीमा आएर बस्यो ।

“ए बसन्ते, बसन्ते…” कानेखुसी गरेजसरी बोलायो । म सुटुक्क बाहिर आएँ । उसको गाला अझै सुन्निएको थियो, सुपाडीको डल्लो हालेजस्तो ।

“अलिति भात दे न, मस्तै भोक लाग्यो यार । बरु त्यो १२ रुप्पे दिनु पर्दैन, यसैमा सुल्ला गरेस्,” उसले मलाई तीनवटा फिलिम हेराएको १२ रुप्पे सम्झाएर हिसाबकिताब गर्‍यो । म एकछिन अवाक् भएँ, मन सुन्न भयो, केही बोलिनँ । बिस्तारै भित्र भान्सामा गएर एउटा डल्लो भात प्लास्टिकमा ल्याएर दिएँ, तरकारी थिएन । उसले कपाकप निस्तो भात खायो- मैले आफ्नो जिग्रीलाई एकडल्लो भात बेचें ।

०००

त्यसको ६ दिनपछि रमेश फेरि जोडले गाउँ थर्किने गरी चिच्यायो–
“ए बसन्ते !! गुमराह लाग्यो !!!”


(स्केचः रवीन सायमि | हिमाल )



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.