मकै | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

मकै





थापाथली चोक, अलि पल्तिर बडेमानको बागमती पुल र त्योभन्दा अझै पल्तिर कुपन्डोलको एउटा घरमाथि झुन्डिएको ‘कोही मिलगया’को पोस्टर । पुलमाथि घरि यता घरि उता गरिरहने रंगीबिरंगी सवारी र तिनमाथि कुदिरहेका असंख्य सपना ।

र, यता वल्तिर सडकछेउ तन हल्लाउने तन्दुरीको धुवाँ ।

अनि, अलि वल्तिर पट्पट् पड्किरहने मकै र झुम्म परिरहने मान्छेको भीड । त्यो भीड, जो हरेक मिनेटमा फेरिइरहन्थ्यो ।

यो लगातार तेस्रो दिन थियो ।

गोजीमा १० हजार लिएर काठमाडौं छिरेको भर्खरको १८ वर्षे किशोर त्यै मकैको भीडबाहिर रेलिङमा अडेस लागेर बसिरहृयो तीन दिनदेखि ।

“दिदी, नुनखुर्सानी पनि है,” मान्छेहरु भन्थे ।

अनि दायाँ हातले आगो हम्किरहने ती ओखलढुंगे दिदी पसिना पुछ्दै हरियो खुर्सानीसँग पिसेको नुन पोको पार्थिन्, मकैको खोस्टामा ।
म हेरिरहन्थें ।

– – –

रातभरि नाइटबसको घनघोर पीडापछि असार २० गते बिहानै कलंकी झारिदियो बसले । नाइट बसहरु मान्छे बोक्दैनन्, दसैंझैं खसीबोका बोक्छन् । र, म पनि रातभरि त्यही खसीबोका भएर उत्रिएँ कलंकी । साथमा थियो आइवाको वाकम्यान अनि गोजीमा एनरिके इग्लिसियासको ‘इस्केप’ र नवीन के भट्टराईको ‘समर्पण’ । अनि एउटा कलेक्सन, जसमा १९७४ एडीको ‘शताब्दी’ र सुगम पोखरेलको ‘शून्य भरिएका थिए ।

बुवाले फोन नम्बर दिनुभएको थियो विजयको पोस्टपेड । भर्खर मोबाइल युग छिर्दै गरेको काठमाडौं उत्रिएर पान पसलबाट त्यही पोस्टपेडमा फोन गरें ।

“ओहो लेलिन, आइपुग्यौ ? ल सीधै थापाथली आऊ अनि त्यहाँबाट प्रसूतिगृह हुँदै पुलिस बिटनेर आउँदै गर, म लिन आउँछु,” विजयले यसो भनिरहँदा मन हुरुक्क भो । सिंगो काठमाडौंमा मेरो सर्वस्व उनै थिए । उनकै सहारा र भरोसाले म सपनाको सहर छिरेको थिएँ ।

पुलिस बिटनेर उनी नीलो स्पोर्टी बाइकमा कुर्दै थिए मलाई । पछाडि बसालेर गल्ली हुँदै बुद्धनगर पुर्‍याए, सूर्य नेपालको अफिसछेउमै टाँसिएको घर । बहिनी उर्मिला र दुई जना गाउँले साथीसँग बस्दा रहेछन्- एकजना प्रकाश रायमाझी र अर्का शीतल केसी । प्रकाश हेर्दा हर्लक्क बढेका बक्सरजस्ता थिए । शीतल ठ्याक्कै राजेश हमालजस्ता । सुरुमा उनलाई देख्दा म साक्षात् राजेश हमालको अघिल्तिर उभिएको जस्तो लाग्यो ।

उनी टेलिसिरियलमा काम खोज्दै रहेछन् ।

कलाकारितामा जम्ने रहरले अर्घाखाँचीबाट सहर छिरेका शीतल र कोरिया जाने चक्करमा तयारी गर्दै गरेका प्रकाशको बीचमा म थपिएको थिएँ । र, मेरो पनि सपना थियो- कोरिया ।

••••••••

गोजीको १० हजार विजयलाई बुझाएँ, त्यसबाहेक मसँग १ हजार थियो । कोरिया जाने पहिलो एड्भान्स थियो त्यो पैसा । गोजीबाट निकालेर विजयलाई दिँदा मेरा हात काँपेका थिए । उनले थुक लगाउँदै गन्दै गरेको देख्दा मन एक तमासले अमिलो भयो ।

पैसा बुझाउँदा एकमन बुवालाई सम्झें- दाङको किराना पसलबाट कमाएर १० हजार पुर्‍याउन उहाँलाई कम्तीमा ४ महिना लाग्थ्यो । ‘युगबोध’को ३२ सय महिनावारी तलब जोड्ने हो भने पनि ३ महिना लाग्थ्यो । बुवाले कृषि विकास बैंकबाट निकालेर मलाई थमाउँदा उहाँको अनुहार हेर्न सकेको थिइनँ । अहिले पैसा बुझाउँदा विजयको मुख हेर्न सकिनँ । पछि थाहा पाएँ, बुवाले मलाई कोरिया पठाउन पाँचकोठे घर बन्धकी राख्नुभएछ ।

“तपाईं यहीँ बस्दै गर्नुस्, म पसलतिर लाग्छु । केही पर्‍यो भने फोन गर्नुहोला है पीसीओबाट ।”

विजय मलाई दुईजना अपरिचितसँग छाडेर नीलो बाइक कुदाउँदै हुइँकिए थापाथलीतिर, जहाँ उनको पीसीओ थियो । त्यही पीसीओमा फोन गर्न आउने एजेन्टहरुसँग हिमचिम बढेको थियो उनको । मुनड्रप्स ओभरसिजमा काम गर्ने दुई एजेन्टको भरमा उनले मलाई कोरिया पठाउँदै थिए ।

र, म कोरिया जाँदै थिएँ ।

तर, कोरिया जानुअघि म बुद्धनगरको एउटा सानो घरमा दुई अपरिचितसँग आमनेसामने थिएँ । को हुन्, के गर्छन्, कहाँका हुन् भन्ने सम्पूर्ण कुराबाट बिल्कुल बेखबर । र, सम्भवतः उनीहरु पनि मलाई अञ्जान पराई ठान्थे । परिचयमा थाहा पाएँ- ठ्याम्मै राजेश हमालजस्ता देखिने शीतल साँच्चिकै राजेशकै जस्तो कला सिक्दै थिए, प्रकाश कोरियाको तयारीमा थिए । उमेरले १८ वर्ष र ४५ किलोको ५ फुट ४ इन्चे फिस्टेलाई उनीहरु पत्याउँदैनथे । यस्तो तित्रोले कोरियामा के इँटा बोक्दो हो भनेझैं लाग्थ्यो । र, मलाई थाहा थियो- कोरियामा म इँटा बोक्न जाँदै थिइनँ । त्यहाँ गएर उद्योगमा प्रशिक्षार्थी बनी मजदुरी गर्नु थियो र पैसा सोहोरेर घर पठाउनु थियो ।

विजयकी बहिनी उर्मिलाले खाना पकाएर खुवाइन् । मैले अप्ठेरो मानेर खाएँ । त्यो मेरो घर थिएन, डेरा थिएन । अपरिचित अर्काको डेरामा गएर त्यसरी भात खाँदा ठूलो ग्लानीबोध भयो । यसरी कति दिन बस्नुपर्ने हो, ठेगान थिएन । कोरियाको टुंगो नलाग्दासम्म म यसैगरी खुम्चिएर बस्नु थियो- माने मान्, नमाने गणेशमान् । प्रकाश र शीतल होटलमा खान्थे । बिहानैदेखि मनमा कताकता डर लागिरहृयो- विजय आएनन् भने ?

••••••••

भर्खर मोबाइल युग स्वागत गरेको काठमाडौं इन्टरनेटसँग पनि बिस्तारै अभ्यस्त हुँदै थियो । दाङको ‘युगबोध’ पत्रिकामा नेपालगन्जको एसटीडी लाइनबाट आक्कलझुक्कल डायलअप इन्टरनेट चलाउँदा म बिस्तारै अम्मली बन्दै थिएँ । ठूलोबुवाको छोरो ठूल्दीपक (मेरो भाइको नाम पनि दीपक भएकोले उसलाई ठूल्दीपक भनेर बोलाउँछौं) इन्डिया सिलोङ बस्थ्यो र उसले याहु च्याटको रामकहानी सुनाउँदा म गजक्क पर्थें । संसारभरिका मान्छेसँग फेस टु फेस कुरा हुन्छ भन्ने सुन्दा म अनौठो परिकल्पनामा हराउँथें ।

“काठमाडौं गइस् भने याहुमा आएस्, वेब क्यामबाट कुरा गरौंला,” सिलोङ फर्किनुअघि ठूल्दीपकले आफ्नो आईडी टिपायो । ऊ र मबीच ७ महिनाको फरक थियो र हामी अति घनिष्ट थियौं- दाइभाइ भन्दा पनि साथीजस्तो । सिलोङबाट नेपाल भ्याकेसन आउँदा उसले मलाई कहिले एमएलटीआर र एन्रिकेका क्यासेट ल्याइदिन्थ्यो, कहिले सर्ट पाइन्ट । ऊ सिलोङ फर्किंदा म अघिल्लो रात रुन्थें । बिहानै बसपार्क छाड्न जाँदा ऊ पनि टिलपिल गथ्र्यो । हृत्विक रोशनको भयंकर फ्यान भएकोले उसले आईडी पनि राज अन्डरस्कोर रोशन राखेको थियो ।

र, म काठमाडौं गएर ऊसँग वेबक्याममा कुरा गर्नेवाला थिएँ ।

मलाई कोरियाको रन्कोभन्दा साइबर छिरेर ऊसँग बात मार्ने ठूलो अभिलाषा थियो । विजयको पीसीओदेखि ५० पाइला वर साइबर देख्दा मैले एकछिन संसार भुलेको थिएँ, नाम थियो ‘वल्र्डवाइड कम्युनिकेसन’ । छिरेर सोधें, “दाजु, घण्टाको कति हो ?”

उनले भित्तामा इसारा गरे, लेखिएको थियो, “प्रतिघण्टा ३० रुपैयाँ ।” हिसाब गरें- हजार रुपैयाँले म ३५ घण्टा साइबर बस्न सक्छु । बाटापारि ‘लग इन’ साइबर थियो, त्यसले २५ रुपैयाँ लिन्थ्यो, तर म त्यहाँ गइनँ । बाटो काट्दा ज्यान सिरिंग हुन्थ्यो ।

त्यतिबेला केटाहरु आफ्नो इमेल आईडीमा कतै न कतै लभ शब्द झुन्ड्याउँथे, मैले पनि झुन्ड्याएँ । सधैंजसो डायलअप चलाइरहेको बानी, फरफर पेज खुल्दा तमास लाग्थ्यो । जति छिटो पेज खुले पनि मेरो हितैषी कहिल्यै छिटो आएन । म घण्टौं कुरिरहन्थें, ऊ अबेर आउँथ्यो अनि सिलोङतिरका काण्ड सुनाउँथ्यो । मेघालयतिर नेपालीले पाएको दुःख दर्साउँथ्यो । छुट्टिने बेला सधैं भन्थ्यो, “हेर केटा, कोरियाबाट फर्किस् भने सिलोङ आउनपर्छ, हयाँ त गर्मीमा पनि सिरक ओढ्नपर्छ ।” गर्मी सहन नसक्ने म सिलोङको ह्याप्पी भ्याली वरिपरि टहलिन्थें कल्पनामा ।

त्यो साइबरमा एउटामात्रै वेबक्याम थियो, साहुजीकै कम्प्युटरमा । साहुजीले बस्नुअघि भनेका थिए, “यो कम्प्युटरमा बस्यौ भने घण्टाको ५० रुप्पे लाग्छ, क्यामरासहित ।” मलाई पैसाको वास्ता थिएन, ठूल्दीपकसँग कुरा गर्न पाए पुग्छ । र, म हरेक दिन ऊसँग कुरा गर्थें ।

चाहना बढ्दै थियो, गोजी रित्तिँदै थियो । हरेक दिन साइबर जान्थें, कम्तीमा २ घण्टा बस्थें । याहु च्याटका थुप्रै ग्रुपभित्र पस्थें र साथी बनाउँथें । जीवनमा कहिल्यै कल्पना गर्न नसक्ने र भेट्न नसक्ने मान्छे अनलाइन आउँथे, जान्थे । कोही बिहानदेखि रातिसम्म अनलाइन देखिन्थे । सोच्थें- कति अनलाइन बसेका ? टेलिफोन बिल कति उठ्दो हो !

मलाई थाहा थिएन- उनीहरु ब्रोडब्यान्ड इन्टरनेट चलाउँथे, हामी डायलअपमा रमाउँथ्यौं । कतिले च्याटमा सुरुमै ‘एएसएल’ भनेर सोध्थे, म उत्तर दिन नसकेर जिल्लिन्थें ।
एकदिन ठूल्दीपकलाई सोधें, “ओए, एएसएल भनेको के हो ? एउटीले सोधेर हैरान पारी ।”

उसले एलओएल लेख्दै लामो हाँसो हाँस्यो र भन्यो, “एज, सेक्स, लोक्यालिटी ।”

उत्तर थाहा पाएर लाजले भुतुक्क भएँ । यत्ति पनि नजानेको, थुक्क !

त्यसपछि अनलाइन आउने हरेकलाई सुरुमै सोध्थें, “एएसएल प्लिज !”

“२०, एफ, फिलिपिन्स !”

यस्तो उत्तर आउनेबित्तिकै म हत्त न पत्त एड गर्थें ।

एकछिन खितिति हाँस्थे, रमाउँथें । ङिच्च हाँस्दै साइबरबाट बाहिर निस्किँदा फेरि लल्याकलुलुक हुन्थें । कारण– बेलुकी विजय कोठामा आउने/नआउने ठेगान हुँदैनथ्यो । ऊ आए म कोठामा भात खान पाउँथें, नआए प्रकाश र शीतलको पछिपछि लागेर होटल जानुपथ्र्यो । उर्मिला एक्लै हुँदा पनि म भात पकाइदेऊ भन्न सक्दिनथें, नभन्दासम्म उनले पकाउँदिनथिन् । छैटौं दिनपछि गोजी सम्पूर्ण रित्तियो । खाली गोजीसँगै मनका रहर उत्पात बढ्दै गए । भोक बढ्दै गयो, शरीर घट्दै गयो । दुःख पर्दा मान्छे ‘भगवान’ सम्झिन्छन्, म बा-आमाको अनुहार सम्झन्थें । कुनै समय बा-आमाले यस्तै दुःखमा मलाई हुर्काएथे ।

••••••••

प्रकाश र शीतलको कोठामा कुनै क्षण मन रमाउन सकेन । उनीहरुका अनेक साथी आउँथे, अट्टहास गर्थे, जिस्किन्थे । म निर्धो बनेर उनीहरुका गफ सुन्थें । हाँस्नुपर्ने ठाउँमा फिस्स हाँस्दिन्थें । घरायसी दुःखका कुरा सुनाउँदा पीर मानेजस्तो गर्दिन्थें । म यो कोठा छिरेको सातौं दिन त्यहाँ अरु दुईजना पाहुना थपिए- एक विजयकै भिनाजु, अर्का दुर्गा बञ्जाडे । दुर्गा अर्घाखाँचीमा छोरी र श्रीमती छोडेर दुबई जान हिँडेका थिए, भिनाजु पनि मजस्तै कोरिया सपना बोकेर । उनीहरुबीच प्रायः कलब्रेक चल्थ्यो, म जान्दिनथें, हेरिरहन्थें । कहिलेकाहीँ दैला मार चल्थ्यो, अनि म रमाउँथें ।

एकाएक वाकम्यान हरायो । राति ब्यागभित्र राखेको वाकम्यान बिहान उठ्दा थिएन । आफ्नो सबैभन्दा पि्रय साथी हराउँदा मन एक तमासले गाँठो पर्‍यो । वरिपरिको संसार अँध्यारो लाग्यो । सबै चोर र गुण्डाजस्ता लागे । त्यो वाकम्यान फगत सोह्रसयको क्यासेट घुमाउने भाँडोमात्र थिएन, मलाई कहिल्यै एक्लो हुन नदिने अभिन्न संगी थियो ।

त्यो कोठामा आउने सबैले दुःखमनाउ गरे । म जसको अनुहार देख्थें, उसैलाई चोर ठान्थें । शीतलमाथि कहिल्यै शंका गरिनँ, उनी डिसेन्ट मान्छे थिए । बीपी कोइरालाको शत्रू कथा सम्झिएँ । लाग्यो- मेरो सर्वस्वहरण भयो र सहरका हरेक मान्छे मलाई लुट्न उद्यत छन् । उदास मन त्यसपछि कतिखेरै फुरुंग भएन ।

“कस्तो टेन्सन यार, विचरा !” प्रकाशले भने ।

“थापाथलीतिरै छाड्नुभो कि ?” विजयका भिनाजुले भने ।

“कसैले जिस्काएर लुकाइदिएको होला, भेटिन्छ बेल्कीसम्म, नआत्तिनुस्,” दुर्गाले भने । उनले भने ठूलो आशा जगाइदिए । विजयले बिहानै लिएर हिँडेका पनि हुन सक्छन् भन्ने लाग्यो । पीसीओबाट फोन गरें । लगेका रहेनछन् । यो आशा पनि मर्‍यो ।

अन्तमुर्खी स्वभाव हुनु पनि कहिलेकाहीँ दुःखको भरपर्दो कारण बनिदिन्छ । म कसैसँग खास बोल्दिनथें । एकदिनमा २० रुप्पे जोडी ब्याट्री किनेर हरेक क्षण वाकम्यानमा रमाउँथें । सुगम पोखरेलको ‘शून्य’ले भर्खर सहर पिटेको थियो । म कतिखेर एफएममा तिनै गीत सुन्थें, कतिखेर एनरिकेको इस्केप बजाउँथें । ‘कान्तिपुर’ एफएमले ‘हरपलको साथी’ भनेर सम्भवतः मलाई नै भनेको झैं लाग्थ्यो ।
र, त्यही वाकम्यान हरायो । मेरो एकमात्र सहारा मसँग थिएन । अब यो सहरमा मेरो मबाहेक कोही आफ्नो थिएन ।

••••••••

पोस्टपेड बोकेर नीलो स्पोर्टी बाइक चढ्ने विजय आक्कल-झुक्कल देखिन्थे । शीतल र प्रकाशलाई मेरो ख्याल राख्न अरनपरन गर्थे र फेरि बेपत्ता हुन्थे । म बुझ्थें- उनीहरु दुवै विजयदेखि खुसी थिएनन् । विदेश पुर्‍याउनेजति सबैलाई उनले त्यही कोठामा ल्याएर छाड्दिन्थे अनि आफू थापाथलीको पञ्जाबी तन्दुरीमा बसेर कुखुराका सपेटा लुछ्थे । म धेरै पटक त्यो तन्दुरी पसलबाहिर शिशाबाट विजयलाई हेरिरहन्थें । उनी निस्कने बेला खुरुरु दौडिएर चोकमा आउँथें, जहाँ ओखलढुंगाकी दिदी मकै पोलिरहेकी हुन्थिन् ।

शीतल अलि फरक थिए- गम्भीर र बुझक्की जस्ता । अभिनय सिकेर जीवनमा केही गर्ने अठोट बोकेर रंगमञ्च छिरेका शीतल र ममा त्यतिखेर एउटा समानता थियो- हामी दुवैजना इलमबेगरका बेरोजगार थियौं । अरु तीनै जनासँग पैसा आउने बाटो थियो । हामीसँग थापाथली-बुद्धनगरको निष्पट र उराठ बाटोमात्र थियो, पैसा थिएन । र, बिस्तारै शीतल पनि रित्तिँदै गए । टेलिसिरियलले दिने पैसाको टुंगो नहुने र धेरैजसो ट्याक्सीकै यात्रा हुने भएकाले उनी क्रमशः रित्तिदै थिए । मेरो गोजी उनीभन्दा अघि नै साइबरले रित्याइसकेको थियो ।

त्यो कोठामा बस्ने हरेक पात्रले हामी दुईको खाली गोजी छामिसकेका थिए । बेलुकी हुँदा सबै आ-आफ्नो काम देखाएर अस्ताउँथे, अबेर १० बजेतिर कोठा छिर्थे । कोठामा शीतल र ममात्रै हुन्थ्यौं ।
अब, हामीसँग भात खाने पैसा थिएन । शीतल मेरो मुख हेर्थे, म उनको । सिरानीमुनि, दराज सबैतिर टक्टक्याउँथे, पैसा झर्दैनथ्यो । थाहा थियो र पनि उनी बारम्बार सिरानी टक्टक्याइरहन्थे ।
“जाऊँ हिँड्नुस् थापाथलीतिर, कोही भेटिन्छन् कि ?”

कोही- यानेकि विजय वा प्रकाश । शीतल उमेरले मभन्दा ठूला थिए, तैपनि मलाई तपाईं भनेर सम्बोधन गर्थे । म पत्रिकामा काम गर्छु भनेर होला, उनी सम्मान गर्थे । मलाई अप्ठ्यारो लाग्थ्यो ।
म आएको आठौं दिनभित्र विजयले अर्घाखाँचीकै आफन्तलाई पीसीओ बेचिसकेछन् । विजय भेटिने अन्तिम गन्तव्य त्यही पीसीओ थियो, अब रहेन । मुनड्रप्स ओभरसिजको अघोषित एजेन्ट बनेदेखि विजयको रवैया एकाएक फेरिएको थियो । नीलो स्पोर्टी बाइक चढेर बिहान निस्किने विजय आउने/नआउने पत्तो हुँदैनथ्यो ।

र, यहीबीचमा बहिनी उर्मिलाको बिहे भयो । कहिलेकाहीँ आक्कलझुक्कल बोलाएर भात खुवाउँथिन्, अब त्यो आशा पनि रहेन । घर फोन गरेर दुःख बिसाउन सक्दिनथें । मैले पैसा छ भनेर बुवालाई ढुक्क पारेको थिएँ ।

“एउटा उपाय छ, जाऊँ कोठा फर्किऊँ ।” शीतलले ‘उपाय’ भनेपछि मन एकाएक पुलकित भयो । लाग्यो- भात खान पाइने भो । तर, त्यो उपाय के हो, थाहा थिएन ।
खाटमुनि गत्तामा प्याक गरेर राखिएको राइस कुकर निकाले । अर्घाखाँचीबाट आउँदा चामलको बोरा र राइस कुकुर सँगै ल्याएका रहेछन् । भात त पाक्यो तर तरकारी र दाल थिएन । उनले अदुवा निकाले, पखालेर खुर्किए । पत्रिका च्यातेर नुन राखे ।

“लौ भातसँग टोक्नुस् अनि पानी खानुस् ।”

उनले पनि त्यसै गरे । जीवनमा पहिलो पटक अदुवासँग भात निलिरहेको थिएँ । झल्झली बा, आमा, भाइ, दिदी सम्झिएँ । मन भरियो । भात छाडेर बाथरुम गएँ ।
बाहिर आउँदा शीतल पनि उस्तै भरिएका थिए ।

“यस्तै हो लेलिनजी, कस्ताकस्ता दुःख आइपर्छन्, ठेगान लगाउँदै जानुपर्छ ।”

निस्तो भात न उनले खान सके, न मैले । भोक सुनेको थिएँ, अहिले भोग्दै थिएँ । घरमा हुँदा हरेक थोक तरकारी रोज्थें । मुडअनुसार कहिले घिरौला मन पर्दैनथ्यो, कहिले लौका । भान्टा र फर्सीसँग त मानौं जन्मजात दुश्मनी थियो । सम्झेदेखि घ्युको गन्ध वाकवाकी लाग्ने थियो । सोयाबिन, चिचिण्डा देख्दा अनुहार चाउरी पथ्र्यो रिसले । आमा भन्थिन्, “अन्नले सराप्छ हेर केटा, त्यसो नगर ।” म भन्थें, “सरापे सरापोस्, मनै लाग्दैन त के खानु ?”

अहिले अदुवा टोक्न पाउनु पनि मेरा लागि कैयन् गुणा ठूलो उपलब्धि थियो ।

दुई हप्तासम्म यस्तै चलिरहृयो । म ८-१० गासभन्दा बढी खान सक्दिनथें । खाली पेट लिएर हिँड्दा कतिखेर बुंग ढल्छुजस्तो हुन्थ्यो । प्रसूति गृहको छेउ हिँड्दा देख्थें- मान्छेहरु होटलमा गजधम्म बसेर भात खाइरहेका हुन्थे, होटलवाला कान्छो पराँतभरि भात ल्याएर थपिरहेको हुन्थ्यो ।

••••••••

यसरी कति दिन बस्ने हो, टुंगो थिएन । विजयले एक हप्ताजतिमा कोरियाको प्रोसेस सकिन्छ भनेर बोलाएको थियो । मुनड्रप्सका मालिक पुकार राणासँग आफ्नो कुराकानी भइसकेकाले एक हप्तामा जसरी पनि टुंगो लाग्छ भनेर उसले विश्वास दिलाएको थियो । तर, त्यतिबेला घनघोर अचम्म परें, जतिबेला अन्तर्वार्ता भनेर अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्र पुर्‍यायो । मान्छेको यति लामो लाइन यसअघि जीवनमा कहिल्यै देखेको थिइनँ । हजारौं लेनिन लामबद्ध थिए त्यहाँ । कोही परिवार छाडेर आएका थिए, कोही पढाइ छाडेर । देशका हरेक कुनाबाट मान्छे यसरी ओइरिएका थिए कि मानौं- कोरिया पुगेपछि उनीहरु संसारका हरेक दुःख बिर्सन्छन् र नयाँ जीवन सुरु गर्छन् । त्यत्रा मान्छेको भीडमा म नाथे कसरी छानिनु ?

विजय भन्थ्यो, “अन्तर्वार्ता त देखावटीमात्रै हो, पुकार दाइसँग कुरा भइसकेको छ । नाम ननिस्किए पनि तपाईं स्योर जान पाउनुहुन्छ ।”

म गजक्क पर्थें र सपना बुन्थें- कोरिया गएर लखपति बनेर फर्किन्छु र घर ठड्याउँछु । दाङमै एउटा पत्रिका खोल्छु र सुखीसँग बाँच्छु ।

तर, हरेक दिनको छाक टार्न मलाई महाभारत थियो । अदुवासँग निस्तो भात खाँदा मनमा हुन्डरी चल्थ्यो । चटक्कै छाडेर घर फर्किन सक्दिनथें, विजयलाई १० हजार बुझाइसकेको थिएँ । म फर्किनु भन्नुको अर्थ त्यो पैसा डुबाउनु थियो । र, म भोकै छु, पैसा पठाइदिनुस् भन्न पनि सक्दिनथें घरमा । कारण- १ हजार पठाउन बुवालाई किराना पसलमा २० हजारको व्यापार गर्नुपथ्र्यो । सोच्दा मन अमिलो हुन्थ्यो ।

बुद्धनगरको एकान्तबाट थापाथली चोक पुग्दा मन एकछिन खुसीले हुरुक्क हुन्थ्यो । सयौं मान्छे यताउति गर्थे, गाडी चल्थे, कुरा सुनिन्थ्यो, बुझिन्थ्यो । साइबरको बाहिर पेटीमा बस्थें । भित्र कम्प्युटरमा बसेर एमएसएन, र याहुमा च्याट गरेको र खत्तम डट कमबाट इकार्ड पठाएको हेर्थें । भित्र जाऊँजाऊँ हुन्थ्यो । साइबरभित्र छिर्नु कोरिया जानुभन्दा ठूलो पहाड लाग्थ्यो । ३० रुप्पे भए त एक घण्टा चलाउँथें । तर, त्यही ३० रुप्पेले हाफ खाना पनि आउँथ्यो ।

त्यही साइबरको छेवैमा ओखलढुंगाकी दिदी मकै पोल्थिन् । म रेलिङमा अडेस लागेर हेरिरहन्थें । हरेक थरीका मान्छे आउँथे, ५ रुप्पे तिरेर मकै लान्थे । भोकले रन्थनिएको शरीर भन्थ्यो- मकै टप्प टिपेर भागूँ । सक्दिनथें ।

दिदी घरिघरि मलाई पुलुक्क हेर्थिन्, म मुसुक्क हाँस्थें । गोजी छाम्थें- विजयको पोस्टपेड नम्बरबाहेक अर्थोक केही भेट्थिनँ । धेरै दिन, हप्ता एकछाके, निस्ते भइरहँदा हरेक पल म बा सम्भिmन्थें । उनले मलाई यसैगरी भोकै बस्नसक्ने लायक बनाएका थिए ।

३ बजेको टन्टलापुर घाममा छाता ओढेर दिदी खुला पसल खोल्थिन् । चिर्पटमा आगो झोस्थिन्, दायाँ हातले हम्किन्थिन् । हुरर्र आगो बल्थ्यो, उनी कोइला थप्थिन् । जुटको बोराभरि हरिया घोंगा मकै हुन्थे, उनी निकालेर फलामको पराँतमाथि चाङ लगाउँथिन् । घाम अस्ताउँदै जान्थ्यो, मान्छे थपिँदै जान्थे । कोही अलि पर गाडी रोकेर मकै लिन आउँथे, कोही साइकल चढ्नेहरु । अलि पल्तिरको तन्दुरी होटलबाट पुत्ताउँदै धुवा आउँथ्यो । साला धुवाँ पनि कति मीठो ! मन एकतमासले हरहर हुन्थ्यो । सोच्थें- विजय त्यहीँ छ कि ? बिस्तारै शिशाबाहिरबाट हेर्थें । नदेखेपछि त्यही मकैछेउ जान्थें । मकैको बासनाले खुट्टादेखि टाउकोसम्म छुन्थ्यो ।

ती दिदीका पनि सहरमा कोही थिएनन्- एउटा ८ वर्षे छोरोबाहेक । ओखलढुंगाबाट सहर पसेदेखि उनले मकै बेच्न थालेकी थिइन् र त्यसैले जेनतेन छोरो पढाउँथिन् । लोग्नेले कान्छी भित्र्याएपछि छोरो टिपेर काठमान्डू छिरेकी ती दिदी पनि बुद्धनगर र थापाथलीको बीच गल्लीमा बस्थिन् । हरेक दिन छेउको रेलिङमा अडेस लागेर एकतमासले हेरिराख्ने किशोरलाई देखेर उनी के सोच्थिन्, म बुझ्थिनँ । तर कताकता उनी मप्रति दयाभाव राख्थिन् । मान्छेको भीड नहुँदा उनी मसँग कुरा गर्न खोजेजस्तो गर्थिन्, म तर्किन खोज्थें ।
उनलाई देखेर आमा सम्झन्थें अनि विजयले बेचेको पीसीओ गएर फोन गर्थें उधारो । “घाइँली, सञ्चै छिउ ? दुई किलो चामल जोख्देऊ न” भनेर जिस्काउँथें, आमा सुँक्कसुँक्क गर्थिन् अनि म भक्कानिन्थें । पिलपिल गर्दै ‘कोरिया गइस् भने यसो गरेस्, उसो गरेस्, यस्तो खाएस्, उस्तो नखाएस्’ भन्थिन् । मैले हुन्छ भन्थें । एकछिन अडिन्थिन्, म यताबाट हेलो~~~हेलो~~~ भन्थें । “हयैं छु के, कति चिच्याउँछ,” भन्थिन् । सन्तानको मायाले उनी जति कमजोर हुन्थिन्, म उनीभन्दा कैयन् गुणा गल्थें । हरेक पटकको फोनमा उनी कम बोल्थिन्, बढी सुक्सुकाउँथिन् ।

अनि म कहिलेकाहीँ जिस्क्याउँथें, “नरोऊ बुढी नरोऊ, कोर्याबाट उज्याली ब्वारी ल्याइदिम्ला, तिम्ले उपरखुट्टी लाएर कजाउनू ।”

एकछिन सासै अड्किनेजसरी हाँस्थिन्, “काले, कुइरेनी ल्याइस् भने आङ्नाँ (आँगनमा) टेक्न दिन्न, हुइँ (उतै) घरज्वाइँ बसेस् ।”

मेरो मुखमा तात्तातो उत्तर हुन्थ्यो, “हरिजी (बुवा)सँग हनिमुन आउनू, झल्झली बल्ने ब्वारी लेर जानू । परेको बेहोर्ने छोरो छँदैछ ।”

लामो हाँस्थिन् अनि फोन राख्ने बेला फेरि सुँक्सुकाउँथिन् ।

छोराछोरीको वियोगमा मन खोलेर आँसु बगाउँछन् र त उनीहरु आमा हुन्छन् । सोच्थें- मेरी आमाजस्तो संसारमै कोही छैन ।

र, लगातार तीन दिन देखेपछि ती दिदीले सोधिन्, मैले सबै भनें । एकछिन चुक्चुकाइन् ।

“अनि घर गए त भयो नि ! दुःख पाउन किन बसिरहनु यो ठाउँमा ?” उनले भनिन् ।

मैले बाध्यता सुनाएँ, “कोरियाको भिसा नलिएर जान्नँ ।”

“कहिले लाग्छ नि भिसा ? हेर है बाबु, यो विदेशको चक्करमा पैसा नफसाउनू ।”

‘नफसाउनू’ भन्ने शब्दले एकफेर घोच्यो । साँच्चै विजयले पैसा लिएर पनि मलाई कोरिया पठाएन भने ? यसो सम्भिmयो कि फत्रक्क गल्थें । खुट्टा चिसा हुन्थे । सूर्यले झन्झन् पोल्थ्यो । मैले बीए पहिलो वर्षको पढाइ लात हानेर कोरिया यात्रा सुरु गरेको थिएँ । कोरिया पनि गइनँ र जाँच पनि दिइनँ भने के गर्ने ? मुटु जोडले धड्किन्थ्यो ।

“किन फस्नु र ! त्यो मान्छे त बुवाको जिग्री साथीको छोरा हो । उसले ठग्यो भने त सीधै बाउलाई समाउने हो नि !” मैले ढुक्क हुँदै भनें ।

“तैपनि बाबु, पैसाको कुरामा कोही आफ्नो हुन्न ।” अनुभवले खारिएझैं कुरा गर्थिन् । घरिघरि आइरहने ग्राहकलाई मकै दिँदै पन्छाउँदै गर्थिन् । म टुसुक्क बसेर हेरिराख्थें । त्यो एउटा घोंगा मकै यता सरे पनि हुन्थ्यो नि भन्ने लाग्थ्यो । न मकै सर्थ्यो, न कोही आएर किन्दिन्थे । मसँग पैसा छैन भन्ने भेउ दिदीले पाइसकेकी थिइन् क्यार, बेलुकी अँध्यारो हुने बेला एउटा घोंगो मकै दिइन्, “लेऊ, पैसा भयो भने दिनू, नभए पर्दैन ।”

मन भरिएर आयो । के गरुँ, कसो गरुँ भयो । जीवनमा त्यसरी अरुले ‘दया’ले दिएको कहिल्यै खाएको थिइनँ । आफूलाई सडकमा घसि्रदै हिँड्ने माग्नेजस्तो लाग्यो एकफेर । त्यस्ता माग्ने, जसलाई हामी टाढैबाट अन्न वा पैसा दिएर पन्छाउँथ्यौं । र, मैले बुझें- मान्छे रहरले माग्दैन । समयको तिखा नंग्राले चिथोर्छ र नांगेझार पारेर माग्ने बनाउँछ ।

र, ती दिदी एकाएक ठूलो सहारा र छहारी बनिन् । गरिबीको न्यूनतम रेखाभन्दा कैयन् धेरै तल फेंदीमा रहेकी दिदीले मलाई एउटा मकैमा किनन् । म सर्वस्व बेचिएँ । लाग्यो- मेरी आमाले पुल्पुल्याउँदै मलाई थालमा खाना पस्केकी छन् र म लाडे पल्टिँदै कुपुकुपु खाइरहेको छु ।

सारंगीजस्तो भोको खोस्टो शरीरले आगोमा पोलेका मकैको गन्ध यसरी सोस्यो कि मानौं- मकै जीवनकै सर्वाधिक ठूलो लालसा र आशक्ति बनिदियो ।

खाली गोजीले जीवनमा धेरै पाठ सिकाउँछन् । र, मलाई गर्व थियो- दुई महिनामा मैले त्यस्ता कैयन् धेरै पाठ सिकेको थिएँ ।

अनि म कहिल्यै कोरिया गइनँ ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.