पसिनाले निथ्रुक्क अनुहार पुछ्दै दुई रुपैयाँको ढ्याक टप्प टिपेर भन्यो, ‘बाबा, भूकम्पलाई दिनुस् न।’
एकमन लाग्यो— त्यो ढ्याक जोडले झ्यालबाहिर फ्याँकेर भूकम्पलाई कतै टाढा पठाइदिऊँ। छोरोलाई हम्मेसी लाग्यो— भूकम्प बाटामा माग्दै हिँड्ने हर्क्युलिसजस्तै अजंगको कुनै मगन्ते हो। र, दुई रुपैयाँको ढ्याक दिएपछि ऊ लुसुक्क आफ्नो बाटो लाग्छ। या उसले ढोकाको कोप्चेरोमा ठड्याएर राख्ने लठ्ठीले हिर्काएपछि भूकम्प अलप हुन्छ।
ममा त्यही दुई रुपैयाँको ढ्याक उठाउन सक्ने ताकत थिएन। सायद उसले पहिलोपटक बाउलाई यति कमजोर र निरीह देख्दै थियो।
त्यो ३० सेकेन्डजतिको कम्पन सकिँदा कोठाभित्र कैद हामी पाँच जना एउटा सिंगो जुनी बाँचेर सास फेर्दै थियौं।
वरपर मान्छे चिच्याउँदै कतै दौडिँदै थिए। डरले चाउरिएको भाइ (दीपक) झ्यालमा बसेर बाहिर हेर्दै हामीलाई भन्दै थियो, ‘अब ठूलो आउन्न, केही हुन्न नडराउनुस्।’
भूगर्भशास्त्र पढेको भाइले यति भन्दा कोठाभित्रका हामी पाँच जनाको अनुहारमा अचम्मको कान्ति छायो। अगाडि घरको पर्खाल सडकमै लम्पसार परेको थियो।
‘अलिअलि झट्का आउँछन् तर यत्रो आउन्न,’ ऊ भन्दै थियो, ‘आत्तिएर बाहिर निस्किनु हुन्न, झन् डर हुन्छ।’
बूढीले दुई–तीन वटा सिरानी लिएर छोरो र मेरो टाउकोमाथि राखी। उसका हात भूकम्पभन्दा बढ्दा काँपिरहेका थिए। पलङमा बसिरहेकी सासू आत्तिएर भन्दै थिइन्, ‘के हुन लाग्यो के नानु यस्तो?’
सान्त्वना दिँदै भाइ भन्दै थियो, ‘नडराउनुस् अब, आउनुपर्ने आइसक्यो।’
वरपर गाइँगुइँ चल्दै थियो, दराजबाट अर्को खुत्रुके भ्यात्त खसेर भुइँमा बजारियो। र, सँगै ठिंग उभिएका हामी हल्लिएर अचानक थ्याच्च बस्यौं। लाग्यो— सायद जीवनले आजै यहीँ विश्राम लिँदै छ। पाँचै जना हतास भएर कक्रक्क पर्यौं कुनामा। यस्तो जबर्जस्त कम्पन हामी पाँचमध्ये कसैले कहिल्यै न भोगेको थियो, न कतै कल्पना गरेको थियो। आफू बसेको दुई वर्षमा यो घरको यति माया कहिल्यै लागेको थिएन।
डरले सबैभन्दा अठ्याएको थियो— छोरोलाई। बिठ्याइँ गर्दा ‘भूकम्पले लैजाला है’ भन्न थालेदेखि उसमा भूकम्पप्रति अत्यासलाग्दो डर बसेको थियो। न हामीले उसलाई बुझ्यौं, न उसले हामीलाई बुझायो। आज आफ्नै घर फनफनी घुम्दा हामीभन्दा जोडले ऊ डराउनुमा सायद यही मनोविज्ञानले डोर्याएको थियो। र, मर्नुभन्दा बढी उसलाई भुइँभरि छरिएका सिक्काले जिस्काइरहेका थिए।
यो त्यस्तो शनिबार थियो, जुन उसको जीवनमा सर्वाधिक शान्त र अस्थिर दुवै थियो।
दोस्रो झट्काले सिंगो सहर हल्लाइसकेपछि वरपरका मान्छे बिस्तारै घरबाहिर निस्किएको देख्यौं। झ्यालभित्रबाट भाइ चिच्याएर भन्दै थियो, ‘ननिस्किनुस् अहिले, घर भत्केर लाग्ला !’
उसले बोलिनसक्दै छेवैको घरबाट ११ दिनकी सुत्केरी बच्चा च्यापेर दौडिइन्। र, उनीसँगै पछि लागे अरू मान्छे। छेउका सग्ला घर सग्लै थिए तर मन सग्ला थिएनन् कसैका। मनका अनेक कुनामा चिर्का परेको थियो, कति चर्किएका थिए, कति चर्किंदै थिए।
कोठाभित्रका हामी पाँच जनाका खुट्टाले भुइँ टेक्न सकेका थिएनन्, अझैसम्म। कम्पन त आएर गयो, मनको कम्पनले झनै जोडले हल्लायो।
अनि चौथो तलाबाट घरबेटी लुसुक्क फेदको हाम्रो कोठाबाहिर झुल्किए। उनीसँगै क्रमशः हरेक तलाबाट झर्नेहरू हाम्रै कोठाबाहिर गुचुमुच्च परे।
‘यहाँ बस्नु ठीक हुन्न, जाऊँ बाहिर,’ भिडबाट कोही बोल्यो। डरले म कान नसुन्ने भइसकेको थिएँ, मान्छे ठम्याउन सकेको थिइनँ।
छोरोलाई च्याप्प समातेँ र छातीमा टाँसेँ। वरपरका धेरैजसो मान्छे त्यसैगरी केटाकेटी च्यापेर दौडिँदै थिए। वयस्कहरूको अनुहामा देखिने अत्यास स्वाभाविक हो, केटाकेटीमा त्यस्तो कुन मनोविज्ञान हुन्छ, जसले उनीहरूलाई भूकम्पको डरले कक्रक्क पार्छ, मैले बुझ्न सकिनँ। मृत्यु र जीवनप्रति उनीहरूमा कति छिट्टै चेतना जागिसक्दो रहेछ! लाग्यो— जीजिविषा मान्छेको जन्मसँगै जन्मिन्छ र मान्छेसँगै वयस्क हुँदै जान्छ!
त्यही जीजिविषाले डोर्याँएर हामीलाई खुला चौरमा पुर्यायो, जहाँ मैले चिनेका र यसअघि कहिल्यै नदेखेका मान्छे पसिनाले निथ्रुक्क भएर झोक्राइरहेका थिए। अनि देखेँ— घर हुने साहु र घर नहुने हामी डेरावाला एउटै चौरमा, एउटै धरातलमा आमनेसामने थियौं।
बिस्तारै–बिस्तारै खबर सुनिन थाले। टि्वटरमा अनेकथरी अपडेट आइरहेका थिए। नेटवर्कमा ओभरलोड भएको थियो, घरमा फोन लाग्न सम्भव थिएन। यस्तोमा एसएमएस पठाउनुपर्छ भन्ने बुझेको थिएँ तर मेरो बुवा एसएमएस खोलेर हेर्न सक्नुहुन्न। टिभी, रेडियोमा ब्रेकिङ न्युज आउँदा सवा चार सय किलोमिटर पर बस्ने बुवाआमाको मन कति भाँचियो होला! र, जसोतसो घरमा खबर पुग्यो— हामी सकुशल छौं तर धरहरा भाँच्चियो!
छोरो दुई हातले आँखा छोपेर डेढ घन्टासम्म आमाको छातीमा टाँसियो। त्यसमाथि सल ओढेको थियो।
‘भूकम्प आएर गइसक्यो, आँखा खोल त,’ मैले सामान्य बोलीमा भनेँ, ‘लात्ताले हानेर भगाइदिएँ।’
उसले देब्रे आँखा खोलेर मतिर हेर्यो । पसिनाले उसको अनुहार लपक्कै भिजेको थियो। पत्याएन। फेरि हातले आँखा छोपेर छातीमै टाँसियो। उसकै उमेरका अरू केटाकेटी कोही आमाको काखमा लुटपुटिएका थिए, कोही चौरमा खेल्दै थिए।
रेडियोमा भूगर्भविद्को बाइट सुन्यौं, ‘आफ्टरसकहरू आइरहन सक्छन्, त्यसैले खुला ठाउँमा बसौं, घरभित्र नछिरौं।’
त्यो ‘आइरहन सक्छन्’ भन्ने कुराले मनमा अर्को कम्पन ल्यायो— कहिलेसम्म?
भूगर्भशास्त्री भाइ भन्दै थियो, ‘गुजरात भूकम्पका बेला एक हप्तासम्म यस्ता आफ्टरसक आए, पाकिस्तानमा त एक महिनासम्मै चल्यो। नेपालमा भन्न सकिन्न।’
उसले यति भनिसक्दा थाहै नपाई मनको धरहरा ढल्यो। मेरो मुखभित्र पानीको अस्तित्व नै थिएन। यसरी सुक्यो— मानौं म मरुभूमिमा एक्लै लम्पसार परेको छु।
तीन जना हट्टाकट्टाले कताबाट टेन्ट लिएर आए। ती मान्छेलाई मैले पहिले कहिल्यै देखेको थिइनँ।
आकाशको गति ठिक थिएन। धुम्म बादल र चिसो सिरेटोले मनको ताप कसैगरी शीतल पारेनन्।
‘फेरि आयो…’ चौरमा जम्मा भएका एक हुल मान्छे चिर्रर चिच्याए।
औषधि व्यवस्था विभाग कारखानाको दक्षिणतिरको भवन थररर हल्लियो र केही इँटा खसे। इँटा खसेको देखेर मान्छेमा भयको ग्राफ फेरि चुलीमा पुग्यो।
टेन्ट तयार भयो। मान्छेहरु ह्वार्रर टेन्टमुनि थुप्रिए। मैले हतारहतार छोरा, सासू र बूढीलाई ल्याएर छेउतिर बसालेँ। यत्ति भए कमसेकम पानीबाट त जोगिन्थ्यो।
टेन्टमुनि असरल्ल पल्टिएका अनुहार हेरेँ। त्यहाँ हामीजस्ता ‘एलियन’देखि काठमाडौंका ‘एलिट’सम्म अटाएका थिए। छक्क परेँ। बबरमहलमा ठडिएका त्यत्रा महलका मालिकहरू चौरको एउटा टेन्टभित्र छिर्न मारमुंग्री गर्दै थिए। जीवनमा सायद पहिलोपटक भोगेँ— मान्छे जतिसुकै अग्लो र गगनचुम्बी महलमा बसे पनि उसलाई जीवनको कुनै न कुनै कालखण्डमा धर्ती झर्नैपर्छ।
टेन्टभित्र बसिरहेका पचासौं मान्छे अनेक धरातलका थिए। कोही घरबेटी थिए, कोही ठूला व्यापारी थिए, कोही विद्यार्थी र कोही डेरावाल थिए, कोही बाटामा मकै पोल्नेहरू थिए। तर, टेन्टमुनि सबै बराबर थिए— न कोही विशेष, न कोही साधारण। विपत्तिले मान्छेको धन, सम्पत्ति र सामाजिक प्रतिष्ठा हेर्दैन। यत्ति बुझे जीवनका आधा गुनासा हराउँदा रहेछन्।
यसअघि सहरले यस्तो विपत्ति कहिल्यै भोगेको थिएन। सायद त्यसैले पनि मान्छेले मान्छे चिनेनन्। मान्छे–मान्छेबीचको सम्बन्ध चिनेनन्। छरछिमेक चिनेनन्। घरघरका छिमेक र देशका छिमेक चिनेनन्। घरबेटीले डेरावाल चिनेनन्, डेरावालले घरबेटी चिनेनन्। व्यापारीले ग्राहक चिनेनन्, ग्राहकले व्यापारी चिनेनन्। एलिटले एलियन चिनेनन्, एलियनले एलिट चिनेनन्। संसारकै बलवान ठान्ने बाउभित्रको बल र ताकत छोराछोरीले चिने। स्पाइडरम्यान र हल्कभन्दा शक्तिशाली बाउ निमेषमै साधारण मान्छे बनेको देखे।
भूकम्प त्यस्तो दूत बनेर आयो, जसले हरेकलाई हरेकसँग साक्षात्कार बनाइदियो। हरेकले हरेकलाई चिने। एउटै टेन्टमुनि बस्दा सबैका दुःख र पीडा एउटै थिए। सबैको भोक एउटै थियो, सबैको तिर्खा एउटै थियो। जमिनमा गाडिएको एउटै टेन्टमुनि बस्न हरेकमा उस्तै लालसा थियो। मेरै घरबेटी मसँगै चौरमा बसेको देख्दा कताकता मन पुलकित हुन्थ्यो। लाग्यो— अब त उनले घर नहुनुको पीडा बुझ्छन् होला। अब त उनले हामीलाई ‘एलियन’ ठान्दैनन् होला।
‘लेनिन भाइ, ओढ्ने–ओछ्याउने सामान त ल्याउनुभा’छ नि?’ उनले भने, ‘हामीलाई त केही थिएन, केटाकेटीलाई गाह्रो होला। भन्नुस् है!’
सुरुदेखि नै मसँग ‘राशि’ नमिल्ने घरबेटीले नम्र लवजमा यसो भन्दा भावुक भएँ। हतारहतार घरबाट निस्किँदा गोजीमा पैसा थिएन। उनैले केही सय हातमा थमाइदिए र भने, ‘केटाकेटी भोकाएका होलान्, चाउचाउ र पानी ल्याउनुस्!’
कीर्तिपुरबाट बबरमहल कोठा सरेदेखि नै उनीसँग मेरो राम्रो सम्बन्ध थिएन। महिनामा एकपटक भाडा बुझाउँदा जम्काभेट हुन्थ्यो, कहिलेकाहीँ बाटामा देखेर फिस्स हाँस्थेँ। म चाहन्थेँ— उनीसँग मलाई कहिल्यै बोल्नै नपरोस्।
तर, आज उनी अर्कै मान्छे लाग्यो। मान्छे सधैं गलत हुँदैन। ऊभित्र अर्को मान्छे पनि हुन्छ। मेरा घरबेटीभित्रको ‘अर्को’ मान्छेको रूप मैले पहिलोपटक महसुस गरेँ। भूकम्पले उनीभित्रको ‘मान्छे’ जगाइदियो।