OCTOBER 18, 2015 / LENDAAI
चैतको हुरीझैं बत्तिएर आएको बीभत्स र डरलाग्दो खबरले मन्ते एक्कासि चिसियो ।
भर्खरै खटियामा सुस्ताउँदै गरेको मन्ते जुरुक्क उठ्यो र भीमसामु ठिंग उभियो ।
यो अनपेक्षित र मुटु चिर्ने खबर थियो ।
“दैवा रे दैवा !” दुवै हात छातीमा बजार्दै मन्ते त्यही खटियामा बुंग ढल्यो ! आँखा चिम्म गरेर झाँतोझैं दाह्रा किट्यो । हात थररर काँपे । करेन्ट लागेर कुप्रिएझैं कक्रक्क पर्यो ।
“भौजी…भौजी…” भीम चिच्यायो ।
भित्रबाट जमुनियाकी आमा फेकनदेवी दौडिँदै आई । खटियामा ढलेको मन्ते र उसलाई समातेको भीम देखेर ऊ टक्क अडिई–– मूर्तिझैं ।
“हाय रे दैवा ! कथि भैगैल ?”
(हे दैव । के भो ?)
फेकन आत्तिएर मन्तेसामु गई र गालामा थपथपाएर जगाउन खोजी । मन्ते नउठेपछि बतासझैं भित्र कुदी र लोटाभरि पानी ल्याएर छम्किई ।
“कथि भेलै भैया, यी कथि भेलै ?”
(के भो बाबु, यो के भो ?)
आँखाबाट बलिन्द्रा झार्दै फेकनदेवीले भीमलाई सोधी ।
ऊ केही नबोली भुइँतिर सोझियो ।
फेकनले मन्तेलाई जोडले हल्लाएर बोलाई । ऊ चालचुल गरेन ।
जुठेल्नाका भाँडा पुत्ताउने घाममा टलक्क टल्किँदै थिए । अलि पर्तिर अर्को घरबाहिर केटाकेटी लंगरखुट्टी खेल्दै थिए । बतास पनि उस्तै पुत्ताउने तातो थियो ।
भीमले भुईंतिरै हेरिरह्यो । मन्तेलाई त सुनायो, फेकनलाई सुनाउने हिम्मत जुटाउन सकेन । लोटाको पानी खन्याएर मन्तेको अनुहारमा छम्कियो । अलि बेरमा मन्ते भक्भकाउँदै उठ्यो र फेकनलाई देखेर भक्कानियो । जीवनमा कहिल्यै आँखा नभिजाएको मन्तेको आँसु देखेर निर्लजाका ओठ पनि थररर काँपे ।
“बर्बाद भेलै चुट्की ! जमुनिया, जमु…” मन्ते भक्भकाउँदै बोल्यो र बर्रर आँसु झारेर भुईंमा ढल्यो । त्यसपछि फेकन ढली ।
भीम जीवनकै कठिन समय भोग्दै थियो । कोही मरेको खबर उसकै परिवारलाई सुनाउनुजत्तिको त्रासद कुरा शायद छैनन् पनि ।
० ० ०
गाउँभरिबाट मान्छे जम्मा भए । गाइँगुइँ बाक्लियो । वरपर कानेखुसी चल्यो । कानबाट कान हुँदै खबर मैदानसम्म पुग्यो–– जमुनिया पुलिसको गोली लागेर मर्यो रे !
भर्खरका तन्नेरीहरूले पाखुरा सुर्किए । बूढापाकाले आँखा भिजाए ।
फेकन अझै होशमा आइसकेकी थिइन । गाउँभरिबाट जम्मा भएका महिलाले उसलाई पानी छम्किँदै थिए । मन्ते कुनामा घोप्टो परेर सुँक्कसुँक्क गर्दै थियो ।
बाहिरको गाइँगुइँ एकैछिनमा हल्लामा परिणत भयो ।
एकजना ठिटो जोडतोडले कराउँदै थियो, “गोली मारेबाला पुलिसके पकडिके जिन्दा जलाए पडर्तै । कथी तकैछी अहाँ सब चलु हमर जोरे ।”
(गोली हान्ने पुलिसलाई समातेर ज्युँदै आगो लगाउनुपर्छ । के हेरेको साथी हो, जाऊँ हिँड ।)
ऊ अगाडि सरेझैं गर्यो । उसलाई रोक्दै अर्को अधवैंशे बोल्यो, “बाबुमाई के सम्हाले परतै । खुन के बदला खुन हेतई, रुक् !”
(अहिले हैन । बा-आमालाई सम्हाल्नु परेन ? खुनका बदला खुन हुन्छ, पख् )
ऊ पछाडि सर्यो ।
अलि पाको देखिने बूढोले भीमलाई भीडतिर बोलायो । भीम असिनपसिन थियो । अहिलेसम्म उसले मुख खोलेको थिएन ।
“कहु कि भेलै ? के मारलै जमुनिया के ?”
(ल भन् के भएको हो ? कस्ले मार्यो जमुनियालाई ?)
भीमको काँधमा हात राखेर उसले सोध्यो ।
भीमले लामो सास फेर्यो र आँखा चिम्म गर्यो । दुई–तीन पटकसम्म उसले त्यसै गर्यो ।
“हम पान बनबै छलियै, जुलूस एलै । कथि कथि नारा लगवैछलै । तखन्ते पुलिस एलै । जमुनिया सबसे आगु छलै । उहे गरिबके मार नैपैभी कहि के नारा लगवैछलै । आओरो सब ओकरा साथ् दके नारा लगवैछलै ।”
(म पान बनाउँदै थिएँ, जुलुस आयो । केके नारा लगाउँदै थिए । पुलिस पनि ह्वार्रर आए । जमुनियासबैभन्दा अगाडि थियो । उसैले सबैलाई उचाल्दै थियो । गरिब मार्न पाइँदैन भन्दै नारा लगाइरहेको थियो। उसलाई साथ दिँदै अरुले पनि नारा लगाइरहेका थिए ।)
भीमले अम्खोराबाट घटघट पानी खायो । उसको मुख सुकेर प्याकप्याक थियो ।
“पुलिस लगभग ५० मिटर दूर छलै । जमुनिया जेबीसँ चक्कु निकालिक चिल्लाव लगलै । मार कहलकै आ पत्थर लके सोझे पुलिसके मार लगलै । हम देखेते देखते रहगेलीयै । पुलिस टियर ग्यास फेकलकै, सबगोडा एने ओने भाग लगलि । कनिकाल बाद जमुनिया सब गोडेके एक जगह बोललकै आ फेरु पत्थर उठाक पुलिस के मार लगलै । पुलिस गोली चललकै । कनिके देरमे सबओर हल्ला हुव लगलै । पुरे रास्तामे धुलधुल भगेलै । ओत्ते बेसी आदमी कत् हेरेलई, कत् हरेलई । ओत्त जमुनिया असगरेके गोली लागिक खसल छलै । तब हम दौडिक एम्हर एलियै ।”
(पुलिस त्यस्तै ५० मिटर पर थियो । जमुनियाले गोजीबाट चक्कु झिक्यो र करायो । ***लाई हान् भन्योर ढुंगा टिपेर सिधै पुलिसलाई हान्यो । म हेरेको हेर्यै भएँ । पुलिसले टियरग्यास हान्यो । सबै तितरबितरभए । एकछिनपछि जमुनियाले सबैलाई जम्मा पारेर आयो र फेरि चिच्याएर पुलिसतिर ढुंगा हान्यो ।पुलिसले गोली चलायो । एकैछिनमा सबैतिर होहल्ला मच्चियो, सबै कताकता भागे । बाटैभरि धूलैधूलोथियो । त्यति धेरै मान्छे कता हराए कता । त्यहाँ जमुनियामात्रै थियो, गोली लागेर ढलेको । अनि मदौडिएर यता आएँ ।)
भीमले एकैसासमा सम्पूर्ण घटना भनिसक्दा झुम्मिएका सबै चकित परे । उनीहरूका लागि यो अर्को अपत्यारिलो खबर थियो । जमुनिया जुलुसमा गएको कुरामै उनीहरुले विमति जनाए । किनकि जमुनिया यस्ता जुलुस र आन्दोलनको सर्वकालीन विरोधी थियो ।
ऊ सधैंजसो भन्थ्यो, “जुलूस सुलुस कुछो नहि हेतै लडिका सब निमनसँ पढ् । पढ भी त जीवन बन्तौ ओना जीवन जुलूसमे दौडके खतम हेतौ । पढे के समयमे जुलूस मे लगवहि त खाक बडका आदमी होइभि ?”
(जुलुस सुलुस गरेर केही हुन्न केटा हो, राम्ररी पढ । पढ्यौ भने तिमीहरु बन्छौ, नत्र जिन्दगी जुलुसमाकुदेरै सकिन्छ । पढ्ने बेलामा जुलुससुलुसतिर लाग्यौ भने भुत्रो ठूलो मान्छे हुन्छौ ?)
जमुनियाका यस्तै कुरा सुनेर कतिपय ठिटा स्कुल जान थालेका थिए । राजनीति गर्नुभन्दा पहिले आफू बलियो हुनुपर्छ भन्ने जमुनिया आफूले भने एक अक्षर पनि पढेको थिएन । र, पनि ऊ कहिल्यै जुलुसमा कुदेन । सहर गएर कुकर र छाता मर्मत गथ्र्यो र पैसा बेलुकी फेकनको हातमा थपक्क राखिदिन्थ्यो ।
हिजो अबेर फर्किएर पनि उसले फेकनलाई तीन सय रुपैयाँ थमाउँदै भनेको थियो, “आइ तीन सय राख माय कोनोदिन लाखमे झुम्वही ।”
(आज सय राख आमा, कुनै दिन लाखमा झुम्छ्यौ ।)
अनि फेकन मन्तेलाई हेर्दै मुसुक्क हाँसेकी थिई ।
त्यही मान्छे आन्दोलनको अग्रपंक्तिमा गएर गोली खायो ।
गाउँलेहरूले कसरी पत्याऊन् ?
भीडको आक्रोश बढ्दै गयो । ठिटाहरूको रगत उम्लियो ।
“हिनम् केटा हो, आझै वार कि पार कर्नुपर्छ,” लखनले नेपाली लवजमा बोल्दै पाखुरा सुर्कियो ।
उसको पछिपछि अरु ८–१० जना लागे । तन्नेरीको एउटा हुल दाह्रा किट्दै आँगनबाहिर निस्कियो र छिनभरमै अलप भयो ।
उनीहरूको हुल ठीक त्यहाँ पुग्यो, जहाँ जमुनिया ढलेको थियो । तर, त्यहाँ जमुनिया थिएन । बजार सुनसान थियो । मान्छेहरू घरका छतमा देखिन्थे । सडकमा भुस्याहा कुकुरबाहेक माखो थिएन । बजार मूर्दाशान्तिमा सुतिरहेझैं लाग्थ्यो ।
उनीहरु सरासर बजारको पुछारमा रहेको अस्पतालतिर हान्निए । त्यहाँ एउटा समूह पहिलेदेखि नै जुलुस लगाइरहेको थियो । त्यो जुलुसका कसैलाई पनि ठिटाहरू चिन्दैनथे । भीडले एकोहोरो नारा लगाइरहेको थियो, “मृतक जमुनियालाई सहिद घोषणा गर, हत्यारालाई कारबाही गर् । मधेसी मुक्ति जिन्दावाद !”
ठिटाहरु छक्क परे । जीवनमा अहिलेसम्म नदेखिएका मान्छेले जमुनियालाई सहिद घोषणा गर्न भन्दै नारा लगाइरहेका थिए ।
ठिटाहरू मुखामुख गरिरहँदा त्यहाँ अर्को सानो जुलुस आयो– झन्डा फहराउँदै । झन्डामा ‘मधेसी टाइगर्स’ लेखिएको थियो ।
बतासझैं हुर्रिंदै उनीहरूले सोधे, “बाँडी कहाँ छ ?”
त्यहाँमध्ये कसैले पनि जमुनियाको शव देखेको थिएन । पोस्टमर्टम भइरहेको सूचनामात्रै उनीहरूसँग थियो ।
आधा घण्टाजति गाइँगुइँमात्रै चलिरह्यो । पोस्टमर्टम सकेर २–३ जना मान्छे बाहिर निस्किए ।
टाइगर्सको समूहले जमुनियाको शव निकाल्न अह्राएपछि मुक्तिवाला समूह फन्कियो । टाइगर्सको नाइकेजस्तो देखिने मान्छेले भन्यो, “जमुनिया हमरे सबके आदमी छलै, हमही सब लेजवै ।”
(जमुनिया हाम्रो मान्छे हो । हामी लैजान्छम् ।)
मुक्तिको नाइके अघि सरेर बोल्यो, “जमुनीया दु वर्ष से हमर सबके सदस्य रहलै, आ हमरा सबके तरफ से शहीद भेलै, हम सब शवयात्रा करे आयलछि ।”
(कसले भन्यो तिमीहरूको भनेर ? जमुनियाले २ वर्षदेखि हाम्रो सदस्यता लिएको छ । हामी शवयात्रा गर्नआएका हौं ।)
गाउँबाट आएका ठिटाहरू चुपचाप आँखा फट्टाएर दुवै पक्षका कुरा सुनिरहे । ती बलिष्ट समूहअघि उनीहरु निम्छरो देखिए ।
“तोहरा सबके राजनीति इहा न चलतौ, इ एरिया हमरा सबके है, हमर आदमीके हम सब चिनैछि ।”
(तिमीहरूको राजनीति यहाँ चल्दैन । यो हाम्रो एरिया हो, यहाँका सबै मान्छेलाई हामी चिन्छौं)
टाइगर्सको नाइके कड्किएर बोल्यो ।
माहोल बिस्तारै तात्यो । ठिटाहरू चुपचाप छेउ परे ।
प्रहरी साइरन बजाउँदै अस्पतालको गेटनेर आइपुग्दा भित्र ३–४ जना चिच्याउँदै भुइँमा ढलिसकेका थिए । प्रहरीले उत्तिखेरै घेरा हाल्यो र क्रमैसँग बन्दुक तेर्स्याएर उभियो । दुई वटै समूह हच्किए । पछाडिबाट प्रहरीको भ्यानमा अर्को फोर्स आयो र सबैलाई समातेर क्रमैसँग भ्यानमा हाल्यो । भ्यानमै दुवै नाइकेले पुलिससँग केही खासखुस गरे र झन्डासहित ओर्लिए । अनि केही बेरमा पोस्टमोर्टेम घरबाट जमुनियाको शव लिएर बाहिर निस्किए र बरन्डामा राखे । त्यसपछि दुवै नाइकेले आ–आफ्ना पार्टीका झन्डा ओढाए ! ठिटाहरू अक्क न बक्क भएर हेरिरहे ।
एकैछिनमा त्यो भ्यान धूवाँ पुत्ताउँदै गेटबाहिर गयो र हरायो । केही प्रहरीले जमुनियाको शव उठाएर मूर्दाघर लैजाँदै थिए, लखनले मुख खोल्यो, “सर, जमुनिया हाम्रो मटियाको साथी हो, लैजान आएको ।”
दुईतारे सईले आँखा तरेर उसलाई हेर्यो र चर्को नजर फ्याँक्यो ।
“अघि भ्यानमा जानेहरूले नि त्यै भन्थे, हल्ला नगरी बाहिर जाओ नत्र जाउला तिमरु पनि खोरमा !” सईले पुस्तैनी दुश्मनझैं वचन लगायो, “मुचुल्का सुचुल्का उठाएपछि बाउ–आमा जो छ, लिएर आओ !”
लखन लुसुक्क परेर पछि हट्यो ।
० ० ०
गाउँबाट आगो भएर निस्किएका ठिटाहरु फर्किंदा निभेको कोइलाजस्ता भइसकेका थिए । उनीहरुको ताप र राप सेलाइसकेको थियो ।
जमुनियाको घरमा ठूलो भीड जम्मा भइसकेको थियो । मन्तेका आँसु सुकिसकेका थिए, फेकन अझै पनि घोप्टो परेर हिँक्कहिँक्क गर्दै थिई । उनीहरुसामु केही नचिनेका सुग्घर मान्छे थिए ।
“जे हुनुथियो भैगयो, हम्ले न्याय दिलाएरै छाड्छौं तपाईंहरूलाई,” चिटिक्क परेको सेतो धोती र गम्छा भिरेको एकजनाले मन्तेलाई सम्झाउँदै थियो ।
“मधेस मुक्ति आन्दोलनमा ज्यान गुमाएर जमुनियाजीले सहादत प्राप्त गर्नुभएछ । हमी वाहाँको रगत खेर जान दिन्नम् । जमुनियाजी हम्रो पार्टीका सक्रिय कार्जकर्ता हुनुहुन्थ्यो, उहाँ हम्रो पार्टीको पहलो सहिद हो ।”
उसले घोकेझैं फरर एकै सासमा आफ्ना कुरा भ्यायो ।
यो तेस्रो समूह थियो, जसले जमुनियालाई आफ्नो कार्यकर्ता भनिरहेको थियो । लखनलाई जङ चल्यो । भीड पन्छाउँदै अघि आयो र करायो, “कौन मर्दावा छै ? आदमी मरेत खान कत् छेलिल्ही जे अखैन एल्ही ?”
(को *** हो यो ? मान्छे मर्दा काँ थिस् र अहिले आइस् ?)
सेतो धोतीवाला मान्छे करेन्ट लागेर पछारिएझैं भयो । एक्कासि कसैले मुखै छाडेर त्यसरी गाली उसकै बाउले पनि कहिल्यै गरेको थिएन । बाउ त बाउ भइगए, उसका संगीले पनि गरेका थिएनन् ।
उसको पछिल्तिर रहेका २ जना तिघ्रेले फरक्क फर्किएर लखनलाई समाते । त्यसपछि ठिटाहरू पनि अगाडि सरे । हात हालाहालजस्तो अवस्था देखिएपछि सेतो धोतीवालाले रोक्यो र केही नबोली बाहिर निस्कियो । ऊसँगै एकहुल मान्छे गुनगुन गर्दै पछिपछि लागे ।
० ० ०
जमुनियाको शवयात्रा सुरू भयो सहरमा । यतिखेरसम्म मन्ते र फेकनले उसको अनुहार देख्न पाएका थिएनन् । सयौं मान्छेको लावालस्करले नारा लगाउँदै जमुनियालाई सहर घुमाए । मधेस आन्दोलनका मसिहा भन्दै उसको स्तुतिगान गरे । चौराहाबाट सुरू भएको यात्रा सहर घुमेर चौराहामै आएर कोणसभामा परिणत भयो ।
अनि सुरू भयो अर्को चटक ।
भाषण गर्दा एक जना नेताले फ्याट्ट भन्दियो, “सहिद जमुनियाको बलिदानीको उच्च कदर गर्दै यो चोकको नाम आजदेखि जमुनिया चोक राखिएको छ ।”
श्रोताहरूमा गाइँगुइँ चल्यो । कानेखुसी गर्न थाले ।
२ वर्षअघि मात्रै सहिदको सम्झना भन्दै यो चोकको नाम राखिएको थियो— सहिद रामजनम चोक । यही चोकको नाम फेरिएको त्यो तेस्रो पटक थियो । वीरेन्द्रको नाम फेरेर गणतन्त्र चोक बनाइएको थियो, पहिलो मधेस आन्दोलनपछि रामजनम चोक बनाइएको थियो ।
जिल्लास्तरको नेताले भाषणै गरेर भन्दिएपछि कोही चुइँक्क बोलेन ।
कोणसभा सकिएपछि बल्ल परिवारको सोधखोज भयो । सहर र गाउँको दूरी ४ किलोमिटरजति थियो । सल्लाह भयो— शवयात्रा गर्दै गाउँ मटिया लैजाने । लस्करसहित जमुनियालाई मटिया पुर्याइयो । उसको अनुहारभरि अबीर र फूल थियो ।
जम्मा भएका सबैले अबीर र फूल चढाए । एक्लो छोरो गुमाउनुको पीडा मन्ते र फेकनले लुकाउन सकेनन्, जमुनियालाई ग्वाम्म अँगालो हालेर दुवै भक्कानिए । एकैछिनमा फेकन सेता आँखा पल्टाउँदै बुंग ढली । महिलाहरूले उठाएर भित्र लगे । मन्ते झन् जोडले चिच्यायो । उनीहरूसँगै वरपरका अरूका आँखा पनि रसाए ।
केही बेरपछि मलामी उठ्यो र गाउँभन्दा १० मिनेट टाढा खोलातिर लाग्यो ।
खोला पुगेर भीमले जमुनियाका लुगा खोल्यो र ल्याएर मन्तेलाई दियो । रगतले लतपतिएको लुगा देखेर मन्तेले फेरि आँखाबाट बर्रर आँसु झार्यो । रगत सुकेर कलेटी परेको पाइन्ट सुम्सुम्यायो । पाइन्टको गोजीमा कागज रहेछ, निकाल्यो । जतनसाथ पट्याएर राखिएको पत्रिकाको टुक्रा थियो । पढ्न सकेन, भीमलाई बोलायो ।
भीमले एकैसासमा पढ्यो, “मधेस आन्दोलनमा ज्यान गुमाउने सहिदका परिवारहरुलाई प्रादेशिक सरकारमार्फत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले ५० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । सहिद परिवारलाई निःशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी पनि प्रादेशिक सरकारले नै बहन गर्ने निर्णय मोर्चाले गरेको छ ।”
त्यसपछि भीमले अरु पढ्न सकेन । मन्ते शिरमा बज्र परेझैं निस्लोट भयो । उसको आँखाभरि जमुनियाको चित्र नाचिरह्यो । हिजो राति जमुनियाले निर्लजासामु भनेको सम्झियो र धेरै बेरसम्म घोप्टो परिरह्यो ।
एकैछिनमा चिताबाट धूवाँ पुत्तायो । मन्तेले पत्रिकाको त्यो टुक्रा बलिरहेको आगोमा फ्याँकिदियो । जमुनियासँगै कागजको धूवाँ पनि आकाशतिरै विलायो कतै !
Photo Credit : Himal Saptahik
Liked by: