मान्छे | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

मान्छे




   Madan Pravat - Jul 09 2016

'बस न!' अगाडि रहेको मेचबाट पुस्तक सारेर उनलाई बस्न आग्रह गरें । उनी चुपचाप बसिन् र नजिकै रहेको पुस्तक हेर्न थालिन् ।




'अभिवादन छ है '
मधुरो स्वरमा कसैले अभिवादन गरेको मेरो तन्द्रायुक्त मानसिकताले अनुभूति गरिरहेको थियो । म अलिअलि निदाएको थिएँ र उठ्न प्रयत्न गर्दै थिएँ । फेरी उही स्वरमा उही शब्द दोहोरियो ।  'अभिवादन छ है '

म जुरुक्क उठें र अभिवादन फर्काएँ । अलिकति उघारिएको ढोकामा उनी उभिएकी थिइन् । अर्द्धशोक मिश्रति मुद्रामा । मानौं उनी केही बेरपछि नै ग्वाँऽऽग्वाँऽति रुनेछिन् । मैले उनीसँग हात मिलाएँ । उनको हात पहिलेकोेजस्तो दह्रो थिएन । सामान्य भन्दा पनि लुलो भएको थियो । लाग्थ्यो उनले अनुभूति गरिरहेको पीडा-शोक-वेदनाको त्रिशंकु उनका हर अंगहरुले अभिव्यक्त गरिरहेका छन्, हरपल अभिव्यक्त भैरहन चाहन्छन् ।

'बस न!' अगाडि रहेको मेचबाट पुस्तक सारेर उनलाई बस्न आग्रह गरें । उनी चुपचाप बसिन् र नजिकै रहेको पुस्तक हेर्न थालिन् ।
  
राति निकै अबेरसम्म छलफलमा व्यस्त भएकाले होला सबेरै उठ्न सकिएको थिएन । तर बिहानीपख गाढा निद्रा त कहाँ लाग्छ र ? त्यसैले म निद्रा र जागाको बीचमा थिएँ अर्थात् तन्द्रामा थिए, जतिखेर आशा आएकी थिइन् ।

'अनि आज एकाबिहानै आयौ त! घरबाटै कि गाउँतिर गा'की थियौ ?' मैले हातमुख धोएर आएपछि सोधें ।

'घरबाटै हो ।' उनले छोटो जवाफ दिइन । मलाई उनको आवाज एकदमै मलिन अनुभूती भयो । उनी भावनामा चुर्लुम्म डुबेकी थिइन् र आफ्नो कुरा अभिव्यक्त गर्ने समय पर्खिरहेकी थिइन् ।

'दार्इ! के हामीभित्र पनि इमान्दारिताको यत्रो खडेरी परेको छ ? उसले मलाई यो अवस्थामा पुर्‍यायो, तर अहिले ऊ मसँग बोल्न पनि चाहिरहेको छैन । उसले मेरो इमानदारिताको दुरुपयोग गर्‍यो दार्इ! ........................ '

कुनै भूमिका नबाधिकनै उनले बोल्न शुरु गरिन् । लाग्थ्यो उनी आफ्ना छट्पटीहरु सबै एकै पटक पोख्न चाहन्छिन् । बोल्दाबोल्दै उनको आँखा रसिलो भयो । उनले मतिर नहेरिकनै आँसु पुछिन् । मलाई अचम्म लाग्यो विचारमा त्यति दह्री र अडिग कहलिएकी आशा आज किन यति कमजोर भइरहेकी छिन् । रमेशले उनको भावनामा असाध्यै चोट पुर्‍याएछ क्यारे! मैले अनुमान लगाएँ ।

'आशा आज तिमी कमजोर भइरहेकी छौ ? कमजोर होइन दृढ र बलियो भएर मात्र तिमीले आफ्नो समस्यालाई पराजित गर्न सक्छ्यौ ? हेर, रमेश मात्र होइन तिमी हामी सबै यही समाजबाट आएका हौं । सम्झ त, हाम्रो समाज कस्तो छ ? र, हाम्रो समाजभित्र कस्ताकस्ता पात्र र प्रवृत्तिहरु छन् ? समाजबाट गलत प्रवृत्ति बोकेर आएका पात्रहरुसँग संघर्ष नगरी हामीले कसरी नयाँ समाजको निर्माण गर्न सक्छौं ? तिमीले बुझ्नुपर्छ वर्गसंघर्षका विविध रुपमध्ये पुरुषसत्ता विरुद्धको संघर्ष पनि एक हो । रमेशलाई तिमीले मन परायौ तर यसको अर्थ यो होइन कि उसका गलत प्रवृत्तिहरु विरुद्ध तिमीले संघर्ष गर्नै हुन्न । बरु माया गर्नु र मन पराउनु -प्रेम गर्नु) को अर्थ उसका गलत प्रवृत्तिबाट उसलाई मुक्त गनु र सघाउनु पनि हो । तिमीले त्यही त गर्दैछ्यौ होइन त ?'

'दाइ! तर किन ऊ मेरो कुरा बुझ्दैन ?' 'आशा, रमेशले कुरो नबुझेको होइन, बुझेर पनि बुझ पचाएको हो । मैले पनि उसलाई राम्रोसँग पढेको छु । तिमीले रमेशलाई जुन ढंगले बुझिरहेकी छ्यौ तर रमेश त्यस्तो छैन । साँच्चै भन्दा ऊ यो पुँजीवादी र सामन्तवादी संस्कृतिको ठिमाहापनले नराम्रोसँग गाँजिएको छ । केही समय त उसले आफ्नो ठिमाहापनलाई त्याग्ने प्रयत्न पनि गर्‍यो । उसको नशा-नशा र रगतको कण-कणमा रहेको पुरुषवादी मानसिकतालाई त्याग्न पनि खोज्यो । तर यस कुरालाई लिएर उसले निरन्तर संघर्ष गरिरहन सकेन । जसले गर्दा विगतका दिनहरुमा झैं अहिले ऊ त्यति सक्रिय पनि छैन । सम्भव छ जनमुक्ति यात्राप्रतिको उसको लगाव र विश्वास पनि अहिले कम हुँदै गइरहेको होस ।'

समय एकक्षण चुपचाप बित्यो । उनी अर्थात् आशा मौनधारण गरेझैं शान्त थिइन्, तर उनको विचार र भावनामा असाध्यै तेजगतिमा ज्वारभाटा फैलिरहेको थियो । 'अब के गर्ने ?' उनीभित्र तीव्र रुपमा आत्मासंघर्ष चलिरहेको थियो । त्यो संघर्ष यति तिब्र थियो कि उनि स्वयम् त्यसलाई सम्हाल्न सकिरहेकी थिइनन् । बिहानैको मौसम त्यति धेरै गर्मी नभए पनि उनको निधारभरि पसिनाका थोपाहरु देखापर्न थालेका थिए ।

'दाइ Û रमेश चाहन्छ म उसको घरमा गएर परम्परागत श्रीमतीलेझैं उसको घर सम्हालेर बसुँ, उसले जे भन्छ त्यही मानुँ, उसको र उसका घरपरिवारहरुका हरेक चाहनाहरु पुरा गरुँ, यहाँसम्म कि विवाहअगाडि नै ...! उसको यस्तो घृणित चाहना र आदेशहरुलाई म कसरी पालना गर्नसक्छु ? तर ..... तर रमेशसँगको सम्बन्ध! .....के रमेशलाई रुपान्तरण गर्न सक्ने कुनै उपाय छैन ? म त्यो उपायको खोजीमा छु ।'

उनले पीडा र आग्रह मिसि्रत मलिन स्वरमा अडी-अडीकन भए पनि आफ्नो मनभित्र उठेका भावनाका तरंगहरुलाई बाहिर बिसाइन् । उनको अभिव्यक्ति सम्पूर्ण रुपले सुनिसक्दा रमेशले उनीसँग गरेको व्यवहारको कल्पना गरेर नै म थकित भइसकेको थिएँ । साँच्चै रमेश त मैले सोचेको भन्दा निकै तल गिरिसकेको रहेछ । अब रमेशको धङ्धङीबाट आशालाई मुक्त गर्नुको अलावा मसँग अर्को उत्तम विकल्प थिएन । तर फेरि पनि आशा नै यसको निर्णायक पक्ष हुन् । 'म अवस्य पनि यो विकल्पमा सहमत गराउने छु ।' मैले मनमनै संकल्प गरें ।

'आशा!' उनी व्यग्रतापूर्वक मलाई सुनिरहेकी थिइन ।

'अब तिमीले आफ्नो मनसँग अत्यन्तै ठूलो संघर्ष गर्नुपर्छ । हेर, प्रेमलाई सही ढंगले बुझ्न र ग्रहण गर्न सकिएन भने सम्पूर्ण जीवन नै तनावयुक्त हुन जान्छ । तिमीले त वर्गसंघर्षको रापिलो भट्टीलाई नजिकैबाट अनुभूति पनि गरेकी छ्यौ । सम्झ त कति कठोर र निर्मम हुन्छ वर्गसंघर्ष ? त्योभन्दा नि अझ कठोर हुन्छ आत्मसंघर्ष ? तिमीले अब त्यही कठोर संघर्ष सम्झौताहीन ढंगले सफलतापूर्वक सम्पन्न गर्नुपर्छ ।'


'तिमीले आफ्नो मनमा रमेशलाई भावी जीवनसाथीको रुपमा स्थान दिएकी थियौ र अझै पनि दिइरहेकी छ्यौ । तिमी चाहन्छ्यौ रमेश यो समाज रुपान्तरणको निम्ति नमुनायोग्य व्यक्ति बनोस् । ऊ सबै कुरामा दृढ होस् तिमीजस्तै । आमजनताको मुक्ति सँगै तिमीहरुको भावी दिनहरु प्रेमपूर्ण रुपमा व्यतित होस् । यो तिम्रो चाहना हो, तर यसको लागि तिमीजत्तिको तयार छ्यौ, त्यत्तिकै मात्रामा तयार हुनुपर्छ रमेश पनि । तिमी नियाल त, रमेश अहिले कुन वैचारिक धरातलमा उभिएको छ ? यस्तो अवस्थामा के तिमी रमेशबाट अब आफ्ना आशा र चाहनाहरु पूरा हुन्छन् भन्ने भरोसा राख्न सक्छ्यौ ? यो तिमी आफैंले विचार गर्ने कुरा हो । तर ऊ कस्तो हुन्छ भन्ने कुराको निर्णय त उसले नै गर्नुपर्छ तिमीले होइन ।'


'साँच्चै भन्दा अहिले रमेश आफ्नो आदर्श र विश्वासबाट च्युत हुँदै गइरहेको छ । ऊ अब रुपान्तरित हुनुलाई पनि आफ्नो हार अथवा अपमान ठान्न थालेको छ । यस्तो अवस्थामा तिम्रो ऊसँग कसरी सहकार्य हुनसक्छ ? के प्रेमको उत्कर्षता सहकार्य नै होइन र ? वैचारिक रुपमा सहकार्य हुन नसकेपछि, कार्यशैलीगत रुपमा सहकार्य हुन नकेपछि कसरी जैविक र व्यवहारिक सहकार्यले पूर्णत पाउन सक्छ ? त्यसैले कठोरतापूर्वक तिमीले अब निर्णय गर्नुपर्छ । तिमी आफ्नो वैचारिक धरातल र चेतनालाई सही ठान्छ्यौ भने तिम्रो रमेशसँगको सम्बन्ध अब अतितको सम्बन्धको रुपमा परिणत हुनेछ । तिमीले ऊसँगको सम्बन्धलाई बिर्सनुपर्नेछ । आशा तिमीसँग भएका विकल्पहरुमध्ये यौ नै सबैभन्दा उपयुक्त विकल्प हो ।'

अब उनको अनुहार रातोरातो भएको थियो । तीव्र अन्तर्द्वन्द्वको अभिव्यक्ति अनुहारमा समेत परिरहेको थियो । एकक्षण सन्नाटा छायो । उनी निराकारमा हराइन, मानौं अहिले नै उनले सबै कुराको निचोड निकाल्नेछिन् । फेरि पनि शान्त नै रह्यो कोठा । उनले कुनै प्रतिक्रिया जनाइनन् ।

'के तिमीले रमेशसँग यो विषयमा कुरा गर्‍यौ ?' मैले नै भंग गरें लामो मौनतालाई आशाको अनुहार नियाल्दै ।

'थुप्रै पटक ... रमेशसँग मैले यो विषयमा थुप्रै पटक कुरा गरिसकें । तर ऊ मेरो कुरालाई गम्भरतापूर्वक लिँदै लिँदैन ।' उनी रुन्चेस्वरमा बोलिन् ।

'आशा, यो अनुभूति नै तिम्रो हातमा रहेको सबैभन्दा ठूलो आधार हो । जसले रमेशसँगको तिम्रो सम्बन्धबारे सही निष्कर्षमा पुग्न स्वयम् तिमीलाई सघाउनेछ । हेर, पुराना सम्बन्धहरुको ध्वंश नगरी नयाँ सम्बन्धको विकास गर्नै सकिन्न । रमेशसँगको तिम्रो सम्बन्ध पुरानो विचारमा आधारित छ, सामन्ती चिन्तन र पुँजीवादी प्रवृत्ति/शैलीले ग्रसित छ । त्यसैले तिमीले त्यस सम्बन्धलाई ध्वस्त नगरी नयाँ सम्बन्धको विकास गर्न सक्दिनौं ।'

मेरो कुरा सकिएपछि उनले लामो सुस्केरा छाडिन् । आमाले कागती हालेको रातो चिया ल्याउनुभयो । उनले आमालाई नमस्कार गरिन् तर केही बोलिनन् । शायद हतार हुँदो हो आमा पनि केही बोल्नु भएन । हामी चुपचाप चिया पिउन थाल्यौं ।

आशाको अनुहार झन्झन् रातो हँुदै थियो । उनको मनमा द्वन्द्व चर्किरहेको बेला अनुहार रातो हुन्थ्यो, जुन अहिले भइरहेको छ । उनले चिया पिइसकेपछि चारैतिर आँखा डुलाइन् र घडी हेरिन् । शायद समय घर्किसकेर होला उनका मायावी आँखा अलि ठुल्ठुला र चञ्चल देखिए । मलाई लाग्यो ती आँखाहरुले भन्दैछन्- 'दाइ, ढिलो भयो अब जानुपर्छ होला ।' तर त्यसपछि पनि उनी चुपचाप नै रहिन् । कहिले चारैतिर आँखा डुलाउने त कहिले आँखा चिम्लिएर शान्त रहने गर्न थालिन् ।

'दाइ अहिले म जान्छु, भरे भेट्न आउँछु होला ।' निकै बेर पछि उनी एक्कासि यसो भन्दै उठिन् र अघिको भन्दा अलि दह्रोसँग हात मिलाएर बिदा भइन् । मलाई लाग्यो उनी बिहानभन्दा भावनात्मक रुपमा अलि दह्रो भएकी छिन् ।

बिहानदेखि एकाएक मौसम धुम्मिएको थियो । पानी नै परिहाल्छ कि जस्तो भइरहेको थियो । देशको ताजा राजनीतिक खबर अघि नै रेडियोले फुकिसके पनि मौसमसम्बन्धी खबर अझै दिइरहेको थियो । रेडियो भन्दैथियो- 'आज देशैभरि पानी पर्छ ।' जीवनको सही गोरेटो नियाल्दै कठिन मोडमा आइपुगेकी आशाको मनभरि जमेको पीडाको बादल आज पानी सँगै फाटोस् र उनको मन 'पानी परेपछिको आकाश झैं' स्वच्छ र निर्मल होस् भन्ने कल्पना गर्दै म दिनेशजीको डेरातर्फ लागें ।
बाटोभरि नै मेरा मनमा रमेश र आशाको सम्बन्धका कुराहरु मात्रै खेलिरह्यो । रमेश किन त्यस्तो भयो ? यो विषयमा गम्भीरतापूर्वक समीक्षा गर्नुपर्ने निष्कर्षमा म पुगें । 'भरे आशाले के निर्णय गर्छिन् त ?' भन्ने प्रश्नले दिनभरि नै मेरो मनलाई उद्वेलित बनायो । 'के उनले रमेशसँगको सम्बन्धलाई यही टुंग्याउन सक्छिन् ? यदि उनले यस्तो निर्णय गरिन् भने उनको मनस्थिति यस्तै रहिरहला ? या उनले रमेशसँगको सम्बन्धलाई निरन्तरता दिँदै यही रुपमा अगाडि बढाउने निर्णय गर्छिन् त ?' मेरो मनमा प्रश्नमाथि प्रश्नका घेराहरु थपिँदै गए र अन्त्यहीन प्रश्नहरुको एउटा लामो शृङ्खला नै तयार भयो । मेरो टाउको त्यसै त्यसै भारी भएर आयो । दिनेशजीको डेरामा पनि मन त्यति रम्न सकेन । गर्नुपर्ने आवश्यक कुराहरु सकेर म अलि चाँडै कोठामा आएँ र पल्टिएरै आशाको आगमनको प्रतीक्षा गर्न थालें ।

समय निरन्तर बित्दै गयो । प्रतीक्षाको समय निकै लामो हुँदो रहेछ । तीनबाट चार, चारबाट पाँच हुँदै घडीको घण्डासुई अंक छ को नजिक आयो, तर अझै आशा आइनन् । म झन् व्यग्र भएँ । 'कतै आशाले रमेशसँगको सम्बन्धलाई मात्र होइन आफैंलाई समेत मेटाउने गलत निर्णय त गरिनन् ?' मेरो मनमष्तिस्कमा चिसो पस्यो । म झन् छटपटिएँ ।

'तर आशा त्यति कमजोर र काँतर नारी होइन, जसले अपहत्ते -आत्महत्या) जस्तो घृणित कार्य गरोस्' भन्ने भावनाले मलाई अलि बल दियो । अब दिनबाट समय साँझमा रुपान्तरित हुन मात्र बाँकी थियो तर अझै पनि आशा आइनन् । 'के अब आशा आउँदिनन् ?' यो प्रश्नले मसँग एकोहोरो उत्तर मागिरह्यो । म नाजबाफ रहें । आशा नआउने कुरा म मान्न तयारै थिइनँ । तर पनि आफ्नै मनभित्र हरनिमेशमा उब्जिरहेको प्रश्नको उत्तर खोज्न आफैं आशाको घर जाने सुरले म लुगा लगाउन थालें ।

'बाबु! तेरो चिठी आएको रै'छ, हेर त कसले पठा'को हो ?' आमाले खामबन्दी चिठी मेरो हातमा दिनुभयो । चिठी बन्दिलो गरी स्टिच लगाइएको थियो । हेरें चिठी आशाले पठाएकी रहिछन् ।

'कसले ल्यायो आमा यो चिठी ?' मैले व्यग्रताका साथ आमालाई सोधें ।

'खै ? साइकलमा एउटा केटो आको'थ्यो । मैले त चिनिनँ । अनि कसको र'छ त ?' आमालाई चिठीको बारे खुल्दुली बढ्यो ।

'आशाको रहेछ ।' मैले छोटो उत्तर दिएँ, आमा चुपचाप र्फकनुभयो । उहाँले के सोच्नुभयो कुन्नि मैले अनुमान लगाउनै सकिनँ ।

मैले हतारहतार चिठी खोलें र पढ्न थालें । मलाई अचम्म लाग्यो सधैं 'दाइ' भनेर सम्बोधन गर्ने आशाले आज चिठीको सम्बोधनमा 'कमरेड' भनेर लेखेकी थिइन् । पक्कै पनि यो रुपान्तरणको द्योतक हो भन्ने सोच्दै म पत्र पढ्न थालें ।
'कमरेड वोध, अभिवादन!

आज म मेरो जीवनको अति महत्वपूर्ण मोड मैले पार गरेकी छु भनेर सुनाउन पाउँदा तपाईं निकै खुसी हुनुहुन्छ होला । अति कष्टसाध्य घुम्ती र मोडहरु हुँदै यो जीवनलाई अगाडि बढाउनुपर्ने रहेछ भन्ने अनुभूति आज गरेकी छु । मैले यसअघि कहिल्यै पनि यति सूक्ष्म र गम्भीर ढंगले आत्मसमीक्षा गरेकी थिइनँ, आज मैले तपाईंको प्रेरणाले जीवनको उक्त दायित्वलाई पहिलो पटक पूरा गरेकी छु । म राजनीतिक आन्दोलनको जुन दिशातर्फ अगाडि बढेको थिएँ त्यहाँ एकदम सहज र सरल मार्गमा मात्र हिँड्नुपर्ला भनेर सोच्नु मेरो कमजोरी र गलत बुझाइ रहेछ । बरु उक्त मार्गमा थुप्रै काँडाहरु र त्यसलाई पन्छाउन चाहिने साहस, हिम्मत र उज्यालो पनि हुने रहेछ । त्यसैले काँडाहरु पन्छाउँदै अगाडि बढ्ने प्रक्रियालाई तेज बनाउने हिम्मत बटुलेकी छु । तपाईंले भनेझैं राजनीतिक आन्दोलन र सांस्कृतिक रुपान्तरणको आन्दोलनलाई सँगै अगाडि बढाउने निष्कर्ष निकालेकी छु । उज्यालो लक्ष्यमा पुग्न म जस्तोसुकै अँध्यारो पनि चिर्न तयार छु ।

मेरो बाबाले भन्नुहुन्थ्यो 'तिमीले मान्छे बन्नुपर्छ ।' म सधैं हाँसोमा उडाउथें । तर आज मैले मेरो बाबाको उक्त भावनालाई साँच्चै अनुभूति गरेकी छु । 'असल मान्छे बन्न निकै संघर्ष गर्नुपर्छ' भन्ने तपाईंको बारम्बारको आग्रहलाई पनि आज मैले गम्भीरतापूर्वक महसुस गरेकी छु ।

वर्गीय समाजमा पुरुषवादी मानसिकता पुरुषहरुमा मात्रै होइन हामी प्रगतिशील कहलिएका महिलाहरुमा पनि हुने रहेछ भन्ने निष्कर्षमा पुगेको छु । रमेशसँगको मेरो अति लगाव त्यसैको कारण सिर्जना भएको हो भन्ने मलाई लाग्छ । हाम्रो समाजमा रहेको पुरुषवादी मानसिकताको विरुद्ध संघर्ष गर्न आगामी दिनमा मलाई साथ दिनुहुनेछ भन्ने आशा गरेकी छु ।
आज मैले तपाईंलाई कमरेड भनेर सम्बोधन गरिरहँदा तपाईंलाई पक्कै पनि खुसी लागेको हुनुपर्छ । तपाईं मेरो राजनीतिक आन्दोलनको अगुवा र गुरु भए पनि वर्तमान सामाजिक संरचनाभित्र तपाईं मेरो दाजु नै हुनुुहुन्छ । त्यो संरचनामा म तपाईंलाई दाजु नै भनेर सम्बोधन गर्नेछु । तर तपाईर्ं मेरो अगुवा कमरेड हुनुहुन्छ । अब म तपाईंलाई मेरो निष्कर्ष सुनाउँछु ।

'मैले निकै कष्टसाध्य पीडालाई पचाएर रमेशसँगको सम्बन्धमा पूर्णविराम लगाउने निर्णय गरेकी छु । मलाई थाहा छ यो कुराले मलाई लामो समयसम्म तनाव दिनेछ । तर तनावलाई पचाउने साहस बटुलेकी छु । तपाईंले भनेझैं पीडा र कष्टसाध्य क्षणहरुबाट नगुज्री मान्छे मान्छे बन्नै सक्दोरहेनछ । म त्यही पीडा र कष्टसाध्य क्षणबाट गुजि्रने उपक्रममा छु । यो सामन्तवादी चिन्तन र पुँजीवादी प्रवृत्तिले ग्रसित पुरानो सम्बन्धको ध्वंशको प्रक्रिया नै हो । अग्रज कमरेडको नाताले अवश्य पनि तपाईंबाट निरन्तर साथ पाइरहनेछु । जसले यो प्रक्रियालाई सहयोग पुर्‍याउनेछ ।

माफ गर्नुहोला यति कुरा तपाईंका सामू उभिएर व्यक्त गर्न समर्थ भइनँ, यसैले पत्र लेखेकी हुँ । आगामी दिनमा यो कमजोरीलाई पनि हटाउन प्रयत्नशील रहनेछु ।

अभिवादनसहित अहिलेलाई बिदा चाहन्छु ।
उही मान्छे बन्ने उपक्रममा लागेकी आशा...

पत्र पढिसकेपछि मैले अपार आनन्दको महशुस गरें । र, मनमनै सोचें- 'आशाले आफ्नो जीवनका लागि नयाँ गोरेटो खन्न शुरु गरिन् । यो गोरेटोले हाम्री आशाको मात्र होइन थुप्रै आशाहरुको जीवन उज्यालोतर्फ डोर्‍याउनेछ । पुरानो रुढीगत र परम्परावादी सम्बन्धहरुको स्थानमा नयाँ सम्बन्धको विकास गर्नेछ ।



- मदन प्रभात
पूर्वी नेपाल, वर्दिवास
[email protected]


----


तपार्इ पनि अाफ्ना लेख रचना 'हाम्रो पात्रो'मा राख्न चाहनुहुन्छ भने हामीलार्इ यस ठेगानामा इमेल गर्नुहोस्ः [email protected] | धन्यवाद ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.