धेरै जसो लेखकको साथमा के हुन्छ भने नोबेल पुरस्कार जितेपछि उनीहरुको शान त बढ्छ तर कामको गुणस्तर खस्किन्छ ।
सफल लेखक हुनुको घाटा के हो भने ती लेखकहरुको हरेक किताबलाई माथिल्लो दर्जामा राखेर मूल्यांकन गरिन्छ । त्यो स्तरसंग मेल खान नसकेमा आलोचकहरुको लागि लेखक असफल हुनु हो वा सफल मानिएको लेखक आफ्नो काममा चुक्नु हो । यस्तै सफल लेखक हुन् ओर्हान पामुक ।
पामुकजस्ता क्षमतावान् लेखकको कृतिलाई आलोचना गर्न सक्नु चानचुने कुरा होइन । उनको कृतिलाई आलोचनाको अाँखाले सितिमिति कसैले हेर्न सक्दैन । उनको कथा पढ्न थालेपछि मानिस लठ्ठिन थाल्छन्, कथाको संसारमा बच्चाजसरी डुब्न थाल्छन् । यस्तो अद्भूत खुबि भएका लेखक हुन् उनी ।
पामुक ती कम लेखकमध्येका हुन् जसको साहित्यिक कुशलता सन् २००६ मा साहित्यमा नोबेल पुरस्कार जितेपछि अझ बढी चुलिँदै गयो । धेरै जसो लेखकको साथमा के हुन्छ भने नोबेल पुरस्कार जितेपछि उनीहरुको शान त बढ्छ तर कामको गुणस्तर खस्किन्छ । हामीले त्यस्ता धेरै साहित्यकार देखेका छौँ जसको काम नोबेल साहित्य पुरस्कार जितेपछि खस्केको छ । तर, पामुकले भने एक पछि अर्को झनै राम्रा कृतिहरु पाठकसामु पस्किए । द म्युजियम अफ इनोसेन्स र अ स्ट्रेन्जनेस इन माई माइन्ड उनले नोबेल पुरस्कार जितेपछि बजारमा ल्याएका सफल किताबहरु हुन् ।
पामुकको पछिल्लो उपन्यास द रेड हेयर्ड ओम्यानले भने उनका अघिल्ला कृतिहरुको दाँजोमा पाठकलाई उही उडान दिन सकेका छैनन् । यस उपन्यासको कथामा यसको आफ्नै मौलिकता भएपनि उनको कथाको शैलीले पहिलाका किताबहरुको पस्किने गरेको स्वाद कताकता हराएको उनको पाठकहरुलाई महसुस हुन्छ । उनका अधिक किताबहरुमा जस्तै यस उपन्यासको कथा पनि इस्तानबुलमा घुमेको छ । कथामा वर्णन गरिएको इस्तानबुलका मनमोहक परिदृश्य तथा दशौँ हजार अटेका आकाशले उनको कथा उतार्ने क्यानभासको भूमिका निभाएको छ । उक्त उपन्यास बाबु र छोरा, उनीहरुको साहसिक कथा तथा दुखद हिनताबोध, नाफा तथा घाटा, तथा पूर्वी तथा पश्चिमी अनुभूतिका बारेमा लेखिएको छ ।
पामुकले यस उपन्यासमा घटना वर्णनका लागि दुई म पात्र छानेका छन्, कथाका मुख्य पात्र सेम सेलिक र रेड हेयर्ड ओम्यान गुल्सिहान । उपन्यासको पहिलो भाग छोड्नै मन नलाग्ने छ तर दोस्रो खण्डमा पुग्दा कथाले उही पकड राख्न सक्दैन । तेस्रो भागमा, उपन्यासको अन्त्य हुन्छ तर हावामा बिलाएसरि हुन्छ । पाठकहरु अड्कलको भरमा किताब सकाउन बाध्य हुन्छन् । तेस्रो भाग छोटो भएपनि, एकदम नै कुशलतापूर्वक लेखिएको भने छ । बहुत नै रसिलो प्रबन्ध भएकाले पनि अघिल्ला दुई भागभन्दा यो उत्कृष्ट भाग हो भनेर पाठकले सजिलै छुट्याउन सक्छन् । किताबको धेरै भाग इस्तानबुलमा केन्द्रित छः सहरको बदँलिदो मानिस तथा पूर्वाधार, कहालिलाग्दो ट्राफिक, र रैथानेहरुलाई आधुनिकीकरण सामना गर्दा भएको असहजताको बारेमा यसमा लेखिएको छ । अरु उपन्यासमाजस्तै यस उपन्यासमा पनि पामुकले इस्तानबुल सहरलाई उनको कल्पनाले सजिसजाउ गरेका छन् ।
पामुक उनका अरु समकालिन लेखकभन्दा कसरी फरक छन् भने उनी कथालाई बडो सोफिस्टिकेटेड ढंगले राख्न सक्दछन्–उनको नयाँ किताबमा यसैको नै कमी रहन पुग्यो । उनको किताब भनेर आँखा चिम्लेर सर्लक्कै निल्न खोज्नेहरुका लागि यो किताबको स्वाद अलिक फरक हुन सक्छ । यसमा केही त्रुटिहरु पनि भएका छन् जुन कथाका कथाकार, अनुवादक, सम्पादकदेखि समीक्षक समेतले फेला पार्न सकेनन् । सेम र रातो कपाल भएकी महिलाका पुत्र एनभरको उमेरको हिसाब गलत भइदिँदा पाठक अल्मलिन पनि सक्छन् । अध्याय ३६ मा सेमका वकिलले एनभर २६ वर्षको हुन् भनेर भनेका छन् । अनि उसैले अलमलमा परेका सेमलाई उनको आमा उसँग ३० वर्षअघि रात बिताएको घटना सम्झाउँछन् जसको अनुसार ऊ २९ वर्षको हुनपर्छ ।
यो गल्ती माफी दिनै नसकिने गल्ती त होइन तर डर कहाँनिर हो भने उनको किताबमा हुने गरेको रफ्तार यो किताबमा छैन । कथा ढिलो बगेको महसुस पाठकले गर्न सक्नेछन् । यो सत्य हो कि सफल लेखकहरुले राम्रो लेख्दछन् तर एकपछि अर्को राम्रै किताब मात्र निकाल्न सकिन्छ भन्ने हुँदैन । पामुकजस्ता लेखकले पनि सक्दैनन् । आफ्नो जन्मभूमिमा नरुचाइएका पामुक उनको पछिल्लो किताबमा मज्जैले चुकेका छन् । उनले अर्को किताबबाट आफ्नो खस्केको साख उठाउलान् भन्ने कामना मात्र हामी गर्न सक्दछौँ ।
यस उपन्यास एकिन ओकल्याप्सले अनुवाद गरेका छन् । पामुकको अ स्ट्रेन्जनेस इन माइ माइन्ड नामक कृति पनि उनैले अनुवाद गरेका थिए । पामुकका कृति मउरिन फ्रिली, एरडाग एम गोकनर र भिक्टोरिया हलबु्रकको अनुवादमा पढ्न बानी लागेकाहरुलाई यस पछिल्लो अनुवाद साह्रै नै खल्लो लाग्न सक्छ । पामुकले अनुवादको जिम्मा अरुलाई दिनपर्ने बेला भइसकेको यसले स्पष्ट पारिसकेको छ ।पामुकको अन्य रहस्यात्मक उपन्यास द ब्ल्याक बुक वा द वाइट क्यासलसँग यो किताब तुलना गर्दा अन्याय हुन जान्छ । तर उनको सबै किताब पढिसकेका अनुभवी पाठकहरुले अरु कृतिबाट यसलाई सजिलै छुट्याउन सक्छन् र सायद पन्छाउन पनि । आगामी कृतिहरुमा पामुकले पाठकलाई न्याय दिलाउन् । यही कामना ।
हाम्रो पात्रो
Liked by: