JUNE 29, 2015 / LENDAAI
सिमसिम बर्खे झरीसँगै बिजुली चमक्क चम्कियो। तेस्रो बेन्चको छेवैमा बसेकी प्राप्तिले दुवै हातका कान छोपी र आँखा चिम्म गरी। लहरै बसेका अरू केटाकेटी कोही चिर्रर चिच्याए, कोही आँखा चिम्म गरेर घोप्टो परे। आकाश जोडले करायो र निमेषमै शान्त भयो। सेतोपाटीको मुन्तिर कुर्सीमा बसेकी मिस मुसुक्क हाँसिन्। र, बोर्डमा लेखिन्, ‘चट्याङ भनेको के हो?’
इसारामै उनले पुछारतिर बसेर ट्वाल्ल परेको फुच्चेलाई उठाइन् र हातको रूलरले बोर्डमा देखाएर सोधिन्, ‘थाहा छ के हो?’ अक्क न बक्क पर्दै ऊ घोर्रियो। आँखा फट्टाएर हेर्यो र भन्यो, ‘था छैन मिछ।’
ऊ बस्यो। अर्को उठ्यो। ऊ पनि बस्यो। अरू पनि उठे, छिनमै बसे।
र, मिसले तेस्रो बेन्चकी प्राप्तिलाई उठाइन्। रूलरले उसैगरी बोर्डमा देखाउँदै सोधिन्, ‘ल प्राप्ति भन, के हो?’
प्राप्ति उठी। आँखा अलि ठूलो पारी। अझै ठूलो पारी। दाहिने हातले मच्याकमच्याक मिची। अनेक बल गरी अनि भनी, ‘बोर्ड हो मिस।’
कक्षाभरिका केटाकेटी गलल हाँसे। प्राप्ति चुपचाप बेन्चमा बसी।
***
अनुजा बिहानैदेखि तनावमा थिई। छोरीलाई स्कुल पठाएर अफिस हिँड्ने चटारोले लखतरान हुँदा पनि रमण ओच्छ्यानमा घुरिरहेको थियो। सोझै उठाउँदा जंगिन्थ्यो। त्यसैले ऊ जोडले भुइँमा भाँडा पछार्थी। रमण खंग्रङ्ग भएर उठ्थ्यो।
आज पनि अनुजाले त्यसैगरी भाँडा पछारी। रमण असिनपसिन हुँदै उठ्यो। भूकम्पले हल्लाएझैं ठान्यो होला-सरासर ढोकाको चेपमा गएर उभियो।
‘के भो, के भो?’ निद्राले दाहिने आँखा टालिएको थियो, पुलुक्क देव्रे आँखा उघारेर उसले अनुजालाई हेर्यो।
‘क्यै हैन, भाँडा खस्या हो,’ उसले सामान्य पारामा भनी, ‘जानुस्, मुख धुनुस्।’
रमणले भित्ताको घडी हेर्यो-९ बजेको थियो। बाहिर बादल टम्म थियो। रातभरि दर्केको पानीका छिटा झ्यालका शीशामा आलै थिए।
अनुजालाई कौशलटारबाट चावहिल पुग्नुपर्थ्यो जागिरमा। रमण लगभग बेरोजगारजस्तै। अफिसमा सधैं ढिलो पुगेको भन्दै निकालिएको १५ दिन पनि पुगेको थिएन। तेस्रो पटकको स्पष्टीकरण पत्र बुझेपछि ऊ उत्तरको साटो राजीनामा पत्र बुझाएर निस्केको थियो।
त्यो दिनदेखि अनुजा र रमणको ठाकठुक बाक्लिएको थियो। छरछिमेकसम्मै सुनिने गरी भाँडा नपछारिँदासम्म रमण ओच्छ्यानबाट डेग चल्दैनथ्यो। भूकम्पपछि खिस्रिक्क आवाज सुन्यो कि जर्याकजुरूक उठ्न थालेको थियो।
मुख धोएर फर्किनसक्दै अनुजाले भनी, ‘आज नानीसँगै स्कुल गएर जसरी पनि म्यामसँग कुरा गर्नुस्। यस्तै हो भने क्लास नबढाउने भनेका छन्।’
अनुजा मलिनो अनुहार लगाएर टोलाई।
रमणलाई यही आग्रह गरेको यो तेस्रो पटक थियो। जागिरबाट निस्केपछि उसको जाँगर पनि ओइलाएको थियो। अनुजाले प्राप्तिलाई स्कुल छाडेर फर्किँदा ऊ हरेक दिनजसो लम्पसार परेर सुतिरहेको हुन्थ्यो। कति दिनसम्म त छोरीसँग उसको आमनेसामने भेट पनि हुँदैनथ्यो। ऊ उठिनसक्दै प्राप्ति स्कुल हिँडिसकेकी हुन्थी। प्राप्ति स्कुलबाट फर्किंदा ऊ सहर डुल्न हिँडिसकेको हुन्थ्यो। ऊ सहरबाट फर्किँदा प्राप्ति निदाइसकेकी हुन्थी।
एउटै घरमा बसे पनि बाउछोरीले कति दिनसम्म एकअर्काको अनुहारै देख्दैनथे। रमणले कहिलेकाहीँ निदाएकी छोरीको निधारमा माया गर्थ्यो र टक्क उभिएर एकटकले हेर्थ्यो।
उसले प्राप्ति पढाइमा कमजोर भएको गुनासो सुन्न थालेको हप्ता नाघिसकेको थियो। सुनाउने अनुजा हुन्थी। अनुजालाई स्कुलले सुनाउँथ्यो।
बिहानभरि, दिनभरि र राति अबेरसम्म काममा लखतरान परे पनि अनुजाले प्राप्तिलाई पढाउँथी। ढिला भएको बेला ऊ आफैंले देव्रे हातले लेखिदिएर होमवर्क सिध्याउँथी। प्राप्तिलाई तयार पारेर १५ मिनेट परको स्कुलसम्म पुर्याउँथी र आएर खाना बनाउँथी। आफू खान्थी र बाँकी हटकेसमा राखेर तयार हुन्थी। हतारोले उसको २० मिनेटको शृंगार ५ मिनेटमा खुम्चिएको थियो। निख्खर उसको अनुहारमा जमेका ब्ल्याक हेड्स ननिख्रिएको हप्तौं भइसकेको थियो। हतारहतार झोला भिरेर ऊ निस्किँदासम्म रमण उसैगरी लम्पसार परेर घुरिरहेको हुन्थ्यो। र, पनि अनुजाले कहिल्यै गुनासो गरिन। सोची– जीवन सोझो बाटोमा हिँड्नु छ भने गुनासोको बांगोटिंगो जाल च्यातिदेऊ। उसले च्याती पनि- धेरै पटक।
प्राप्ति स्कुले पढाइमा कमजोर भए पनि उसको सामाजिक पढाइ बेजोड थियो। मोबाइल, ट्याब्लेटमा ऊ बाउआमाकी गुरू थिई। युट्युब खोलेर गीत गुन्गुनाउँथी र मन परेको गीत बज्दा कम्मर मर्काउँथी। टिभीमा आउने हरेक च्यानलको नम्बर कण्ठ पार्थी र टिभीमै टाँस्सिएर एकटकले हेर्थी। मन परेको गीत बज्यो भने सँगसँगै गाएर सबैलाई जिल्ल पार्थी। कनीकनी होमवर्क गर्थी। नसके पेट दुख्यो भन्दै सुत्थी।
समग्रमा ऊ ठीकठाक थिई।
भूकम्पले १ महिना पढाइ ठप्प भएर कक्षा सुरू भएकै अर्को दिनदेखि ऊबारे कम्प्लेनको संख्या बढ्दै गयो।
अनुजा बेलाबेला उदास हुँदै सुनाउँथी, ‘जति प्रयास गर्दा पनि नानीले उत्तर लेख्न सक्दिन रे। बोर्डमा लेखाइदिएको क्लासवर्क पनि नटिपेर ट्वाल्ल पर्छे रे। बोर्डमा लेखेकै कुरा सोध्दा पनि बोल्दिन रे!’
रमणले आश्वस्त पार्दै भन्थ्यो, ‘भूकम्पको डर नहटेर हो, बिस्तारै ठीक हुन्छ, डोन्ट वरी।’
अनि अनुजा फेरि उस्तै उदास अनुहारमा भन्थी, ‘१३ वटा किताब छन् रे यूकेजीमा। प्राप्तिले थेग्न सक्दिन भन्छन्। हिजो त प्रिन्सिपल म्यामले एलकेजीमै ड्रप गर्दिऊँ भन्नुभो। म भक्कानिएर बोल्नै सकिनँ।’
प्राप्तिले ६ वर्ष टेकिसकेकी थिई। फेरि एलकेजीमै राख्दा उसका साथीभाइ छुटेर जान्थे, नयाँ चिल्लरसँग फेरि त्यही दोहोर्याएर पढ्नुपर्थ्यो।
मान्छे सानी भए पनि उसका पनि त मन मिल्ने संगी छन्, कसरी बिर्सोस्!
***
अनुजाको तेस्रो आग्रहपछि आज रमण स्कुज जान्छु भनेर हिँड्यो। सरासर गएर प्रिन्सिपलसँग आमनेसामने भयो।
प्रिन्सिपलले पनि त्यही कुरा दोहोर्याइन्, ‘प्राप्तिका अरू सबै एक्टिभिटिज राम्रा छन्। नाच्छे, गाउँछे, हाँस्छे। तर, पढाइमा सुधार नै हुन सकेन। क्लासमा ट्वाल्ल परिराख्छे।’
रमण एकछिन केही बोलेन। म्यामले उसको अनुहार हेरिरहिन्।
‘पहिले त राम्रै थिई भन्नुहुन्थ्यो, अचानक के भो?’ रमणले सोध्यो, ‘१ महिनामै कसरी त्यस्तो हुन सक्छ?’
‘म पनि चकित छु, तर हिजोजस्ती छैन प्राप्ति,’ प्रिन्सिपलले भनिन्,‘देयर मस्ट बी समथिङ रङ!’
रमण फेरि चुपचाप बसिरह्यो। मनमा अनेक तर्कना उठे। र, पनि केही बोलेन।
‘घरमा राम्ररी सोध्नुस्, केही समस्या छ कि?’ प्रिन्सिपलले भनिरहँदा रमण ‘हस्’ भन्दै सरासर बाहिर निस्कियो। छोरी पढ्ने कक्षाअगाडि गयो। तेस्रो बेन्चमा टुसुक्क बसेकी प्राप्तिले देखेर मुसुक्क हाँसी। रमण पनि मुसुक्क हाँसेर हात हल्लाउँदै बाटो लाग्यो।
***
रमण स्कुल पुगेको दसौं दिनमा बेलुकी प्राप्ति रूँदै स्कुलबाट आई। ऊ ल्यापटपमा जागिर खोज्ने ध्याउन्नमा थियो। अनुजा अफिसबाट फर्किएकी थिइन।
प्राप्ति छेउमा आएर लपक्कै टाँसिई र सुँक्सुकाउँदै भनी, ‘बाबा, म स्कुल जान्नँ है!’
रमण झस्कियो। बाहिर सिमसिम पानी पर्दै थियो, प्राप्ति भिजेकी थिई। भिजेरै होला, उसका आँखाका आँसु पानीमै बगे।
उठाएर काखमा राख्यो। सुख्खा लुगाले अनुहार र कपाल पुछिदियो। ड्रेस फेरिदियो। अनि निधारमा म्वाई खाँदै भन्यो, ‘के भयो र नानु ? कल्ले के भन्यो?’
प्राप्ति हिँक्कहिँक्क गरिरही। रमणले भान्साबाट गिलासभरि दूध ल्याएर ख्वाइदियो। मुखमा दूध परेपछि उसको हिक्का मत्थर भयो।
फेरि सोध्यो, ‘कसैले पिट्यो कान्छु? म्यामले? साथीले? गार्डले?’
प्राप्तिले उत्तर फर्काइन। रमणले अनेक प्रश्न सोध्यो, केही उत्तर पाएन।
प्रश्नको शृंखला लामै भएपछि प्राप्तिको पाखुरामा समातेर एक्कासि बम्कियो,‘केही नभएको भए किन रोएको?’
हकारेपछि प्राप्ति फेरि रोई। सुँक्कसुँक्क गरिरही।
‘म्यामले केही भन्नुभो?’ झर्किएकै लवजमा फेरि सोध्यो, ‘क्लासवर्क गरिनौ भनेर गाली गर्नुभो? पिट्नुभो?’
प्राप्तिले बल्ल मुन्टो हल्लाई। रमणको मनमा रिसको तुफान उठ्यो।
त्यो रिस म्यामप्रति थियो। प्राप्तिप्रति थियो। हरेक महिना तिर्ने ४५ सय रूपैयाँ फिप्रति थियो। १५ किलो ज्यान नहुने केटाकेटीलाई १५ किलो किताब थोपर्ने सिस्टमप्रति थियो। घर र अफिसको चटारोलाई सँगसँगै हाँक्ने अनुजाप्रति थियो।
समग्रमा रमणको मनमा रिसको राँको बल्यो। त्यही राँको ओकल्यो, ‘अनि क्लासवर्क किन नगरेको? थपक्क गरे हुन्न? बोर्डमा लेख्देकै हुन्छिन् म्यामले, खररर सारे हुन्न?’
रमण चिच्याएर बोलेपछि प्राप्ति डरले चुपक्क परी। गलैंचामा थपक्क बसेर घोप्टो परी। आँसुले गलैंचा लपक्कै भिज्यो।
रमणले हात समातेर उठायो र फेरि त्यही सोध्यो।
प्राप्ति लगलग काँपी। बोल्न खोज्दा शब्द झरेनन्। ऊ हिँक्कहिँक्क गरेपछि रमणको मन पग्लियो। हातले आँसु पुछ्दै गरेर मायाले सोध्यो, ‘किन नगरेको नानु? नजानेर?’
त्यसरी बोलेपछि प्राप्ति पनि उत्तिखेरै पग्लिई। रमणको हात च्याप्प समातेर भनी, ‘बाबा, बोर्डमा लेखेको केही देख्दिनँ, धमिलो र कालो धर्कामात्रै देख्छु!’
त्यसपछि रमणका आँखा धमिलिए। प्राप्तिको अनुहार पनि धमिलै देख्यो।
शायद प्राप्ति पनि उसलाई त्यस्तै धमिलो देखिरहेकी थिई!
Liked by: