उजरी | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

उजरी




   Bishwa Raj Adhikari - Jul 26 2016

केही बेर पछि आएका दुई महिलाहरुले त्यो बैलको शरीरबाट केही मासु झिके। त्यो दृश्यले गर्दा बैलको अन्तेष्टि हेर्ने उजरीको इच्छा पहिले भन्दा झनै तिब्र भयो। त्यो बैलको आँखा फोड्ने कार्यमा केही कागहरु ब्यस्त देखिए। गाउँका कुकुरहरुले मासुको गन्ध पाएता पनि कुन दिशाबाट त्यो गन्ध आएको हो पत्ता लगाउन नसकेको हुनाले गन्ध कताबाट आएको हो भनी थाहा पाउन ती कुकुरहरु कहिले यो कहिले त्यो दिशामा कुद्न थाले।



विश्व राज अधिकारी | नरोकिएर जतिखेर पनि पिसाब बगिरहने रोग लागेको हुनाले सुखलीलाई उसैकै घरका व्यक्तिहरुले गाउँबाट निष्कासन गरे अनि ओलारको छेउमा एउटा झुपडी बनाई दिए। जिउबाट पिसाबको दुर्गन्ध आउने हुनाले गाउँमा पस्न सुखलीलाई पूर्ण रुपमा प्रतिबन्ध थियो। पहिलो सन्तानलाई जन्म दिँदा नै त्यस्तो भएको हुनाले परिवार मात्र होइन लोग्ने समेतको पनि रिस पोखिएको थियो सुखली माथि। सुत्केरी बेला एक पटक लोग्नेले भेट्न आएकोसम्म याद छ त्यसपछि आफू छेउ त के टाढाबाट मात्र पनि हेरेको थाहा छैन सुखलीलाई । केही वर्ष पछि सुखलीको लोग्नेको सर्पले टोकेर मृत्यु भएपछि गाउँभरिकै घृणा र क्रोध पोखिएको थियो उमाथि।

गाउँले हरुले यी सबै दुर्घटनाहरुका लागि सुखलीलाई दोषी बनाएर उसको नाम नै परिवर्तन गरिदिएका थिए। उसको नयाँ नामाकारण भएको थियो – उजरी। अर्थात सबै थोक उजाड भएको। यो हो उजरीको संक्षिप्त इतिहास।

आमाले उजरी भएको ठाउँमा आएर भेट्ने गरेता पनि उजरीले भने आमाको घरमा जानु पर्दा राती लुकी छिपी जानु पर्दथ्यो। राती रक्सीले मात्तिएका एक दुई जना अधबैंसे लाग्ने मान्छेहरु उजरीको झुपडीमा प्रवेश गर्दा वाध्यता वा स्वेच्छामा उसले तिनीहरुसँग कहिले कांही रात बिताउनु पर्ने वाहेक अन्य कुनै पुरुष वा स्त्री उजरीको झोपडीमा प्रवेश गरेको कहिले देखिएन। उजरीको जन सम्पर्कको विवरण पनि यत्ति नै हो।

उजरीलाई आज किन हो एकदमै छटपटी भइरहेको छ। छाति पोलेको छ। टाउको भारी छ। केही गर्न पटक्कै मन लागेको छैन। जिलेविया, सिलेविया, सुनरी र अरु थुप्रै उसका साथीहरु लोग्नेको घरमा मज्जासँग बसेको देख्दा उसको छाती पोल्छ। भिजेको तिघ्रा पुछी। केही बेर आमालाई पनि गाली गरी – निर्दयीको घरमा बिहे गरेर पठाई दिएको भनेर। ‘घरका मानिस त निर्दयी छन् नै गाउँलेहरु पनि उस्तै’ फेरि फतफताई। गाउँमा लागेको एक दिने मेलामा जान नपाएर छटपटी भएको थियो।

झुपडी देखि केही पर ओलारको दक्षिण पट्टिको छेउमा बडो धुमधामको मेला लागेको थियो। केही महिना पहिलेदेखि नै त्यो गाउँमा मेला लाग्दैछ भनी मुखिया साहेबले गाउँ गाउँमा डंका पिटाएका थिए। उजरी त्यो मेला हेर्न जाने पनि कसरी? कतै गयो कि नाक थुनेर लखेट्न थाल्छन्। टाढैबाट मेलाको दृश्य अबलोकन गरिरहेकोमा उसको ध्यान एक्कासी गाउँबाट मरेको बैल ल्याउँदै गरेको दृश्यतिर केन्द्रित भयो।

मरेको एउटा बुढो बैलालाई ठूलो बाँसमा तीन जनाले एकतिर तथा बाँकी तीन जनाले अर्कोतिरबाट काँधमा झुन्ड्याएका थिए र स्याँ स्याँ गर्दै लम्कदै थिए ओलारको उत्तरपट्टिको छेउतिर, सिमलको रुख नजिक।

बैल बोक्ने मध्येको एक युवकले मुखको पसिना गम्छाले पुछ्दै क्रोधित मुद्रामा बोल्यो ‘साले मुखिया, जवान हुनञ्जेलसम्म जोत्नु जोत्यो यो बैललाई, बूढो भएर थला परे पछि घाँस पानी दिन छाड्यो। खान नपाए पछि बुढो बैल मर्दैन’।
प्रस्तुत मन्तव्य प्रति सबै सहमत भए।

एउटाले थप्यो पनि ‘जवान बैललाई सबैले पाल्छन बूढो भएपछि भगवान भरोसे! जवानीमा यो बैल कम बलियो थियो? जङ्गलबाट कति मोटा मोटा काठ ओसारेको छ यसले बैलगडीमा’। यो सम्बाद पछि मरेको बैल भूइँमा राख्ने कार्य सम्पन्न भयो। उजरीले त्यो दृश्य सुरुदेखि समाप्तिसम्म हेरि रही।

त्यो मरेको बैल नजीक केही पुरुष तथा केही महिलाहरु आए। दुई पुरुषहरुले बडो कुशलतापूर्वक त्यो बैलको छाला झिके। दुबैको बीचमा सम्बाद भएको सुनियो। ‘यो छालाको खुब बलियो नारन होला जस्तो छ, है? पहिलो व्यक्तिले बोल्यो । ‘हो’ दोस्रो व्यक्तिले बोल्यो। पहिलो व्यक्तिले पुन बोल्यो ‘चारबटा नारन बनाएर समनपुर बजारमा लगी बेच्नु पर्छ। फगुआको खर्च पनि त झिक्नु पर्यो नि?’

केही बेर पछि आएका दुई महिलाहरुले त्यो बैलको शरीरबाट केही मासु झिके। त्यो दृश्यले गर्दा बैलको अन्तेष्टि हेर्ने उजरीको इच्छा पहिले भन्दा झनै तिब्र भयो। त्यो बैलको आँखा फोड्ने कार्यमा केही कागहरु ब्यस्त देखिए। गाउँका कुकुरहरुले मासुको गन्ध पाएता पनि कुन दिशाबाट त्यो गन्ध आएको हो पत्ता लगाउन नसकेको हुनाले गन्ध कताबाट आएको हो भनी थाहा पाउन ती कुकुरहरु कहिले यो कहिले त्यो दिशामा कुद्न थाले। कुकुरहरुको आगमन नभएकोले कागहरुले निर्धकतापूर्वका बैलको जीउबाट आफूलाई मन पर्ने मासु झिक्दै थिए तर शान्तिपूर्वक भने होइन। युद्ध उनीहरुको बीचमा पनि चल्दै थियो, बढी भन्दा बढी मन परेको ठाउँको मासु झिक्न। युद्ध गर्न सक्ने क्षमता अनुसार नै मासु हात पार्दै थिए, कागहरुले।

कुकुरहरुले एकै साथ धावा बोले, बैलको मासु माथि। अघिदेखि आकाशमाथि भौतारीरहेका गिद्धहरु पनि तल झरे। मासु तान्न कुकुर र गिद्धहरुको बीचमा द्वन्द चल्न थाल्यो, भयानकसँग। पूर्वतिरबाट कुकुरहरुले र पश्मिततिरबाट गिद्धहरुले मोर्चाबन्दी गरेका थिए। मासु तान्न गरिएको खिचातानीको क्रममा बैलको शरीर कहिले कुकुरहरुको कहिले गिद्धहरुको शिविरमा जाने दृश्य घृणा र मनोरञ्जन मिश्रित थियो। कुनै बेला गिद्धहरुले कुकुरहरुलाई भने कुनै बेला कुकुरहरुले गिद्धहरुलाई लखेटेर धेरै टाढासम्म पुर्याउँदथे। केही गिद्धहरु रुखमाथि बसेका थिए। उजरी त्यो दृश्य कौतुहलतापूर्वक हेर्दै थिई। कुकुर वा गिद्धले जित्ने हो भन्नेमा उसको उत्सुकता केन्द्रित भयो। लामो समयसम्म दुबै पक्षहरु बीच भएको युद्ध पछि बैलको शरीरबाट मासु नै रित्तियो। बाँकी थियो भने केवल हाड र सिङ्ग। कुकुरहरु भुक्दै गाउँतिर कुदे अनि गिद्धहरु आकाशतिर उडे। उजरीको दृष्टि कहिले कुकुर कहिले गिद्धतिर केन्द्रित भएको देखियो।

गाउँमा लागेको एक दिने मेला समाप्त भइसकेको थियो। सूर्य उदाउनु भन्दा पहिले नै पसलेहरु अर्को मेलामा जाने यात्र आरम्भको तयारीमा जुटे। मेलाको अवशेष अवलोकन भन्दा किन हो त्यो बैलको अन्तेष्टि हेर्न नै उजरी उत्सुक भई। उसको आँखा त्यो सिमलको रुख नजीक रहेको त्यो बैलको हाडतिर केन्द्रित भयो। उजरीले हेर्दा हेर्दै एउटा बैलगडी त्यहाँ आइपुग्यो। बहलियाले आफ्नो सहायकलाई आदेश दियो ‘हाल, त्यो बैलको हाड गडीमा। छिटै गर, अरु गाउँहरुमा पनि जानु पर्छ। ठेकेदारलाई पूरा गडी  हाड बुझाउन पाए आजै पैसा पाइन्थ्यो’।

बहलियाको व्यग्रता मिश्रित आदेश सकिए पछि सहायकले सोध्यो ‘यो हाडको के हुन्छ, भैया?’
‘ए ससुर, यति पनि थाहा छैन, यसको खाद बन्छ। खेतमा हाल्ने खाद। त्यो खाद खेतमा छरे पछि धान खुब फल्छ’ बहलियाले उत्तर दियो।

पशुको हाड निकै काम लाग्ने तथ्य सहायकले थाहा पाएर आफ्नो मुहारमा सन्तुष्टि अनि प्रसन्नता पनि प्रदर्शित गर्यो।
मेला सकिएको तेस्रो दिनको रातमा उजरीलाई निद्रा आइरहेको थिएन। कहिले आफ्नो लोग्ने, कहिले गाउँका मानिसमा ध्यान केन्द्रित हुन पुगिरहेको थियो, उसको। कहिले भने आमामा कहिले भने जिलेबिया सिलेबियामा। कहिले भने मेला हेर्न पाएको भए त्यसबाट पाउन सकिने अकल्पनीय अति आन्नदमा। कहिले मरेको त्यो बैल ल्याउँदै गरेको तथा कहिले त्यसको मासु झिक्दै गरेको अतीतको दृश्यतिर। बैलालाई गाउँबाट ल्याउँदै गरेको दृश्य उजरीको मानसपटलमा धेरै बेरसम्म रह्यो। कुन बेला निद्रा पर्यो उसले थाहा पाउन सकिन। आँखा खुलेपछि विहान भइसकेको थाहा पाई र राती राम्रो गरी निद्रा नपरेको पनि महसूस गरी।

मेला सकिएको चौथो दिनको रातमा चटाईमा ढल्किने वित्तिकै आँखा लोलाउन थालेको उजरीले चाल पाइन। उजरीको मन पूर्णतया स्थिर भइसकेको थियो। कोठी माथि राखिएको डिबिया पनि निभाउन भ्याइन उसले छिटै निद्रा परेको हुनाले। धेरै बेरसम्म डिबिया बलेको हुनाले तेल सकियो र बत्तिहर मात्रै बल्यो केही बेरसम्म। धुआँ छरियो यत्र तत्र। उजरी मस्त निद्रा मै थिई। राती ढिलोसम्म उजरीको झुपडीमा बत्ति बलेको हुनाले भठ्ठीबाट दारु पिएर फर्किने अधबैँसे दरुआहाहरुले उजरी तिनको प्रतीक्षा बसेको अनुमान गरे।

:: Bishwa Raj Adhikari
I enjoy analyzing world affairs particularly international economics. I have deep interest in literature.



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.