उसको र उनको प्रेम कथा | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

उसको र उनको प्रेम कथा




   Suyog Dhakal - Jul 16 2016

कसैको बास्तविक जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ , यो कथा उस्को हो र यो कथा उन्को हो । उ र उनी हामी मध्य जो कोही पनि हुनसक्छौँ , हाम्रो समाजमा धेरै उ र उनिहरु छन् र आज सबै उ र उनिप्रति यो कथा समर्पित गर्न चाहन्छु ।



कसैको बास्तविक जिवनसँग मेल खान गएमा संयोग मात्र हुनेछ , यो कथा उस्को हो र यो कथा उन्को हो । उ र उनी हामी मध्य जो कोही पनि हुनसक्छौँ , हाम्रो समाजमा धेरै उ र उनिहरु छन् र आज सबै उ र उनिप्रति यो कथा समर्पित गर्न चाहन्छु ।

यो एउटा यस्तो सामान्य र औसत प्रेम कथा हो जुन नेपालको हरेक गाँउ शहरमा हुने गरेको छ, दोहोरिरहेको छ, तेहरिरहेको छ तर पुरानो पक्कै पनि भएको छैन ।


उसको सम्झना
त्यतिबेला कच्याक-कुचुक्क पारेर हत्केलामा लुकाइराखेको कापीको पन्ना जसमा हुन्थे प्रेमका भावना, उसले पनि प्रेम गर्न त फिलिम हेरेरै सिकेको हो । स्कूलमा सर्वत्र शंका थियो उ र उनिको सम्बन्धको बिषयमा, अलिहेका केटाकेटीले जस्तो डेट जान कहाँ पाउनु र उ सम्झिन्छ र थकथक मान्छ, यदि त्यतिबेला जुकरबर्गले फेसबुकको आविष्कार गरिदिएको भए प्रेमालाप गर्न कत्ति सजिलो हुनेथियो ?

पहिलो प्रेम प्रस्ताव उसले डराई डराई सरस्वती पूजाको दिन राखेको हो, उत्तर आएको थिएन । अनुत्तरित प्रेम लगभग स्विकार गरेकै बराबर हो भन्ने मानेर उ पछाडी हटेन । बिहिबार हाटमा उनि आउथिन भनेरै उ पनि जान्थ्यो तर कुनै बातचित, अकंमाल या भेटघाट गर्न हैन केवल देखादेख गर्नकालागी । अरुहरुलाई शनिबार र बिदाको दिन भनेपछि खुशीको सिमा हुन्नथियो तर उसलाई स्कूल लाग्ने दिन नै प्यारो थियो, उनिलाई हेर्न पाउँथ्यो....

शुरु त्यतिबेला भयो जब उ र उनि दुबैजना स्कूलमा पढ्थे । आधा रङ्ग खुईलिसकेको उसको साइकल थियो जसलाई उसले बिभिन्न प्रकारले चलाउन सक्थ्यो जस्तै एउटा हात छोडेर, पछाडी बसेर, उभिएर र दुबै हात नि छोडेर चलाउँथ्यो, अलि खुल्ला बाटो पाउँदा । क्लासमा लुकामारी चल्थ्यो दुबैको आखाँको र उसको साइकलको पाइडल संगसँगै उनिसंगको प्रेम कथा पनि अगाडी बढिरहेको थियो । एकफेरको नयाँ बर्षमा उसले उनलाई बजारमा पाइने बलिउडिया हिरोहिरोइनको फोटा भएका पोष्टकार्डमा नयाँ बर्षको शुभकामना अग्रेंजीमा लेखेर दिएको थियो, “वान ग्लास अफ वाटर टु ग्लास अफ बियर, ओ माई डियर ह्याप्पी निँउ यिएर ।"

यो छोटो प्रेमकथामा उनले उसलाई छोडिन् जसका कारणहरु थुप्रै हुन सक्छन जुन मैले यहाँ कोट्याउन चाहिन । उनि उसको जुलियट बन्न सकिनन या भनौ उ उनको ज्याक बन्न सकेन र उनिहरुको प्रेमको टाइटनिक त्यसै डुबेर गयो । उ र उसकी उनिको बिछोड भयो, सपना तुहिए । उनको बिहेको निम्तो उसको घरमा पनि आएको रहेछ तर उ गएन । बुवा जानुभयो रे अनि कस्तो धुमधामसँग भएको बिहे भनेर घरमा सुनाउनुभएको थियो, के होला त यो भन्दा बढी दशाको कुरो ?

विदेशमै बस्ने केटा महिनाको यति कमाँउछ, गएको चार बर्षमा त बाटो छेउको दश कठ्ठा घडेरीपनि किनिदियो रे आमाको नाँउमा, जुन विदेशीले उसको माया लग्यो त्यहि विदेशीको गुणगान पनि उसले राम्रैगरि सुनेछ । खुशी त उ पक्कै खुशी होली, मैले भएको भए ६ महिनाको कमाईले पनि एक तोला सुन किनिदिन सक्दिनथिएँ होला बरु ठिकै भयो अहिलेसम्म त विदेशीले उनलाई धेरै सुन किनिदिसक्यो होला ? तर फेरि यहाँ मसँगै भएकी भए उनी आफ्नै माटामै हुन्थिन, केहि किन्न नसके पनि माया त गर्थे नि म उनलाई । के थाहा! विहे गरेर हामी दुबैजनानै विदेश पो जान्थ्यौं कि ? संभावनाका यस्ता कुरामा उ अझै अल्झिरहन्छ ।

उसको बर्तमान
अगाडीका सबैकुराहरु फ्लाशब्याक हुन् । उ आज पनि माथी आकाशमा विदेशबाट आएका ठूला पिलेनको आवाज निको मान्दैन जसको उसँग आफ्नै कारणहरु छन् । हरेक पिलेनमा विदेशमा बसेका नेपाली दाजुभाइहरु सफा लुगा लाएर, सुटकेश र झोला बोकेर गाउँ-शहर छिर्छन र खोजी गर्छन एउटा सुशील, सभ्य र मायालु श्रीमती जसलाई आफैसँग लिएर जान्छन विदेश उनिलाई लिएर गए जस्तै... उसको मुख अमिलो भयो ।

अनि त्सपछि उ जस्तै धेरै स्वदेशी रोमियोहरु आधा रङ्ग खुईलिएको साइकल, यादहरु र केहि फाटफुट चिठ्ठिपत्रको सहारामा बाँच्नुपर्ने हुन्छ, गाह्रो छ उसले थप्दै गयो ।

उसको मुटुले अझै भन्छ कि उनले उसलाई नै माया गर्थिन रे, अझैपनि उसलाई सम्झिएर विदेशमा धेरै रुन्छिन जस्तो लाग्छ रे उसलाई ।

उसको एउटा बिन्ती छ, कृपया ठूला प्लेनमा आएर उ जस्ता साना मान्छेहरुको मायालु खोसेर नलगिदेओ रे ? विदेश जान्छौ, उतै कमाउछौ, बस्छौ बरु उतैनै कोही विदेशी या त्यहाँ भएका स्वदेशी विहे गरे भईगो नि । यहाँ आएर अर्काको माया खोसेर नलगिदेउ, कृपया…

यो संसार गोलो छ, यहाँ धेरै दोबाटाहरु छन् र जीवन लामो छ । एकदिन उसले उनलाई त्यस्तै कस्तै दोबाटोमा भेटेर सोध्नेछ रे ! आखिर किन यस्तो गर्यौ भनेँर ? हुन त उन्ले जति नाँईनास्ती गरेपनि मान्नेले मानिदिए पो ? उनका बुवाआमा आफ्नी एउटैमात्र छोरीलाई विदेश पठाउन र लाहुरेलाई अन्माएर दिन पाएकोमा बेजोड खुशी थिए रे तर पोहोर साल उनकी आमाको पुरानो गानो दुख्ने बेथालाई ओखतीले नि नभेटेर डाक्टरकैमा लगेर चारदिन त सलाइन पानी दिएरै राखेको । अस्पतालमा साह्रै हुनुन्छु भनेको सुनेपछि उनकी आमालाई पुर्याउन त्यहि साईकलमा उ पनि गएको थियो । छोरीलाई नभेटी मर्नेभएँ भनेर उसकी हुननसकेकी सासुआमा रुँदैथिईन । छोरी नजिकै होस भनेर चिताउनेले किन सात समुन्द्र पठाउनु ? अस्पताल कोठाको दैलोमा बसेर उ सोंच्दै थियो । बुढी अलिक बिसेक भएर घरमा आएकी छिन तर बेलाबेला अभर पारिरहन्छ रे ! विहेगरेर गएपछि चार वर्षमा प्रथम पटक उनि आउने रे भन्ने सुनियो यस्पाला वैशाखमा

भावना उर्लेर आएपछि प्रश्न बिनानै जवाफ आउने रहेछ, उ क्रमश: प्रश्न बिनाको जवाफ प्रस्तुत गर्दै गयो....

आखिर विदेशका सुकुमार आएपछि हामी गाँउका गुईठे हरुवा-चरुवालाई पर्खिने कोही नहुँदो रहेछ ? खै किन हो विदेशबाट आएको भनेपछि सबैजनाको मन पगालिंदो रछ प्लस टु को रिजल्टनै नआई उ गई ।

उनि गइन अनि उसको जिवन शुन्य भयो तर समय त नरोकिने रहेछ । हरेक दिन विहान सूर्य उनि भएका बेला जस्तै उदाइरह्यो र साँझमा अस्ताइरह्यो, जाडो गर्मी यावत रुपले समय ब्यतित भइरह्यो, दशैँ आयो, तिहार आयो केवल उनि आइनन र उसको मनबाट गइनन ।

बिर्सन त झन गाह्रो बरु संझिन सजिलो, उ लामो श्वाँस फेर्छ...

उसले गाँउमै बसेर पनि गरि खाएको छ । डलर साटेजति त कहाँ पाउनु तर खान पुग्छ । उनि आएपछि उस्ले उनिलाई सम्पर्क गर्न चाहेको पनि छैन उहि एकचोटी फेसबुकमा उनलाई एड गरेको थियो रे! तर उता एसेप्पट भएन ?

उनीको बानीनै यस्तै हो, जे पनि पेन्डिङ्गमा राख्ने । पहिलो चोटी प्रस्ताव राख्दा पनि उत्तर नआई पेन्डिङ्ग थियो र अहिले पनि रिक्वेस्ट पेन्डिङ्ग नै छ, उ मुस्कुरायो । अब म चाँही पेन्डिङ्गमा बस्दिन, उनीले छोडिन तर केहि छैन । उ अब अर्की उनिको खोजीमा थियो ।

यहाँ धेरै उहरु उनिको वियोगमा बसेका छन्, धेरै उनिहरु विदेशबाट आएका तेस्रो पक्षसँग अन्मिएका छन् र यस्ता यस्ता कथाहरु जन्मिएका छन् । कसैको जीवनसँग मेल खान गएमा संयोगमात्र हुनेछ । उनिले के भएर त्यसो गरिन् ? किन उसलाई छाडिन ? यो कथामा उनिका भावनाहरु समेट्न सकिएको छैन, म लेखक भएका नाताले उनिसँग यो कथाको आधा भाग खोतल्न चाहिरहेको छुँ, एकदिन उनिसगँ भेट भएपछि या भेटेर म यो कथालाई पूर्ण बनाउनेछु । यदि तपाइले उनिलाई ठम्याउन सक्नुभयो भने मलाई खबर गर्नु ल ? आखिर उनि अहिले कस्तो जीवन बाँचिरहेकी छिन ? गाँउ भन्दा पर, ठूला शहरमा सुकिली मुकीली भएर के उनिले उसलाई बिर्सि सकिन, कि अझै बिर्सिन बाँकी छ ?

यता उसको जिन्दगी अनेक कथा र पात्रहरुले भरिएको छ अरे! आजभोली उ मेरो असल साथी भएको छ, दिन-दिनै भेटने गरेको छु उस्लाई, उसका कथाहरु अब म लेख्छु । एकदिन फेरि उसको कथा लिएर म आइपुग्छु त्यतिन्जेलसम्म "सुन्नेलाई सुनको माला, भन्नेलाई फूलको माला, यो कथा बैकुण्ठै जाला, भन्ने बेलामा शुरुरुरु आइजाला ।"



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.