हिले जात्रा | अन्तर्राष्ट्रिय युवा दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

हिले जात्रा | अन्तर्राष्ट्रिय युवा दिवस




हिले जात्रा विशेष अडियो सामग्री

हिले जात्रा एउटा जात्रा भन्दा पनि बिसौनी हो, रोपाँईले थाकेका हातगोडा अनि हिलोसंग अघाएका मनहरु रोपाँई सकिएको खुशीमा चोक चौराहामा भेला भएर गर्ने जात्रा हो यो जस्लाई हामी हिले जात्रा भन्छौं । हिले जात्रा चाँही काठमाण्डौं भन्दा मोफसलका ठाँउहरुमा बढि प्रचलीत छ, नेवाः समुदायको इतिहास अनि सभ्यतासंग मूलभूत रुपमा जोडिएको यस जात्राको महत्व अनि सन्दर्भ बिशिष्ट छ ।

सामान्यतया हिले जात्राको मिति आआफ्नो ठाँउहरु अनुरुप तय गरिन्छ, काठमाण्डौंमा भएको गाईजात्रापछि उपत्यका बाहिरका ठाँउहरुमा हिले जात्रा मनाउने क्रम शुरु हुन्छ । झाँकि, प्रहसन, रोपाँई अनि नाचको उत्कृष्ट समागम यस हिले जात्राको महत्व अनि तवर ठाँउ अनुसार फरक फरक हुन्छ । यस जात्राको इतिहास गएर मल्लकालिन समयसँग ठोकिन्छ, मल्लकालिन समयबाट उपत्यकामा गाइजात्रा र बाहिर हिले जात्राको क्रम कहिल्यै रोकिएको थिएन, तर यसवर्ष कोभिड महामारीले भने हिले जात्राका लस्करहरु प्रभवित बनेका छन् ।


लाखे नृत्य, अनि मान्छेहरुले जनावरको भेष लिएर नाच्ने, अरुलाई गिज्याउने, तर्साउने यस जात्राको महत्वपूर्ण अनि रमाइलो पाटो हो । मकवानपुर, भोजपुर, धनकुटा, बन्दीपुर लगायतका ठाँउहरुमा आआफ्नै हिले जात्राका मितिहरु रहेका छन्, सामान्यतया गाइजात्राको भोलीपल्ट, पर्सिपल्ट या यति दिनपछि भनी हिलेजात्राको मिति तय गरिएको हुन्छ । श्रावण २८ गतेलाई चाँही औपचारीक रुपमा नै हिले जात्राको सर्वमान्य मिति तोकिएको हो, आजको दिनवाट रोपाँई औपचारीक रुपमा नै सकिएको मानिन्छ, अब खेतमा रोप्न हैन गोडमेल गर्नका लागि मात्र गए पुग्छ ।

हिले जात्राको अनेक अनेक शुभकामना, जात्रा मनाउन भेला हुन नपाएपनि घरमा नै बसेर देवदेवताको अर्चना गर्दै अनि शुभेच्छा साटासाट गरेर यस दिवसलाई संझना गरौं ।

अन्तर्राष्ट्रिय युवा दिवस



 


अन्य बर्षहरु झै यस बर्षपनि अगस्त १२ को दिन अन्तराष्ट्रिय युवा दिवस संसारभर मनाइदैछ । व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यस दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय तथा हुनसक्ने परिवर्तनलाई पनि उजागर गर्दछ ।

युवा जनसंख्यालाई संसारका कुनैपनि देशले आ-आफ्नै उमेरको परीधिमा राखेको छ तथापि युवा भनेको मानव जीवनमा अत्याधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेरसमूह पनि हो । नेतृत्व गर्न मन लाग्ने, जे पनि गर्न सक्छु जस्तो लाग्ने, उत्साह अनि संवेग सहितको युवा अवस्था शक्ति र सार्मथ्यले भरिपूर्ण अवस्था हो ।

त्यसैले पनि होला युवाहरुलाई परिवर्तनका संवाहक मानिएको किनभने परिवर्तनकालागि नयाँ सोंच, उर्जा, चेतना, माैलिकता अनि हक्कि स्वभाव जस्ता अनेक तत्वहरूका समिश्रण चाहिन्छ र यसकालागि युवा अपरिहार्य छ । युवा अवस्थामा मान्छे पुराना भन्दा नयाँ, परिवर्तनकारी र आन्दोलनात्मक तरिका र कुनैपनि मुद्दाको अन्तिम नतिजा निकाल्ने कुरामा विश्वास राख्दछन् । इतिहास साक्षी छ, युवाहरुको सहभागिताबिना कुनै पनि आन्दोलन, परिवर्तन, युद्ध अनि विकास भएका छैनन् यसअर्थमा युवाशक्ति भनेको अवसर र सहि अर्थमा परिचालन गर्न नसकिएमा चुनौती दुबै हुन् ।

नेपाली गाउँहरुमा आजभोली पहिलेजस्तो युवाहरुको संख्या बाक्लो देख्न कहाँ पाइन्छ र ! हाम्रा देशका युवाहरु गएका दशकदेखि रोजगारी, अध्ययन तथा सम्भावना खोजीको सिलसिलामा विदेश जाने क्रम झन-झन बढेको छ । संसारले युवाको महत्व बुझेर ठूल्ठूला कार्यहरु, विकासका लहरहरू र उर्जायूक्त दिवसहरु आँट्दासम्म पनि नेपालले आफ्ना युवाशक्तिलाई देशभित्रैका विभिन्न सम्भावनायूक्त क्षेत्रहरूमा अझै अँटाउन सकेको छैन, हाम्रा युवाहरु मुख्यतः खाडि, कोरीया, जापानका देशमा पसिना बगाइरहँदा यता गाउँमा मलामीसम्मको जनशक्ति हम्मे-हम्मे परेको समाचार विभिन्न सञ्चार माध्यमबाट आएकै हुन् ।

वैदेशिक रोजगारबाट आएका विप्रेशण 'रेमिट्यान्स'को पैसाले सिमेन्टका सग्ला घर, राम्रा लूगाफाटा, मिठा खाना अनि महँगा टिभी, मोबाइलहरु हात हातमा देखिएतापनि यसरी सधैं लाहूरे नियतिले जीवन चल्छ त ? देश विकास हुन्छ र ? सोच्नुपर्ने समय आएको छ ।

दिनहुँजसो बाकसमा बन्द भएर आउने नेपाली युवाका शवहरु अनि तिनमा आश्रीत परिवारका आशुँको हिसाब आजको दिनमा सरकार र सरोकारवाला संयन्त्रसँग माग्ने बेला आएको छ । युवाहरु गहना हुन भने देशको सम्पतिलाई विदेशिनु नै नपर्ने वातावरण सृजना होस् । देशमा बढ्दो राजनीतिक सङ्कट, समाजका हरेक अन्तर्वस्तुमा हावी भइरहने पारम्परीक चिन्तनलाई चिर्नकालागि भएपनि हाम्रो देशमा युवाशक्तिको सबैभन्दा बढी आवश्यक्ता छ । पुल-पुलेसा, बाटो-घाटो अनि विभिन्न पुनरर्निर्माण तथा विकासको अग्रगामी सोंच र त्यो सोंचमा भरपर्दो ताकत भरेर देशलाई समृद्ध बनाउन युवाहरुको भुमिका अपरिहार्य छ, 'हे युवा जय युवा' ।

"नेतृत्वबाट नयाँ र प्रभावकारी लक्ष्य राखेर दीर्घ विकास गर्ने सोंच राख्दा युवाहरुको सहभागिता अन्य समयहरूभन्दा थप महत्वपूर्ण रहन्छ र यस एतिहासिक विन्दुमा म 'वान कि मूनको सम्बोधन' संसारका युवाहरुसंगै नेपाली युवाहरूलाई वहूआयामिक विकासका निमित्त मागहरु राखेर आजको आवश्यक्तालाई सम्बोधन गरिदिन आग्रह गर्दछु ।"

वान कि मून
संयूक्त राष्ट्र संघ पुर्व महासचिव


यस अर्थमा नेपालमा पनि बिभिन्न कार्यक्रमहरु गरिंदै अनि ज्ञापन-पत्र र घोषणा-पत्रहरु मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा बुझाउने चलन छ । युवाहरुले आफ्ना माग र आवश्यक्ताहरुलाई सरकार र सरोकारवालाहरु समक्ष लैजान जागरुक र तदारुक हुन जरुरी छ, स्वरोजगार ऋृण र सीपमुलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरुको जोडदार आवाज उठ्न जरुरी छ ।
आवश्यक रहन्छ, जहाँ आवाज कमजोर भयो बुझेहुन्छ विकास ठप्प भयो, परिवर्तन ठप्प भयो । यस कारण पनि परिवर्तनका संवाहक युवाहरुको भूमिका अनन्त छ, यूगान्तकारी परिवर्तन र बिकासको अभिभारा नेपाली युवाहरुको कुशल काँधमा छ । जय होस्

हाम्रो पात्रोकोलागि सुयोग ढकालले तयार पार्नुभएको ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.