सोह्रश्राद्ध प्रारम्भ | प्राथमिक उपचार दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

सोह्रश्राद्ध प्रारम्भ | प्राथमिक उपचार दिवस




सोह्रश्राद्ध प्रारम्भ विशेष अडियो सामाग्री

बर्षाले भिजाउँदा भिजाउँदा अनि बगाउँदा र पखाल्दा पखाल्दा नेपाली भूमी सबै जल नै जल भयो यस पल्ट, अब पानीले पुग्यो यस बर्षलाई । यो वर्षामा हराएका आफन्त, प्रियजन तथा जीव जन्तु सबैमा यो सोह्र श्राद्धको पूण्य तिथीमा हार्दिक नमन छ ।

दशैंको शुरुवातमा १६ दिनको पितृपक्षको ठूलो भुमिका छ, आजबाट यो पितृपक्ष प्रारम्भ भयो । पितृलाई भगवान अनि पितृकर्मलाई सनातन सस्कारको केन्द्रबिन्दुका रुपमा लिइएको छ, सात पुस्ता सम्मलाई पितृ तर्पण दिने चलनले त झन पितृकर्मको महत्व तथा आफ्ना बाबू, बाजेलगायतका एउटा ठूलो कालखण्डप्रति वर्तमान पुस्ताको समर्पणभावको अद्भूत नमूना हो १६ श्राद्ध र यसले वैदिक सनातन संस्कारको उँचाई र महत्वलाई थप स्पष्ट पार्छ ।

यतिबेला अधिकांश तराइको भूभाग बाढिको विनास र त्यसले दिएको कृषि चुनाैतिबाट बाहिर निस्किएर सामान्य जनजीवन जिउने प्रयास गर्दै हुनुहुन्छ, यस बाहेक धेरै ठाउँमा बारीको मकै पाकीसके होलान, धान रोपेर भ्याइयो होला, आँपका बोटहरु अब केवल पातमात्र झुन्डिएका छन्, थोरै हरीया अनि बाक्लो खैरो ।

हिजोआज बिहान बिहानको माैसमले एकखाले चाडबाडको सुगन्ध सहितको संकेत दिन थालि सक्यो अर्थात नेपालमा दशैंको अनुभूति दिने यी बिहानहरूमा आकाशको नीलोपना अनि बादलको स्वच्छता बढ्दै गएको छ । आकाशतर्फ हेर्दा त यस्तो लाग्छ मानौं मोतीको माला चूँडिएर बादलका टुक्राका रुपमा यत्रतत्र छरिएका छन् । दशैंको जनाउ त हो नि यो सबै हैन र ?

१६ दिनको यो पितृपक्षमा पितृको मृत्यू तिथीमा श्राद्ध गरेर बिदाई गरेपछि बल्ल दशैंको रौनकको औपचारीक शुरुवात हुने गर्दछ । सोह्र श्राद्ध, पितृपक्ष, कगंत, जितीया, महालय पक्ष, पितृ पोखो आदि बिभिन्न नामले यी पवित्र १६ दिनको पुकारा गरिन्छ । पूर्णिमाबाट शुरु भएको यस पक्ष औंशीका दिनसम्म चल्ने गर्दछ । पितृपक्षमा पितृहरु पृथ्वी लोकमा आ-आफ्ना सन्ततीका घरमा आएर बस्ने गर्दछन ।

यसरी पूर्णिमाबाट शुरुभएको पितृपक्ष औंशीका दिन सम्पन्न हुन्छ । १६ दिनको पितृपक्षमा आफ्नो पितृको मृत्यू तिथिका दिन हिन्दूधर्मावम्वीहरुले पितृकर्म अर्थात श्राद्ध गर्ने गर्दछन् । श्राद्धको दिन घरमा विशेष चहलपहल हुन्छ, आफन्त अनि पण्डित, पूरोहितको उपस्थितिमा कर्ताले पितृकर्म गर्दा कपाल खौरीएर नयाँ जनै फेरेको हुनुपर्दछ । विहानै देखि माैलिक विशेषता बोकेका पारम्परीक नैवेध तथा विभिन्न प्रकारका खानेकुराहरु घरमा तामा या पित्तलको भाँडोमा चोखोनितो गरेर पकाइन्छ अनि र श्राद्ध चलिरहँदा पण्डितको निर्देशन अनुरुप विभिन्न साम्रगीहरु, घ्यू, सेतो पुष्प, पँहेलो केसरी लगायतका पितृकर्ममा आवश्यक सम्पूर्ण पूजन सामाग्रीहरू पुजा गरेको ठाउँमा विधिपूर्वक सजाएर राख्ने गरिन्छ ।

वैदिक सनातन हिन्दू संस्कारमा श्राद्ध महत्वपूर्ण कर्ममध्येको एक हो जसलाई सामान्यतया परिवारको जेष्ठपुत्र, जेष्ठपुत्र नभए अन्य पुत्रहरू अथवा दाजूभार्इले गर्नेगर्दछन् । सर्वपितृ औंशीको दिन पुत्रले आफ्ना पितापक्ष र मातापक्ष दुवैतर्फका पितृहरुलाई तर्पण दिनेगर्दछ । पुत्रलाई मोक्षको बाटो भनेर हिन्दू शास्त्रले भनेको कुरालाई आधार मानेर विभिन्न पक्षबाट यस विषयलाई नारीविरोधी र लैङ्गीक असमानतासित पनि जोडेर हेरिनेगरिएको छ तथापि श्राद्ध, तर्पण अनि अन्य शुभकार्यमा छोरी बुहारी अनि चेलीबेटीको पनि उत्तिकै महत्व छ ।

सनातन धर्मको हरेक शुभकार्य अनि संस्कारमा कर्ताका रुपमा पुत्रको उपस्थितीलाई प्राथमिकता दिएको भएपनि नारीहरुलाई पनि उत्तिकै महत्व दिएको छ । भाञ्जा भाञ्जी अनि चेलीबेटीको उपस्थितिवेगैर श्राद्धकर्म पूर्ण हुनै सक्दैन । पुत्र अनि पुत्री पितृकालागि समान छन र आजभोली पितृकर्ममा अनि काजक्रियामा छोरीहरुको स्वस्फूर्त सहभागिता र कर्ताकै रुपमा निभाउन थालिएको भूमिका अत्यन्त सराहनीय छ, धर्म अनि संस्कारले छोराछोरी दुवैलाई उत्तिकै स्थान दिएको छ, धर्मले कहिं कतै भेदभावको ज्ञान दिदैन ।

अब कुरो पितृलोकको अवधारणाबाट, स्वर्ग र पृथ्वीबिचको यस लोकमा पितृका तिनपुस्ताहरु रहने गरेको मानिन्छ । बैतर्णि नदि भएको यस पितृ लोकमा बैतर्णि नदी तरेमा स्वर्ग लोक पुगिने जन-विश्वास छ । स्वर्गलोकका राजा ईन्द्र हुन् भनें पितृ लोकका राजा यम हुन् भन्ने मान्यता छ ।

पितृपक्षको कुरा गर्दा महाभारतको यूद्धसंग कथा जोडीएर आउँछ, महाभारतको यूद्धमा मृत्यूवरण गरेका दानवीर कर्णलाई स्वर्गमा भोजनका रुपमा सुनचाँदी बस्त्रआभूषण आदी प्रदान गरियो । भोजनकालागि बास्तविक खानानै आवश्यक पर्नेमा किन राजा ईन्द्रले उनलाई सुनचाँदी ईत्यादि खान दिएका भन्ने कौतुहलमा कर्णले स्वर्गका राजा ईन्द्रलाई प्रश्न गर्दछन् । उत्तरमा ईन्द्रले दानवीर कर्णले जीवनभरि सुनचाँदी आदिमात्र दान गरेको र पितृलाई भोजन दान नगरेको कारणले स्वर्गलोकमा भोजनका साटो सुनचाँदी पस्केको कुरा स्प्ष्ट पार्दछन् । यसरी आफूलाई यसबिषयमा थाहा नभएकाले जीवनकालमा पितृलाई भोजन दान नदिएको बताएपछि १६ दिनकालागि कर्णलाई पृथ्वीमा फिर्ता पठाएको किम्बदन्ति नै पितृ पक्षको शुरुवातका रुपमा मानिन्छ ।

वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस् !


प्राथमिक उपचार दिवस


 


दूर्घटना र आकस्मिक अवस्थाहरु अप्रिय छन् तथापि मानवले यस्ता घटनाहरु घट्न सक्ने नकारात्मक संभाब्यतालाई शुन्य बनाउन सक्दैन् । दूर्घटनाहरु जहाँ, जहिले र जुनसुकै अवस्थामा जो कोहीलाई पनि हुन सक्छ । प्राथमिक उपचारको ज्ञान भएमा घाईतेहरुको जीवन जोखिमलाई कम गर्न सकिन्छ, दूर्घटनालाई बिछोडमा रुपान्तरण हुन नदिएर ज्यान जोगाउन सकिन्छ ।

प्राथमिक उपचारको सीपको कुरा गर्दा धेरै जनाले बिद्यालय स्तरमै त कसैले पेशागत अनि कार्यगत रुपमा सिकेको हुनुपर्छ । दूर्घटनाहरु अस्पतालको दैलोमा हुन्छ त ? प्राथमिक उपचारले हामीलाई दूर्घटनामा परेका अञ्जान व्यक्तिको मात्र नभई आफन्तजनहरुको पनि जीवन जोगाउन सक्षम बनाउँदछ ।

प्राथमिक उपचार जानेका दक्षहरूको सख्यां समूदायमा बढ्नाले हाम्रो समूदाय अझ सुरक्षित र स्वस्थ हुन सक्दछ । अझ नेपाल जस्तो बिकासोन्मुख देश जहाँ स्वस्थ उपचारका उपलब्धता समान, सरल छ सहज छैन, प्राथमिक उपचारको महत्व अझै धेरै हुन्छ । दूर्घटना र आकस्मिक अवस्थाहरुको भर हुँदैन् तर प्राथमिक उपचारले केही भइहालेमा ज्यानै जाने जोखिमलाई भने न्यून गर्न सक्दछ ।

हाम्रो कार्यस्थल, बाटोघाटो या समूदायमा कुनै दूर्घटना घटेमा हामी निरीह रमिते मात्र नभईकन, घाईतेहरुलाई तत्काल पीडा कम गर्न र जोखिम कम गर्न अस्पताल या अन्य कुनै प्राणरक्षा गर्ने ठाउँ पूर्याउनु अघि गरीने सर्वप्रथम उपचार विधि नै प्राथमिक उपचार हो । दूर्घटना र यूद्धका घाईतेहरुको प्राण रक्षार्थ प्राथमिक उपचारको ठूलो महत्व छ ।

प्राथमिक उपचारको तालिमका माध्यमले हामीहरुले आधाभूत जीवन रक्षाका सीपहरु जस्तै सिपीआर, अचेत घाईतेको ध्यान राख्ने सीप, चोट र रक्तश्राव रोक्ने ज्ञानहरू प्राप्त गर्न सक्दछाैं । थूप्रै दुर्घटनाहरु जस्तै आगलागी, बिषपान, जीवजन्तूहरूबाट हुने आक्रमण अनि सर्पदंशका घाईतेको ज्यान जोगाउने जस्ता सीपहरु यसभित्र पर्दछ ।

कारखाना, गाडी, कार्यालय, विद्यालय, कलेज अनि पदयात्रा लगायत बिभिन्न ठाँउहरुमा प्राथमिक उपचारका किटहरु अझ भनौं तत्काल उपचारका बाकसहरु महत्वका साथ राखिन्छ । कुनै अप्रिय घटना या दूर्घटना घटेमा प्राथमिक उपचारहेतू उपचार साम्रगीहरु यसमा राखिन्छ । सामान्यतया मल्हम, पट्टी, ह्यान्डीप्लास्ट, आधारभूत ओखतिहरु, जीवनजल, सामान्य कैंची, ब्लेड, थर्मामिटर अनि एन्टीसेप्टीक धुलोहरु यस बाकसमा राखिन्छ । आकस्मिक बिरामी परिएमा या दूर्घटना भएमा यी कुराहरुले प्राणरक्षा गर्दछन् ।

सन् २००० बाट अर्थात् सहश्राब्दिबाट IFRC को पहलमा यो दिवस मनाउन शुरु गरिएको हो । नेपाल एउटा सुन्दर देश हो तथापि शदियौं देखि जनस्वास्थका मुद्दाहरुमा धेरै सुधार हुन नसकेको तथ्य यस देशको सुन्दरतासंगै गाँसिएर आउँछ । हरेक गाउँपालिकामा स्वास्थ चौकी सैद्धान्तिक रुपमा त छ तर व्यबहारीक पक्षको मलिनो रुप र सिमाहरु हामीले देखेकै छौं । तालिमप्राप्त जनस्वास्थ सेवक अनि जागरुक जनस्वास्थ प्रशासकहरुको कदमको कमि लगायत अन्य थुप्रै संरचनागत समस्याले नेपाली गाँउहरु अझै पनि स्वास्थोपचारको मूलधारमा छैनन । प्राथमिक स्वास्थ उपचारको सहज तालिम र प्रावधानले नेपाली गाँउमा सामान्य कारणले मूल्यवान जीवनको बाजी थाप्नु पर्ने थिएन ।

बिभिन्न अध्यनहरुले नेपालमा सन् २०३० सम्म हृदयघात दर अहिलेको ९ प्रतिशतबाट बढेर करिब ३४ प्रतिशतमा पुग्ने तथ्याङ्क देखाएको छ । हरेक बर्ष करिब १० दशमलव २२ प्रतिशतले बढिरहेको नेपाली बाटोहरूमा हुने सवारी दूर्घटनाहरुमा बर्षेनी ५ दशमलव ४० प्रतिशत मृतकको संख्यामा बृद्धि भइरहेको छ । मान्छेको ज्यान जोगाउन तुरुन्तै स्वास्थोपचार शुरु गर्नु जरुरी हुन्छ, प्राथमिक उपचारको सहज उपलब्धता अनि तालिमकालागि नेपाल अझै सक्रिय बन्नुपर्छ ।

संक्षेपमा प्राथमिक उपचारका साध्यहरु भन्न चाह्यौं, यदि घाउ भएमा त्यसलाई सफा गरेर अनि साबुन पानीले सफासंग धुने, एन्टीसेप्टीक धुलो या मल्हम लगाउने गर्न जरुरी छ ।

रक्तश्रावको समयमा रगत आएको शरीरको भागलाई उचाईमा राख्ने ताकि रगतको बहाव तल आउन गई रक्तश्राव रोकियोस् । औंलाको चापले रक्तश्रावलाई बन्द गर्ने या पट्टि लगाएर रक्तश्रावको बहाव कम गर्न पर्दछ ।

जनावरले टोकेमा र घाउ भएमा तुरुन्त सफापानी अनि साबुनपानीले धुने र अस्पताल लान जरुरी छ । बिभिन्न संक्रमणहरु जस्तै रेबिज लगायत अन्य संक्रमण बिरुद्धको खोप पनि स्वास्थकर्मीको सल्लाहमा लगाउनु पर्दछ ।

अचेत मान्छेहरुको नारीमा छामेर पल्स पत्ता लगाउने अनि ३० सेकेन्ड भन्दा धेरै पल्स मधुरो भएमा या हराएमा सीपीआर अर्थात कृत्रिक श्वाँसप्रश्वासको प्रक्रियामा जानु पर्दछ ।
प्राथमिक उपचार दिवसमा प्राणरक्षार्थक उपचार सीपहरु सक्दो छलफल गर्ने र बाँड्ने प्रयास गरौं । सर्वत्र शान्ति र समृद्धीको कामना ।

---
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.