आज सोह्र श्राद्धको अन्तिम दिन अर्थात आश्विन कृष्ण पक्ष औंसीलाई सर्व पित्री मोक्ष औंसी भनिन्छ । आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सवै मृतकहरुको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सवैभन्दा महत्वपूर्ण दिन मानिन्छ । पित्री मोक्ष औंसीका दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, ऋढि, देवघाट लगायत देशका अन्य पित्री धर्मस्थलहरुमा गएर श्राद्ध गर्ने लोक चलन रहेको छ । यस दिनमा श्राद्ध सम्पन्न गर्दा सबै पितृहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता रहेको छ । शुक्ल पक्ष वा कृष्ण पक्ष जुनैसुकै तिथिमा आफन्तहरु बितेका भएपनि प्रतिपदादेखि औंसीसम्मका पन्ध्र दिनमा गरिने पार्वण श्राद्धलाई पित्री मोक्ष औंसीमा श्राद्ध गर्न सकिन्छ । पूर्णिमा तिथिमा गर्नुपर्ने श्राद्ध पनि यसै औंशीमा गर्ने परम्परा छ ।
हिन्दू परम्परा अनुसार छोरा तथा नातीले आफ्ना पितृहरुको श्राद्ध गर्नुपर्ने चलन रहेको छ । पित्री पक्षको अन्तिम दिन भएकाले बर्षभरी कुनै कारणले श्राद्ध गर्न असम्भव भएको खण्डमा अमावश्या (औंसी) का दिन श्राद्ध गरिन्छ । पितृहरुको उद्दारका लागि घरघर र तिर्थस्थलहरुमा श्राद्ध गरि पितृहरुको सम्झना गर्ने धार्मिक प्रचलन रहेको छ । सर्व पित्री मोक्ष औंसीमा पनि अन्य श्राद्ध कर्ममा झैं पित्रीहरुका नाउँमा श्राद्ध तर्पण गरिन्छ । श्राद्ध गर्नाले पितृहरुले आफ्ना सन्तानलाई ऋणमुक्त गरिदिने तथा चित्त शुद्ध गराउने मान्यता रहेको छ । दशैं तिहार लगायत नेपालीहरुका मुख्य चाडपर्वका अगाडि आउने पित्री पक्षमा पित्रीहरुको सम्झना र सम्मान गरिन्छ । यस बर्ष आश्विन ११ गतेबाट शुरु भएको सोह्र श्राद्ध सर्व पित्री मोक्ष औंसी अर्थात आश्विन २५ गते समाप्त हुन्छ । सोह्र श्राद्धको अन्तिम दिन सर्व पित्री मोक्ष औंसीलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । यो औंसीमा श्राद्ध सम्पन्न गरेपछि मानिसहरु महान चाड बडादशैंको तयारीमा लाग्ने गर्दछन् ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको
Liked by: