विश्व खेलकुद पत्रकार दिवस/अन्तर्राष्ट्रिय सहकारी दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

विश्व खेलकुद पत्रकार दिवस/अन्तर्राष्ट्रिय सहकारी दिवस




विश्व खेलकुद पत्रकार दिवस विशेष अडियो सामाग्री

विश्व खेलकुद पत्रकार दिवस हरेक वर्ष जुलाई २ मा मनाइन्छ। आजको यस दिवसलाई अन्तर्राष्ट्रिय खेलकुद पत्रकार दिवसको रूपमा पनि चिनिन्छ, अन्तर्राष्ट्रिय खेलकुद पत्रकार सङ्घले आफ्नो ७० औँ वार्षिकोत्सव मनाउन सन् १९९४ मा यो विशेष दिवस सिर्जना गरेको थियो। खेलकुद पत्रकारिता को विकास सन् १८०० को समय बाट नै सुरु भएको थियो यद्यपि त्यस समयमा खेलकुद पत्रकारिता केवल कुलीन खेलहरूमा मात्र केन्द्रित थियो र खेल घटनाहरूको सामाजिक सन्दर्भ केवल रिपोर्टिङमा बढी केन्द्रित थियो। प्रारम्भमा, रिपोर्टिङ मुख्यतया घोडा दौड र बक्सिङ जस्ता कुलीन खेलहरूमा केन्द्रित थियो र मुख्यतया उच्च वर्गमा मात्र लक्षित थियो किनभने समाचार पत्रहरू जनताको पहुँचभन्दा बाहिर थिए। क्रमशः समाचार र सञ्चारको पहुँच सर्वसाधारणमा बढ्दै जान थालेपछि सन् १९२० पछि मात्र यो पेसाले विस्तारित आकार लिन थालेको पाइन्छ ।

पहिलो विश्व खेलकुद पत्रकार दिवसको सम्झना
सन् १९९४ मा, अन्तर्राष्ट्रिय खेलकुद प्रेस सङ्घ (A.I.P.S.) ले आफ्नो ७० औँ वार्षिकोत्सवको सम्मानमा पहिलो पटक विश्व खेलकुद पत्रकार दिवस मनाएको थियो। त्यस वर्ष पेरिस, फ्रान्समा L'Association Internationale de la Presse Sportive को रूपमा स्थापना भएको अन्तर्राष्ट्रिय खेलकुद प्रेस सङ्घको मुख्यालय आजका दिनमा स्विट्जरल्याण्डको लुसनमा छ जुन ठाउँलाई विश्वमा ओलम्पिक राजधानी भनेर पनि चिनिन्छ ।

नेपालमा पनि त्रिपुरेश्वर काठमाडौँमा कार्यालय भएको नेपाल खेलकुद पत्रकार सङ्घको स्थापना भएको छ । नेपालका खेलकुद पत्रकारहरूको छाता सङ्गठनका रूपमा नेपाल खेलकुद पत्रकार सङ्घले विभिन्न कार्यक्रम, पैरवी अनि दिवसहरू खेलकुद पत्रकारहरूको अर्थपूर्ण सहभागितामा मनाउँदै आएको छ ।

अन्तर्राष्ट्रिय सहकारी दिवस


हरेक वर्षको जुलाई महिनाको पहिलो शनिवारका दिन विश्वभरि सहकारी दिवस मनाइन्छ ।

सहकारी भनेको के हो ?
शाब्दिक अर्थमा सहकारी भन्नाले सहकार्य बुझिन्छ । आजको दिवसको परिवेशमा कुरा गर्दा चाहिँ समुदायको सहभागितामा आर्थिक उन्नतिका लागि गरिएको सहभागितात्मक सङ्गठनलाई सरल रूपमा सहकारी भनेर बुझ्न सकिन्छ ।

सहकारी ऐनको अनुसार सहकारीको परिभाषा
नेपालको सहकारी ऐन २०४८ को प्रस्तावनामा उल्लेख भए अनुसार, ‘देशका कृषक, कालिगड, कम पुँजीवाल र निम्न आय वर्ग, श्रमिक, भूमिहीन तथा बेरोजगार वा सामाजिक कार्यकर्ताले सर्वसाधारण उपभोक्ताको आर्थिक तथा सामाजिक विकाशको लागि पारस्परिक सहयोग र सहकारिताको आधारमा विभिन्न किसिमका सहकारी संस्था तथा सङ्घहरूको गठन र सञ्चालन सम्बन्धी व्यवस्था गर्न वाञ्छनीय भएकोले ऐन बनाएको छ । उपरोक्त अर्थ तथा परिभाषाको आधारमा समान इच्छा, आकाङ्क्षा र अवस्था भएका व्यक्तिहरूबाट आपसी सहयोग तथा प्रजातान्त्रिक नियन्त्रण विधिद्वारा आर्थिक तथा सामाजिक उत्थानको निमित्त एकताबद्ध प्रयास नै सहकारी हो ।

विश्व सहकारी दिवसको पृष्ठभूमि
अन्तर्राष्ट्रिय सहकारी महासङ्घले सन् १९२३ देखी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन सुरु गरेको छ । सहकारी दिवस मनाउने क्रममा संयुक्त राष्ट्र सङ्घले समेत समुदायको सामाजिक आर्थिक तथा सांस्कृतिक विकासमा सहकारीको महत्त्वपूर्ण योगदानको कदर गर्दै यसै दिनलाई सन् १९९५ देखी संयुक्त राष्ट्र सङ्घ अन्तर्राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउन थालेको हो ।

वर्ष २०२२ को विश्व सहकारी दिवसको नारा
Cooperatives Build a Better World
सहकारीहरूले अझ राम्रो विश्व निर्माण गर्दछ भन्ने प्रोत्साहन र नाराका साथ यस वर्ष विश्व सहकारी दिवस मनाइदैछ ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.