म को हुँ (लिलाराज खतिवडा) | Hamro Patro

ब्लग - साहित्य / कथा तथा उपन्यासहरू

म को हुँ (लिलाराज खतिवडा)





म को हुँ (पुस्तक अंशः)

:: लिलाराज खतिवडा

....त्यतिबेला उसलाई भोक थिएन तर तीर्खा लागिरहेको थियो । उसले महसूस गरयो, कम्मरमुनि ऊ नाङ्गै छ । निकैबेरपछि उसलाई केही चलमलाउन मन लाग्यो । बिस्तारै उसले आफ्नो एउटा हात उठायो । भारी चीज उठाएजस्तो लाग्यो । त्यही हातले उसले आफ्नो अनुहार छाम्यो अनि आफैलाई सोध्यो, ‘म को हुँ ?’
चकमन्न...!


कुनै जवाफ आएन । मनमा सबतिर चकमन्नता थियो ।

उसले प्रश्न दोहोरयायो, ‘साँच्चै को हुँ म ?’
तर उसले केही पनि सम्झिन सकेन ।
ऊ राहुल थियो । अस्पतालबाट बेहोशीमै भागेर पुनः सडकमा पुगेको थियो ।
बिस्तारै ऊ त्यहाँँ एक्लै बरबराउन थालेको थियो । 
ऊ भन्थ्यो, “मञ्जुश्रीले चोभारमा खड्ग हानेपछि बसेको यो शहर कुहीरोमा हराएको छ । यहाँँका मान्छेहरू सबथोक गर्छन्, घुमफिर गर्छन् । भात खान्छन, मलमूत्र त्याग्छन् । तर उनीहरूसँग पानी छैन । मान्छेहरू तीर्खाले ग्रस्त छन् । अहँ, यहाँँ पानी छैन !”
आफ्नो मुखबाट निस्किएका कुराहरू सुन्दा ऊ स्वयम् चकित भैरहेको थियो । 
सडककिनारमा ऊ बोलिरहन्थ्यो । मान्छेहरूले उसलाई बर्बराएको देख्थे अनि पागल ठान्थे । उसलाई भीडको कुनै पर्वाह थिएन । ऊ भन्थ्यो—

पहिलो दिन
“शरीर वरिपरि सेतो अमृत थियो, मेरो जन्ममा । आमा नुहाइदिँदै थिइन्, अश्रुधारापछि दुग्धधाराले अनि मेरो तेस्रो नेत्र बन्द भएथ्यो, पृथ्वीको तेज वायुले...!

...आमाले नुहाइसकेपछि कागहरू कराएका थिए, कुकुरहरू भुकेका थिए । मलाई सम्झना छ, सूर्य जन्मिँदै थियो— टाढा क्षितिजमा । त्यस दिनको मौन यथार्थ —भोक र पीडा तिरोहण गर्ने उद्देश्यहरू अन्ततः अँध्यारा झ्यालखानाहरूमा कैद भएका थिए...!

...अन्धकार मौलाएको थियो कालिदासझैं , जो फेदमा बसेर टुप्पो होइन; टुप्पोमा बसेर फेद काटिरहेको थियो । नपत्याए हेर, आफ्नै मस्तिष्कको कालोपत्रे सडकमा, त्यहाँँ आविष्कारको होडले मेशिन बनेका प्रेतहरू कसरी नाचिरहेका छन् ? वृक्ष काटिरहेका छन् । तर यहाँँ मान्छेका टाउकाहरू जमिनमुनि पुरिएका छन् र खुट्टाहरू हावामा तैरिरहेका छन् ! अझै पनि उनीहरू आफ्ना पाइतालाले नै जमिन टेकेको मदग्रस्ततामा जीवन सकिरहेका छन् ।

यो कान्तिपुर खाल्डो बडा अचम्मको छ । उसबेला यहाँँ कान्ति पुरिएको थियो, भक्त पुरिएको थियो । ललित पुरिएको थियो । मञ्जुश्रीले चोभारमा खड्ग हानेपछि बिस्तारै उघ्रिन थालेको यस खाल्डोमा तीन दाजुभाइको अस्तित्व पुरिएको थियो । तर म भन्छु—
ए जाग ! कान्ति जाग !
जाग ! भक्त जाग !
जाग ! ललित जाग !

सगरमाथा धेरै सुतिसक्यो, तिमीहरू जाग ! तिमीहरू नजागे सुतेको समरमाथाको श्रृङ्गमा अडिएको प्यालामा टिलपिलाएको शराब जम्ने छ । जमेको शराबको सुवास, पराग र दागमा ज्वालामुखी उठ्ने छ । आँपका कोयाहरू मरुभूमिमा उम्रिएझैँ शराबका छाल उठेर बनेका दागहरू मान्छेका टाउकाहरूभित्र उम्रिने छन् र सगरलाई मात चढ्ने छ । झुसिल्किराहरू हिँड्ने पात­पातमा मदहोशी टुटेको कुनै भीमकाय विरूपाक्ष जमिन छेडेर टप्किने छ— यही सगरमाथे छहारीमा । 

त्यो रहस्यमय हिमत्रिभुजको भित्री कुनोमा सम्भोगका झट्काहरूले रामापिथेकसहरू जन्मिने छन् ! कृष्णापिथेकसहरू नाँच्ने छन् ! रावणापिथेकसहरू निर्वाणको मातले थाक्ने छन् ! पिथेकसै पिथेकसहरू आविष्कार हुने छन् ।

ए मान्छेहरू हो ! तिमीहरूलाई सम्झना छ ? यतैकतै मेरो कान्ति पुरिएको छ ! यतै कतै मेरो भक्त पुरिएको छ । यतैकतै मेरो ललित पनि पुरिएको छ ।

ए कोही छौ— पर्खालभित्र वा पर्खालबाहिर ? ए कोही त बोल— बोलिदेऊ, केवल एकपटक मात्र । त्यो सुनामी छालका बाबजूद बाँच्ने पृथ्वीको कुनै कुनाको केवल एउटा बालकझैँ— ऊ सगरमाथाझैँ आकाशमुनि ठिङ्ग उभिएको छ । त्यो बालक किशोर भएपछि उसले सोध्ने यक्षप्रश्नहरू— म को हुँ र म कहाँ छु ? अहिले यहाँँ माइनस एक सय पच्चीस डिग्री सेन्टिग्रेडको चिसोमा जमेका छन्, कसरी पगाल्ने ? तर श्रृङ्गमा चम्किलो स्फटिकको सानो प्यालाबाट वाष्पशराब उँभोदेखि उँधो स्खलित हुँदै छ । मौन ताराहरू शुक्रकिट बनेर खसेजस्तै— मान्छे–मान्छेका टाउकाबीचको खालीपनमा । 

ओडारहरू दिनानुदिन टाढा–टाढा भासिँदै छन् । गुफाहरू आकाशमा बिलाइरहेका छन् । मरुभूमिमा मुसाहरू राजमार्ग बनाइरहेका छन् । ऊँटहरू डाइनोसरझैँ लोप हुन थालेका छन् । यहाँँ पहराका उदेकलाग्दा धुनीहरूमा आविष्कार भइरहेका छन्– दूनहरू । र, यहाँँ मान्छेका टाउका–टाउकामा अहिले भर्खर एउटा युद्ध शुरु भएको छ— शैतान र ईश्वरबीच ! प्रेत र मानवबीच ! हो, अहिले भर्खर यहाँँ एउटा डरलाग्दो युद्ध छेडिएको छ— सृष्टिका दुई अतिहरूबीच, तिनै अतिहरूका ज्वालामुखीय लप्काहरूबीच । तर, त्यो युद्धको अन्त्य हुने कुनै छनक छैन ।
भक्त, ललित र कान्तिको उदयको सम्भावनासँगै यहाँँ अहिले भर्खर एउटा चित्ताकर्षक प्रेत जन्मिएको छ । वीभत्स शैतान पैदा भएको छ र यो खाल्डोजनक उद्यान चिहानघारीमा कायाकल्प भएको छ । यो उद्यान त्यसैले आगो उठ्ने घाट पनि हो । 

देखेनौ, आफ्नो टाउकोमा ? 
युद्ध शुरु भइसकेको छ !

श्रृङ्गको कुनामा एकातिर ढल्केको त्यो प्याला रित्तिएपछि त्यहाँँ हरपल मूर्दाघरको चिसो चकमन्नता छ । सारस दुवै खुट्टाहरू आकाशमा टेकेर निदाएको छ । मतलब, ऊ कुनै माछा टिप्ने प्रतीक्षामा छैन । चिलहरू टाढाटाढा पृथ्वीको म्याग्मामा उडिरहेका छन् । अब अझै उनीहरू कुनै चल्ला टिप्ने क्रोधपूर्ण हठ गर्दैनन् । 

यहाँँ कोही शीतल जल बर्साउँदैन, आगो उठ्ने घाटमा । तर अहिले भर्खर मेरो अवचेतनमा सुतेका प्यूपाहरू शान्त छन् ।

ओहो ! यो शीतकालीन तन्द्रा,
ओहो ! यो ग्रिष्मकालीन विश्राम,
अब यहाँँ पुनः वर्षा हुने छ 
हो, अब यहाँँ पुनः जल बर्सिने छ !

यो अनकण्टार जङ्गलमा पुनः एकपटक रहस्यका असिनाहरू वर्षिने छन् । सगरमाथाको टाकुरामा सूर्यचन्द्रको हनिमुन पश्चात् मुनड्रप्सहरू ओर्लिएजस्तै अब यहाँँ मर्मेडहरू जन्मिने छन् । अब यहाँँ मर्मेडहरू पौडिने छन्, रमाउने छन् । त्यही कर्मातिरेकको नादमा टाढा कतै डाँडामा मयूरहरू नाच्ने छन् । 

अनि कान्ति फेरि उदाउने छ । ललित फेरि ब्यँुझने छ । भक्त फेरि जाग्ने छ ।
मञ्जुश्री, ओ क्रूर मञ्जुश्री ! मैले तिम्रो खड्गको मार चाखेको छु ।

तिम्रो खड्गको धारमा हिँड्ने त्यो यात्री अनि यो यात्री, त्यो सडक अनि यो सडक । सब बिलखबन्दमा छन् आज किनभने यस शहरमा पानी बिल्कूलै सुकेको छ । यो शहर अनकण्टार मरूभूमीमा तब्दिल भएको छ ।

ओ पाषाण मञ्जुश्री ! 
त्यो वृत्ताकार राजमार्ग र एक जोडी बञ्जारा !
सम्झ त ...!
...बञ्जारा ! बञ्जारा ! 
यो धून सम्झ त !
जाग्नुको यो पीडा, बञ्जारा ! ओ बञ्जारा !!
के यो भूल होइन— सडक र यात्रीको सम्भोगको ?
के यो भूल होइन— मूल र कूलको तृष्णामय भोगको ?
के प्रश्न सोधूँ र यो अँध्यारो रातमा ! मध्यरातको तेजस्वी उज्यालोमा ! हृदय जमेको ठिहीमा ! अस्तित्व जलेको तातो सिरेटोमा !
यस शहरका जन्मदाता–

ओ मञ्जुश्री !
त्यो बिरानो रात अनि यो एक्लो मध्यरात ! न तिनीहरू छन् न यिनीहरू छन्, न त्यो यात्री थामिन्छ, न यो सडक थाक्छ । 
हाय ! यो वृत्ताकार राजमार्ग !! 
ओहोे ! यो त्रिभुजाकार रक्त–अघ्र्य !! कुन सूर्यलाई चढाऊँ त म ? कुन सूर्यलाई— पहिलो, दोस्रो या तेस्रो ?

ओ मञ्जुश्री !
के तिमीलाई सम्झना छ, त्यो बन्दरगाह अनि त्यो रात ? त्यो प्लेटफार्म अनि त्यो मध्यरात ? त्यो बसपार्क अनि त्यो मिर्मिरे ? त्यो एयरपोर्ट अनि त्यो झञ्झावात— के तिमीलाई सम्झना छ ? 
कहाँ भाग्यौ, मेरो गर्धनमा खड्गप्रहार गरेर ओ कठोर मञ्जुश्री !

तर म आउँदै छु, क्रमशः । मलाई त्यो स्वर्गभन्दा यही सडकको भुइँ प्यारो छ । मलाई त्यो वैभवभन्दा यो सडकको धुवाँ न्यारो छ । 
म आउँदै छु बञ्जारा, तिम्रो दुनियाँँमा । मलाई तिम्रो साथको प्यास छ । खाँचो पनि छ ।

ओहो ! त्यो बिरानो बन्दरगाह, म तर्दै थिएँ ।
ओहो ! त्यो कहालीलाग्दो प्लेटफार्म, म पार गर्दै थिएँ । 
ओहो ! त्यो चिसो बसपार्क, म जन्मिँदै थिएँ ।
ओहो ! त्यो भूमरीजन्य एयरपोर्ट, म जाग्दै थिएँ ।
ए पवन ! मलाई बञ्जाराहरूको सपनीमा लगिदे ।
मलाई बञ्जाराहरूको विपनीमा पुर्याइदे । मलाई बञ्जाराहरूको रुमानीमा फ्याँकिदे...। 

दोस्रो दिन
...पलाँसको छहारीको नीरवतामा यो सडक र एक जोडी सत्य रोइरहेका छन्— यतै कतै, ओ, कठोर मञ्जुश्री ! 
घण्टाघरको फेदमा एकजोडी सत्य कुनै गीत गाइरहेका थिए— अँध्यारोमा । त्यही सत्यलाई प्रकाश दिने एउटा लैम्पपोष्ट मूर्दामा तब्दिल भएको छ– अहिले । जाडोमा एक जोडी सत्य कठ्याङ्ग्रिएका छन् । गर्मीमा एक जोडी सत्य बाफिएका छन् । तुषारोमा उम्लिएका, वर्षामा उर्लिएका, कठै ती एकजोडी सत्य स्वयम्भूका मृत दुई आँखाको नानी भएर मूर्दाघरमा हमेशाका लागि सुतेका छन् । 

धिक्कार छ ! स्वयम्भूका आँखा किन मृत छन् ?
धिक्कार छ ! धरहराको उचाइ किन घट्दो छ ?
धिक्कार छ ! घण्टाघरको घडी किन उल्टो हिँडिरहेको छ ?
धिक्कार छ ! चोभारको कम्पास किन दिशाहीन छ ?

मञ्जुश्री ! ओ मञ्जुश्री !! लु, अहिले तुरुन्तै मेरो गर्धनमा स्फटिकको खड्ग प्रहार गरेर मेरो चेतना हल्लाइदेऊ । मेरो बेहोशीको मार हानिदेऊ । हतार गर । अहिले क्षणभरमै, त्यो मार खान मेरो गर्धन तयार छ । 

तेस्रो दिन
कोमामा छ, यो खाल्डो । यहाँँ कैलाश चिलिममा बलिरहेको छ । बुद्ध भोकै छ । राम प्यासै छ । कृष्ण सङ्क्रमित छ । शिव गाँजा तानेर पशुपतिमा समाधिस्थ छ । लक्ष्मण अचेत मात्रै होइन, मरेको छ । सीता आफ्नै चितामा टेकेर रोइरहेकी छे । शायद, ऊ रामको सती जान चाहन्न थिई त्यतिबेला ।

ओ राम ! तिमीले पो सीताको सती जानुपर्छ, अब । तयार छौ, राम ? अब तिमीले सीताको सती जानुपर्छ । यदि यहाँँ कुनै राम छ भने उसले अब अग्निसमाधि लिनुपर्छ ।

ओ राम ! जाऊ, तिम्री सीता चितामा बलिरहेकी छे । जाऊ, बस जाऊ— तिमी उनको सती जाऊ... ।
जाऊ...! जाऊ...!! जाऊ...!!!

तर कसलाई सुनाउँ र मेरो पीडा, ओ मञ्जुश्री !
यो धर्ती ईश्वरको छाया होइन, छायाको ईश्वर हो !
यो खरानी हो– सम्भोगको । यो बलिदान हो– सृष्टिको । 

तर कसलाई सुनाऊँ र मेरो आर्तनाद ? यहाँँ मान्छेका टाउकाभित्र प्रेतहरू ध्यान गर्छन् । जब मान्छेका टाउकाभित्र ध्यान गर्छन्– प्रेतहरू; नाच्छन् मान्छेहरू— छमछम, छमछम...! आकाश चिच्याउँछ, धर्ती गर्जिन्छ । वर्षा शुरु हुन्छ, चट्याङ पर्न थाल्छ । खजुराहरू पृथ्वीमा अवतरण गर्छन् र सम्भोगका धक्काहरू महसूस हुन्छन्– मान्छेका मेरुदण्डहरूमा अनि जन्मिन्छन्– नवजातहरू, मान्छेको बैजनी मस्तिष्कमा ।

चौथो दिन
सगरमाथामा हराइरहेका काला डोबहरू ! डोबका लप्काहरू, त्यहाँँ चकमक र झुरो खोज्ने बलिया आप्पाहरू...! ओहो ! हेर त सगरमाथाको टाकुरामा कसरी यती पो खोज्दै छन् । भुइँमा खसेका हिमडोबहरू खोज्दै छन् । 

मान्छेको भविष्यका डोबहरू भने आकाशबाट खसेर अझै पनि सगरमाथाको छहारीमा उम्रिन खोज्दै छन् ।
देख्यौ ? भर्खरै चन्द्रमाबाट यतीको एउटा पाइला श्रृङ्गमा चुहिएको– तप्प ! त्यो क्रमशः सागरोन्मुख भएको ? हेर त, एउटा तप्पले अरू कैयन तप्पहरू जन्माइरहेछ ! हेर त, पानी टुक्रिरहेछ– झरनामा र क्रमशः त्यो गिर्दो छ— मोतीका दाना बनेर ।

गिर्दो छ, गिर्दो छ ...! त्यो कतै कलुषित पनि छैन, त्यसरी गिर्दा ।
देखेनौ यती— विचारका डोबहरूमा ? देखेनौ यती— डोबका छायाहरूमा ?
टकटक, टकटक, ओहो ! त्यो घोडचाल !
छमछम, छमछम, ओहो ! त्यो मयूरनाच !

मान्छेको विगतका काला डोबहरू भने आगाका लप्कैलप्का बनेर बादलमाथि मडारिँदै छन् । ओहो ! बादलहरूको यो अन्त्यहीन सम्भोग ! कति थोपाले सागर भरिन्छ ? कति थोपाले मृत्युको अन्त्येष्टि हुन्छ ?

...तर विचार चढेको घोडा थाकेको छ । जिनकाँठी र करेली खोलिदेऊ । त्यो वायुपङ्खी एकैछिन् भए पनि सुस्ताउन चाहन्छ । वाष्प–शीत–पानीः यसखाले रङ्गहीन रूपान्तरण पनि ऊ चाहन्छ ! कस्तो अचम्म ?

घोडा त्यही चाहन्छ । पलभरलाई सुस्ताउन चाहन्छ । विचार बोक्ने घोडा– वायुपङ्खी घोडा । टाँगन घोडा...! भुरे रङ्को घोडा...! लामो र सुडौल शरीरयुक्त चित्ताकर्षक...! हो, त्यही घोडा । अहिले थाकेको छ । 

घोडा..., त्यो हिमघोडा अहिले केवल पलभरलाई विश्राम चाहन्छ । घोडाको विश्राममा विचारहरू मौन बस्ने छन् । 
ग्यारेन्टी ? 

मेरो मुटु चल्दै छ— घडीका सूई सदृश । र, यो चल्दाचल्दै मृत्युलाई नाघ्न तयार छ । एक फड्को हानेरै मृत्युको अन्त्येष्टि गर्न पनि आतुर छ– अहिले भर्खर यहाँ ।

जब सपनाहरू खस्छन्– सगरमाथाको टाकुरामा, नाथे अमिवाहरू भुनभुनाइरहन्छन्, टाउका–टाउकाको मोलमा ! सागरको खारो झोलमा ! अनि त टाउकाहरूको सञ्जालबीच विस्फोट हुन्छ– एउटा भयानक विष्फोट, र विचारहरू तहसनहस हुन्छन् । 

बकूल्लाहरू लीन भइरहन्छन्— सिमसारको पटेरघारीमा । उनीहरूको मनमा केवल माछाहरू छन् । माछाहरू तिनको सपनामा पनि छन् । तर माछाहरूको मनमा कदाचित् छैनन् बकूल्लाहरू ।

तर, अहिले म चेतना छरिएको अवस्थामा छु । यदि मैले अब आफूलाई बिर्सिएँ भने पनि अचम्म हुने छैन । र, संझिएँ भने पनि के आश्चर्य ?

तर कसलाई सुनाऊँ र मेरो पीडा यहाँँ ?”

यसरी बरबराउँदा बरबराउँदै आखिर, ऊ रुन पो थाल्यो । 
ऊ डाँको छोडेर धेरैबेरसम्म रोइरह्यो ।
..........

के भन्छन समिक्षकहरु ?
तिमी को हौ लिला ?
लिलाराज खतिवडा । पत्रकारका रुपमा अचेल यो नाम धेरैले बिर्सेका हुनसक्छन् ।…
लिला एकाएक हराए । कहाँ हराए म अनभिज्ञ थिएँ ।
एकपल्ट देशान्तर साप्ताहिकमा उनको अन्तर्वार्ता छापियो जुन पढ्नु मलाई जरुरी लागेन । धेरैपछि यदाकदा अनामनगरमा भेट हुन्थ्यो र हामी निख्लो औपचारिकतामात्र ब्यक्त गथ्र्यौं । …लिलाबारे म अनभिज्ञ थिएँ । शिक्षा पत्रकार समूहका तत्कालीन अध्यक्ष सुदर्शन घिमिरेले इमेल मार्फत जब लिलाको उपन्यास म को हुँ को पाण्डुलिपि पठाए, पढेर लिलाप्रतिको मेरो निस्पृहतामा ठूलो भुईंचालो गयो । डाक्टरद्वारा स्किजोफ्रेनिया घोषित राहुल लामिछाने आफ्नो परिचय खोजीका लागि गन्तब्यहीन यात्रामा भौंतारिन्छ । कहिले ऊ आफूलाई राजकुमार ठान्छ, कहिले प्रतापजंग राणा बन्छ त कहिले छापामार कमाण्डर धूमकेतुको शरीरमा उसको आत्मा छिर्छ ।
उपन्यासमा रहस्यवाद र म्याजिक रियालिज्मको सानदार प्रयोग भएको छ । महत्वपूर्ण कुरा, लिलाको अभिब्यक्ति क्षमता र भाषा–प्रस्तुति अनुपम छ जुन नेपाली साहित्यकै लागि नौलो हुनेछ । यो किताबले सञ्चारको पनि साथ पाए नेपाली साहित्यमा तरंग मच्चाउने निश्चित छ ।

-चंकी श्रेष्ठ, साहित्यकार, दृष्टि साप्ताहिक, वर्ष २४, अंक २०, चैत २०, २०६३

जीवनको यथार्थ र भ्रमबीच कति समानता वा भिन्नता छ ? यो सामान्य हेराइ र भोगाइले पर्गेल्न सकिन्न । जीवनको यथार्थ ज्यादै सीधा र छर्लंग वा दृश्यवान पनि छ । तर जीवनको भ्रम कति कठिन छ ? कति जटिल छ र भयावह पनि छ ? यो देख्ने र भोग्ने काम तेस्रो चक्षुले मात्र गर्न सक्छ । र, यो तेस्रो चक्षु हामी सबैमा भइदिए पो ! धन्य छन् ती लेखक, कवि र कलाकार जसले तेस्रो चक्षु खोलिदिएर पो हामी जीवनको भ्रमभित्रको कठिन सागरमा पनि आनन्दले सयर गर्न सकेका छौँ त !
एक पाठकीय ठहर– आँखा नदेख्नेले हात्ती छामेकै सही, म को हुँ मा लिलाराज खतिवडाले जीवनको त्यही दुरूह सागरमा पाठकलाई आनन्दले डुबाइदिन्छन् । लिलाको यो ‘लेखन–लीला’लाई शुभकामना !

– लेखनाथ भण्डारी, पत्रकार

ठाउँ ठाउँमा राजनीतिको हल्का छाप देखिएता पनि म को हुँ को मुख्य विषय राजनीति नभएर अध्यात्म हो । यसैले गर्दा यस उपन्यासमा राजनीतिक प्रश्नलाई आध्यात्मिक खोज बारेका चिन्तनले बिस्थापित गरेका छन् ।

– डा. संजीव उप्रेती, प्राध्यापक, लेखक, समालोचक

कुनै बेला विजय मल्ल र धुस्वाँ सायमीको कलमको छेउबाट म को हुँ ले हामीलाई हिडाउँछ तर पनि कथ्य निरुपणको, कथ्य विन्यासको तारतम्य र सन्तुलनलाई स्थूल र सूक्ष्म दुवै पक्षबाट बल पु¥याइएको छ ।

– हरिराज भट्टराई, लेखक, समालोचक

म को हुँ व्यक्तिमाथि उद्देश्यमूलक ढंगले गरिएको अभ्यान्तरिक उत्खनन् हो । मान्छेका मनोदशामाथि नेपाली साहित्यमा लेखिएका पुस्तकहरुमा म को हुँ खरो उत्रिएको छ, जसले असामान्य व्यक्तिका मनोदशाहरुको सर्वत्र आयामका असाधारण कथाहरु सुललित स्वादमा खररर भन्छ । आफ्नो चैतन्य, अक्कल र भोगाइहरुलाई बेजोड व्यक्त गर्ने विलक्षण योग्यता नै लिलाराजको लेखकीय गुण हो । कल्पना हरेक मान्छेका मनमस्तिकमा हुँडलिने सान्दर्भिक सत्य हो भन्ने कुरा यस ग्रन्थमा पुष्टि गरिएको छ । त्यसैले यहाँ मानव हृदय छ, विछट्टका यथार्थ छन्, वेलगाम वहकाउ छन्; मन, मगज र सम्वेगहरुका विस्फोटक हुटहुटी छन् । नेपाली साहित्यका सामान्य पाठक हुन् वा मनोविज्ञान र मनोचिकित्सा शास्त्रका विद्यार्थी; यो ग्रन्थ सबैका लागि अनिवार्य पठन सामग्री ठहरिनेछ, जसले विथोलिएको मानव चेतनाका विश्मयकारी आँकलनहरुको मूर्त, सजीव र सटीक हेक्का दिन्छ ।

– रघु मैनाली, पत्रकार

यस उपन्यासले मानिसभित्र उत्पन्न हुने तनाव र त्यसको लक्षणलाई नजिकबाट चिनाएको छ । साहित्य सामाजिक र राजनीतिक मात्र होइन, व्यक्तिगत समस्याको उत्खनक् पनि हो भन्छ यस कृतिले । यो धेरैले पढ्ने र एउटा विशेष चर्चाको कृतिमा पर्ला भन्ने पनि लागेको छ ।

– कृष्ण धराबासी, आख्यानकार

अवतरणका लागि धावनमार्ग छुनै लाग्दा अनेक पटक पुनः आकाशतर्फ बत्तिएको जहाज हो लिलाराज खतिवडा । तर सिर्जनाको अविरल झरना हो ऊ । साहित्य, कला र दर्शन तिनै विधामा उसको गहिरो छाप छ र उसले तिनै वटा आयामबाट जीवन र जगतलाई बुझेको छ । जिज्ञासाको ताप शान्त गर्न र अस्तित्व रहस्य बुझ्न ऊ दूरदेशावर घुमेको पनि छ । पत्रकारिताको अन्वेषण विधामा पोख्त छ कलम । विकट भन्दा विकट उतारचढाव भोगेको अनुभव छ र तिनै अनकण्टार अनुभवहरु स्वैरकल्पनाले ओतप्रोत भएर भाषाको रुपमा लश्करै यस उपन्यासमा परेड खेल्दछन् । ऊ बहुआयामिक प्रतिभाको मिलन बिन्दु हो भन्न पाउँदा मलाई गौरव लाग्दछ ।

– विष्णु निष्ठुरी, कवि, पत्रकार

अाधिकारीक वेबसाइटः http://www.makohun.com



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.