एकातर्फ छिन सुरीली सुगामा भने अर्को तर्फ छन् होनहार शुसिल गर्तौला, यी दुवैको यस सङ्गीतिक महाभिडन्तमा कसले मार्नेछ बाजी ? सुगामा अथवा शुसिल ? को हुनेछ त्यो सारथी जसले कोच प्रमोदको साङ्गीतिक सङ्ग्रामको रथलार्इ अगाडी हाँक्नेछ? धर्मसंकटमा उभीएका कोच प्रमोदको यो साता हुनेछ असली अग्नी परीक्षा ।
सुनसरीका चियापसले नवराज साह नबिराईकन "द भ्वाइस अफ नेपाल"को सिरिज हेर्दछन्, यिनलाई ब्लाइण्ड अडिशनमा कोेचहरुले मान्छे र अनुहार नहेरिकन आवाज सुनेर मात्र सहमतीको ठूलो बटन थिचेको हेरेर चैं खुबै स्वाद लाग्यो । अनुहारका हाउभाउ अनि चमकधमक भन्दा कला अनि प्रस्तुती फरक कुरा हो, आवाजमात्र सुनेर ट्यालेन्ट छान्नु राम्रो लाग्यो उनलाई ।
भोजपुरकी बिमला श्रेष्ठ अहिले अष्ट्रेलीयामा बस्छिन र उनी आफै पनि नेपाल छँदा र त्यता हुँदा पनि कार्यक्रमहरुमा भाका हालेर गाउँछिन् । टिभीको समय त मिल्दैन तर समय मिल्दा युट्यूब अथवा हाम्रो पात्रोमैं गएर उपलब्ध द भ्वाइसका सिरिजका नयाँ श्रृंखला हेर्न उनलाई मनपर्छ । शायद! म नेपालमा भएको भए एक पल्ट ट्राई त पक्कै गर्थे, उनलाई केही थकथकी पनि छ ।
ती तमाम नेपालीमन चाहे हिमालमा होउन, पहाडमा होउन या तराई अनि समुन्द्रपारी नै किन नहोउन, सङ्गीतको मोह र फरकपना हरेकको रगतमा विविधताका साथ भरीएको छ । कोशौंपर मादलु घन्कियोस् या ढोलक यता मनमा देश अनि अाअाफ्ना भूगोलका फरक भाकाहरु झलझली अाँखा वरीपरी घुम्नथाल्छ, कम्मर मर्किन्छ कि झै गर्नथाल्छ र नाच्न नआएपनि कुनै गीत त ओठले सुसेल्न थालिहाल्छ, हैन र?
नेपालीको सङ्गीतसंगको यो नातालाई "द भ्वाइस अफ नेपाल" सिरिजले एउटा अलग्गै परिभाषा दिएको छ । द भ्वाइसको सिरिजमा ब्लाइण्ड अडिशनबाट ब्याटलका सिरिजसम्म आइपुग्दा सारङ्गीदेखि रकसम्म, सफ्टदेखि हेभीसम्म, ग्रन्चदेखि दौरा सुरुवालसम्म हरेक प्रकार अनि स्वादका गायकीलाई आफ्नो रिङ्गमा समाहित गर्न सकेकोछ । ब्लाइण्ड अडिसनमा ट्यालेण्टहरुदेखि पर विपरीत फर्कीएर बसेका कोचहरु अहिले अामनेसामने कुर्सी फर्काएर आआफ्नो ड्रिमटीमबिचको ब्याटल मुल्याङ्कन गरेर बसेका देखिन्छन् ।
आफैले आवाज सुनेर ल्याएर कोच गरेर अनि आफ्नै समूहका प्यारा समूह सदस्यबिच ब्याटल गराएर एकलाई बिदाई अनि अर्कोलाई स्वागत गर्नु पीडादायी त पक्कै हुन्छ । हत्केलाका सबै औंला उत्तिकै प्यारा जो छन्, एउटालाई काट्नु अनि अर्कोलाई राख्नु र दुई औंलाबिच नै प्रतिस्पर्धा गराउनु त अफ्ठेरो हुन्छ नै । तर के गर्नु नियतिको यहि आज्ञा छ, कार्यक्रमको प्रकृति नै यस्तो छ साथै खोज्नु पनि त छ नेपालको प्रथम "द भ्वाइस अफ नेपाल" ।
ब्याटल राउण्डका २ सिरिजहरु हामीले हेरिसक्यौं, कति आशालाग्दा आवाज बिदा भए, कोही स्टेल भएर बिदा हुनबाट जोगिए अनि कोही छनौट भएर खुशीका आँशु लिँदै रिंगबाट ओर्लिए ।
सर्वप्रथम अर्को चरणमा जाने ट्यालेन्टहरु लाई बधाई, यहाँ प्रस्तुत छ अागामी चरणका लागि अाफ्नो स्थान पक्का गरेका ट्यालेण्टहरुको फेरहिस्तः
कोच अभया: अनु शाक्य, कुशल आचार्य
कोच सनुप: बिद्या तिवारी, शैलु आर एल सिंह
कोच प्रमोदः सुरज तामाङ, सुरेखा क्षेत्रि
कोच दिपः विवेक वाइबा लामा तथा राजु तामाङ
ती बहुप्रतिभाशाली ट्यालेण्ट जो हारेर पनि भाग्यमानी रहे STEAL बाट सुरक्षित रहेका ट्यालेण्टहरु
कोच अभयाकी समुहक सानिध्य थापालाई कोच सनुपले स्टेल गरे
कोच सुनपकी रित रानामगरलाई कोच अभयाले स्टेल गरिन् ।
कोच प्रमोदकी स्वऐच्छा ठकुरीलाई कोच दिपले स्टेल गरे
अनि ति अोजस्वी प्रतिभाहरु जसले द भ्वाइसको मञ्चबाट बिदा हुनुपर्यो
कोच अभयाबाट सन्तोष घले
कोच सनुपबाट अप्सरा घिमीरे
कोच प्रमोदबाट रुपेश पराजुली
कोच दीपबाट जनक ताम्राकार तथा दिपेश लामा
संक्षेपमा ८ वटा जोडीहरुले ब्याटल गरिसकेका छन् जसमा ३ जना स्टेल भए भने ८ जना छनौट भए । अब हेरौं आगामी दिनमा ब्याटल कस्तो हुँदैजान्छ । कोच दीपका बाहिरिएका २ वटै ट्यालेन्टलाई स्टेल गरिएन तर अन्य कोचहरुका एक एक जना ट्यालेन्ट स्टेल भएका छन् । खोजि जारी छ, द भ्वाइस अफ नेपालको ।
----
"द भ्वाइस अफ नेपाल"का लागि सुयोग ढकाल
Liked by: