Dhanya Poornima / Udhauli Parba | धान्य पूर्णिमा / उधौली पर्व / योमरी पुन्हि | २०७५ पुष ७ | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Dec/Jan 2018
२०७५ पुष

शनिवार
Dec 22, 2018
पूर्णिमा
धान्य पूर्णिमा / उधौली पर्व / योमरी पुन्हि ( Dhanya Poornima / Udhauli Parba )
MY NOTE
तपाईँले नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

उधौली पर्व | योमरि पुन्हि | धान्य पूर्णिमा




उधौली पर्व | योमरि पुन्हि नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु
किराँतहरुको महान चाड साकेलाको दुईवटा पर्विय पक्षहरु छन्, उगौली र उधौंली । उँगो भन्नाले ठेट नेपाली शब्दमा माथी भन्ने बुझाउँदछ र उँधो भन्नाले तल भन्ने बुझाउँदछ । ठेट नेपाली गीत अनि शव्दावलीहरुमा उँगो र उँधो शव्दको पर्याप्त प्रयोग भएको पाइन्छ । तल माथि या प्रगती अनि दुर्गती लगायत शुरु या अन्त्य जनाँउन उँगो र उँधो शव्दको प्रयोग भएको पाइन्छ । हरेक वर्षको मसिंर पूर्णिमाका दिन उधौंली पर्व पर्दछ, किराँती मान्यता अनुसार आजको दिनदेखि हिउँद शुरु भयो, हिँउदको शुरु भएलगत्तै लेकवाट बस्तुभाउ अनि चराचुरुंगी लेकबाट बेसीतिर बसाई सर्ने समय भएको संकेतका रुपमा लिइन्छ । साथै अन्नबाली भित्र्याइएको खुशीयालीमा यो पर्व मनाइन्छ । किराँतहरुको धार्मिक पुस्तक 'मन्धुम'मा

एउटा समग्र वर्षलाई चराहरुको बसाइसराइलाई आधार मानेर दुई भागमा विभाजन गरिएको छ, उगौली र उधौंली ।
पर्वत श्रृंखलाहरुको लेकतिर बसोवास गर्ने किराँतहरु जाडोको याममा बेशी अथवा तलतीर झर्ने र क्रमशः न्यानो बढेसंगै लेकतिर लाग्ने क्रम पनि यो चाडको सूचक हो । परम्परागत भेषभुषा लगाएर आज किराँत दाजुभाई तथा दिदि-बहिनीहरु सार्वजनिक स्थलमा भेला भएर पारम्परीक 'साकेला' नृत्य प्रस्तुत गर्ने चलन छ ।

"सोई साई ला एएएए~~~~~"
'हुर्रे हा हा , सोई ढोले सोई एएए अर्को ढोले खै?' भन्दै यस दिन पारम्परीक सामूहिक नृत्य तथा गीत प्रस्तुत गरिन्छ । साथमा परम्परागत बाजागाजाहरु एवं विशेषतः किराँत संस्कृतिको अमूल्य साङ्गीतिक बाजाहरू ढोल, झ्याम्टा आदि बजाईन्छ । बहुतै संयमित अनि सुस्तरी नाचिने यी नृत्यहरु देख्दा जस्तै नाच्न नजान्ने र विरसिलो मान्छे भएपनि कम्मरको तालमा साङ्गीतिक मर्काई अवश्य आ उँछ आउँछ । महिलाहरुले यस नृत्यमा लगाउने एउटा विशेष किसिमको तासको कपडाबाट बनेको परम्परागत पहिरनलाई छिट्को गुन्यू भनिन्छ । त्यसमाथी विशेष किसिमबाट बनाइएको तोङबा या जाँडको मन्द मातले जीवनको रस अनि माधूर्यतालाई एउटा नयाँ उत्साह प्रदान गर्ने गर्दछ ।

किराँत समुदायमा अन्नबाली लगाउने बेला बैशाख पूर्णिमामा उभौली मनाउने चलन छ । उधौली पर्वलाई लिम्बुहरुले चासोक तङनाम, किराँत राईहरुले साकेला, साकेन्वा, किराँत याख्खाहरुले चासुवा र किराँत सुनुवारहरुले फोलस्याँदर भन्दछन् । यस पर्व एकदिनका लागि तोकिएपनि यसलाई १५ दिनसम्म मनाउने चलन छ । आजको दिन काठमाडौको टुडिखेल, ईलाम, पाँचथर, तेह्रथुम लगायत देशका बिभिन्न किराँतहरुको बाहुल्यता भएको ठाँउमा सार्वजनिक भेला अनि नाँचगान हुनेगर्दछ । परम्परागत पहिरनमा सजिएका किराँती सुमदयका साथीहरुले एकअर्काको हातेमालो गर्दै बडो चित्ताकर्षक ढगंमा प्रस्तुत गर्ने नृत्य हेर्नका लागि मात्रै भएपनि धेरै जना भेला हुनेगर्दछन् ।

किराँतहरु भूमीका सन्तानहरु हुन्, यस समूदायमा भूमीको विशेष महत्व अनि आमा पृथ्वीको अद्भूत प्रेम पाइन्छ । आजको दिन पवित्र भुमी पूजाका रुपमा पनि लिईन्छ । भुमी अर्थात माटोको श्रद्धाकासाथ पूजा अर्चना गर्दै यस वर्षको अन्नकालागि भगवानलार्इ धन्यवाद दिंदै आउँदो वर्षको राम्रो उब्जनीको प्रार्थना समेत गर्दछन् ।

यसैबीच उधौली पर्वको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र बिभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना सन्देश दिंदै यस दिनले नेपालका सबै धर्मावलम्बी, जातजाति, भाषाभाषी जो जहाँ रहेको भएपनि एकताबद्ध भई आपसी सद्भाव तथा भ्रातृत्व अभिवृद्धि गरी देशमा शान्ति र सुव्यवस्था स्थापना गर्नका लागि प्रेरित गर्ने आशा व्यक्त गर्ने चलन छ ।

सम्पूर्ण नेपालीहरुको प्रिय मोबाईल सहयात्री अनि प्रविधीमार्फत नेपालीपनलाई एकसूत्रमा हरपल बाँधि राख्ने मोबाईल एप्लीकेशन 'हाम्रो पात्रो' को तर्फबाट सम्पूर्ण नेपालीहरुलाई उधौंलीको शुभकामना । नेपाली माटो अथवा भनाै भूमी प्रतिको यो निःस्वार्थ श्रद्धा अनि सद्भावलाई संसारले किराँतहरुमार्फत सिक्न सक्नुपर्नेछ । जतिसुकै विकास अनि प्रविधी भएपनि पृथ्वीको अस्तित्वसंगै हाम्रो अस्तित्व गाँसिएको छ, हाम्रो साझा घर यस पृथ्वीलाई सबैले माया गरौं, सबैमा शुभकामना !


योमरि पुन्हि / धान्य पूर्णिमा तथा ज्यापु दिवस्
त्यसै गरि आज काठमाण्डाै उपत्यका लगायत देशैभरी छरिएर रहेका विविध प्राचिन संस्कृति र परम्पराका धनी नेवार समुदायले योमरि पुन्हि मनाउँदैछन् । कृषि कार्यसंग आजको धान्य पूर्णिमाले विशेष महत्व बोकेको छ । योमरि पुन्हि अर्थात् पूर्णिमाबाट औपचारीक रुपमा धान काट्ने कार्य सम्पन्न गरिन्छ । त्यसैले आजको दिनलाई धान्य पुर्णिमा समेत भनिएको हो। नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यस भित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरि तयार पारिन्छ । योमरि अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ । तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ । योमरि कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । यस वर्षको भक्का खाने औपचारीक दिन पनि आजबाटै प्रारम्भ हुने जनउक्ति छ ।

योमरिको त्रिकोणात्मक आकारले षटकोणको अर्धभागको रुपमा सरस्वती अथवा ज्ञानको प्रतिबिम्बको रुपमा लिइन्छ । पानीको देवताकारुपमा काठमाण्डौवासीले मछिन्द्रनाथलाई मानेजस्तै अन्न अथवा उब्जनीकी माता अन्नपूर्णालाई नयाँ उब्जनी अनि त्यसबाट बनेको खानेकुरा योमरि चढाउने परम्परा शदिअाैंदेखि चलि आएको हो ।

नेपाली पारम्परीक चाडबाड तथा संस्कृतिका विशेष क्षणहरूमा विविध साङ्गीतिक अभ्यासहरूले पनि अाफ्नो बेग्लै स्थान बनाएको छ । शायदै त्यस्ता कुनै चाडबाड होलान जसमा विशेष खाले गीत सङ्गीतले ठाउँ नपाएको होस् । योमरि पुन्हिका दिन पनि यससंग सम्बन्धित विशेष नेपाल भाषामा गाइने एउटा विशेष गीत छः

य:मरि च्वामु, उकिइ दुने हामु,
बिउम्ह ल्यासे, मबिउम्ह बुरिकुति
त्य: छिं त्य:, बकछिं त्य:
लातापाता कुलिचां जुसें त्य:....

यसदिन केटाकेटीहरु रमाईलो गर्दै छरछिमेकको दैलोमा गएर योमरी माग्ने चलन पनि छ, काठमाण्डौको हरिसिद्धी र ठेंचोमा आज एउटा विशेष मुखौटो लगाएर नाच देखाईने चलन पनि परापूर्वकालदेखि हुँदैआएको पाइन्छ । योमरि कसरी बन्यो भन्ने कुराहरूमा भने अहिलेको पनौती रहेको ठाउँमा एउटा परिवारले नयाँ धानको चामलबाट बनाएको नयाँखाले परिकारका रुपमा योमरि देखा परेको र सम्पूर्ण गाउँलेहरुलाई उक्त परिकार चाख्न दिएकोमा सबैलाई मनपरेर योमरि नाम दिएको जनउक्ति छ, नेपाल भाषामा योमरि भन्नाले मिठो रोटी भन्ने बुझाउँदछ ।

योमरिको प्रसङ्ग देवगणसंग पनि जोडिएर आउँछ, नेवार समूदायमा प्रचलित कथाहरूका अनुसारः योमरि देखा परेकै दिन धनका राजा कुबेर भेष बदलेर बाटोमा हिंडि रहेका हुन्छन् यसरी भेष बदलेर हिंडिरहेका बटुवा कुवेरबारे थाहै नभएपनि उनलाई सत्कारपूर्वक सप्रेम योमरि खान दिएको कथा छ । कुबेर यो सत्कारबाट प्रसन्न भई धनधान्यले अपार वरदान दिएको मानिन्छ । योमरिझै सबैको जीवनमा मिठास होस्, स्वास्थ्य राम्रो होस् अनि सबैको यो हिउँद राम्रोसंग बितोस् ।

साथै आजैको दिन ज्यापु दिवस पनि मनाइने गरिन्छ । ज्यापू सस्कृतीको रक्षार्थ बिसं २०६१ सालवाट यस दिवस मनाउन थालिएको हो । नेवा संस्कृति, संङ्गीत, बाजागाजा, भेषभूषा तथा एकता जस्ता पारम्परीक महत्वका अमूल्य धरोहरको जगेर्नाका साथै नयाँ पुस्तामा यसको ज्ञान समेतकालागि हरेक वर्ष काठ्माण्डाै उपत्यकाका भिन्ना भिन्नै स्थानको अगुवाइमा अायोजना हुने ज्यापु दिवस अाज काठमाण्डाैको कमलादीबाट प्रारम्भ हुँदैछ । धिमे बाजाको तालमा जात्राको रौनक नै अभूतपूर्व हुन्छ र त्यसमाथी हाकु पटासी अनि ज्यापु लः अर्थात ज्यापु लुगाले त झन जात्रा हेर्नलायकको देखिन्छ । यस १४औं ज्यापु दिवस् ज्यापु दिवस ११३८ विभिन्न नेवारी सभ्यता सहितका विभिन्न सांस्कृतिक झाँकिहरू देखाउने परम्परा रहि आएको छ ।

एकातर्फ किराँतरुको अनि अर्कोतर्फ नेवा हरुको बिशेष आजको दिनले नेपालको बिभिदताको एउटा दृष्टान्त अनि एकताको सन्देश पनि दिएको छ ।  आजको दिनको सबैलाई शुभकामना, सबैको जयहोस्

हाम्रो पात्रोकालागी सुयोग ढकाल



आउँदा दिनहरु

राशीफल

ब्लग / साहित्य

Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.