Sri Swasthani Vrata Katha Prarambha / Maagh Snan starts/Poornima Wrata | श्री स्वस्थानी व्रत कथा प्रारम्भ / माघ स्नान आरम्भ/पूर्णिमा व्रत | २०७८ माघ ३ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jan/Feb 2022
    २०७८ माघ

    सोमवार
    Jan 17, 2022
    पुष शुक्ल पूर्णिमा
    श्री स्वस्थानी व्रत कथा प्रारम्भ / माघ स्नान आरम्भ/पूर्णिमा व्रत ( Sri Swasthani Vrata Katha Prarambha / Maagh Snan starts/Poornima Wrata )
    MY NOTE
    तपाईँले आजको मिति पछि को नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ्ग, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि नोटहरु टिप्न सक्नुहुन्छ ।

    श्री स्वस्थानी व्रत प्रारम्भ | माघ स्नान सुरु | पूर्णिमा व्रत




    श्री स्वस्थानी व्रत प्रारम्भ विशेष अडियो सामग्री

    सनातन कालदेखि धार्मिक रूपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आज सुरु हुँदै छ । आजदेखि माघ महात्मैअन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ हुन्छ । स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ ।

    हिन्दु धर्मालम्बीहरुले चोखो रही घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्छन् । एक महिनाभर व्रत कथाका ३१ अध्यायहरू पाठ गरिन्छन् । यो क्रम एक महिनाभर निरन्तर रहन्छ । माघ शुक्ल पूर्णिमाका दिन व्रत र कथा समापन हुन्छ । महिला–पुरुष दुवैले समान रूपमा यो स्वस्थानी कथा श्रवण गर्छन् । श्री स्वस्थानी माताप्रति आस्था राख्नेहरूले महिनाभरि व्रत लिन्छन् । यसरी व्रत लिँदा एक छाक चोखो गरेर खाने र अर्को छाक कन्दमूल या फलफूल सेवन गर्ने प्रचलन छ । स्वस्थानी व्रत र कथा प्रारम्भ भएपछि कतिपय परिवारमा माछा–मासु घरभित्र प्रवेश गराउँदैनन् । उनीहरू पूर्ण शाकाहारी हुन्छन् ।

    श्री स्वस्थानी माताका प्रभावले यो विशेष महिनामा सबैको कल्याण होस् भन्ने कामना गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूत’ मन्त्रबाट स्वस्थानी कथा प्रारम्भ हुन्छ । अन्तिममा ‘उपनयतु मंगलम्’ मन्त्रका साथै समापन हुन्छ ।

    आउनुहोस् यसै हिन्दु संस्कार–संस्कृतिको स्वस्थानी व्रत कथाबारे थप कुरा उल्लेख गरौँ । अष्ट मातृका अर्थात् आठ वटा देवीको बिचमा रहनुभएकी यी स्वस्थानी माताको महिमा अपरम्पार रहेको जनविश्वास छ ।

    शुद्ध चित्त अनि सफा सङ्कल्प लिएर भक्ति अनि श्रद्धा सँग अर्चना गर्ने हरेक श्रद्धालु भक्तजनको मनोकांक्षा पूरा गर्ने देवी स्वस्थानीका चार वटा हात छन् । हातहरूमा चक्र, त्रिशूल, तरबार अनि कमलको फूल छन् ।

    वैदिक सनातन संस्कारलाई धर्मसित मात्र होइन कि सभ्यता क्रमसित जोडिनु जरुरी छ । सिन्धु नदीको तटमा भएको सभ्यता अनि शब्दकोशमा ‘स’ भन्ने शब्दको सहज उपलब्धता अनि सहज उच्चारण नभएकाले ‘स’ को साटो ’ह’ शब्द प्रयोग गरेर सिन्धुको साटो हिन्दु भएको दस्ताबेजहरूमा उल्लेख छन् ।

    यी अष्ट मातृकाको नेपाली जनजीवनमा अत्यन्त धेरै महत्त्व छ । जस्तै कि हाम्रो दौरा सुरुवालमा भएको आठ वटा गाँठो यिनै अष्ट मातृकाको प्रतिकका रूपमा लिइन्छ । आठ अङ्क शुभ अङ्कका रूपमा लिइने त हामी सबैलाई थाहै छ । वैदिक सनातन हिन्दु संस्कारमा धेरैजसो पुराणहरू एक पात्रले अर्का पात्रलाई सूत्रधारका रूपमा सुनाएका छन् । उदाहरणका लागि श्रीमद्भागवत गीतामा कृष्ण र अर्जुनबिचको संवाद छ । स्वस्थानी व्रत कथामा शिव भगवानका ज्येष्ठ सुपुत्र कुमारजी र अगस्त्यमुनि बिचको संवाद हो । स्वस्थानी अध्यायका ठाउँ–ठाउँमा उल्लेख छ, ‘कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमुनि....’

    श्री स्वस्थानी कथा आराध्य देव भगवान् शिवको महिमा अनि दैविक क्रियाकलापका वरपर घुमेको छ । यो पुराणको कथा शृङ्खलाहरू पौष शुक्ल पूर्णिमाका दिन सुरु हुन्छ । हिन्दु परिवारहरूमा साँझ या बिहान चोखो निधो हुँदै व्रत र पाठ गर्छन् । नङ–केस काट्दै शुद्धपनमा परिवारका सबै सदस्यहरू एकै ठाउँमा भेला हुँदै एकाग्रसहित कथा सुन्छन् । यसरी भक्तिपूर्ण रूपमा हरेक दिन एक वा एक भन्दा बढी कथाका अध्यायहरू सुनाउने चलन छ ।

    प्रसादका रूपमा चिनी, सख्खर, पोलेको सख्खर खण्ड, बदाम, सुन्तला रहन्छन् । बालबालिकाको विशेष रुचि भने प्रसादमा हुन्छ । हामीमध्ये धेरैले सानो छँदा यो कथा सुन्दा, पढेर सुनाउँदा र पढ्दाका अनुभवहरू लिएकै हुन्छौ । सहरमा यो कथा वाचन हुँदै गए पनि गाउँघरमा अझै निकै प्रचलित छ । स्वस्थानी कथाको अनुभव छैन भने यो महिना यहाँका लागि फलदायी हुन सक्छ, कथा पढ्नु ।

    स्वस्थानी व्रतालुहरू काठमाडौँको साखुस्थित शाली नदीमा तीर्थस्थान गर्न जाने गर्छन् । यो क्रम महिनाभर चलिरहन्छन् । महिना दिनभरि शाली नदीमा व्यापक घुइँचो लाग्ने गर्छ । यो वर्ष कोरोना त्रासका कारणले तीर्थाटन र भिडभाडमा रोक लागेको छ । यो शाली नदी तीर्थस्थान श्रद्धालुको भीड कम हुन सक्छ । माघको मध्य जाडो महिनामा पनि पर्वतीय तटको चिसो नदीको पानीमा श्रद्धा अनि विश्वासका साथ डुबुल्की मारिरहेको दृश्यले साहस अनि विश्वास देख्दा देवी स्वस्थानीको शक्ति छर्लङ्ग महसुस हुन्छ ।

    सतीदेवी दक्ष प्रजापतिकी छोरी हुन् । दक्ष प्रजापति यज्ञ चलिरहँदा अन्य देवगण अघिल्तिर सतीदेवीकी पति आराध्य देव भगवान् महादेवको अपमान गर्छन् । आफ्नो पति महादेवको अपमान सहन गर्न नसकी आवेगमा सतीदेवीले अग्नि कुण्डमा हाम फालेर देह त्याग गर्छिन् ।

    सतीदेवीको जल्दै गरेको लास बोकी महादेवले भाव विह्वल हुँदै देश–देशान्तर परिक्रमामा गर्छन् । यसरी परिक्रमा गर्दा सतीदेवीका शरीरका अङ्गहरू क्रमैसँग धर्तीमा पतन हुँदै जान्छन् । उनको शरीरका अङ्गहरू पतन भएका ठाउँमा एक शक्ति पीठ कायम भएको विश्वास गरिन्छ । सतीदेवीका अङ्गहरू पतन भएका ठाउँहरू पछि शक्ति पीठका रूपमा चिनिन्छन् ।

    सतीदेवीको शरीरको अन्तिम अंश झरेर गुह्येश्वरी शक्ति पीठ बनेको विश्वास गरिन्छ । त्यस्तै उनको कपाल झरेकाले धनुषा जिल्लाको छिरेश्वर पीठ उत्पन्न भएको मानिन्छन् । जम्मु कश्मीरको त्रिसन्देशवर पीठमा सतीदेवीको घाँटी झरेको र यस्तै श्रीलङ्का अनि बङ्गलादेशमा धेरै शक्ति पीठहरू अझै छन् । दैलेख जिल्लाको नाभि खोलाको तीरमा सतीदेवीको नाभि पतन भएको विश्वास गरिन्छ । त्यो ठाउँमा परापूर्व कालदेखि ज्वाला बलिरहेको मन्दिर छ, जसलाई ज्वाला स्थान भनिन्छ ।

    हिमालय पुत्री पार्वतीले शिवको वर पाउँ भनी श्री स्वस्थानी माताको व्रत बसेकाले शिव भगवानसँग विवाह भएको उल्लेखित छन् । गोमा ब्राह्मणीको वृद्ध ब्राह्मणसँगको विवाह प्रसङ्गलाई लिएर धेरैले स्वस्थानी व्रत कथालाई सामाजिक मुद्दामा जोड्दै नारी समानताका सवालसहित व्याख्या गर्छन् । तर सनातन कथाको धारलाई समातेर धर्म अनि सभ्यताको गलत अर्थ लगाउनु उचित नहोला ।

    गोमा ब्राह्मणीको कथाले प्राचीन समयमा पनि बालविवाहका नराम्रा असरहरू प्रस्तुत गर्दै बालविवाहबारे जनचेतना फैलाइनु पर्छ । यौन अनि प्रजनन स्वास्थ्यबारे पनि खुलेर उदाहरणसहित व्याख्या गरेको यो व्रत कथाले गणेशको शिर भेदन, संसारको सृष्टि अनि शिव–पार्वती सम्बन्धका विषयमार्फत धेरै ठाउँमा नारी–पुरुषबिचको लैगिक समानताको वकालत पनि गरेको छ ।

    स्वस्थानी व्रत समापनका अवसरमा नेपालका धेरै ठाउँमा मेला लाग्छ । व्रतालुले घरमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम बस्ने चलन पनि छ । किशोर–किशोरीको उपस्थिति धेरै रहने यस्ता जाग्राममा भजन–कीर्तन गाउने, नृत्य देखाउने र अन्य रमाइला सामाजिक क्रियाकलापहरू पनि हुन्छ ।

    हिउँदमा पूजा गरिएका नदी किनारहरूले वर्षामा सबैको रक्षा गरुन् । लैगिंक समानताका लहरहरू समाजमा साकार रूपमा फैलिउन्, माता स्वस्थानी लगायत अष्ट मातृका सबैको हामीप्रति असीम अनुकम्पा रहोस् । जय होस्, मङ्गल होस् !

    माघ स्नान सुरु
    माघ महिनाभरि स्नान गर्न सम्भव नभए पनि पहिलो दिन अर्थात् पूर्णिमाको दिन मात्र श्रद्धाले स्नान गर्नाले स्वर्ग लोकको उत्तराधिकारी बन्न सकिन्छ भन्ने विश्वास छ । माघ स्नानको सङ्कल्प र प्रारम्भ शास्त्रअनुसार पौष शुल्क पूर्णिमाकै दिनबाट लिनु पर्छ । स्नानपछि भगवान् विष्णुको पूजा अर्चना गर्नु र सकेसम्म सात्त्विक, अल्पहार र एक छाक मात्र भोजन गरी श्रद्धा र भक्तिपूर्वक व्रत बस्न सकिन्छ । माघ महिनामा दानको विशेष महत्त्व छ । दानमा तिल, गुड, घ्यू र कम्बलको विशेष पुण्य मानिएको छ ।

    माघ महिनामा पवित्र नदीहरूमा स्नान गर्नाले विशेष ऊर्जाको प्राप्ति हुन्छ भन्ने विश्वास गरिन्छ । त्यस्तै शास्त्र र पुराणहरूमा वर्णन गरिएको छ कि माघ महिनामा स्नान, दान, धर्म, पुण्य, पूजा र अर्चना भक्तिपूर्वक गर्नाले सम्पूर्ण प्रकारको सुख मिल्ने र अन्त्यमा भगवान् नारायणलाई प्राप्त गर्न सकिन्छ भन्ने सनातनप्रति विश्वास राख्नेहरूको छ ।

    पूर्णिमा व्रत
    स्वस्थानी व्रत सुरु हुने यस पूर्णिमाको महत्त्व विशेष रहन्छ । त्यसै पनि हरेक पूर्णिमालाई बडो श्रद्धाका रूपमा मनाइने चलन हाम्रो सनातन सभ्यतामा रहिआएको नै छ ।

    शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथिमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रूपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असीम कृपा प्राप्त हुने र स्वास्थ्य, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेष भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान् विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरूपमा गरिन्छ । सामान्यतया सत्य नारायण पूजा जहिले गरे पनि हुने कार्य हो यद्यपि पूर्णिमाको दिनमा गरिने यस पुजा को फल निकै धेरै पाइन्छ ।

    वैज्ञानिक हिसाबले हेर्दा पूर्णिमाको दिन पृथ्वीमा गुरुत्व वलको प्रभाव धेरै रहने र यस दिन व्रत बसेर भगवानको नाम स्मरण गर्दा आत्म शुद्धि हुने बताइन्छ । यस दिन व्रत बस्नाले मेटावोलीक प्रक्रिया सुदृढ रहने, ग्यास्ट्रिक समस्याहरू हल भएर जाने र शरीरमा सकारात्मक ऊर्जा बढ्ने हुन्छ । यस दिनको व्रत बिहान सूर्योदयको समयबाट साँझमा चन्द्रोदय भएसम्म गरिन्छ । कसै कसै ले निराहार र निर्जल बसेर यस व्रत लिन्छन् भने कसै कसैले एक छाक मात्र खाएर, अलिनो आहार ग्रहण गरेर व्रत बस्दछन् । साँझमा चन्द्रोदय पछि चन्द्रमाको दर्शनसँगै व्रत समापन हुन्छ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.