केप भेर्डेको अर्को स्तब्धकारी नतिजा
gorkhapatraonline.com · Tue Jun 23 01:13:18 GMT 2026
विश्वकप फुटबल प्रतियोगितामा नवप्रवेशी केप भेर्डेको जादुई सुरुवात जारी रहेको छ । पाँच लाख जनसङ्ख्या मात्र भएको केप भेर्डेले पहिलो खेलमा उपाधि दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोकेको थियो । केप भेर्डेले सोमबार अर्को स्तब्धकारी नतिजा निकाल्ने व्रmममा दुई पटकको विजेता उरुग्वेसँग २–२ ले बराबरीमा खेल्यो । खेलको २१ औँ मिनेटमा केभिन पिनाले फ्रिकिकमा सशक्त प्रहारमार्फत गोल गरी केप भेर्डेलाई अगाडि पार्नुभएको थियो । जुन गोल केप भेर्डेको विश्वकपमा पहिलो गोल भयो ।
पूर्वार्धको अन्तिम समयमा लगातार दुई गोल गरेर उरुग्वे खेलमा फर्कियो । उरुग्वेका म्याक्सी अराउजो र अगस्टिन कानोबियोले गोल गर्नुभयो तर केप भेर्डेले आत्मसमर्पण गरेन । खेलको ६१ औँ मिनेटमा हेलियो भारेलाले उरुग्वेका गोलरक्षक फर्नान्डो मुस्लेराको गल्तीमा गोल गरी केप भेर्डेलाई अर्को अङ्क दिलाउनुभयो । आफ्नो पहिलो विश्वकपका सुरुवाती दुई खेलमै पूर्वविश्वकप विजेता टिमलाई बराबरीमा रोकेपछि अब केप भेर्डेले अन्तिम खेलमा साउदी अरबलाई हराएर नकआउट चरणमा पुग्ने सपना देखेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)