दबाबमा पोर्चुगल र रोनाल्डो
gorkhapatraonline.com · Tue Jun 23 01:16:48 GMT 2026
विश्वकप फुटबल २०२६ को पहिलो खेलमा कङ्गोसँग १–१ ले बराबरीमा रोकिएपछि क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगलको आलोचना भयो । पोर्चुगलले कङ्गोविरुद्धको खेलमा चालु विश्वकपमै अहिलेसम्मको सबभन्दा बढी बल नियन्त्रणमा राखेको थियो । उसले ७८३ पास खेलेको थियो । यद्यपि पोर्चुगलले कङ्गोको गोलपोस्टमा सात प्रहार ग¥यो । जसमध्ये एउटा प्रहारमार्फत गोलपोस्ट लक्षित थियो । सो प्रहारमा पोर्चुगलले गोल पनि प्राप्त गरेको थियो । जसले यस विश्वकपमा दाबेदारमध्ये एकको हैसियतमा खेलिरहेको पोर्चुगलको आक्रमण क्षमतामै प्रश्न उठेको छ । सिर्जनात्मक खेल, निर्णय लिनुपर्ने र फिनिसिङ आवश्यक फाइनल थर्डमा पोर्चुगल कमजोर देखियो । स्पेनले केप भेर्डेसँगको गोलरहित बराबरीमा पनि विपक्षीको गोलपोस्टमा २७ प्रहार गरेको थियो ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले खेल प्रभावित पार्न सक्नुभएन । अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता रोनाल्डो टिमकै बोझ भइरहेको छ भन्नेहरू पनि देखिए । पोर्चुगलका प्रशिक्षक रोवर्ट मार्टिनेजले उज्बेकिस्तानविरुद्ध गोलको वर्षा गर्दै आफ्नो टिमले आलोचकलाई चुप पार्ने अपेक्षा गर्नुभएको छ । नवप्रवेशी उज्बेकिस्तानले पहिलो खेल कोलम्बियासँग ३–१ ले हारेको थियो । त्यसैले पनि पोर्चुगललाई यस विश्वकपमा सानदार पुनरागमन गर्ने अवसर छ । उज्बेकिस्तान लगातार दोस्रो हारपछि नकआउटको चरणबाट बाहिरिने छ । त्यसैले विश्वकपमा आफ्नो पहिलो खेलमा ‘नर्भस’ देखिएको उज्बेकिस्तानले पोर्चुगलविरुद्ध शतप्रतिशत दिएर खेल्ने पक्का छ । पोर्चुगलले पछिल्ला दुई खेलमा एसियाली राष्ट्रलाई हराउन सकेको छैन । जुन उज्बेकिस्तानका लागि मनोबल उच्च पर्ने पक्ष हुन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)