आसन्न निर्वाचनमा नेतृत्व–मन्थन
karobardaily.com · Wed Nov 16 23:30:00 GMT 2022
मुलुकले नयाँ संविधान पाएपछिको दोस्रो निर्वाचन (मंसिर ४, २०७९) ढोकैमा आइपुगेको छ । सदाझैँे अपत्यारिला र उही पुराना फितला संकल्प लिएर विभिन्न राजनीतिक दलका प्रत्याशीहरू संसद् र प्रदेशसभामा बहुमतले विजय हासिल गर्न पारस्परिक होडबाजीमा छन् । यसपालि अभूतपूर्व रूपले मतदाताहरू बढी सचेत, सक्रिय र संवेदनशील रहेको देखिन्छ । केही दलहरूको गठबन्धने शैली जनाकांक्षाविपरीत र मतदाताहरूको मौलिक हकविरुद्ध रहेको भन्दै निकै आलोचित पनि भएको छ । विगतका चुनावमा मतदान आँकलनमा अंकगणित चल्थ्यो, अब भने त्यो स्वरूप फेरिएर फर्मुलाबाट मात्रै हल गर्न सकिने बिजगणित भएको छ । प्रतिनिधिसभाका लागि सबै दलबाट कुल २ हजार ४ सय ९४ र प्रदेशसभाका लागि ३ हजार ४ सय २३ को उम्मेदवारी परेको देखिन्छ र आसन्न निर्वाचनमा महिलाहरूको प्रतिनिधित्व भने अत्यन्तै न्यून (९ प्रतिशत) रहेको पाइन्छ । निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ र धाँधलीरहित रूपले सम्पन्न गर्न इमानदारीपूर्वक प्रयास गरिरहेको हामी सबैले देखिरहेका छौँ । विभिन्न सञ्चारमाध्यम र सामाजिक अभियन्ताहरूले कसैको प्रभाव र प्रलोभनमा नपरी स्वविवेकले देशभक्त, कर्मठ र निष्ठावान् उम्मेदवारलाई आफ्नो अमूल्य मत दिन र मिथ्या आश्वासनहरूमा नफस्न तथा क्षणिक सन्तोषले उत्प्रेरित भई भोट नहाल्न जस्ता समाजमा सचेतना फैलाउने नागरिक उत्तरदायित्व पूरा गरेको पनि देखिएको छ । यसबाट सम्भवत: २०७९ आमनिर्वाचनको परिणाम सकारात्मक र सुधारात्मक नै होला भन्ने विषयमा दुईमत पक्कै नहोला ।
पार्टीका घोषणापत्रहरू पनि गाउँ–सहरबजार र धेरैजसो घरघरै बाँडिएकाले र सामाजिक सञ्जाल र पत्रपत्रिकाहरूले निकै चासोका साथ प्रकाशित गरेकाले विभिन्न दलका उम्मेदवारहरूको प्राथमिकता स्पष्ट हुन गएको छ । समसामयिक सन्दर्भमा हेर्दा भास्सिँदै गइरहेको हाम्रो दिशाहीन अर्थतन्त्रको भोलिको अवस्थामा हिजोका दिनहरूमा भैmँ रेमिट्यान्स, अनुदान र ऋणमा आधारित हुने प्रक्रियाको पुनरावृत्ति हुन जाने कुरामा अर्थविद् र बौद्धिक वर्ग सशंकित नै रहेको देखिन्छ । जलस्रोत, कृषि र पर्यटन पञ्चवर्षीय योजनाका प्रारम्भिक कालदेखि नै हाम्रा जन–प्रतिनिधिहरूले बारम्बार फलाक्दै आइरहेका विषय हुन् । जलस्रोतमा कुशल दक्ष नेतृत्वका कारण मुलुकले केही फड्को त मारेकै हो, तर त्यहाँ पनि देशको हितका विपरीत भ्रष्टाचारमूलक कैयौँ कामहरूको फेहरिस्त दोहोर्याउन नपर्ला । सन्तोषको विषय यति हो कि अहिले सहरवासीहरूले लोडसेडिङ समस्या त्यतिविघ्न झेल्नुपरेको छैन । विद्युतीय ऊर्जा एउटा वैकल्पिक ऊर्जाको माध्यम बन्दै गइरहेको छ र खपत पनि यथेष्ठ भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (karobardaily.com)