निजामतीको ३०/५५ वर्षे उमेर हदमा अर्थ मन्त्रालयको सहमति
corporatenepal.com · Thu Aug 13 01:02:28 GMT 2026

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको कर्मचारीको अनिवार्य अवकाशसम्बन्धी ‘३० वर्षे सेवा अवधि र ५५ वर्षे उमेर हद’को व्यवस्थामा अर्थ मन्त्रालयले सहमति जनाएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुनः सहमतिका लागि पठाएको प्रस्तावमा अर्थ मन्त्रालयले स्वीकृति दिएको हो ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले करिब ७२ दिन अध्ययनका क्रममा राखेको संघीय निजामती सेवा ऐनको मस्यौदा सोमबार सम्बन्धित मन्त्रालयमा फिर्ता गरेको थियो। मस्यौदामा आर्थिक दायित्व सिर्जना गर्ने नयाँ प्रावधान थपिएको भन्दै कानुन मन्त्रालयले अर्थ मन्त्रालयको पुनः सहमति लिन आग्रह गरेको थियो । त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो । अर्थ मन्त्रालयले प्रस्तावित व्यवस्थाबाट सरकारमाथि पर्न सक्ने आर्थिक दायित्वका विषयमा सहमति जनाउँदै मस्यौदा फिर्ता पठाएको हो। अर्थको सहमति पाएपछि सामान्य प्रशासन मन्त्रालयले मस्यौदा पुनः कानुन मन्त्रालयमा पठाइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)