मृत शरीर पनि फर्काउन नसकिने उचाइ
newsofnepal.com · Thu Aug 13 15:48:29 GMT 2026

आकाश छुने हिमश्रृंखलाहरूको सेतो र मनमोहक सुन्दरताले युगौँदेखि मानव मनलाई मन्त्रमुग्ध बनाउँदै आएको छ । सगरमाथा, केटु, अन्नपूर्ण, मनास्लु अनि ब्रोड पिकजस्ता भव्य पर्वत शिखरतर्फ अघि बढ्दा हरेक आरोहीको आँखामा एउटा भव्य सपना, छातीमा अदम्य साहस र हृदयमा प्रकृतिको सर्वोच्च शिखरलाई स्पर्श गर्ने तीव्र उत्कण्ठा हुन्छ । तर, त्यो अलौकिक सेतो सौन्दर्यको पछिल्तिर एउटा असीम, कठोर र क्रुर यथार्थ पनि सुतिरहेको हुन्छ । हिमाल आरोहण केवल उचाइ जित्ने विजय–यात्रामात्र होइन, जीवन र मृत्युको बिचमा कोरिएको एउटा मसिनो रेखामाथिको जोखिमपूर्ण हिँडाइ पनि हो । धेरै साहसहरू शिखर चुमेर फर्कन्छन्, तर केही अधुरा सपनाहरू सधैँका लागि तिनै तुषारो र बरफका ओच्छ्यानहरूमा अन्तिम विश्राम लिन पुग्छन् । मृत्युपछि पनि ती आरोहीका शरीरहरू युगौँसम्म उहीँ मौन रहन्छन् । तर, प्रश्न उठ्छ, जीवनको अन्तिम यात्रा सकिइसकेपछि पनि ती शवहरूलाई किन आफ्ना प्रियजनको काखसम्म ल्याउन सकिँदैन त ?
यो केवल कुनै प्राविधिक असफलता वा चिसो मौसमको साधारण कथामात्र होइन । समुद्री सतहबाट ८ हजार मिटरभन्दा माथिको क्षेत्र, जसलाई पर्वतारोहणको भाषामा ‘डेथ जोन’ वा ‘मृत्यु क्षेत्र’ भनिन्छ, त्यहाँ प्रकृतिको शासन आफ्नै कठोर नियममा चल्छ । जहाँ वायुमण्डलमा अक्सिजनको मात्रा यति पातलो हुन्छ कि जीवित मानव शरीरले नै क्षण–क्षणमा आफ्नो जीवनसँग संघर्ष गरिरहनुपर्छ । यस्तो अमानवीय परिस्थितिमा आफ्नै पाइला सन्तुलित राख्न धौ–धौ परिरहेका बेला सयौँ किलो गरुङ्गो जमाइएको मृत शरीरलाई तानेर तल ल्याउनु भनेको असम्भवलाई सम्भव बनाउन खोज्नुजस्तै हो । जमाउने माइनस डिग्रीको तापक्रमले शवलाई केही घण्टामै बरफको शिला बनाइदिन्छ । कतिपय शवहरू विशाल हिमनदीको पेटभित्र विलीन हुन्छन्, कतिपय गहिरो क्रेभास (हिम तरास) को अन्धकारमा खस्छन् भने कतिपय भीषण हिमपहिरोसँगै हजारौँ मिटर तल पुरिन्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)