लोकतन्त्रको आत्मा
nagariknews.nagariknetwork.com · Fri Aug 14 00:26:48 GMT 2026

लोकतन्त्रको चर्चा गर्दा हाम्रो ध्यान प्रायः निर्वाचन, संसद्, दल, सरकार र सत्ता परिवर्तनतर्फ जान्छ। यी सबै लोकतन्त्रका आवश्यक अंग हुन् तर लोकतन्त्र यिनै अंगहरूको समष्टि मात्र होइन। शरीरलाई जीवन्त राख्ने आत्माजस्तै लोकतान्त्रिक व्यवस्थालाई जीवन्त, गतिशील र अर्थपूर्ण बनाउने एउटा अदृश्य शक्ति हुन्छ। त्यो शक्ति हो–नागरिक चेतना, नैतिक राजनीतिक नेतृत्व, विधिको शासन, उत्तरदायित्व, न्याय, सहिष्णुता र लोककल्याणको भावना। जहाँ यी मूल्यहरू कमजोर हुन्छन्, त्यहाँ लोकतन्त्रको बाहिरी संरचना कायम रहे पनि त्यसको अन्तरात्मा क्रमशः कमजोर हुँदै जान सक्छ। नेपालले लोकतन्त्रका लागि लामो राजनीतिक यात्रा तय गरेको छ। विभिन्न कालखण्डमा नेपाली जनताले स्वतन्त्रता, अधिकार, प्रतिनिधित्व र सामाजिक न्यायका लागि संघर्ष गरे। ती संघर्षका उपलब्धिहरूले आजको संघीय लोकतान्त्रिक गणतन्त्रको आधार निर्माण गरेका छन्। तर इतिहासले एउटा महत्त्वपूर्ण प्रश्न पनि हाम्रो सामु राखेको छ– राजनीतिक व्यवस्था परिवर्तन भएपछि नागरिकको जीवनमा कति परिवर्तन आयो ? राज्यप्रतिको विश्वास कति बढ्यो ? सार्वजनिक सेवा कति सहज भयो ? न्याय कति सुलभ भयो ? युवाले आफ्नो भविष्य नेपालमै देख्न थाले कि थालेनन् ? लोकतन्त्रको वास्तविक मूल्यांकन यिनै प्रश्नको उत्तरमा हुन्छ।
सरकारको सफलता सत्तामा बसेकाहरूको सुविधा वा राजनीतिक शक्तिबाट होइन, नागरिकको सुख, सुरक्षा, अवसर र समृद्धिबाट मापन हुनुपर्छ। यो विचार नेपालको लोकतान्त्रिक राजनीतिका लागि अत्यन्त महत्त्वपूर्ण छ। सत्ता आफैंमा लक्ष्य होइन। सत्ता जनताको सेवा गर्ने साधन हो। जनताले दिएको मत कुनै व्यक्तिलाई स्थायी अधिकारपत्र होइन, त्यो निश्चित अवधिका लागि दिएको सार्वजनिक विश्वास हो। त्यसैले निर्वाचित नेतृत्वले आफूलाई शासकभन्दा बढी जनसेवकका रूपमा बुझ्नुपर्छ। जनादेशले अधिकार दिन्छ तर त्यही जनादेशले उत्तरदायित्व पनि जन्माउँछ। राजनीतिक नेतृत्वको चरित्र कमजोर भयो भने संस्थाहरू पनि कमजोर हुन सक्छन्। राजनीतिमा लोभ, अहंकार, प्रतिशोध, स्वार्थ र अवसरवाद हावी हुँदा लोकतन्त्रको संस्कार क्षीण हुन्छ। त्यसको विपरीत सत्यनिष्ठा, संयम, संवाद, दूरदृष्टि र उत्तरदायित्वले लोकतन्त्रलाई बलियो बनाउँछ। त्यसैले नेपालको राजनीतिक बहसमा अब केवल कसले नेतृत्व गर्ने ? भन्ने प्रश्न पर्याप्त छैन। कस्तो चरित्र भएको नेतृत्व आवश्यक छ ? भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)