मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु
emountaintv.com · Sat Aug 15 06:14:04 GMT 2026
काठमाडौँ । नेपालका उच्च हिमाली क्षेत्रमा स्वच्छ उर्जा प्रविधि प्रवद्र्धन गर्ने उद्देश्य साथ हिमालयमा स्वच्छ तापका लागि नवीकरणीय ऊर्जा प्रवद्र्धन परियोजना (हार्नेसिङ रिन्युएबल इनर्जी फर क्लिन हिटिङ इन द हिमालय ) शुरु भएको छ । यो परियोजना मुस्ताङको घरपझोङ गाउँपालिकामा सञ्चालन हुनेछ । परियोजनाले त्यहाँको स्थानीय ६५ घरधुरी र पाँच वटा संस्थासँग मिलेर परम्परागत जैविक इन्धनमा निर्भर नरही भरपर्दो उर्जा उपलब्ध गराउन सक्ने स्वच्छ उर्जा प्रविधिको पहिचान, परीक्षण र प्रवद्र्धन गर्नेछ । वातावरणीय प्रभाव न्युनिकरण गर्नुका साथै हिमाली समुदायको स्वास्थ्य, जीवनस्तर र जलवायु उत्थानशीलता अभिवृद्धिमा योगदान पु¥याउने विश्वास लिइएको छ । नेपालका उच्च हिमाली क्षेत्रका धेरै परिवार कठोर र लामो जाडोमा न्यानो रहन अझै दाउरा तथा अन्य जैविक इन्धनमा निर्भर छन् ।
यस्ता इन्धनले घरभित्रको वायुप्रदूषण बढाउनुका साथै कालो कार्बन उत्सर्जनमा योगदान पु¥याउने र त्यसले हिन्दूकुश हिमालय क्षेत्रमा हिउँ तथा हिमनदी पग्लिने प्रक्रियालाई तीव्र बनाउदै आएका छन् । परियोजना शुरु भएको जानकारी दिन गरिएको कार्यक्रममा घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचनले दाउरा माथिको निर्भरता दीर्घकालीन समाधान नभएकाले दिगो उर्जा समाधानको लागि यस्ता परियोजनाहरु हिमाली क्षेत्रमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । परियोजनाबाट स्वच्छ उर्जा प्रविधिसम्बन्धी महत्वपूर्ण प्रमाण र सिकाइहरू प्राप्त हुने अपेक्षा गरिएको छ । इसिमोडले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र प्राक्टिकल एक्शन नेपालसँगको सहकार्यमा क्लिन एयर फन्डको आर्थिक सहयोगमा परियोजना शुरु गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)